अहिलेसम्म थाहा भएको सबैभन्दा फास्टेस्ट स्पीड. प्रकाशको स्पीड, प्रकाशभन्दा छिटो अरु केही छैन. याद आउँछ यो भनाइ, तिमी एक कदम आऊ मतिर, म हजार कदम तिमीतिर आउँछु. उज्यालोको गति सबैभन्दा तीव्र हुन्छ. हुनै पर्छ. नत्र अँध्यारोले जित्छ. तमसोमा ज्योतिर्गमय. उज्यालोलाई मौका मात्र दिनुपर्छ, सबैभन्दा छिट्टो दौडिएर ऊ आइपुग्छ झलमल्ल लिएर.

इजिप्टको गिजा पिरामिड पनि यही कोओर्डिनेट हुँदै पास हुन्छ. संयोग नभनौँ यसलाई. संयोग भन्ने हो भने त संसारै संयोग हो. तपाईंको जन्म नै संयोग हो. संयोगको एंगलले जिन्दगीमा कुनै गति दिंदैन. दुई वटा कुरा हुन सक्छ. एउटा, इजिप्सियनहरुको एउटा निन्जा टेक्निक हो यो कोअर्डिनेट, प्रकाशको स्पिडलाई ट्रिब्युट दिने, जसरी मैले शीर्षक नै प्रकाशको स्पिड राखिदिएँ.

पदार्थ के हो? शास्त्र, आध्यात्मिक र वैज्ञानिक दुवै अलमल्ल छन् पदार्थ के हो भनेर. व्हाट द फक इज म्याटर ! बाइबल भन्छ- पदार्थ प्रकाश हो. फिजिक्स पनि कहिलेकाहीं यही भन्छ. तन्त्र भन्छ- पदार्थ ध्वनि हो. कोही भन्छन्- पदार्थ र ध्वनि एकै हो. ओमको ध्वनि नै सृष्टिको ध्वनि हो भन्ने एउटा एङ्गल पनि छ जो एस्ट्रो फिजिक्सले पनि अलिक फरक भाषामा भन्दै नै आएको छ. पदार्थका सबैभन्दा साना पार्टिकल तन्किएका रबर ब्याण्डजस्ता छन्. ती भुनुनु हुन्छन् र त्यही भुनुनु नै पदार्थ हो. त्यो भुनुनुलाई ओमकारको नाद भन्नुहोस् वा हिग्स बोसोन, च्वाइस तपाईंको.

यहुदीहरुको मन्त्र छ एउटा, जो जादुगरहरुले पनि प्रयोग गर्छन्. आब्राकाडाब्रा !! अर्थात् म बोल्छु र सिर्जना हुन्छ. अर्थात् ध्वनि नै पदार्थ हो. प्रकाश पनि त ध्वनि नै हो खासमा. भनेपछि मानौं एकछिनलाई, ध्वनि नै पदार्थ हो. कहीं ध्वनी जम्छ र पदार्थ बन्छ, कहीं बग्छ र गीत बन्छ, संगीत बन्छ. बोलेर पदार्थको सिर्जना गर्न सकिएला त ? म आश्रमको एकान्तबासमा बसेर यसैको एक्स्पेरिमेन्ट गर्दैछु. म्यानिफेस्टेसनको अर्थात् बोलेर पदार्थ सिर्जना गर्ने क्षमताको. आधाउधि एक्पेरिमेन्ट सफल नै छ. प्रत्यक्षदर्शी थुप्रै छन् यस्तो चमत्कारको. तर हालसम्म सिर्जना भएको छैन पदार्थको. म्यानिफेस्ट मात्र भएको छ, निमित्तको सहयोगले स्वतस्फूर्त सम्भव मात्र भएको छ. तर जब-जब म सिङ्गिङ् बाउल ठोक्छु र त्यसबाट निस्किएको ध्वनिको ताप, चाप, ऊर्जा महसुस गर्छु, ऊर्जाको यस्तो सघनता फिल हुन्छ मानौं त्यसले कमसेकम धुलो वा कुनै एउटा सानो कण त कसो नबनाउला. अब त्यस्तो एउटा ध्वनि खोज्नु छ, मन्त्रजस्तो जसको उच्चारणले नै पदार्थको निर्माण गरोस्.

