बिहान ढोकामा नौनी घिउका सुन्दर मूर्ति बनाएर राख्छन् रे, तिब्बतका बौद्ध भिक्षुहरु. दिनभरको घाममा तातेर साँझसम्ममा पग्लेर जाऊन् भनेर. जीवन क्षणभंगुर छ. शरीर नश्वर छ. सम्बन्धहरुको नियति पनि त्यस्तै नै हो भन्ने याद रहोस् भनेर. सधैं भरिलाई यहाँ केही पनि छैन. न जिन्दगी, न यो शरीर, न कसैको साथ.
यो जसले बुझ्यो, बुद्ध भयो. मन्दिर र घाट शायद त्यसैले सँगैसँगै बनाइएका. हरेकपल्ट घाट आउँदा मन्दिर याद होस् र मन्दिर जाँदा घाट याद आओस् भनेर. घाटले ईश्वर सम्झाएजस्तै, मृत्युले जीवन सम्झाउँछ. म एकदिन मर्छु भनेर सबैले बेलैमा बुझेको राम्रो. समयले मार्छ. समय र मृत्यु दुवैको लागि एकै शब्द ‘काल’ त्यसैले प्रयोग गरेका हाम्रा पुर्खाले. सबथोक लुटेर लाने लुटेरा हो समय.
धेरै लामो छैन यो कथा. दुई तीन लाइनमा सकिन्छ. त्यसैले थुप्रै उपकथा र फूलबुट्टा जोडेको. हुन त जिन्दगीको कथा पनि कुन लामो हो र ? जन्म, हुर्क र मर. तर हामी अनेक उपकथा जोडेर आत्मकथाका ठेली बनाइदिन्छौं जाबो तीन शब्दको जिन्दगीलाई पनि.
उपकथा यस्तो छ- जिन्दगीमा कहिले बूढा, मरेका, रोगी मान्छे नदेखेका सिद्धार्थ गौतम युवक सम्मेलनमा भाग लिन जाँदै थिए. बाटामा उनले जब पहिलोपल्ट मरेको मान्छे देखे, उनले सारथिलाई सोधे, “के हो त्यो ?”
सारथीले भन्यो, “मरेको मान्छे.”
सिद्धार्थले सोधे, “के मेरो पनि यस्तो एक दिन आउनेछ?”
सारथीले भन्यो, “स्योर आउनेछ. मृत्यु मात्र सच्चा कम्युनिष्ट हो. सबैलाई बराबर. धनी मर्छन्, गरिब मर्छ. राजा मर्छन्. प्रजा मर्छ.”
सिद्धार्थलाई करेन्ट लाग्यो. पहिलोपल्ट त्यो पनि बुझ्ने उमेरमा यति ठूलो कुरा बुझे. उनले सारथिलाई भने, “साथी, उसोभए म मरिसकेँ. मलाई दरबारै फिर्ता लैजाऊ. एक दिन मरिन्छ र यो जिन्दगी त्यही मृत्युतर्फ जाने बाटो हो भने म जुन दिन जन्मिएँ, त्यही दिन मरेँ.”
म पनि एक दिन मर्छु भन्ने बुझ्न मलाई भने थुप्रो समय लाग्यो. बुझेँ जब आफूलाई ज्यानै दिएर माया गर्ने मान्छे मरेर गए.
यो त्यस्तै एउटी केटीको कथा हो, जो मरेर गई. जसले ज्यानभन्दा बढी माया गरी मलाई कुनै एउटा समयमा तर मैले बाल दिइनँ.
केटीको नाम थियो बेकी. अमेरिकन थिई. त्यति ठूलो समयको थिएन हाम्रो साहचर्य. त्यस्तो खासै माया लागेको पनि हैन मलाई उसको. जिउ राम्रो. स्तन ठूला. मान्छेको चलन, फ्लप फिल्मको हिरो नै किन नहोस्, मरेको एक दुई दिन सबैको हिरो. कुनै कवि मरोस्, मरेको दिन जिन्दगी कविता नपढ्ने मान्छेका प्रोफाइलमा उसैको फोटो. मैले पनि कुनै समयकी प्रेमिका मरेर गई भन्ने झट्ट सुनेर उसलाई सम्झिएजस्तो गर्न मात्र मन लागेको. मेरो कथा ध्यान दिएर पढ्नेले बुझ्छ, दुई जना मान्छेले दुई वटा भावमा उही घटनाको वर्णन गरिरहेजस्तो लाग्छ. एउटाले भन्छ म भावविह्वल भएर रुँदै उसलाई सम्झदै छु, अर्कोले भन्छ बाल हो ! सबै मर्छन् एक दिन ! म पनि मर्छु. बेकी मात्र मरेकी हो र ? अनि मृत्यु त्यस्तो नौलो घटना हो र ! जुन दिन जन्म भयो, त्यही दिन मर्ने निश्चय भयो.
यी दुवै आवाज मेरै हुन्. कुन सक्कली कुन नक्कली भगवान जानून्. मलाई थाहा छ, तपाईंलाई पनि त्यस्तै हुन्छ. लेख्नु कन्फेस गर्नु पनि हो. मनमा गाडिएका काँडा निकाल्नु हो.
मैले बेकीको चित्त दुखाएँ. समयसँगै उसले त्यो पचाई. बेलाबेला फेसबुकमा हालखबर पनि सोधी नै रही. पैसा चाहिए भन् पनि भनी. मैले उसको केही पनि लिइनँ. नलिंदा रिसाई.
