
समाज र सभ्यताको जति जति विकास हुँदै गयो, मान्छेले आफूलाई त्यत्ति त्यत्ति एक्लो पाउँदै जान थालेको छ. आजको मान्छे उदास छ.एक्लो छ. साधुको एक्लोपन हैन, सिर्जनाको एक्लोपन हैन, डिप्रेसनको एक्लोपनमा छ मान्छे. अनेक भौतिक समृद्धिका बाबजुद कोही साथी वा सहयात्री नभएको, अँध्यारोमा एक्लै रुमल्लिरहे जस्तो छ मान्छे.
यो के कारणले गर्दा हो ? ठ्याक्कै कुनै एक निश्चित समयबाट यस्तो हुन थालेको नभएर विभिन्न चरणबद्ध प्रक्रियाहरुको नतिजा हो मान्छेको यो एक्लोपन. कहिलेबाट र कहाँबाट भन्दा पनि के कस्ता कारणले गर्दा मान्छेको यस्तो अवस्था हुँदै गयो भनेर बुझ्नु आवश्यक छ.
पुराना दिनहरुमा मान्छे सधैं प्रकृतिको नजिकमा बस्दै आएको थियो. प्रकृतिको नजिक बस्नु ईश्वरको नजिक बस्नु हो. प्रकृति ईश्वरकै प्रतिबिम्ब हो. आकाश चुम्न लम्केका वृक्षहरु, तिनमा बसेर गीत गाइरहेका पंक्षीहरु, तिनलाई हलुका ताल दिएर नचाउने मद्धम बतासको संसर्गमा बसेको मान्छेलाई अस्तित्वको जीवन्तताको बोध थियो र त्यस जीवन्तताको कारक कुनै सर्वव्यापी शक्तिमाथि उसको मनमा श्रद्धा थियो. चाहे कुनै वनको सामिप्यमा बसेको मान्छे होस् वा कुनै सागरको किनारमा बसेको मान्छे, जीवनको विराटताप्रति उसको शिर सधैं नुहेकै थियो.
आधुनिक समाजको मान्छेले प्रकृतिसँगको साहचर्य गुमाएको छ. अचेल उसको जीवनमा ईश्वरको पदचाप कम, अनेक यन्त्रहरुको कोलाहल बढी गुन्जिएको छ. दिनभरको उसको समय अधिकांश निर्जीव वस्तुहरुको संसर्गमा व्यतित हुन थालेको छ. सिमेन्टका निर्जीव भवनहरुमा कहाँबाट उसले बोध गरोस् प्रकृतिको विराटताको जसको ऊ आफैं पनि एक अंश हो. यसरी मान्छेले आफ्नो परिचय नै भुल्दै गएको छ. यन्त्रहरुको आफ्नो महत्व छ, आफ्नै उपयोगीता छ. तर जसरी मान्छे प्रकृतिका विभिन्न रचनाको अगाडि नतमस्तक भएर निहुरिन सक्थ्यो र अहोभाव महसुस गर्न सक्छ, यन्त्रका अगाडि उसले त्यस्तो गर्न सक्दैन. चाहे जतिसुकै अद्भुत यन्त्र किन नहोस्, त्यसले हाम्रो शिर श्रद्धाभावमा झुकाउन सक्दैन. यसरी हाम्रो चेतनाबाट ईश्वर विस्तारै हराउँदै जाँदा, हाम्रो श्रद्धाभाव धुमिल हुँदै जाँदा हाम्रो जीवनबाट काव्य पनि हराउँदै गयो. हाम्रो नाच्न सक्ने, हाँस्न सक्ने, हाँस्दै नाच्दै बाँच्न सक्ने क्षमता हराउँदै गयो. यससँगै विलीन हुँदै गयो ती सब जसले हाम्रो जीवनलाई सुन्दरता, पवित्रता र गरिमा दिएका थिए. अहिलेका मान्छे जीवन जेनतेन गुजारिरहेका छन्. घिसारिरहेका छन्. काव्य गुमाएसँगै, अहोभाव हराएसँगै जीवनले अर्थ गुमाएको छ.

अनुपम पाेखरेल
कुनै पनि कुराको अर्थ त्यसैसँग जोडिएको र त्यसभन्दा बृहत् कुराले गर्दा हुन्छ. आफूभन्दा महान् र बृहत् कुनै कुरालाई आफ्नो श्रोत मानुन्जेल जीवन अर्थपूर्ण थियो. ईश्वरको मृत्युको घोषणासँगै भने जीवनले आफ्नो महत्ता गुमायो. प्रकृतिसँगको निकटता त्यागेर कृतिम संसारको सिर्जना गर्नु मानिसको पहिलो भूल थियो जसको कारणले गर्दा उसको जीवनमा जे जति अर्थपूर्ण थिए ती सबै गुमे. आज मानिससँग अनेक थोक भएर पनि ऊ गरिब छ. समयक्रमसँगै उसको बाहिरी संसार जति धनी हुँदै गयो, उसको भित्री संसार त्यत्ति नै खोक्रो हुँदै गयो.