मेरा दुई प्रिय मित्र अध्यात्म र क्वान्टम फिजिक्सको मिलन हुनेछ त्यो दिन. बच्चाको स्टडी गर्दा माउको स्टडी गर्नै पर्छ. पदार्थको स्टडी गर्न ब्रह्माण्डको स्टडी गर्नैपर्छ.

के हो यो चराचर जगत ? कसरी बनायो ? कहिले बन्यो ? किन बन्यो जस्ता प्रश्न सोध्नै पर्छ. यही प्रश्नले हामीलाई ब्रह्माण्डको गहनतम रहस्यको नजिक लिएर जान्छ. अर्थात् शब्दको प्रयोग गरेरै पदार्थको सिर्जना गर्न सक्ने शक्तिको नजिक.

सुन्दा कविता जस्तो वा कुनै आध्यात्मिक मेटाफरजस्तो लाग्ने यो कुरा क्वान्टम मेकानिक्सको बखान हो जसलाई विज्ञानको प्योरेस्ट फर्म मानिन्छ, एउटा विशाल मैदान छ शून्यताको. त्यो शून्यतामा कुनै ऊर्जाले तरङ्ग पैदा गर्छ. शून्यता केही क्षणलाई बिथोलिन्छ. शून्यताको त्यही बिथोल्याँई नै पदार्थ हो.

शून्यता उन्मुक्त छ, आवारा छ. पदार्थलाई ब्रह्माण्ड सञ्चालन गर्ने फिजिक्सका नियमले नचाउँछ. शून्यता आफैँ नाच्छ. पदार्थ कैदी हो फिजिक्सको. पदार्थलाई ग्राभिटीजस्तो साधारण फोर्सले नै तिरिमिरी खेलाई दिन्छ. जीवनका दुःखको जरो यही नै हो. पदार्थ हुनुको पीडा, अर्काले नचाएर जबर्जस्ती नाच्नुपर्ने पीडा. त्यसैले शून्यता प्यारो. शून्यता मुक्ति हो. पदार्थ बन्धन. एक दिन हामी चाहेर वा नचाहेर त्यही शून्यमा फर्कन्छौं जहाँबाट हामी आयौँ.

शून्यतामा तरङ्ग के कुराले उत्पन्न गराउँदो हो? त्यसको अहिले कसैसँग उत्तर छैन. त्यसैले हामीले कि भगवानले भन्नुपर्छ कि आफैँ हुन्छ भन्नुपर्छ. शून्यतामा के आफैँले सिर्जनाको त्यो तरङ्ग प्रोड्युस गर्न सम्भव छ? कस्तो तरङ्ग हो त्यो ? जुन दिन थाहा पाउँछु, म आफैँ आफूले चाहेको पदार्थ क्रिएट गर्न सक्ने हुन्छु. आब्राकाडाब्रा !! जादु !!

क्वान्टम फिजिक्स भन्छ, त्यो तरङ्गको स्रोत तब थाहा हुन्छ जब सिंगुलारिटी पत्ता लाग्छ. सिंगुलारिटी भनेकै शून्यता हो. ब्रह्माण्डको सबैभन्दा सानो वस्तु नै सिंगुलारिटी हो. क्वार्क र स्पेस टाइमको बरु लम्बाई चौडाई छ, सानै सही. सिंगुलारिटीको त लम्बाई चौडाई शून्य मिटर मानिन्छ. आकारै छैन मास्साले ! फेरि ब्याक टु सेम स्क्वार भैगो यत्रो गन्थन !

शून्यताबाट सबै कुरा उत्पन्न हुन्छन् र शून्यतामै विलीन हुन्छन्. त्यो शून्यताको आकार नै छैन. भनेपछि कहिले पत्ता लाग्दैन त्यो. क्वान्टमको एंगल छाडेर अध्यात्ममा प्रवेश गर्नुको विकल्प छैन, त्यसैले अब यदि पदार्थ र ब्रह्माण्डका सिक्रेट पत्ता लगाउनु नै छ भने.

