ठूलो घर थियो. भव्य. दरबारजस्तै. पुरानो नेवारी शैलीको घर. प्राचीन र आधुनिक वास्तुकलाको सुन्दर संयोजन. बाहिरबाट हेर्दा कुनै दरबार स्क्वायरको एक चोक्टा जस्तो. भित्र आधुनिक साजसज्जा. मयुर आकारको ठूल्ठूला आँखीझ्याल. बाथरुममा पिपलपाते आकारको तामाको बाथटब. लामो बरण्डाका दुवैतिर काठका खापा. तेल भरिएका माटाका स-साना पाला राखिएका. ठूलो बगैंचा. बगैंचामा ढुंगेधारा. मेरो साथी आफ्नी आमासँग बस्थ्यो त्यस घरमा.

शान्ति मलाई आँखैले देखिने पुतली जसरी उडेको वस्तुजस्तो लाग्थ्यो यहाँ. म बेलाबेला जान्थें. ध्यान गर्न होस् वा केही पढ्न लेख्न. यसै केही नगरी बस्न त झनै रमाइलो! सबै कोठा रातो र कालो दुई रङमा मात्र रंगिएका. राता र काला पर्दा, त्यस्तै बेडसिट! तान्त्रिकको गुफाजस्ता कोठा. साथी भन्थ्यो, “मेरी आमाको दिमाग फुस्किएको छ… उसले केही भने माइन्ड नगर्नू है!”

भनेको कुरा मैले किन नपत्याउनु ? पत्याएँ. साथीकी आमा धेरै नबोल्ने. बिछट्टकी राम्री. भक्तपुरकी कुमारी रे जमानाकी ! वहाँ घरको सबैभन्दा तल्लो तल्लामा एक्लै बस्नु हुन्थ्यो. मेरो साथी भने घरको सबैभन्दा माथिल्लो तल्लामा एक्लै बस्थ्यो. आमाछोरा छुट्टै बसे पनि वर्षौंदेखि कायम भएको एउटा रुटिनजस्तो थियो, जसले आमालाई छोराको फ्ल्याटमा ल्याउँथ्यो.

अनुपम पाेखरेल

वहाँ दिनमा तीनपल्ट मेरो साथीको फ्ल्याटमा आउनुहुन्थ्यो, बिहान हामी उठ्नुभन्दा अगाडि नै आएर गएराति हामीले जुठा पारेका भाँडा माझिदिएर जानु हुन्थ्यो. दिउँसो वहाँ कुनै मौसमी फलका साथ दुध वा चिया लिएर आउनु हुन्थ्यो. आफ्नो छोराको लागि! यो पनि मलाई खासै अस्वाभाविक लागेको हैन. छोराको कोठामा नयाँ-नयाँ मान्छे आउँछन्, जोसुकै आऊन् के मतलब! आफैं पकाऊन् खाऊन्. मै आमा भएको भए पनि आफ्ना सन्तानका लागि मेरो त्यही नियम हुन्थ्यो होला!

‘तिमीलाई म खुवाउन सक्छु तर तिम्रा साथीहरुलाई तिमी आफैँ खुवाऊ,’ साथीकी आमाको नियम. यस्तै कारणहरु र नियम सुनेपछि मलाई साथीकी आमा चौपट्टै मन पर्नुभयो. राति भने वहाँ कुन बेला आउने पत्तै नहुने. एकपल्ट म ध्यानबाट उठ्दा वहाँ मलाई एकटक लगाएर हेर्दै हुनुहुन्थ्यो. मध्यरातमा. वहाँ नेवारीमा बर्बराइरहनु हुन्थ्यो. म साथीलाई अर्थ सोध्थें त्यो सबैको.

“केही अर्थै छैन.. जे पायो त्यही हो,” मेरो साथी भन्थ्यो.

उसका अनुसार कुनै अदृश्य मान्छे वा मान्छेहरुसँग बोलेको जस्तो गर्नु हुन्थ्यो वहाँ. कहिले, “ओहो.. तिमीहरु आयौ ? भोक लाग्यो ? खान्छौ ?” भनिरहनु भएको हुन्थ्यो त कहिले, “आउँछु..आउँछु.. म पनि आउँछु..” भन्नुहुन्थ्यो. एक दिन वहाँले मलाई एक कचौरा काटेको नास्पाती ल्याएर दिनुभयो. मिठो नेवारीमा “ना…” भन्दै.

