कफीको बास्ना थाहा छ ? मन पर्छ ?

मेरो एउटा साथी आफ्नो घरमा एउटा मोका पट दिनभर मधुरो आगोमा बसालेर राख्छ । कफीका दाना आफैंले पिसेर बनाएको धुलो त्यो पटभित्र राखेर । उसको घर दिनभर कफीको मधुरो मिठो सुगन्ध मग्मगाई रहन्छ । उसैको सिको गरेर मैले पनिं मोका पट किनेर ल्याएको छु ।

किताबका पाना सरर पल्टाउँदा आउने बास्ना थाहा छ ? जन्मौँ साथ नछाड्ने वाचा गरेकी मायालुको जस्तो ।

लेभेन्डरको बास्ना थाहा छ ? लेकसाइडको मादक, झिलिमिली साँझजस्तो ।

पुदिनाको बास्ना थाहा छ ? फ्रेस, सुगन्धी बिहानजस्तो !

हरेक मान्छेमा कुनै एउटा इन्द्रिय अलि तेज हुन्छ भन्छन् । मेरो सुगन्धसँगको सम्बन्ध अलि विशेष छ । मेरो दिमागले मेमोरीहरु सुगन्धको आधारमा क्याटगोराइज र स्टोरेज गर्छ । आइ एम अ स्निफर । कुनै एउटा पूर्वजन्ममा कुकुर थिएँ म पक्कै । घ्राण शक्ती तेज छ मेरो । फेरि भैरवको वाहन कुकुरहरुको म फेभरेट पनि हुँ । कुकुर शब्द मलाई त्यसैले गाली जस्तो पनि लाग्दैन । कसैले कुकुर भन्दिए म अफेन्ड हुन्नँ । खुसी हुन्छु ।
भनौं, संगीतले जे गर्छ, सुगन्धले पनि त्यही गर्छ मेरो लागि ।

चाहे जे सुकेको सुगन्ध किन नहोस्, मेरो मेमोरीमा त्यो सुगन्ध स्टोर्ड भएको छ भने त्यो सुगन्धको एक गहिरो नाके पफ हान्नेबित्तिकै म एउटा लामो टाइम ट्राभलमा निस्किन्छु ।

म पन्ध्र सोह्र वर्षको हुँदो हुँ, बिहानको स्कूल हुन्थ्यो । हिँडेर जान्थेँ । बीस मिनेटको बाटो. आधा बाटो हिँडेपछि एउटी केटीको घर आउँथ्यो । मलाई मन परेकी केटी । कतिसम्म मन परेकी भने, क्लासमा केटीले एक दिन खाँदै गरेको मकैको फाँकोबाट एक दुई वटा गेडा भुइँमा खसाली । यो जन्मको ऋण अर्को जन्ममा तिर्नुपर्छ र त्यो तिर्न भए पनि फेरि भेटिनुपर्छ भन्ने सुनेको थिएँ कतै । मैले सुटुक्क केटीले खसालेका मकैका गेडा टिपेँ र खाएँ । त्यसको मकैको ऋण तिर्न अर्को जन्ममा फेरि भेट्न पाइन्छ भनेर ।

हरेक बिहान स्कूल जाने क्रममा त्यो केटीको घर आइपुग्दा म टक्क अडिन्थेँ र लामो सास फेर्थें, बिहानको सुगन्धी हावा ! पुदिनाको बास्ना आउने मिन्टी फ्रेस हावा । टिन एजको रगत । रगतमा बगेको प्रेमको रस । यो सबैको कलेक्टिभ बास्ना । पुदिनाको मिन्टी बास्ना मलाई त्यसबेलाको मेरो भावनासँग धेरै नजिकझैँ लाग्छ । मसँग पुदिनाको बास्ना आउने इसेन्सियल ओइल छ । लिप बाम छ । बैंकको खातामा जोगाएर राखेको पैसाजस्तो पुदिनाको सुगन्धमा मैले त्यो क्षण वचत गरेर राखेको छु । मलाई अतीतको त्यो क्षणमा टाइम ट्राभल गर्न मन लाग्दा हत्केलामा एक थोपा पुदिनाको ओइल चुहाउँछु, आँखा बन्द गर्छु र लामो सास फेर्छु । त्यहीं पुग्छु अनि । सुगन्धको स्वाद पनि हुन्छ, जो मुखले हैन आत्माले महसूस गर्छ । गीतको सुगन्ध हुन्छ, के यस्तो हुन्छ ?

