साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

यो प्रेम

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री  अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  अन्नपूर्ण पोस्ट काे शनिबारीया विशेष  फुर्सद बाट लिएका हौँ । यो लेख  अनुपम पोखरेलले लेखेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई अन्नपूर्ण पोस्टमै पनि पढ्न सक्नुहुनेछ ।

यो प्रेम

धेरैपल्ट धेरैले सुनाएको कथा हो, यो । न उमेरको सीमा हुन्छ प्रेममा, न जन्मका बन्धन हुन्छन् भनेर ठ्याक्कै उदाहरण दिनुपर्दा यिनीहरूकै कथा हाल्ने गर्छन् कवि, लेखकहरू । बलिउडका अनेक निर्देशकले अनेक पल्ट सिनेमा बनाउने कल्पना गरेको कथा हो, यिनीहरूको । प्रेम गरेर गरिँदैन । खै कसरी कसरी, आफैं हुन्छ ।

हामीले गरेर हुने भए त कोही कसैलाई घृणा नै किन पो गथ्र्याे होला ? संसारमा वैरभाव नै प्रबल किन पो हुन्थ्यो होला ? हिजोसम्म सामान्य लाग्ने गरेको मान्छे, आज ऊसँग प्रेम भएपछि ऊ नै ईश्वर हो झैं लाग्न थाल्छ । प्रेम नै त हो, जसको प्रकाशमा हामीभित्रको काव्य प्रतिभा प्रस्फुटित हुन्छ । प्रेम नै नगरेको लेखक के
लेखक ? कवि के कवि ? चित्रकार के चित्रकार ?

प्रेममा नियम पनि हुँदैन । कुनै वर्जना यसले टेर्दैन । प्रेम त प्रकृति हो । प्रकृति निर्बाध हुन्छ । यसले कुनै छेकछन्द जान्दैन । जीवनमा शान्ति र हाइसन्चो चाहनेले प्रेम नगरे हुन्छ । यसले कहाँ डढाइदिन्छ, कहाँ भिजाइदिन्छ त्यसको ठेगान हुँदैन । कसैले भनेका छन् कतै, ‘पानीजहाज सबैभन्दा सुरक्षित समुद्रको किनारमा हुन्छ । त्यसो भन्दैमा त्यो किनारमा बसिरहनकै लागि भनेर बनेको हैन ।’

प्रेममा दुख, कष्ट होला तर मान्छे प्रेम नगर्न बनेको होइन । प्रेम आफैंमा एउटा कला हो । त्यसमाथि जब दुई कलाकार एकआपसमा चुर्लुम्म डुबेर समाजका नियमहरूलाई नटेरी एकअर्कालाई प्रेम गर्छन्, तब के हुन्छ ? सुफी सन्त कवि रुमी लेख्छन्, ‘भाषा, नियम कानुन अनि सही र गलतको धारणाभन्दा धेरै पर एउटा मैदान छ । म तिमीलाई त्यहीँ भेट्ने छु ।’ ठ्याक्कै त्यस्तै भयो यिनीहरूको जीवनमा पनि ।
कथा हो, अमृता प्रीतम र इमरोजको । यसमा मध्यान्तरअघिका नायक भने अर्कै छन् ।
सन् चालीसको दशक थियो । भारतका गल्लीगल्लीमा आशाको लहर छाएको थियो । छिट्टै भारत स्वतन्त्र हुनेवाला थियो । यस बेला मानौं त्यहाँको हावामा पनि परिवर्तनकै

सुवास बहेको थियो । स्वतन्त्र भारतको सपना देखेर घरघरबाट इन्कलाबका नारा घन्किन थालेका थिए । स्वतन्त्रता संग्रामको यो महायज्ञमा आफ्ना तर्फबाट सकेको जति योगदान गर्न सबै तम्सिएका थिए । कोही हतियार लिएर, कोही कविता लिएर ।

भारत युगान्तकारी परिवर्तनको सँघारमा थियो । लाहोरका सडक आफ्नो कविताको रापले रन्काइरहेका थिए, आगो ओकलिरहेका थिए कवि साहिर लुधियानवी । यही समयमा, सुन्दरताकी प्रतिमूर्ति मानिएकी कवयित्री अमृताले प्रीतम साहिरसँग एकतर्फी प्रेम गर्न थालिन् । अमृताको सुन्दरताको वर्णन गर्दै कुनै समकालीन साहित्यकारले लेखेका छन्, ‘सिंगमर्मरमा कुँदेर बनाइएकी, मन्दिरमा राखेर पुजिनुपर्ने, राधाकी मूर्तिजस्ती ।’