एउटा रात वहाँ हामी किन अबेरसम्म कराएर बसेका छौं भनेर कराउन आउनु भयो. अर्को एक रात वहाँ हामी किन बार्दलीमा बसेका छौं भनेर कराउन आउनु भयो. मेरो साथीले नेवारी मै, “जाऊ जाऊ.. हामी चुरोट खान आएका” भनेर पठायो. वहाँ आउँदा-जाँदा साथीको किचनमा पसेर भएभरका भाँडामा पानी भरिदिएर जानु हुन्थ्यो. हामी हाँस्थ्यौं.

“मेरो घरमा मात्र हो यस्तो कि तिमीहरुकोमा पनि हो ?” ऊ सोध्थ्यो. शायद यो आमाहरुमा हुने कुनै एउटा रसायन हो. मैले मेरै घरमा पनि यस्तो गरिएको देखेको छु. एकपल्ट मेरो साथी कतै गएको बेला वहाँ आउनु भयो. मैले तर्सिएर ढोका छेउको दराज लडाएँ. दराजको सिसा झर्यामझुरुम फुट्यो. वहाँ न तर्सिनु भयो, न केही भन्नु भयो. गएर कुचो लिएर आउनु भयो र फुटेको सिसा बढार्न थाल्नु भयो. कहिलेकाहीँ मेरो साथी बाहिर गएको बेला वहाँ माथि आउनु हुन्थ्यो. नेवारीमा केही भन्दै आउनु हुन्थ्यो. म बुझ्दिन थिएँ तर वहाँ मसँग नभएर अरु नै कसैसँग बोल्दै हुनुहुन्छ भन्ने पक्का हुन्थ्यो. केही कुराको भने वहाँ असाध्यै लोभ गर्ने. खाली बट्टा, कुचो देख्ने नहुने. आफ्नोमा लगिहाल्ने. एकपल्ट वहाँ गाली गर्ने टोनमा नेवारीमा बेस्सरी कराउनु भयो. मेरो साथी हाँस्यो.

मैले सोधें, “किन हाँसेको ?”

उसले भन्यो, “तेरो आमाको फलानो अंग भनेर कराउँदैछ…त्यो भनेको उसैको अंग त हो नि !!”

वहाँलाई हेर्दै जाने क्रममा लाग्यो वहाँ आधा मात्र यो लोकमा हुनुहुन्छ. आधा, अर्कै लोकमा. वहाँको हाउभाउ र भाषामा स्पष्ट रुपमा ती दुवै लोकको दोहोरो नागरिकता देखिन्थ्यो.

ब्रेकफास्टका लागि म बटन मसरुम किनेर फर्कंदाको एक बिहान वहाँ बार्दलीमा बसी उदास अनुहार लगाएर आकाशतिर हेर्दै हुनुहुन्थ्यो. कुरा कहाँबाट थप इन्ट्रेस्टिङ हुन थाल्यो भने, एकताका म आउट अफ बडी मेडिटेसनको अभ्यास गर्ने क्रममा साथीको घरमा बसेको थिएँ. शरीरबाट चेतनालाई सक्दो बाहिर निकाल्ने अभ्यास. कहाँसम्म बाहिर निस्कने भन्ने कुरा भने आफ्नो नियन्त्रणमा नहुने.

कहिले म आफ्नै कुनै पूर्वजन्ममा पुगिरहेको हुन्थें त कहिले कुनै अर्कै आयामको लोकमा पुगेको हुन्थें. मेडिटेसनको क्रममा एकपल्ट म एउटा यस्तो लोकमा पुगें, जहाँ मेरा मरे भनिएका सबै आफन्त थिए. शायद प्रेतलोक थियो त्यो. त्यहाँ मैले नेवारीमा बर्बराइरहेकी एक महिला देखें. उही मेरो साथीको आमा! वहाँ शायद अर्को लोकमा भएको आफ्नो आधा चेतनालाई यो लोकमा बोलाउँदै हुनुहुन्थ्यो. यो त्यही रात थियो जब मध्यरातमा मेरा आँखा खुलेका थिए र आँखा खुल्दा वहाँ मेरो सामुन्नेमा हुनुहुन्थ्यो.

यस लोकमा आफ्नो चेतना पूरै नहुनु भनेको कुनै अर्को लोकमा पनि चेतना अधुरै हुनु हो रहेछ.

एक तमासले बर्बराउनेहरु त्यही अधुरो हुनुको पीडा बर्बराउने रहेछन् !