देवकोटाले भने,

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातालका कुरालाई छुन्छु

हामीले पत्याएनौं, उनलाई पागलखानामा राखिदियौँ ।

के यस्तो हुँदो हो ? भनेरसम्म पनि सोचेनौँ । मान्छेले प्रकृतिबाट विमुख भएर आफ्ना थुप्रै सुपरपावर गुमाएको छ । हावाको आर्द्रता महसूस गरेर अब पानी पर्छ भनेर अनुमान लगाउन सक्नेहरु के तपाईंले देख्नु भएन ? देख्नुभएको छ भने तपाईंलाई बधाई छ । तपाईंले प्रकृतिसँग नजिक, आनन्दले जीवन बाँचेका मान्छे देख्नुभएको छ । यो उपकथा बास्नाको कथा सुनाउन हो, फ्रेगरेन्सको. परफ्युमको । भनिहालें, मेरो सेन्स अफ स्मेल अरु सेन्सेज भन्दा कडा छ । सुफीहरुमा अत्तरको निकै चलन छ । यसको कारण छ । सुफीहरुको मार्ग प्रेमको मार्ग हो । करुणाको मार्ग हो । मान्छेका शरीरमा सात विभिन्न चक्र छन्, ती मध्ये विशुद्धि चक्र करुणाको चक्र हो । प्रेमको चक्र हो । त्यसैले अत्तर र प्रेमको सम्बन्ध छ । सुफीयाना मार्ग प्रेमको मार्ग हो, विशुद्धि चक्रको मार्ग हो । त्यसैले सुगन्धको वा अत्तरको मार्ग पनि हो । विभिन्न वस्तु र अनुभवले विभिन्न चक्रको द्वार खोल्छन् । अत्तरले विशुद्धि चक्र खोल्छ । प्रेमको सागरको द्वार खोल्छ । सुफीहरुका लागि हरेक भावना, आवाज, कल्पना, व्यक्ति, वस्तुको सुगन्धले अर्थ राख्छ । उनीहरु सुगन्धको आनन्द पिएर एक हात तल एक हात माथि पारेर फनफन घुम्दै गीत गाउँछन्, “ये तेरा जिक्र है या इत्र है… के जब जब करता हुँ, महकता हुँ…”

प्रेममा हुँदा जे केही बास्ना आउँछ । बास्नाको संसारसँग नजिक मान्छे सधैं प्रेमिल हुन्छ । सुफी गुरुहरुले त्यसैले उनीहरुले सबैभन्दा प्रेम गर्ने, ईश्वरलाई, जसलाई उनीहरु आफ्नी प्रेयसी पनि मान्छन्, सबैभन्दा बास्नादार सुगन्ध मान्छन् । भन्छन्, ‘भगवानको नामै अत्तरजस्तो, सुगन्धी । मगमग ।

परफ्युमको जादुयी दुनियाँमा स्वागत छ । आज म सुगन्धका कथा भन्छु । तपाईंले कसैलाई उसको शरीरको सुगन्धकै लागि मन पराउनु भएको छ? वा दुर्गन्धको कारण मन नपराउनु भएको छ ? म भन्ने गर्छु, “मलाई तिम्रो बास्ना मन पर्यो भने मलाई तिमी आधा त यसै मन परिसक्यौ..” के तपाईंले कतै हिंड्दै जाँदा कसैको बास्ना मन परेकै कारणले आफ्नो बाटै भुलेर त्यो मान्छेलाई सुटुक्क पछ्याउनु भएको छ? मैले पछ्याएको छु । धेरैपल्ट । के भर्खर नुहाएर आएका केटीहरुको कपालको बास्ना मिठो प्रेम कविता हैन ? मगमग मगमग ।

हरेक मान्छे आफ्नो रुचि अनुसारका दुई-चार सुगन्ध मिसाउन लगाएर आफ्नै सिग्नेचर परफ्युम बनाउन लगाउँदो रहेछ अत्तर पसलमा गएर ।

भन्नेहरुले ह्या.. स्याम्पुको बास्ना भन्लान् । त्यसो भन्नेहरु ती हुनेछन् जो हृदय काउकुती लगाउने मिठो कवितामा पनि हाहा रियाक्ट गर्ने गर्छन् । परदेशी ठाउँहरुमा कसैको शरीर वा केशबाट टाढाको कुनै सहरमा बसेकी आफ्नी प्रेयसीको जस्तै बास्ना आउँदा मलाई यो ठाउँ बिरानो हैन जस्तो धेरैपल्ट लागेको छ ।

