पुर्खाको इतिहास खोतल्न रमाइलो हुन्छ. हाम्रो घरमा एउटा वंशावली थियो, जसमा हाम्रो सात पुस्ते र तिनका सन्तानको नालीबेली लेखिएको थियो. म पढ्थेँ र रोमान्चित हुन्थेँ. आफ्नो सातौँ पुस्ता अघिको हजुरबा-हजुरआमाको बारेमा सोचेर रमाइलो लाग्थ्यो. ती मान्छेजस्ता थिए होलान् कि बाँदरजस्ता ! मैले भनेका कुरा ती बुझ्थे होलान् वा बुझ्दैन थिए होलान् ! आजको संसारमा आविष्कार भएका अनेक अद्भूत यन्त्रहरु देखेर तिनले हाम्रो बारेमा के सोच्थे होलान् !
केही गरी ती सात पुस्ते हजुरबाउ अहिले हाम्रो अघि आएमा हामी त तिनलाई चिडियाखानामा राख्थ्यौँ होला वा संरक्षित जनावर बनाएर निकुन्जमा. आ-आफ्ना देशका आदिवासी जोगाउन संसारका देशहरुले यही त गरेका हुन् ! हामीले पनि राउटेहरुलाई यही त गरेका छौँ ! मान्छेजस्ता देखिने, आफूजस्ता देखिने पुर्खालाई त हामी थुनेर राख्छौँ, हामीजस्ता नदेखिने पुर्खालाई हामी के गर्दा हौँ?
भन्छन्, हामी मान्छेका पुर्खा बाँदर र हाम्रा बाँदर पुर्खाका पनि आदि पुर्खा एक कोषीय किटाणु. बायोलोजी पढ्दा हामीले पढेकै हौँ, किटाणुबाट माछा, भ्यागुता, किरा, सर्प, चरा हुँदै हामी मान्छे बनेका हौँ. हामीकहाँ ती जनावरहरुसँग हाई हजुरबुवा भन्दै बस्छौँ त ? ती एकादेशका पुर्खामध्ये केही त हाम्रो भोजन हुन् बरु. आज यो मुद्दा उठाउनुको कारण छ. जे मलाई भयो, त्यो तपाईंलाई भयो भने तपाईं पनि उठाउनु हुन्छ.
यो सत्य घटनामा आधारित तर कथा हो. मेरो जीवनमा भएको. अरु कसैको जीवनमा भए त्यसले गफ हान्दैछ भनेर बुझ्नु. किनकि यस्तो अद्भुत घटना फेरिफेरि हुनै सक्दैन. म गोसाइँकुण्डमा थिएँ एक पूर्णिमाको रात. जनै पूर्णिमा थियो शायद. टल्किएको जून कुण्डको पानीका छालमा छचल्किएर महादेवको जटाजस्तो देखिएको थियो. म त्यही हेर्दै थिएँ. अक्सिजन नपुगेर हो वा महादेवको त्यो वासस्थानको हावा नै त्यस्तो नशालु भएर हो, म त्यसै त्यसै लठ्ठ थिएँ. दिनभरि हिँडेको र पनि शारीरिक थकान भने रत्ति थिएन. हाम्रो शरीर शायद यसैका लागि बनेको हो. दुई हजार मिटरको उचाईबाट एकैपल्ट चार हजार मिटरको उचाईमा पुगिने यो दुर्लभ ट्रेक हो. समुद्र मन्थनमा निस्केको कालकुट पिएर नीलकण्ठ भएका महादेवले प्यास बुझाएको ठाउँ. महादेवको त प्यास बुझाइदिने ठाउँ, हामीलाई त हल्लाई दिन्छ. पहाडको बीचबाट एक्कासि एउटा नीलो ज्योति निस्कियो. होलोग्राफिक प्रोजेक्सनजस्तो. अनुहारजस्तो तर प्रकाशजस्तो. पानीमा हल्लिरहेको उज्यालो र छायाँको खेल, त्यही प्रकाशस्वरूप मुहारको केशका तरङ्ग नाचेका रहेछन्. म विस्मित भएँ. मलाई प्रकाशले केही भन्न खोजिरहेजस्तो. मलाई लाग्यो, महादेवले दर्शन दिए. मेरा आँखाबाट हर्ष र श्रद्धाका आँसु बग्दै थिए. म मनमनमा भन्दै थिएँ, “मेरो श्रद्धा र भक्ति स्वीकार्नुहोस् प्रभु….”
एक्कासि आवाज आयो. आवाज म भित्रैबाट आउँदै थियो. अथवा बाहिरबाट आउँदै थियो मैले बुझिनँ तर यो पक्का हो, त्यो आवाजमा ध्वनि थिएन.
मैले गुर्जियफको एउटा यस्तै कथा सुनेको छु. रहस्य विद्याको खोजमा निस्किएको रुसी गणितज्ञ ओस्पेन्स्कीले गुर्जियफलाई गुरु थाप्यो. उनीहरु साधना गर्न बसे. एक महिनाको मौन साधना. एक महिनापछि ओस्पेन्सकीले एउटा आवाज सुन्यो. ध्वनि हैन, मात्र आवाज. आफू भित्रैबाट आइरहेको जस्तो आवाज तर गुर्जियफको स्वरमा.
अहिले, त्यस्तै आवाज मसँग बोलिरहेको थियो. त्यो ज्योतिपून्जको आवाज.
आवाजले हाँसेर भन्यो, “को प्रभु ?”
“हजुर देवादिदेव महादेव प्रभु…,” मैले भनेँ.
