‘बम्बई भन्नु हुँदैन, शिव सेनाका मान्छेले सुने गाली गर्छन्.’
रातको एघार बजे रेलवे स्टेसनमा दुई घण्टा कुराएपछि लिन आएको भाइ भन्दै थियो. धन्न साथीहरु थिए. नत्र एक्लै रातको एघार बजे मजस्तो अल्छी मान्छे स्टेसनमै सुत्दिन सक्थें.
साथीहरुले भने, ‘होटल खोजौं.’
हामी गोवाबाट फर्कंदैं थियौं. बम्बई, रक्सौल हुँदै नेपाल फर्कन लागेका. पोहोर यही दशैंका दिनहरुको आसपासको कुरो हो यो. म उपन्यास लेख्न भनेर दुई महिनादेखि गोवा बसेको थिएँ.
लेखाइ कम, रेभ पार्टीहरु र फिरंगीहरुसँगको सयल बढी हुँदै थियो. गोवा बसाइको अन्त्यमा दुई जना साथीहरु नेपालबाट आए. केही दिन गोवा घुम्ने अनि नेपाल सँगै फर्कने भनेर.
यसरी हामी गोवालाई बाइबाइ भनेर गोवाबाट बम्बई आइपुगेका थियौं रातिको एघार बजे. हुन त मेरी एउटी पूर्व प्रेमिकाको घर बम्बई थियो तर भारतको अधिकांश सहरका सडकमा कमसेकम एक रात बिताउने अवसर पाएको भए तापनि बम्बईमा त्यो अवसर जुटेको थिएन. मसँग हिंड्दा होस गर्नु, सडक बास हुन सक्छ ! अहिले साथमा बम्बई स्टेसनमा उभिएका साथीहरुले पहिला पनि त्यो अवसर पाएका थिए मसँग हिंड्दा. आज फेरि यिनीहरुलाई त्यो अवसर जुट्दै थियो, सडकमा रात बिताउने.
ताराहरु षडयन्त्र गर्दै थिए माथि. आँखा झिम्काउँदै. मैले देखिहालेँ. मैले पनि उनीहरुलाई आँखा झिम्काइदिएँ. साथीलाई सुरुमै बोलाएको हैन. मेरा साथीहरु जो सुकैलाई मन नपराउने. यहीं एउटा नेपाली भाइ छ, बोलाउँ उसलाई, भन्दा केटाहरु गनगन गर्ने, को मान्छे हो कस्तो मान्छे हो भनेर. साथीहरुसँग घुम्दाको यो झ्याउ. स्पोन्ट्यानियस हुन नपाइने !
बम्बई स्टेसनमा ओर्लिएर सुरुमा हामी खाने ठाउँ खोज्न थाल्यौं. भीड यस्तो ! रातको त्यो समयमा पनि ! राम्री राम्री केटीहरु पनि ! सडकमा हिंडेका. एक्लै, जोडी, हात समाएर. बम्बईको भीड कस्तो सुन्दर ! साथीहरु सडकमा सुटकेस घिसार्दै थिए, म सोच्दै थिएँ. यो पढेर साथीहरु पक्कै रिसाउँछन् उनीहरुलाई सडकमा सुटकेस घिसार्ने रोल दियो भनेर, तर के गर्नु ? मेरो कथाको हिरो मै हुँ.
त, केटाहरु सुटकेस घिसार्दै अघि बढे. गुगल म्यापमा खोजेर पत्ता लगाएको एउटा रेस्टुरेन्टमा हामी छिर्यौँ. बम्बईको साँघुरो बाफ्रे !! स्पेस चाहिँ दुर्लभ यो ठाउँमा ! त्यसैका फाइदा. सडकमा प्रेमीहरुको चर्तिकला खुलेआम देख्न पाइने. बेफाइदा, प्राइभेसी नपाइने.
सिलिङमा टाउको ठोक्किने रेस्टुरेन्टको दोस्रो तल्लामा फ्राइड राइस खाँदै हामी कस्तो होटलमा रात गुजार्ने भनेर सल्लाह गर्दै थियौं, ताराहरूले आँखा झिम्काए. मैले भनेँ, एउटा खत्रा भाइ छ. यतै बस्छ. उसलाई बोलाऊँ. रातभर बम्बई घुमौँ. किन सुतेर समय नष्ट गर्ने ?
मे आइ ह्याभ योर अटेन्सन हियर, बम्बई अनलाइक अरु साउथ एसियन सहर, २४ आवर्स ओपन सहर हो. बम्बई सुत्दैन. रातभर जाग्छ. नाच्छ, मात्छ, भिख माग्छ, रातभर.
यो भाइ कसरी भेटिएको थियो भन्ने पनि एउटा इन्ट्रेस्टिङ कथा छ. अनावश्यक गन्थन सुनाएर वाक्क पार्ने मान्छेहरु अभोइड गर्न मैले एउटा नियम बनाएँ र त्यो नियमको सार्वजनिक घोषणा गर्दिएँ. मलाई भेट्न आउने खाली हात नआउनू, रेस्टुरेन्टमा भेट्न बोलाएको भए बिल आफैं तिर्नु आदि.