डाक्टर कृष्ण कान्त शुक्ला नामका गायक छन् एकजना. अम्रिकामा एस्ट्रो फिजिसिस्ट थिए. पदार्थ र ब्रह्माण्डको यही चक्करले घुमाएर होला,फिजिक्स गिरी छाडेर साधु भए. उनको आवाज सुन्नु ! उनका गीत सुन्नु ! धुलोमा प्राण फुक्दिने स्वर छ उनको. शून्यता शायद उनले गाएर छुन खोज्दैछन् फिजिक्सको लट्ठीले त्यसलाई झार्न नसकेर.

भनिन्छ, ब्रह्माण्डको सत्तरी प्रतिशत भाग डार्क म्याटरले भरिएको छ. त्यो डार्क म्याटर अरु केही हैन, यही पदार्थको अर्को डाइमेन्सनमा भएको उपस्थिति हो. तपाईंलाई के लाग्छ, तपाईं अहिले यहाँ मात्र हुनुहुन्छ ? ब्रह्माण्डका थुप्रै कर्नर कर्नरमा तपाईं हुनुहुन्छ तर त्यहाँ कसरी पुग्ने अहिले थाहा छैन. त्यसैले त्यसलाई डार्क म्याटर भनेका. ब्रह्माण्डको अर्को ठाउँमा भएको तपाईंका लागि अहिले यो पढिरहनु भएको तपाईं नै डार्क म्याटर.उही एटम एकैपल्ट दुई ठाउँमा हुन सम्भव छ भनेर त ल्याबमै प्रुभ गरिसके. हामी एटमकै गुजुल्टो त हौँ ! शून्यताबाट पदार्थ निकाल्न सकिन्छ. मन्त्रले सकिन्छ. कुन मन्त्र ठ्याक्कै मलाई थाहा छैन अहिले. एक्सपेरिमेन्ट गर्दैछु म. एउटा सानो विन्डो दिएको छ, क्वान्टम इलेक्ट्रोडाइनामिक्सले जसलाई स्विङ्गर इफेक्ट भनिन्छ..तर यसको पनि थ्योरी त उही नै हो, उपनिषदका गफ जस्तो ! भन्छ- चर्को इलेक्ट्रिक फिल्डले पदार्थको सिर्जना हुने हो. सरल भाषामा भन्दा शून्यतामा करेन्टले हानेपछि पदार्थ बन्ने हो. कसरी बनाउने, म्याथम्याटिकल इक्वेसन त छ कसरी शून्यताबाट पदार्थ बनाउने भनेर, तर त्यसका लागि चाहिने करेन्ट हाम्रो बलबुताबाट उत्पादन गर्न सकिने खालको छैन. अर्थात्, यो धर्तिकै सबै करेन्टले हान्यो भने पनि शून्यताबाट पदार्थ निकाल्न पुग्ने जति करेन्ट पुग्दैन. भनेपछि इक्वेसनको प्रतापले केही लछार्दैन. त्यसका लागि मन्त्र नै चाहिन्छ. त्यही मन्त्र खोज्दैछु म. पदार्थ सिर्जना गर्न सक्ने मन्त्र. शायद पिरामिड यस्तै कुनै मन्त्र फुकेर बनाइएको स्ट्रक्चर हो. त्यसैले मान्छेहरु यसलाई एलियन स्ट्रक्चर भनेर भन्छन्. प्रकाशको गति र यसको कोओर्डिनेट उही छ. फिजिक्सले शायद प्रकाशको गति प्राप्त गर्न सकेको दिन पदार्थको सिर्जना गर्न सक्ला ! अध्यात्मले भने त्यही गति बराबरको ऊर्जा बोकेको कुनै मन्त्र फेला पार्छ कुनै दिन. अल रोड लिड्स टु रोम. एक दिन,बोलेकै भरमा पदार्थ बन्छ. भन्नुहोस्- आब्राकाडाब्रा !! आई क्रिएट एज आइ स्पिक. म बोल्छु र त्यही ध्वनिले चाहेको पदार्थ सिर्जना गर्ला ठ्याक्कै के बोल्ने भनेर थाहा भएको दिन. बोल्दा होश गरेर बोल्नु, कतिपल्ट बोलेको कुरा ठ्याक्कै पुग्छ त्यही भएर. खेल्दाखेल्दै हामी कहिलेकाहीँ थाहै नपाई त्यो मन्त्र भनिरहेका हुन्छौँ, कतिपल्ट जो क्रिएसनको सिक्रेट हो.