सोह्र वर्षकै उमेरमा एक धनाढ्य व्यापारीसँग उनको विवाह भएको थियो । विवाह सुखद थिएन । आफ्नो वैवाहिक जीवनमा पाउन नसकेको प्रेम यिनले साहिरका कवितामा भेट्टाउन थालिन् र उनैलाई मनमनै प्रेम गर्न थालिन् ।

सन् १९४४ को कुनै महिना यिनीहरूबीच पहिलो भेट भयो लाहोर र दिल्लीबीचको गाउँ प्रीतनगरमा आयोजित एउटा कवि गोष्ठीमा । साहिर लाहोर बस्थे, अमृता दिल्ली । यो पहिलो भेटपश्चात् उनीहरूबीच पत्रहरू आदानप्रदान हुन थाल्यो । अमृता सारा दूरी मेटाएर साहिरलाई प्रेम गर्न चाहन्थिन् । साहिरलाई भने टाढैबाट गरिने प्रेम मात्र मान्य थियो । उनी आफ्नो अराजक जीवनमै मस्त थिए ।

प्रेम चुपचाप बस्न सायद रुचाउँदैन । वा सायद अमृताको विद्रोही स्वभावले चुपचाप बस्न रुचाएन । उनले साहिरलाई प्रेम गर्ने गरेको कुरा गोप्य रहेन । एकपल्ट फोटो खिच्न बसेकी अमृतालाई लेख्दै गरेको जस्तो पोज दिन भनियो । उनले पोज दिउन्जेलमा एउटा खाली कागज ‘साहिर’ ‘साहिर’ लेखेर भरेकी थिइन् ।

साहिरलाई आफूले प्रेम गर्ने गरेको कुरा अमृता गर्वका साथ सुनाउने गर्थिन् सबैलाई । यहाँसम्म कि साहिरले पिएर छाडेका चुरोटका ठुटा जम्मा गरेर उनी त्यही पिउँथिन् । आफूले कुनै दिन बच्चा जन्माए त्यो साहिरजस्तै जन्मियोस् भन्ने कामना गर्थिन् । अमृताले साहिरलाई गर्ने प्रेम पागलपनभन्दा कम थिएन ।

‘साहिर मलाई भेट्न आउने गर्थे कहिलेकाहीँ । मेरो कोठामा बसेर चुपचाप चुरोट पिउँथे । त्यस बेला मलाई लाग्थ्यो, मेरो हृदयभित्रको मौनता गएर त्यो कुर्सीमा बसेको छ । उनले आधा पिउँदै, निभाउँदै, फेरि अर्को सल्काउँदै गरेर जम्मा भएका ठुटा म जतन गरेर दराजमा राख्थेँ । उनी गइसकेपछि म ती ठुटा सल्काउँथेँ । आफ्ना औंलामा ती ठुटा च्याप्दा मलाई साहिरकै हात समाएझैं लाग्थ्यो । यसरी नै मलाई चुरोट पिउने बानी लागेको हो । चुरोट पिउँदा मलाई सधैं साहिर मेरै निकट छन्झैं लाग्थ्यो । हरेकपल्ट मैले चुरोट पिएर उडाएको धुवाँबाट मानौं अलादिनको चिरागबाट निस्कने जिन्नझैं गरी साहिर निस्कन्थे ।’ आफ्नो आत्मकथा ‘रसिदी टिकट’मा अमृता प्रीतमले लेखेकी छन् ।

साहिर शब्दका जादुगर थिए । अनेक व्यक्तिका सपनालाई उनले शब्द दिए तर आफैं भने कसैको साकार सपना बन्न कहिल्यै सकेनन् । साहिरका लागि प्रेमको मूल्य एउटा कविताभन्दा बढी केही थिएन । उनी भन्थे, ‘मेरा हरेक प्रेमसम्बन्धबाट म कमसेकम एउटा कविता आश गर्छु । त्यसभन्दा बढी मलाई केही चाहिँदैन । मैले प्रेम गर्ने नै गीत, कविता रच्न हो ।’

सायद साहिरले पनि अमृतालाई प्रेम गरेका हुँदा हुन्, तर त्यसरी नै जसरी उनी अरू अनेकन महिलालाई गर्थे । अमृता उनको जीवनमा न प्रथम स्त्री थिइन् न त अन्तिम नै । अमृतालाई यो थाहा नभएको हैन । त्यसैले साहिरबाट उनलाई खासै केही अपेक्षा थिएन । जब जब यी दुई भेट्थे, एक शब्द बोल्दैन थिए रे । साहिर चुपचाप चुरोट पिउने, अमृता उनलाई हेरिरहने । केही बेरमा साहिर उठेर गएपछि अमृता ती ठुटा जम्मा गर्ने र तिनलाई दराजमा राख्ने । बस् त्यत्ति !

