
जीवनको भोगाई स्कूल पढ्दाको मार्कसिटमा तोकिएको डिभिजनले नाप्ने हैन. मानौं तपाईं हुनुहुन्थ्यो कक्षामा सधैं फर्स्ट, जीवनमा अब तपाईंले कहीं कतै फेल हुनै हुँदैन भन्ने छैन. यही नबुझेर फर्स्ट बोइ/गर्ल वा फर्स्ट नन बाइनरीहरु जीवनमा सेकेण्ड भइएला वा फेल भइएला भनेर आत्तिन्छन्. मैले कक्षामा फेल हुने गरेकाहरु भन्दा कक्षामा फर्स्ट हुने गरेकाहरु जीवनमा आत्तिएको देखेको छु. जीवनका ठुला परीक्षाहरूमा प्रथम हुन केही स-साना परिक्षा अनुत्तीर्ण भएर असफलता पनि एउटा बितेर जाने स्वाद नै हो, जस्तो सफलता हो. भनेर बुझ्नु जरुरी छ फर्स्ट बोइहरुले. ‘बोइ’ शब्द सर्वनामको रुपमा प्रयोग मात्र गरिएको हो. हरेकपल्ट बोइ, गर्ल वा नन बाइनरी भनेर भन्दा लामो हुन्छ, त्यसैले.
धनी देशका पढेलेखेकाहरू आजभोलि आफूलाई नन –बाइनरी भन्न रुचाउँछन्. अर्थात आफ्नो जेन्डर आइडेन्टी पुरुष वा स्त्रीका रूपमा मात्र परिभाषित गर्न नचाहने. केटा भएर किन गुलाबी लगाउन नमिल्ने ? केटी भएर छोटो कपाल राख्न किन नमिल्ने ? केटा वा केटी हैन, नयाँ युगका सार्प माइन्डहरू आफूलाई जेन्डरको सीमामा नबाँधेर नन-बाइनरी भनेर चिनाउन चाहन्छन्. मन लागे केटाले पनि मेकअप गर्दा हुन्छ मज्जाले. मेकअप पनि जेन्डरसँग बाँधीनुपर्ने कुरा हैन. बालकृष्ण सम मेकअप गर्थे. लाली पाउडर लगाउँथे. त्यो जमानामा यिनले बुझेछन् नन-बाइनरी भन्ने कुरो. समृद्ध समाजमा केटा र केटीको विभेद उसको हाउभाउ, रुची आदिको आधारमा हुँदैन. हाम्रो सभ्यताले त्यसैले हरेक व्यक्ती अर्ध नारिश्वर हो भन्ने कन्सेप्टको विकास गर्यो. हाम्रा अधिकाँश देवतामा त्यसैले जेन्डरको ठप्पा लगाउन मिल्दैन. पूर्णावतार टाउकोमा मयूरको प्वाँख सिउरिन्थे. फूलको पाउजु लगाउँथे. नाच्थे, गाउँथे, बजाउँथे.
फर्स्ट बोइ सिन्ड्रोमका केही केस स्टडी छन् मेरा. यी सबैमा देखिने एउटा स्थायी लक्षण भनेको, जीवनका सबै दौडमा प्रथम नै हुन चाहनु हो. खुसीमा मात्र नभएर दुखमा समेत. आनन्दमा मात्र नभएर तनावमा समेत. मेरा एक मित्र, बाल्यकालका फर्स्ट बोइ, जीवनका एक दुई परिक्षामा शायद अनुतिर्ण भए. थोरै तनाव भयो, फर्स्ट त यसमा पनि हुनै थियो उनलाई. मानसिक समस्याका बारेमा गुगल गर्न थाले र आफ्नो डाइग्नोसिस आफैं गर्न थाले. मलाई भेट्दा यिनले भनेका थिए, मलाई संसारमा भए जती सबै मानसिक समस्या छ जस्तो लाग्छ. यो सुनेरै मैले सोधेको थिएँ, स्कूलमा फर्स्ट हनुहुन्थ्यो हो ?
फर्स्ट बोइ सिन्ड्रोमले समतामा रहेर सोच्न जान्दैन. यसले सधैं एक्स्ट्रीममा मात्र सोच्न जान्दछ. साधारण जीवन यसले मान्दैन. कि राजा बन्नुपर्छ कि भिखारी यसलाई. कसैले तपाईंसँग यस्तो कुरा गर्छ भने उसलाई सोध्नु, स्कूलमा सधैं फर्स्ट हुन्थ्यौ हो ?
कुरुक्षेत्रको मैदानमा त्यस दिन द्रोणको श्रेष्ठ शिष्य, तत्कालिन समयको अब्बल धनुर्धरले युद्धसँग डराएर पूर्णावतारसँग झुठ बोल्यो र भन्यो, यो युद्ध गरेर राजा बन्नु भन्दा म भिखारी बन्छु.
पूर्णावतारसँग झुठ बोल्न सकिन्छ ? किन भनेन साधारण जिन्दगी बिताउँछु, घरबार गरेर बस्छु, किन भन्यो एउटा चरम पाइन भने अर्को चरम रोज्छु ?
हामी भित्र भरिएका धारणा परस्पर विरोधी निस्किंदा चित्त अलमल्ल पर्छ. यही चित्तको अलमल्ल आक्रोश बनेर, डर बनेर, मोह बनेर, लोभ बनेर प्रकट भएको हुन्छ.
दुखको कारणको निदान हुनै सक्दैन. एक कारण पछी अर्को आउँदै गर्छ जीवनमा त्यो सिसिफस यात्रामा लागे.
दुख एक्ज्याक्टली हो के, कहाँ र कसरी यो उत्पन्न हुँदैछ र त्यसलाई मैले कसरी अनुभूत गर्दैछु भन्ने खोज गरेमा दुख सधैंका लागी समाप्त हुन्छ.
हतियारको तालिमको फर्स्ट बोइले विपक्षमा ‘आफन्त’ देखेपछी तालिम बिर्सियो.
चेतनाले आइडेन्टिफिकेसन समाते पछी इलुजन हुन्छ. त्यही इलुजन नै मोह हो. माया हो. प्रेमवाला माया हैन, इलुजनवाला माया.
“तमुवाच हृशीकेश प्रहसन्निव भारत !
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदम् वच !!”
अर्थात अर्जुनको झुठ, अर्जुनको बाहिर अर्कै, भित्र अर्कै देखेर भगवान हाँसे.
फोर्थ डाइमेन्सनमा बस्नेलाई थ्री-डी वर्ल्डका विचार पनि अदृश्य हुन्नन्. जसरी किराको संसार, हामीले हेर्दा, उसको समग्र संसार नै हामीले देख्न सकिरहेका हुन्छौं.
पूर्णावतारले अर्जुनको रोग समाते. फर्स्ट बोइ सिन्ड्रोम समाते.
एउटा डाइग्नोसिस भयो.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







