मान्छेहरु भन्छन्, फेरि बच्चा बन्न पाए,फेरि स्कूले जीवन बिताउन पाए…! म त्यस्तो सोच्दिनँ. स्कूले जीवन मेरो लागि यातना र ह्युमिलिएसनको एउटा नमिठो पिरियड थियो. दासता जस्तो. मुत्न जान पनि सोध्नुपर्ने, मन परेका केटीसँग भेट्न हजार जनाको आँखा छल्नुपर्ने. केही किन्न बाउआमाको पैसामा आश्रित हुनुपर्ने. बातबातमा कुटाई र गालीगलौज ! स्कूल त मानौं यातनागृह नै थियो. मेरो एउटा बूढो साथी ठिकै भन्छ, ओशो संन्यासी, स्कूलमा स-साना भगवान् लगिन्छन् रे ! अनि दस बाह्र वर्ष ठोकठाक पारेर मान्छे बनाएर निकालिन्छन् रे !

अहिले, जिन्दगीमा एउटा सुन्दर पाटो कविता लेख्नु र पढ्नु पनि हो मेरो. स्कूलमा हुँदा कविता यस्ता घटिया हुन्थे कोर्सबुकमा, मानौं ती घुस खुवाएर राख्न लगाएका हुन् सरकारी कविहरुले जबर्जस्ती. कविता भन्ने कुरै घटिया हुन्छ, झ्याउलाग्दो हुन्छ जस्तो लाग्छ तपाईंलाई भने आफ्ना कोर्स बुकलाई सराप्नुहोस्. कविताको झ्याउलाग्दो व्याख्या गर्ने तपाईंका मास्टरलाई सराप्नुहोस्. नत्र त कविता भावको प्यालाजस्ता हुन्छन्. एक एक लाइन अमृतसरह. आत्मा न्यानो बनाउने. बेलाबेला प्रश्न उठ्ने गर्छ, नेपालमा रिडिङ कल्चर किन छैन? हाम्रा नानीबाबु किन किताब देख्यो कि चार हात पर भाग्छन्? किताब किन धेरै बिक्दैनन्? कक्षाकोठामा मास्टरले ठोकेर र घोटेर किताब पियाएका भुराहरु कहिले स्कूल सकौंला र किताब फालौंला भनेर बसेका हुन्छन् अनि यत्रो बिक्छ देशमा किताब !

उनीहरुलाई किताब एउटा तिलस्मी संसामा लैजाने पोर्टल हो भनेर कसले बुझाइदिने ? धन्न मैले बेलैमा कोर्सबुक पढेर र क्लासरुममा मास्टरहरुले बन् भने जस्तो बनेर जिन्गदीमा कामै छैन भन्ने बुझें. कमसेकम फिजिक्स झ्याउलाग्दो गरी पढाउने मान्छे अपराधी हो. ब्रह्माण्डका रहस्यहरुको उदघाटन हो फिजिक्स. यसले चाल, विद्युत, रेडिएसन, क्वान्टम पदार्थ लगायतका ब्रह्माण्डलाई गतिशील राख्ने शक्ति र नियमहरुको अध्ययन र अनुसन्धान गर्छ. एक हिसाबले रहस्य विद्या नै हो फिजिक्स. चमत्कारहरुको व्याख्या. पृथ्वी कसरी र कति घुम्छ ? दौडिएको कुरा किन रोकिन्छ ? तातो भाँडामा परेका पानीका थोपा किन उफ्रिन्छन्? मैले कविता बुझेर फिजिक्स बुझें. आफैँले. मास्टरले त सिम्पल मेसिनलाई सिम्पल मेकाइन भनेर पढाए. जादुजस्तो फ्याराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन झर्को लाग्ने गरी रटाउने मास्टरदेखि घरमा उठेको रिस स्कूलका भुरालाई ठोक्ने सम्मका मास्टर देखेँ मैले.

