मबाट आफूले चाहेको अपेक्षा पूरा गराउन नसक्दा धेरैले आरोप लगाए, तेरो ढुङ्गाको मुटु. मैले आफ्नो लागि जोगाएर राखेको मुटुको एउटा सानो कुनो मेरो लागि मात्रै हो. त्यहाँभन्दा उता, एक इन्च मात्र उता, कुनै दसगजा नराखी लडीबुडी गर्नु, तर मलाई आँखा बन्द गरेर बस्न मन लागेको बेला तिम्रा गीत पनि झर्को लाग्न पाउने अधिकार छ.

त्यो अधिकारको अभ्यास भलै म कमै मात्र गरौंला, तर मैले तिमीलाई माया गर्न, एउटा मायालु म चाहिन्छ. आफूभित्रको त्यो मायालु म मैले निकै समय लगाएर खोजेको हुँ. ऊ जङ्गली थियो. जिन्दगीका अनेक काँडाले, पसलेहरूको अनेक झटारोले हानेर क्षतविक्षत् बनाइएको. न्यानो ओछ्यान दिएर, निःसर्त प्रेम गरेर मैले मेरो म’लाई फकाएको हुँ. माग्नेले त्यो पाउँदैन. बरु डिजर्भ गर्नेलाई म आफैंले बुझेर मेरो अत्यन्तै निजी ढोका उघारी दिउँला नि. जुत्ताचप्पल खोलेर, जतन गरेर, हो-हल्ला नगरी आउनु. ध्यान गर्नु. यो नबुझ्नेहरुले लगाएको आरोप हो, तेरो ढुङ्गाको मुटु.

ढुङ्गालाई निर्जीव देख्नेले मुटुको जीवन्तता के मससुस गर्न सक्थे ? अनि भन्दिए, मुटुलाई ढुङ्गा.

अनुपम पाेखरेल

हाम्रा पुर्खाको हड्डी, ढुङ्गाको रातो रङ उनीहरुकै रगतको हो. ढुङ्गाको सेतो, उनीहरुकै तिघ्राको हड्डी जसको दरिलो आडले तिनले जिन्दगीका अनेक लडाइँ र हुरीबतास काटे र पो हामीले यो दुनियाँ देख्न पायौं. तिनै पुर्खाको हस्ताक्षर हुन् जब ढुङ्गा भने, ती निर्जीव कसरी भए ? तपाईंले गलत साइन्स पढ्नु भयो. तपाईंका विज्ञान शिक्षकले विज्ञान बुझेर हैन, घोकेर पढाए, यदि तपाईं ढुङ्गालाई निर्जीव देख्नुहुन्छ भने.

ढुङ्गा र मेरो सम्बन्धको पुल बनेर थुप्रै साथीहरु आए जिन्दगीमा. ढुङ्गामा जीवन देख्न थाले यता जब भेट्न आउने कसैले सोध्छ के ल्याइदिउँ ? म भन्छु, तिम्रो ठाउँको ढुङ्गा ल्याइदेउ. कुनै पनि ठाउँको लाखौँ वर्षको इतिहास त्यहाँका ढुङ्गामा कैद हुन्छन्. संसारले देखेका मूर्तिकारहरुमध्येका एक माइकलएन्जेलो भन्थे, रक्स आर द मीट अफ द अर्थ.

आफैंले बनाएको ढुङ्गाको एउटा मूर्ति, बोलाउँदा नबोलेपछी उसले ह्याम्मरले हानेर रिस पोखेको दाग अझै छ त्यो मूर्तीमा भन्छन् त्यो मूर्ती देख्नेहरुले. मैले ढुङ्गा कुँदेर मूर्ति बनाउन जानिनँ. शब्द कुँद्ने प्रयास गर्छु. चाहना उही हो. अव्यक्तलाई सीमा र आकारमा बाँध्ने. कहिलेकाहीँ त्यो प्रयासमा म कहिले ऋषि बन्छु कहिले कवि.

यहाँभन्दा धेरै टाढा एउटा सुन्दर ठाउँ छ, हलुका गुलाबी मिसिएको रातो-रातो रङ्गको बालुवाको बगर छ त्यहाँको समुद्र किनारमा. त्यहाँ छालहरुले फिटेर समुद्रभित्र लाखौँ वर्षअघि मरेका हाम्रा पुर्खालाई ढुङ्गा बनाउँछ. चिल्ला सेता ती ढुङ्गालाई भगवान् विष्णुको अवतार मानेर पूजा गर्दा हुन्छ. सेता शालीग्राम. मैले गोवाबाट फर्कंदा प्रकृतिको चमत्कार त्यो ढुङ्गा लिएर आएँ. जसरी मैले देवघाट जाँदा कालीगण्डकीको बगरबाट घन्टौं खोजेर कालो शालीग्राम ल्याएँ. ढुङ्गाका यस्ता थुप्रै कथा छन् जसमा मान्छे पनि जोडिएर आउँछन्.

एउटी केटी थिई जङ्गली फूलजस्ती. वाइल्ड फ्लावर. एकपल्ट उसले भनी, बन्दीपूर घुम्न गएको बेला एउटा होटल रुममा मैले खुसुक्क एउटा ढुङ्गा लुकाएर आएँ. मैले होटलको नाम सोधें. शायद रुम नम्बर पनि सोधें, वा त्यो आफैं पत्ता लगाएँ. बन्दीपुर गएर त्यो होटल रुमबाट त्यो ढुङ्गा ल्याएँ. जङ्गली फूललाई मैले मेरो जिन्दगीमा रोपेको भए त्यो गमला उसलाई सानो हुन्थ्यो. अतीतको एउटा स्मृतिमा उसले छाडेको एउटा ढुङ्गा, उठाएर ल्याएँ. मेरो लागि त्यो ढुङ्गामा जति मुटु शायदै कसैको छातीमा होला.

ढुङ्गालाई मैले गर्ने यस्तो प्रेम देखेर संसारले ढुङ्गा भनेको एउटा प्यारो केटोले चाइनाबाट फर्कंदा मेरो लागि चाइनिज ढुङ्गा बोकेर ल्याएछ. एउटा कुरा दिनु थियो तपाईंलाई भनेर धकाउँदै आएको त्यो सुदामाको कनिका खाएर म भगवान् कृष्ण भएँ. अस्तित्वको कण कणमा, ढुङ्गा ढुङ्गामा भगवान्को बास छ भन्ने बुझेरै शायद केही मान्छेले मेरो मुटुलाई ढुङ्गाको मुटु भनेका हुन्.