पाँच कक्षामा पढ्दा होला शायद मास्टरले घोकाएका. जिन्दगीको परम सत्य यिनै श्रुतिसमभिन्नार्थक शब्दमा लुकेका छन् जसरी घोकाउँथे मास्टर. अर्थ बताउँदैन थिए. ताल: ढङ्ग ताल: पोखरी. ‘यति कण्ठ गरे तेरो जीवनै उद्दार हुन्छ. जिन्दगीका अँध्यारा रात तैँले यही सम्झेर कटाउनू. भोक लाग्दा यही खानू…’ जस्तो गरेर कण्ठ गराएको चिज कहाँ बिर्सन्छु ?

शायद अठार वर्षको उमेरमा जिन्दगीको पहिलो ताल साक्षात् देखेँ मैले. फेवाताल. त्यहाँदेखि मोहनी नै लगायो यो तालले. काठमाडौँ नजिकैको इन्द्र सरोबर देख्दा खुसीले चिच्याएको म. मन परेकी मायालु जो टाढा छे, उसैकी आकृतिको अर्को मायालु भेट्टिई भनेर. मायालुहरु आए, गए. इन्द्रसरोबर पनि आए, फेवा पनि आए. तालहरु जहीँको त्यहीँ छन्. मौनताको खेल खेलेर बसेका. मान्छेको आत्मा जगाउने खेल खेलेर बसेका. यहाँका डुंगा चलाउने दाइहरु सबै साधक ध्यानिजस्ता छन्. तालको घण्टौँ सङ्गत गरेर ताल जस्तै शान्त भएका. स्लो-मोसन मुस्कानमा तालको तरेली हाँसिदिने. ती तपाईंलाई नसोधी तपाईंका आवश्यकता पत्ता लगाइदिन्छन्. मान्छे हेरेर थाहा पाइदिन्छन्, को मन्दिर जान आएको हो, को सूर्योदय ! तालको बीचमा मन्दिर छ, बाराही. डुङ्गामै हो जाने. मेरो लागि तालको चारैतिर मन्दिर. डुङ्गामै हो जाने. एक साधन, अलग मार्ग, एक गन्तव्य. ताल मलाई स्त्रीलिंगी जस्तो लाग्छ. थोरै नटखट. देवीजस्ती भनौँ. देवीहरु मलाई प्रेमिकाजस्ता लाग्छन् सबै. भेट्टिन्छन् पनि कहिले कतै. सरस्वती भेटिए हामी किताबका कुरा गर्छौं. लक्ष्मी भेट्टिए हामी धन सम्पत्तिका कुरा गर्छौं.

एकपल्ट एउटी महाकालीले दर्शन दिई जिन्दगीमा. मध्यरातमा मलाई सिसाको एसट्रेले हानी र झन्डै टाउको फुटाइदिई. अर्को रात मेरा लुगा च्याती तर महाकालीले माया कस्तो गरी भने… बोकेरै घुमाइदिई.

ताल पनि यस्तै हो. कहिले तरेली, कहिले मुरली ! आइ डन्ट नो व्हाट द्.याट मिन्स. राइम मिलाउन हान्देको. नेपालमा अधिकांशले कविताको नाममा राइम मिलाउने तमाशा देखाएर सबैलाई चुतिया बनाएका छन् भने मैले त्यही गर्दा किन नहुने ! तरेली-मुरली-जुरेली. यो कविता हैन. कवितामा शक्ति हुनुपर्छ संरचना हैन.

आत्माको परिभाषा कसैले सोध्दा त्यसैले ओशो कठोपनिषद वा इशावास्योपनिषद् कोट गर्दैनन्, जहाँ आत्माका सय परिभाषा अलरेडी छन्. उनी कोट गर्छन् गुलजार. रूह देखी है कभी ! कस्तो हुन्छ आत्मा भनेर सोध्दा गुलजार भन्छन्, ‘कुनै रात तालमा बोटिङ् गर्नु. हावाले पानीमा हल्का थपथपाउँदा पानीमा बज्ने घन्टीको आवाज सुन्न सक्छौ भने तिमीले आफ्नो आत्माको आवाज सुनेका छौ.’

तालमा म साँझ-बिहान-दिन-रात छु.

बिहान तालको ड्रेसअप अलि अर्कै हुन्छ. नुहाइधुवाई गरेर घरको काम गर्न जान लागेकी आमाजस्ती. बाफ उड्दै हुन्छ माथि. त्यही बाफ हो बादल बन्ने. बिहान बोटिङ् गर्दा दीपक खरेलको गीत याद आउँछ- “बादल बनाइदेऊ..आकार बदल्न सकूँ…”

दिउँसोको ताल, मेरी यस्ती प्रेमिका बन्छिन्, जोसँग मेरालागि समय छैन. म पनि उसलाई करियर बनाउन दिन्छु. डिस्टर्ब गर्दिनँ. दिनभर ताल सेक्सी ड्रेसअपमा कपाल जुरो बानेर अफिस लिड गर्ने बोस्सी वोमन बन्छिन्. मलाई उनको त्यो रुप मनपर्छ तर डिस्टर्ब गर्न जान्नँ. तेत्तिन्जेल मेरो आफ्नै अर्कै प्राइभेट संसार छँदैछ नि !

रातको ताल पनि मेरो फेभरेट हो. ताल र आकाश सधैँ खेलिरहेका हुन्छन्. सच्चा प्रेमीजस्ता. खलिल जिब्रानको ‘द प्रोफेट’जस्तो… “लभ वन-अनोदर बट डन्ट मेक अ बन्ड आउट अफ इट…” गितारका तार सँगै टाँसिए कहाँ हुन्छ र संगीत ? थोरै दुरी सधैँ चाहिन्छ. हरेकलाई आफ्नो एउटा प्राइभेट स्पेस चाहिन्छ. आकाश ओर्लंदैन तल. ताल शान्त भइदिन्छे. त्योबेला यी दुवै एकाकार भैदिन्छन्.

ताल बिल्कुल जादुयी र तिलस्मी छ भन्ने कुरा मैले हिजो राति थाहा पाएँ. बाँदरको झुण्ड जसरी ह्याप्पी न्यु इयर गर्न तालको किनार हिँडेका हज्जारौँ मान्छेले त ताल देखेकै थिएनन्. ह्यारी पोटरमा भन्ने जस्तो. मगल्सले जादु देख्दैनन्. मान्छेको ढङ्गलाई पनि शायद त्यसैले ताल भनिएको. तालका अनेक रुप हुन्छन्.

ह्याप्पी मात्र कहाँ हुन्छ ! सधैँ गुलियो मात्र कहाँ हुन्छ ! मलाई त करेलाको तीतो र खोर्सानीको पिरो पनि उत्तिकै मनपर्छ. सुर्ती च्यापेर हेर्नु एकपल्ट जिन्दगीमा. त्यो रमरमीको पनि आफ्नै एउटा युनिक स्वाद छ. टाउको घुमाएजस्तो.

के बिहानको ताल रातिको वा दिउँसोको ताल भन्दा कम सुन्दर हो र ? ह्याप्पी न्यु इयर भनेर चाक पुछ्ने ढङ्ग नभएका प्रजाति रुमल्लिएका हुन्. जिन्दगीमा गुलियो मात्र खानुपर्छ भन्ने भ्रम छ उनीहरुलाई. म त मेरो जिन्दगीमा सबै रङ चाहन्छु. सबै स्वाद चाहन्छु. तालको हरेक रुप सेक्सी ! मेरो मन पनि त ताल नै हो ! बेलाबेला कुहिरो उडोस्, बेलाबेला छातीमा हिमाल नाचोस्.