म युरोप र एसियाको बीचमा पर्ने अजरबैजान भन्ने देशको राजधानी बाकुमा थिएँ एक समय । पर्यटकका रुपमा । काठमाडौंका गल्ली गल्लीमा भट्टी पसल भए जस्तो बाकुका गल्ली गल्लीमा अत्तर पसल हुँदा रहेछन् । हरेक मान्छे आफ्नो रुचि अनुसारका दुई-चार सुगन्ध मिसाउन लगाएर आफ्नै सिग्नेचर परफ्युम बनाउन लगाउँदो रहेछ अत्तर पसलमा गएर । त्यो ठाउँका जस्ता प्यारा मान्छे मलाई संसारमा अन्य कतैका लागेनन् । अंग्रेजी नबुझ्ने उनीहरुसँग भाषामा संवाद गर्न नमिल्ने । तर इशारा इशाराको भाषा भने यसरी बुझ्ने मानौं शब्द आवश्यक नै छैन । जो भेटियो, पुरानो प्रेमी भेटिएजस्तो लाग्ने । बाकुमा मेरो पास टाइम हुन्थ्यो सडकमा पास भएर जाने मान्छेको सिग्नेचर परफ्युम पत्ता लगाउने । कोही गुलाबजस्ता, कोही चमेलीजस्ता । कोही गुलाब र चमेलीको ककटेलजस्ता । कैला कपाल र जादुयी नीला आँखा भएका सुन्दरीहरुलाई त्यहाँ नम्र भएर बोलाउनु भयो भने उनीहरुले जसरी हेर्नेछन्, तपाईं लट्ठ पर्नुहुनेछ । अत्तरको मिठो मदहोसी उनीहरुको आत्मा मै प्रवेश गरिसक्यो । उनीहरुको बोली नबुझे पनि त्यसबाट बास्ना आउँछ । अजङ्गका ट्याक्सी ड्राइभरहरु तपाईंको भाषा बुझ्दैनन् । तर राज कपूरको “आवारा हुँ…” गाउनु भयो भने ती बच्चाजस्तै उफ्रिने छन् खुसीले । र तपाईंसँगै गाउन थाल्नेछन् । लोकल भट्टीमा बसेर पिउने दारुबाजहरुको पनि त्यहाँ आफ्नै सिग्नेचर परफ्युम हुन्छ । तपाईं उनीहरुलाई केही सोध्नुहोस्, आफ्नै टेबुलमा निम्तो दिनेछन् तिनले तपाईंलाई । कोरेसोमा कोरेको चिजमा निचोरेको कागती र छर्केको नुन राखेर बनाएको सितन तपाईंलाई अफर गर्नेछन् । छुट्टिँदा तपाईंलाई वर्षौंपछि भेटेर फेरि छुट्टिन लागेको पुरानो साथी जसरी अङ्कमाल गर्नेछन् । अत्तर र मान्छेको चित्तमा तिनको असरको बारेमा अध्ययन गर्ने क्रममा मैले बुझें, हृदय पाषाण नहुन दिन अत्तरको प्रयोग गर्नु । दिन मगमग बास्ना आओस् । बजार बगैंचा लागोस् ।

कोही गुलाबजस्ता, कोही चमेलीजस्ता ।

संकटा मन्दिर वरपर लखर-लखर हिंड्दै गर्दाको एक शनिबार मैले एकजना मुसलमान वृद्ध भेटेँ जो जामे मस्जिदमा अत्तर बेच्दा रहेछन् । सेतो टोपी, लामो सेतै दाह्री । झुन्ड्याउने बाकस जस्तोमा अनेक रङका झिलिमिली अत्तर बोकेर एउटा बन्द पसल अघिको पेटीमा बसेका थिए उनी ।

मैले सोधें, “के हो…?”

बच्चा जस्तो मुस्कान मुस्कुराउँदै उनले उत्तर दिए, “अत्तर हो । आउ, बस । म लगाइदिन्छु ।”

म बसें । उनले स-साना बोतलमा कपासका टुक्रा डुबाउँदै मेरो हातमा दल्दै गर्न थाले । सहरको त्यो भीड र होहल्लाको हामीलाई वास्ता भएन । सुफी फकिरहरु जसरी रमाउँदै हामी सडक किनारमा बसेरै अत्तर चर्चा गर्न थाल्यौं । आफ्ना अत्तरका नाम आफैं राख्ने उनका अत्तरको नाम हुँदो रहेछ, ‘जिन्दगी’ ‘शरारत’ ‘चाँदनी’ । हामीले फोन नम्बर साट्यौं । म उनलाई भेट्न र उनीसँग अत्तर किन्न थुप्रैपल्ट जामे मस्जिद गएको छु । अनौठो र सुन्दर शान्ति महसूस हुन्छ त्यहाँ जो कुनै मन्दिर वा कुनै गुरुद्वारामा हुने शान्ति भन्दा कम हुँदैन । रक्सी मिसाएर पातलो बनाइएका परफ्युमभन्दा यी मुसलमान बाबाका अत्तर धेरै अर्ग्यानिक र कडा ! एक थोपाले सारा दिन मगमग ।