“मैले दिएको किन लिंदैनस् ?” ऊ मसँग कड्किई.
तर दुई वर्ष जस्तो अघिबाट ऊ एक्कासि हराई.
दस बाह्र वर्ष अघिको कुरा हुँदो हो. म स्वार्थी थिएँ. बेजोडको स्वार्थी. आफ्नो बोली वा व्यवहारले कसैमा कस्तो असर पर्छ भनेर बाल नदिने उमेर जो थियो ! हावाजस्तो त म अहिले पनि छु, त्यो बेला हुण्डरी थिएँ ! आवारा, उन्मुक्त त अहिले पनि छु. तर संवेदनशील छु. बूढो भएँ. समयले सिकायो. घाउहरुले सिकाए. मेरो घाउ जसरी दुख्छ अरुको पनि त्यसरी नै हो दुख्दो हो भन्ने बुझेँ.
बेकी थिई अमेरिकन. नेपाल असाध्यै मन पराउने. हाम्रो एउटा समूह थियो. केही नेपाली, अधिकांस खैरे खैरीनी. त्यो उमेरमा मेरा प्रायः साथी खैरे हुने गर्थे. नेपाल घुम्न आएका, अध्यात्ममा रुचि राख्ने. पहाड, जङ्गल मन पराउने. उपनिषद् र गीता पढ्ने. रमण महर्षि आदिलाई रकस्टारसरह मान्ने. बुद्धत्वका खोजीहरु चलिरहेको थियो. उनीहरुकै सङ्गतले मलाई मेरो देशको प्रकृति चिन्ने बनायो. मेरो संस्कृतिको स्वाद चखायो. त्यो उमेरमा मेरो लागि प्रेम भन्ने भावनाले खासै महत्व राख्दैन थियो. अगाडि जो आयो, म उसैको.
बेकी अगाडि आई, भनी, “तँ मेरो होस्.”
मैले भनें, “अर्को कोही आएर त्यसो नभनुन्जेललाई हुन्छ… म तेरो.”
बेकीले गर्वका साथ आफ्ना साथीहरुसँग मेरो इन्ट्रो गराउँथी.
म उसको ट्रफी ब्वाइफ्रेन्ड. भगवानको खोजीमा निस्केको तन्नेरी साधक. म उसका साथीहरुसँग खुल्लमखुल्ला फ्लर्ट गर्दिन्थेँ. ऊ पचाइदिन्थी. न रिसाउँथी, न ठुस्कन्थी !
हामी अनेक उट्पट्याङ कुरा गर्दै बस्थ्यौं.
बेकी सोध्थी, “हामीले सु गर्दा बलुनबाट पानी चुहिएको जस्तो हुन्छ. तिमीहरुलाई कस्तो महसुस हुन्छ? पाइपबाट बेस्सरी पानी निस्किएजस्तो ?”
एक दिन बेकीले भारतीय मूलकी एउटी क्यानेडियन केटी मलाई चिनाई. उसकी साथी. केटी मसँग मस्किन थाली. म पनि ऊसँग मस्किन थालेँ.
बेकीको चित्त धेरै दुख्यो. शायद बाहिरको अरु कोहीसँग मैले फ्लर्ट गरेको भए उसलाई खासै वास्ता हुन्थेन तर उसैले चिनाएको साथी. त्यो साथी बिस्तारै मसँगै बस्न थाली. केही समय हामी सँगै बस्यौं.
यो देखेपछि बेकी दुर्गा भद्रकाली भई. मुख छाडी. हातै चाहिँ हालिन.
यसपछि बेकीसँग मेरो खासै कुरा हुन छाड्यो. उसकी साथी र मेरो पनि खासै लामो चलेन सम्बन्ध. हामी धेरै समय सँगै रहन सकेनौं. बेकीले यो थाहा पाई. खुच्चिङ् शैलीका मेसेज पठाई अमेरिकाबाटै.
त्यसको निकै समयपछि एकदिन म्यासेज गरी, “म आफ्ना स्तनको आकार घटाउने शल्यक्रिया गराउन लागेकी.”
मैले सोधें, “किन त्यसो गर्ने ?”
“मेरो जिउ हो ! जे मन लाग्छ, गर्छु.” ऊ सन्कीएकी थिई टेक्स्टमै.
त्यसपछी बेकी हराई. म आफ्नै दुनियाँमा मस्त भएँ. मैले चिन्ने बेकीका अन्य खैरे साथीहरु बरु कहिलेकाहीँ हाई हल्लो गर्न आउँथे. एक्कासि तिनै मध्येका एकले मलाई भन्यो, एक महिना जस्तो अगाडी, “ओई, थाहा पाइस् ? तेरो एक्स थिई नि बेकी. त्यो मरी नि. क्यान्सर भएर.”
मैले उसको फेसबुक प्रोफाइल चेक गरी हेरें. मलाई अनफ्रेन्ड गरिसकेकी रहिछ. निकै समयअघिदेखि एक्टिभ नभएको प्रोफाइल.
सोचेँ, म पनि एक दिन मर्छु. अनि केही एक्सहरुले मेरो प्रोफाइल यसै गरी चेक गर्नेछन्.
कथाको सार, “सबै कुरा बितेर जान्छ” भन्ने बुझे हुन्छ. जो मेरो हातमा ट्याटु गराएको छु. बेकीको फेभरेट भनाइ हो यो. यो भनाइ मैले पहिलोपटक उसैको मुखबाट सुनेको थिएँ.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