सन् १९५० ताका भने अमृताको हृदय राम्रै टुट्यो । साहिर बलिउडमा यसरी जमेका थिए, त्यस बेलाका सबैभन्दा कमाउ गीतकार उनै थिए । भारतीय सिने जगत्मै उनलाई चाहने अनेक थिए । एक दिन साहिरलाई फोन गर्न लाग्दै गर्दा अमृताका आँखा एउटा सिने पत्रिकामा पर्‍यो जहाँ साहिरको अफेयर चल्दै गरेको खबर छापिएको थियो, गायिका सुधा मलहोत्रासँग ।

अमृताका हात त्यो देख्नासाथ मानौं त्यहीँ जमे । फोन गर्नै सकिनन् उनले । यो एउटा कथा यसरी अधुरै रह्यो । साहिरले अमृतालाई प्रेम नगरेका हैनन्, तर उनी बादलझैं उन्मुक्त र आवारा जीवन बिताउन चाहन्थे । कोही एक व्यक्तिसँग
बाँधिएर बसेमा आफ्नो सिर्जनशक्ति मर्ने कुरामा उनलाई विशेष चिन्ता थियो ।
अमृताले चिया पिइसकेर छाडेको एउटा जुठो कप साहिरले जतन गरेर नधोई राखेका थिए । चियाको त्यही जुठो कप, चुरोटका केही ठुटा, केही कथा, केही कविता र केही यादमै सीमित रहन पुग्यो अन्त्यमा साहिर र अमृताको यात्रा ।

साहिर भन्थे, ‘अन्त्य लेख्न नसकिने कथाहरूलाई एउटा सुन्दर मोड दिएर त्यहीँ छाडिदिनुपर्छ ।’ अमृताको प्रेमकथामा अब नयाँ मोड आयो । अथवा भनौं अब अर्को एउटा कथाको सुरुआत भयो ।
अमृता आफ्नो पुस्तकका लागि कभर डिजाइन गरिदिने चित्रकारको खोजीमा थिइन् । यही क्रममा उनको भेट इमरोजसँग भयो ।

अमृताले इमरोजलाई पहिलोपल्ट भेट्दा उनी दुई सन्तानकी आमा भइसकेकी थिइन् । इमरोज अमृताभन्दा आठ वर्ष साना थिए । तर जसै इमरोजको आगमन भयो उनको जीवनमा, मरुस्थल बनिसकेको उनको हृदय फेरि गुलजार भयो । फेरि वसन्त आयो । उनले फेरि कविता लेख्न थालिन् ।

सम्बन्धित पोस्टहरु

इमरोजले अमृतालाई यसरी स्वीकार गरे, जसरी हामीले सुन्ने गरेका ‘साँचो प्रेम’का कथाहरूमा गर्ने गरिन्छ । इमरोजको स्कुटरपछाडि सिटमा सवार भएकी अमृता कहिलेकाहीँ आदतवश इमरोजको ढाडमा आफ्ना औंलाले ‘साहिर’ लेखिदिने गर्थिन् । इमरोज थाहा पाएर पनि चुपचाप बसिदिन्थे । उनलाई अमृता जे जसरी, जस्ती थिइन्; त्यसरी नै स्वीकार्य थिइन् । त्यसैले त अमृता लेख्छिन्, ‘इमरोज देउता हुन् । उनले मेरो अतीतलाई त स्वीकार गरे नै, मेरा सारा पीडालाई समेत आत्मसात् गरे । आफ्नो बनाए ।’

साठीको दशकको सुरुआतमा इमरोजले अमृतालाई निरन्तर पत्र लेखे । उनको प्रेम पाउन आफू लालायित रहेको अनुनय गरे । चित्रकार थिए इमरोज । एउटा पत्रमा उनले लेखे, ‘मेरा चित्रहरू तिमीले नहेरेसम्म अपूर्ण नै रहन्छन् जस्तो लाग्छ मलाई अमृता । तिमीले नहेरिदिए मेरा चित्र केही धर्सा र रङको संयोजन मात्र हुन् ।’ कविहृदय प्रेमको यस्तो निमन्त्रण कहिलेसम्म पो बेवास्ता गरेर बस्न सक्थ्यो र ?