कुनै समयकी प्रेमिका एउटी केटीसँग पोखराको लेक साइडमा डुल्दै गर्दा एक साँझ एउटा पसलमा छिरेर मैले लेभेन्डरको इसेन्सियल ओइल किनेको थिएँ । एक्सले त्यसबेला भनेकी थिई, “तेरो जिउमा यो बास्ना नदल है… नत्र म रातभरी कुकुरले जसरी तँलाई सुँघ्नेछु ।” लेभेन्डरको बास्ना थाहा छैन भने म तपाईंको ईर्ष्या गर्नेछु । कारण, तपाईंले लेभेन्डरको बास्नाको पहिलो अनुभूति लिन बाँकी नै छ । मैले त्यो अवसर अब पाउँदिनँ । मसिना नीला फूल । ती फूल मिचेर हेर्नुहोस् । अथवा ती फूललाई डिस्टिल गरेर तिनको सुगन्ध जम्मा गरिएको इसेन्सियल ओइलको बास्ना महसूस गर्नुहोस् । मन कृष्ण कृष्ण हुन्छ । गर्मी भएको छ भने शीतल हुन्छ । सुगन्धले उपचार गर्ने चिकित्सा पद्धति नै छ । जसलाई अरोमा थेरापी भनिन्छ ।

के तपाईंलाई गीतको बास्ना आउँछ ? शब्दको ? दृष्यको ? हावाको ? पानीको ? किताबका पानाको ?

मलाई गीतको बास्ना थाहा हुन्छ ।

सुफीहरु भन्छन्, हर चिजको बास्ना हुन्छ । ईश्वर सबैभन्दा बास्नादार सुगन्ध हुन् । त्यसपछिको मिठो सुगन्ध प्रेमको सुगन्ध हो । एउटा गीत सुन्दै थिएँ । बलिवुडी गीत । मलाई त्यो गीत सुन्दा अगरबत्तीको बास्ना आयो यत्तिकै । पछि अन्तरवार्ता हेर्दै थिएँ गायकको । सुफीयाना अन्दाजमा गायक भन्दै थियो, “मैले यो गीत प्रार्थना मानेर गाएको हुँ ।”

मेरा अत्तरहरुको नाम म यस्तो राख्नेछु…. साँझ, जङ्गल, जाडो यामको बिहान, मायालुको केशको सुगन्ध, अमेरिकानो, सूर्यास्त…

चुम्बनको बास्ना थाहा छ तपाईंलाई ? साँझको ? जङ्गलको ?

मेरो सपना छ एउटा । पूरा नभई नमरौँ । मैले अत्तर किन्ने मुसलमान बाबाको जस्तै वाइल्ड नामहरु राखेर म कुनै दिन आफैंले परफ्युमहरु बनाउनेछ । आकर्षक बट्टामा राखेर तिनलाई बेच्नेछु । नाफा घाटाको बाल मतलब ! आनन्दको लागि त्यसो गर्नेछु । भन्न मजा आओस्, कसैले के गर्छस् भनेर सोध्दा भनौं- म अत्तर बनाउँछु । मेरा अत्तरहरुको नाम म यस्तो राख्नेछु…. साँझ, जङ्गल, जाडो यामको बिहान, मायालुको केशको सुगन्ध, अमेरिकानो, सूर्यास्त…

जसरी मन परेको कुनै गीत सुन्दा हृदय न्यानो हुन्छ, अथवा धड्कनको चाल बदलिन्छ, मन परेको सुगन्धले पनि हृदय त्यस्तै हुन्छ । जसरी हरेक बाटो अन्त्यमा ईश्वरसम्म नै पुग्ने हो, सुगन्ध र अत्तरको संसार पनि प्रेम करुणा वा ईश्वरको द्वारसम्म पुग्ने बाटो हो । आखिर ईश्वर र सुगन्धमा धेरै समानता छन् । दुवै देखिंदैनन् । महसूस हुन्छन् र जब महसूस हुन्छन्, सबैतिर व्याप्त महसूस हुन्छन् ।