तर उपनिषदका ऋषिहरुजस्ता, गुरुजस्ता मास्टर मैले कहीँ भेटिन. त्यही देखेरै मैले आफ्नो गुरु आफैँ बन्ने निर्णय गरेको हुँ. आफूले चाहे जस्तो, आफूले खोजेजस्तो गुरु. अहिले मेरो हृदयमै श्रीकृष्ण बनेर बसेका छन् ती गुरु. आफैँले भेट्टाएको. आफैँले बनाएको. अस्तित्वलाई अनड्रेस गर्नु हो फिजिक्स. गड एट हर सेक्सिएस्ट. ईश्वर वा कुनै एक महान् रचयिताले यो ब्रह्माण्डको रचना गर्दा केही फर्मुलामा रहेर गरे. ती फर्मुला कविता भन्दा सुन्दर नहुन कसरी सक्छन्? तर हामीलाई पढाउँदा यसरी पढाइदिए, विज्ञान र गणित त राक्षसझैं लाग्न थाले हामीलाई. स्कूल पढ्दा तपाईंहरुजस्तै मलाई पनि फिजिक्स झ्याउलाग्दो कुरा बनेको थियो. समीकरणहरु घोक्न भनिन्थ्यो. मास्टरसँग प्रश्न सोध्न डराउनुपर्थ्यो. के, किन, कसरी भनेर सोध्न नपाई. उनीहरु प्रश्न सकेसम्म नसोध्न नै इन्करेज गर्थे. ब्याचलर पढ्दासम्म पनि त्यही हाल थियो. मैले पनि उनीहरुलाई माझी औंला देखाएँ, मास्टर्स गर्दा त मैले न कोर्सबुक पढेँ न कलेज नै गएँ, स्कूल सकेपि मैले मास्टर्स गर्दासम्म एउटा क्लास पनि बसेर पढेको छैन. केटीहरु हेर्न चाहिँ छिरियो एक दुई लट क्लासरुम. नत्र आइएस्सी पढ्दा म त्रिचन्द्र क्याम्पसको बास्केटबल कोर्ट र क्यान्टिनबाटै घर फर्किन्थेँ. पढाको नबुझेपछि किन बस्ने? नबुझ्ने गरी पढाएपछि किन पढ्ने? त्यसमाथि,पढेर के अर्थ आउटडेटेड भइसकेका कुराहरु? पदार्थको सबैभन्दा सानो कण ओमकार हो अथवा गड पार्टीकल अथवा हिग्स बोसोन हो भन्ने कुरा मैले स्कूल पढ्दा किताबमा लेखिएका थिएनन्. किताबमा अझै गोला आकारका सबएटोमिक पार्टिकल एउटा निश्चित बाटोमा घुम्छन् भनेर लेखिएका हुन्छन् जबकि न ती पार्टिकल गोला हुन्छन् न ती एउटा निश्चित बाटोमा घुम्छन्.

बाउआमाको र मास्टरहरुको चुटाई खुब खाइयो एउटा जमानामा. बाउआमाको बदनामी पछि गरौंला, अहिले मास्टरहरुको पालो. नौ मा पढ्दा होला, मैले एउटा मास्टरसँग बदला लिनै पर्ने भयो. बेइज्जतीको पनि हद हुन्छ नि ! आफूले मन पराएका केटीहरुको अगाडि उफ्रीउफ्री हान्यो बामपुड्के मास्टरले.

उसले सोध्यो, ‘त्रिभुज कति प्रकारका हुन्छन्?’

मैले भनें, ‘थाहा छैन.’