अन्तत : अमृताले आफ्नो पतिसँग छोडपत्र गरिन् । अमृता र इमरोज सँगै बस्न थाले । विवाहको औपचारिकता दुवैलाई आवश्यक थिएन । अमृता इमरोजलाई भन्थिन्, ‘साहिरलाई चौध वर्ष प्रेम गर्न लगाएर मलाई ईश्वर तिम्रा लागि तयार गराउँदै रहेछन् इमरोज ।’

सन् १९५८ ताका इमरोज जागिर खान बम्बई जाने भए । गुरु दत्तले आफूसँग काम गर्न आउने निम्ता पठाएका थिए उनलाई । अमृतालाई यो कुरा मनमनै मन परिरहेको थिएन । टाढा गएर कतै साहिरले झैं आफूलाई बिर्सिने पो हुन् कि भन्ने डर हुँदो हो उनको मनमा । तर इमरोजको खुसी देखेर मुखैले भने रोक्न सकेकी थिइनन् ।

जान तीन दिन बाँकी छँदा अमृताले इमरोजलाई भनिन्, ‘म यी तीन दिन आफ्नो जीवनकै अन्तिम दिन हुन् जसरी बिताउन चाहन्छु ।’ तीन दिन उनीहरूले अमृताको इच्छाअनुसारका गतिविधि गरेर बिताए । इमरोज बम्बई जानासाथै अमृतालाई ज्वरो आयो । इमरोज पनि अमृताबाट टाढा रहेर बस्न नसक्ने भए । बम्बई पुगेको अर्को दिन नै उनले फोन गरेर आफू फेरि दिल्ली फर्किन लागेको बताए । इमरोज दिल्ली फर्किने दिन रेल्वे स्टेसनमा अमृता कुरेर बसेकी थिइन् । इमरोज फर्किनासाथ उनको ज्वरो ठीक भएको थियो ।

एकै घरमा बस्दा पनि अमृताको लेखनमा व्यवधान नहोस् भनेर इमरोज अलग्गै कोठामा बस्थे । भन्थे, ‘के भयो र घरभरि उनको वासना छँदै छ । मलाई त्यति नै काफी छ ।’ मध्यरात आफ्नो कोठामा मस्त लेख्दै गरेकी अमृतालाई चिया बनाएर लगिदिन्थे इमरोज । अमृता टाउकै नउठाई लेखिरहन्थिन् । यही क्रम चार दशकसम्म चल्यो ।
चालीस वर्ष उनीहरू सँगै बसे । तबसम्म, जबसम्म अमृताको देहान्त भएन । कष्टप्रद देहान्त । संसार छाड्नुअघि अमृताले इमरोजका लागि भनेर एउटा कविता छाडेर गइन् ।

‘मैं तेन्नु फिर मिलांगी…’

म तिमीलाई फेरि भेट्नेछु…
कहाँ र कसरी, त्यो म जान्दिनँ
सायद तिम्रो कल्पना बनेर आउनेछु
सायद तिम्रो क्यानभासमा
कुनै धर्को बनेर कोरिनेछु
र तिमीलाई टुलुटुलु त्यहीँबाट नियाल्नेछु ।
तिम्रा रङहरूले अँगाल्ने घामका किरण पो बन्छु कि ?
थाहा छैन कसरी र कहाँ
तर हामी फेरि भेट्नेछौं ।
शरीर नरहे पनि
टुक्राटुक्रा यादहरू त रहलान् नि कतै
तिनै यादहरूका टुक्रा
बटुल बाटुल पारेर एउटा माला गाँस्छु
र म फेरि आउँछु ।

रोगले च्यापेको बेला अमृता कराउँथिन्, छटपटाउँथिन् । साइनाइड ल्याएर आफूलाई दिन अह्राउँथिन् इमरोजलाई । इमरोज मायाले फकाउँथे, जिस्क्याउँथे । भन्थे, ‘हिजोआज सक्कली साइनाइड कहाँ पाइन्छ र ?’