मानव सभ्यता र इतिहासकै सबैभन्दा बढी सुविधाहरु अहिलेको मान्छेलाई प्राप्त छ. इतिहासकै सबैभन्दा निराश र एक्लो पनि अहिलेको मान्छे नै छ. यसको अर्को कारण भावनाप्रधान जीवनबाट तर्कप्रधान जीवनतर्फ मानिसले गरेको यात्रा पनि हो. ईश्वरको मृत्युको घोषणासँगै मान्छेको भावना मर्यो.
ईश्वर कुनै व्यक्तिगत अस्तित्व नभएर भावनात्मक अनुभुति हो. ईश्वरको बारेमा सोच्नु व्यर्थ छ. ईश्वरलाई हृदयमा महसुस गर्ने हो. बुद्धिको अत्याधिक प्रयोगसँगै मान्छेले तर्क प्रविणता त प्राप्त गर्यो, तर सँगसँगै भावना पनि गुमायो. तर्क र भावनाको सन्तुलन हुनुपर्थ्यो जीवनमा. तर्कको पाटोभारी भइदियो. हृदयले प्रविधि र विकास नदेला तर आनन्द र उत्सवका लागि हृदय पनि उत्ति नै आवश्यक छ. सुन्दरता र संगीतको, काव्यको बोधका लागि भावनाप्रधान हृदय आवश्यक छ. हाम्रा विश्वविद्यालय र पाठशाला हामीलाई भावशून्य बनाउने तालिम दिइरहेका छन्. मस्तिष्क र तर्कशक्तिको विकासमा मात्र उनीहरुको जोड छ. जीवनले यसकारण पनि सन्तुलन गुमाएको हो. जत्ति आफ्नो हृदयको केन्द्रबाट टाढिदै जान्छ, मान्छे त्यत्ति नै दुःखी र एक्लो हुँदै जान्छ. हृदय र भावनाहरुको दमन गरेर हामी धरतीमा नर्कको सिर्जना गरिरहेका छौं. हृदयको भाषा भुल्नु हाम्रो सभ्यताको अर्को ठूलो दुर्भाग्य साबित भएको छ. तर्क र फाइदा बेफाइदाको अत्याधिक हिसाबले हाम्रो काव्य रच्न र मनन् गर्न सक्ने क्षमता मर्दै गइरहेको छ. यससँगै हाम्रो प्रेम गर्न सक्ने क्षमता पनि मर्दै छ. कविताको मृत्यु, काव्यको मृत्यु एउटा सम्भावनाको मृत्यु हो जसले हामीलाई ईश्वरको अनुभूति गराउन सक्थ्यो.
काव्य विज्ञान र अध्यात्म बीचको सेतु हो. काव्यबिना यी दुईबीचको सम्पर्क नै टुट्छ. काव्यको अनुपस्थितिमा रचनात्मकता मर्यो. रचनात्मकताको अभावमा जीवनबाट उत्सव र अहोभाव विलीन भयो. रचनात्मकतालाई उत्पादकत्वले विस्थापित गर्यो. यसकारण पनि मानिस निराश छ. हामी सबैभित्र विद्यमान रचना गर्ने क्षमताको समष्टि नै ईश्वर हो. यसर्थ ईश्वरसँग सम्पर्क गाँस्नु छ भने रचनात्मकता र सिर्जनशीलताको माध्यम अपनाउनु पर्छ. संगीतको रचनामा डुबेको बेला केहीक्षणका लागि संगीतकार हराएर अर्कै लोकमा पुग्छन्. चित्र बनाउनमा तल्लीन चित्रकार कुनै अर्कै लोकमा डुब्छन्. यही लोकबाट यिनीहरुले आनन्दको सम्भावनाको खबर लिएर आउने हुन्. यिनैले हामीलाई जीवनको विराटताको सन्देश दिने हुन्. तर अचेल त संगीत र कलाजस्ता काव्यात्मक अभिव्यक्तिहरु पनि उत्पादन बन्ने दौडमा छन्. जीवनमा निराशा र निस्सारता यस कारण पनि छ.
उत्पादनशीलताले बाहिरी समृद्धि त दिन्छ, तर मानिसलाई भित्रभित्रै खोक्रो पनि बनाउँछ. उत्पादन सिर्जना हैन. उत्पादन गर्न कुनै मूर्खले पनि सक्छ. सिर्जना गर्न प्रतिभा चाहिन्छ र त्यसको लागि हृदय केन्द्रित जीवनशैली. जीवनशैलीमा भएको परिवर्तनले कवी र काव्यको हत्या गरेको छ. त्यसैले अहिलेका भवन हुन् वा चित्रकला, मूर्ती होउन् वा संगीत सबैमा काव्य नभएर उत्पादकत्व हावी भएको छ.
गुमेको हृदयलाई फिर्ता लिएर आउनु छ. बगैंचामा फुलेका फूललाई हेरेर आनन्दविभोर हुने कला फेरि सिक्नुछ. राति आकाशमा चम्कने ताराहरुसँग संवाद गर्न सक्ने हुनुछ. अनि बल्ल ईश्वर पुनर्जिवीत हुनेछन्. जीवनले गुमाएको गरिमा बल्ल पुनर्प्राप्त गर्नेछ.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