हैन, मलाई के मतलब त्रिभुज जति प्रकारका भए पनि ! त्यसको ज्ञानले मलाई के नै फाइदा हुन्छ र? तपाईं नै भन्नुहोस्, कति प्रकारका त्रिभुज हुन्छन् जानेर वा नजानेर तपाईंको जिन्दगीमा केही फरक परेको छ? मास्टरले बुरुक्क उफ्रेर गालामा झ्याम्म थप्पड हान्यो. मेरो कान टिनिन्न बज्यो. त्यो बेला केही गर्नुको अर्थ हुन्थ्यो, कुरो बाउआमासम्म पुग्नु र घरमा थप ठुकाई खानु. त्यसैले म चुप लागेर बसेँ. बदला त लिनु थियो यो मास्टरसँग. के गर्ने भनेर सोच्दै थिएँ, कताबाट बम बनाउने एउटा म्यानुअल मेरो हातमा पर्यो. यो कथा अर्कै कुनै बेला भनौंला. बम बन्यो. मास्टरको घरमा हान्न भनेर बनाएको बम. पछि सोचें, बिचरो मास्टर ! कति नै कमाउँदो हो ! गरिब मोरो. बल्लतल्ल एउटा माटोको घर बनाएको छ, त्यो पनि मैले उडाइदिएँ भने त्यसको बिल्लीबाठ हुन्छ. र छाडिदिएँ. चौध पन्ध्र वर्ष हुँदाको कुरो त्यो.

एउटा कुरा बुझाउने प्रयास गरौँ है त अब. जब पानीका थोपा तातेको भाँडोमा तप्कन्छन् तप्प, बुरुक्क उफ्रन्छन्. किन उफ्रन्छन्? विज्ञान किनको खोजी हो. तातेको भाँडोमा तप्केका पानीका थोपा किन उफ्रिए? यो किनको उत्तर भौतिक विज्ञानमा लिडनफ्रस्ट इफेक्टले दिन्छ. भन्छ, ‘बाफ बनिसकेका तलका थोपाहरु केहीबेर आफ्ना साथी थोपाहरुलाई जोगाउन एउटा इन्सुलेटिङ लेयर बनेर बस्दिन्छन्. अनि बाफ न बनिसकेका थोपा त्यो लेयरमा चढेर बुरुक्क उफ्रिन्छन्. भौतिक विज्ञानको यही नियमले मेरो चासो भौतिक विज्ञानमा बढायो. अरे बाबा, आफ्नो साथीलाई जोगाउन बाफ बनिसकेको पानी केहीबेर साथीको घोडा बनेर बसिदिन्छ ! सजीव र निर्जीव भनेर ठ्याक्कै रेखा कहाँ कोर्ने उसोभए ? हामीले निर्जीव भनेका वस्तुमा चेतना किन हुँदैन उसोभए ! प्रकृतिका यस्ता अनौठा रहस्यहरु उजागर गर्ने फिजिक्स कसैले अल्छी लाग्ने गरी रटाउँछ भने त्यो मान्छे वास्तव मै अपराधी हो. आफ्ना रसहीन कविता जबर्जस्ती कोर्सबुकमा घुसाउन लगाउने कविहरु पनि अपराधी हुन्. कविता विधाकै बदनाम गरेका छन् तिनीहरुले.

आइन्सटाइनले भनेर गएका छन्…

तपाईं आफूले जानेको कुरा
पाँच वर्षको बच्चालाई बुझाउन सक्नुहुन्न भने
त्यो कुरा तपाईं आफैंले बुझ्नु भएको छैन

तिनै आइन्सटाइनको फोटो ट्वाइलेटमा समेत पेन्ट गराउने स्कूलमा थ्योरम घोक्न लगाउँथे
बुझेन भने ठोक्थे
फिजिक्सका चाखलाग्दा रहस्यमयी सिद्धान्तहरु आफैंले नबुझी घोकेका र त्यसैले
ती बुझाउन नसक्ने सडु प्रोफेसरहरु
आइएस्सी पढ्दा फिजिक्सका थ्योरीहरु घोक्न लगाउँथे …
नबुझ्नु
बुझाउन नसक्नु
नबुझी घोक्नु
घोक्न लगाउनु
बुद्धिको अपमान हो…
नबुझी घोक्न अस्वीकार गरेकै कारणले
मेरो धेरैपल्ट
धेरै विषयमा
0 आएको छ
स्कूल कलेज पढ्दा.