आफूहरूबीचको उमेरको फरकका बारेमा सोचेर अमृता इमरोजलाई भन्थिन्, ‘तिमी मेरो जीवनमा यति ढिलो किन
आयौ ? समयले मेरो उमेरको राप खोसिसकेपछि किन आयौ ? मेरो जीवनको ढल्दो साँझमै तिमी आउनुपर्ने ? उज्यालो छँदै तिमी किन भेटिएनौ ?’

इमरोज यसको उत्तरमा भन्थे, ‘साँझै सही, तिमी कति सुन्दर साँझ हौ थाहा छ ? आऊ हामी यो साँझ हाम्रो देह, आत्मा, हृदय र हाम्रा समस्त प्रतिभाले सिँचौं । यो सुन्दर साँझ मेरा लागि उत्सवभन्दा कम छैन अमृता । तिमी मेरो जीवनमा साँझ भएर आए के भो ? म त्यो साँझ आफ्नो समस्त सामथ्र्य र जवानीका साथ बाँच्नेछु ।’

अमृतालाई सम्झेर इमरोजले भनेका छन्, ‘उनलाई पहिलोपल्ट देख्नेबित्तिकै मलाई लागेको थियो, मैले आफ्नो बाँकी जीवन साथै बिताउने सहयात्री पाएँ । र ठ्याक्कै त्यस्तै भयो । म जिउँदो रहुन्जेल अमृता मर्दिनन् । उनी मभित्र अझै जीवित छिन् ।’

अमृताले इमरोजलाई एकपल्ट भनेकी थिइन्, ‘तिमी अझै जवान नै छौ । जाऊ एकपल्ट संसार घुमेर आऊ । त्यसपछि पनि मै मन परेँ भने अनि सोचौंला ।’

सुन्दा कथाजस्तो लाग्छ तर तत्क्षण इमरोजले अमृताको वरिपरि सात फन्को लगाएर ‘संसार घुमी आएँ म । मलाई अझै पनि तिमी नै चाहियो’ भनेका थिए रे ।

अमृताको देहान्त भएयता इमरोजले पनि कविता लेख्न थाले । अमृताको ‘म तिमीलाई फेरि भेट्नेछु…’ को उत्तरमा इमरोजले लेख्छन्, ‘तिमीले शरीर छाडेकी हौ, साथ हैन ।’

साहिर र अमृताको सम्बन्धलाई लिएर तपाईंको मनमा कहिल्यै कुनै ईष्याभाव उत्पन्न भएन ? भनेर इमरोजलाई सोध्दा उनी भन्छन्, ‘साहिरसँग अमृताको कहिल्यै कुनै सम्बन्ध नै थिएन । साहिर अमृताको कल्पना मात्र थिए । म उनको यथार्थ । साहिरको कल्पनाले उनलाई सधैं पीडा मात्र दियो, र मसँगको साथले उनलाई पूर्णता ।’

र, एक दिन जब वर्षौंपछि इमरोजको साथमा आएकी अमृतासँग बम्बईमा कतै जम्काभेट भयो साहिरको,
उनले लेखे  :
‘महफिल से उठ जाने वालों
तुम लोगों पर क्या इलजाम…
तुम आवाद घरों के वासी
मैं आवारा और बदनाम…’

(अनुपम पोखरेल आध्यात्मिक, प्रेमिल र साहित्यिक दुनियाँका पारखी लेखक/अनुवादक हुन् ।)

 

लेखक परिचय

आध्यात्म साहित्यमा रूचि राख्नु हुने अनुपम पोखरेल आध्यात्मिक क्षेत्रमा भने स्वामी अनुपमका नामले परिचित हुनुहुन्छ । उहाँले 'ओशोः एउटा असाधारण जीवनकथा', 'सद्गुरूः जीवनी र दर्शन' र 'श्रीश्री रविशङ्कर' जस्ता पुस्तक लेख्नु भएको छ भने 'बुबा सानो छँदा', 'एन फ्र्याङ्कको डायरी' र 'प्रेमचन्दका चुनिएका कथाहरू' अनुवाद गर्नु भएको छ । उहाँका सय भन्दा बढी फुटकर रचनाहरू नागरिक दैनिक, अन्नपूर्ण दैनिक तथा कयौँ वेबसाइटहरूमा प्रकाशित छन् ।

प्रतिक्रिया
Loading...