“बढ्ता बोल्दोरहेछ बाँदर !”
आजको रात इन्ट्रेस्टिङ हुनेवाला थियो.
“म बाँदर हैन नि ! बाँदर त हाम्रो पुर्खा !”
मैले प्रश्नोत्तर खेल्ने सुर गरें. आवाजले भन्यो, “तँ हाम्रो पुर्खा होस्. तँ पछिको मान्छेको सातौँ पुस्ता हामी हौँ. जिन एडिट गराएर हामी डिजाइनर बेबी पैदा गर्छौं. हाम्रो सरकारले हरेक बच्चालाई एउटा सुपर पावर राख्ने लाइसेन्स दिन्छ. केही पावरफुल, सत्ता निकटका मान्छेहरु भने दुई चारवटा सुपरपावर राख्छन्. कोही उड्न सक्ने, कोही आधा मान्छे, आधा सिंह, कसैको घाँटी नीलो, कसैको छालै नीलो, कोही चाहे जत्रो बन्न सक्ने. बुढ्यौली, रोग र मृत्युको जिन त हामीले उहिल्यै आइसोलेट गरिसक्यौं. भोक, डर, पेन रिसेप्टरहरु पनि हटाइसक्यौं. तिमीहरुकै पालामा पाकिस्तानमा दुखाई महसुस नगर्ने एउटा केटो भेटिएको थियो ! शरीरमा चक्कु हान्ने खेलहरु देखाउँथ्यो ऊ सडकमा. चौध वर्षको उमेरमा मरेको त्यही केटाको शरीर अध्ययन गरेर तिमीहरुले थाहा पायौ SCN9A जिनका कारण शारीरिक पीडा हुनेरहेछ भनेर. तिमीहरुको अर्को पुस्ताले नै त्यो जिन आइसोलेट गरिसक्नेछ. तँ जहाँ छस्, त्यहाँबाट सय वर्ष अगाडिका मान्छेले पीडा महसुस गर्ने नै छैनन्. तिमीहरु अहिले वर्तमानको एउटा मात्र क्षणमा कैद छौ. हामी समयलाई मोबाइलका स्क्रिनसरह स्वाइप गरेर चाहिएको समयमा जान सक्छौं. हामी हरेक युगको महत्त्वपूर्ण समय हेर्न पर्यटक बनेर ती समयमा घुम्ने गर्छौं, स्क्रिन स्वाइप गर्दै. हाम्रा पुर्खाहरुको संरक्षणका लागि हामीले एउटा ठाउँ बनायौँ. चिडियाखानाजस्तो, राष्ट्रिय निकुन्जजस्तो. तिमीहरु अहिले त्यहीँ छौ. हामीले संरक्षण गरेर राखेको. हाम्रा पुर्खा यस्ता जंगली र असभ्य थिए भनेर हाम्रो पुस्तालाई देखाउन.”
“तपाईंहरु बस्नुहुन्छ कहाँ?”
“त्यो तँलाई किन भन्ने ? त्यसै त हाम्रो नाममा अनेक धर्म बनाएर, भएका नभएका कथा रचेर काटमार गर्ने मुर्ख तिमीहरु, हामी बस्ने ठाउँ देख्यौ भने झन् के गर्लाऊ ! तिमीहरु झिङ्गा वा लामखुट्टेलाई जसरी हेर्छौ, हामी पनि तिमीहरुलाई त्यसै गरी हेर्छौं. मजस्ता केही छन्, जो कहिलेकाहीँ रमाइलो हेर्न आउछौँ तिमीहरुको लोकमा. मलाई भने यो मौसममा, यो ठाउँ एकदमै मन पर्छ र प्रायः घुम्न आउँछु राति यो बेला सबै सुतिसकेका हुन्छन्. आजसम्म त्यसैले एकादुई मान्छेले मात्र देखेका छन् मलाई त. देख्ने कोही तर्सिए, कोही अचम्ममा परे, कसैले आफ्नो फाइदाको लागि अनेक कथा थपेर सुनाउन थाले.”
मेरो मनमा लाख प्रश्न थिए. म थुप्रै कुरा सोध्न चाहन्थेँ. सोध्न चाहन्थेँ, ब्ल्याक होलको रहस्य, सिंगुल्यारिटी इक्वेसन. म सोध्न चाहन्थेँ, तीस हजार वटै मानव जिनको जिन म्यापिङ. तर यो दुर्लभ वार्तालाप धेरै लामो हुन पाएन. एकैछिनपछि पहाडको टुप्पोमा देखिएको प्रकाश अहिले त्यहाँ थिएन. पानीमा अहिले चन्द्रमा नै टल्किरहेको थियो. म मनमा मिक्स्ड इमोसनहरु लिएर आफ्नो होटल रुममा गएँ. भोलिपल्ट बिहान स्याफ्रुबेसी फर्कने क्रममा बाटोमा सु गर्न अडिएँ. कमिलाको ढिस्को थियो अडिएको ठाउँमा. कमिलाको दुई ताँती क्रमशः इन्ट्री र एक्जिट गर्दै थिए ढिस्को भित्र. एक मनले सु गरेर ढिस्को भत्काइदिन मन लाग्यो. फेरि रातिको घटना सोचेँ. म पनि त कसैको लागि यिनै कमिला बराबर रहेछु ! उनीहरुले हामीलाई जोगाएका छन् भने हामीले हाम्रा आदिपुर्खालाई किन नजोगाउने ! कमिलाको ढिस्को भन्दा अलि पर्तिर उभिएर सु गरेँ त्यसैले.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