एक दिन यही भाइ जो त्यसबेला अपरिचित थियो, मेसेन्जरमा मेसेज गर्यो. तपाईंलाई भेट्न आउन मन छ तर मसँग पैसा छैन. यस्तै यस्तैमा ऊ भेट्न आउने भयो. म साथीहरुसँग एउटा क्याफेमा बसेको थिएँ. भाइ आयो तीन बोतल बियर र दुई वटा ग्लास बोकेर. भन्यो, ‘तपाईंले खाली हात भेट्न नआउनू भन्नु भएकाले साथीको पसलबाट उधारो ल्याएको यो बियर.”
मैले मेरो लागि उसको हृदयमा भएको प्रेम महसुस गरेर उसलाई हग गर्दै भनें, “भाइ.. बियर चाहिँ हामी यहीं बाँडेर सिध्याऊँ । ग्लास म घर लैजान्छु तिम्रो प्रेम सम्झेर.”
केटो बम्बईमा हल्काफूल्का फिल्म मेकिङ गर्थ्यो. ठ्याक्कै के गर्थ्यो थाहा थिएन तर ‘हाइवे’ फिल्ममा इम्तियाज अलीलाई असिस्ट गरेको हुँ भन्थ्यो. इम्तियाजले उसले रोल गरेको चुरोट खाएको छ भन्ने थाहा पाएपछि मलाई यो भाइ हल्का माननीय लागेको थियो. यही भाइ केटोलाई फोन हानेपछि ऊ हामीलाई स्टेसनमा लिन आउन तयार भएको थियो र दुई घण्टा कुराएको थियो.
भाइ रहेछ हामीभन्दा चार गुणा बढी तबरेजी. केही त पक्कै खाएको थियो. पढ्दा रिसाउला तर मलाई त्यस्तै लाग्यो. पाँच वर्षको बच्चाको जस्तो उसको एक्साइटमेन्ट झेल्न हामीलाई गाह्रो पर्यो. हामीलाई देखेर साँच्चै खुसी भएको पनि हुन सक्छ तर. मरिन ड्राइभमा सडकपेटीबाट फालहानेर समुद्रमा ओछ्याइएका ढुङ्गाभित्र छिर्यो केटो एकपल्ट. हामीले मर्यो भन्ठान्यौं तर के मर्थ्यो केटो ! ढुकुर निकालेर त्यहीं मुत्न थाल्यो. हल्का घुँडा भने खुइलिएछ क्यार. मरिन ड्राइभ भन्ने ठाउँ कति राम्रो! बम्बई घुमाइको अधिक समय त हाम्रो मरिन ड्राइभको सडक पेटीमा पल्टिएरै बित्यो. त्यसै भनेको हैन, मन परेका सबै ठाउँको सडकमा कमसेकम एक रात बिताउन पाएकै छु मैले. अथवा यस्तो पनि हुन सक्छ, सडकमा बिताइएका रात सबै रमाइलै हुन्छन्. स्कूल युनिफर्म लगाएका केटाकेटी हात समातेर निस्फिक्री हिँडेका छन् मरिन ड्राइभमा. रातको बाह्र बजे त्यो पनि !
हरेक कुनामा एउटा नयाँ फिल्म चलिरहेको छ. केटोले किचकिच गरेर बियर खान एउटा लोकल पबमा पनि लग्यो. यहाँ पनि टाउको ठोकिने सिलिङ. बम्बईका प्रायः भट्टीमा भित्र चुरोट खान नपाइने. बियर पनि नमिठो. अमिताभ बच्चनको पुराना फिल्महरुमा देखाउने जस्तो भट्टी. भट्टी भिजिट सकेर होटल ताज. बस्न हैन, हेर्न, फोटो खिचाउन. सय रुपैयाँ तिरे होटल ताजपछि पारेर कोणकोणका तस्वीर त्यहीं खिचेर प्रिन्ट गरिदिन बसेका छन्. इन्डिया गेट हो कि गेट वे अफ इन्डियामा हो चाहिँ राति जान दिंदैनन् ताज होटल अट्याकपछि. जुहू बिच. रातभर चल्ने मेट्रो र लोकल. तिनमा मिठो फ्लर्ट गर्दै आउने हिजडाहरु. चकमन्न रातमा झिलिमिली महलहरुको ब्याकग्राउण्डमा सरर हावा उडाउँदै खटखट गर्दै चल्ने लोकल ट्रेन. अम्बानीको घर. सुनिल शेट्टीको घर. मिनीस्कर्ट लगाएका, अटोमा बसेर कस्टमर खोज्ने राम्रा कलगर्ल. हामीलाई देखेर लाइटर माग्ने बहानामा अटो रोकेका.
ट्याक्सीमा चढेर एकछिनमा मरिन ड्राइभ, एक छिनमा जुहू बिच. शायरीमा रुचि भएको बिहारी ट्याक्सी ड्राइभरसँग फैज, नदीम, इकबालका शायरीको कम्पिटिसन अनि साहिर लुधियानवीको वाह वाह. बियरले फिट्टु भएर ट्राफिक हल्का सुस्ताएको मध्यरातको सडकमा भौंतारिने र बेलाबेला आफ्नै ब्यागको सिरानी हालेर मरिन ड्राइभको पेटीमा पल्टिने क्रममा बम्बई सहर मेरो मनमा टिनएजको मिठो रोमान्स जस्तो मिठो सहर भएर बस्यो. फेरि शायदै जान्छु बम्बई, गए पनि ठ्याक्कै त्यसरी मटरगस्ती गर्दै तिनै साथीहरुसँग फेरि कहाँ घुम्छु होला र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।