जोगी बन्न घरबाट भागेको म, हिमालयको कुनै गुफामा बसी तपस्या गर्ने सपना पालेर बद्रीनाथ जान तम्सेको थिएँ. जाडो महिना थियो. गर्मीमा औधी गर्मी र जाडोमा उस्तै जाडो हुने दिल्लीले नै मलाई तर्साइसकेको थियो. दिल्लीबाट हरिद्वार हुँदै ऋषिकेश र बद्रीनाथ पुग्ने योजना थियो मेरो. बीस वर्षको शरीर, खल्तीमा केही हजार भारतीय रुपैयाँ र एकसरो लुगा. सम्पत्तिको नाममा केवल यत्ति थियो मसँग.
भनाइ छ एउटा, “धर्मबाट विरक्तिनु छ भने पण्डित पूजारीको सङ्गत गर्नू.” हरिद्वार पुग्दा मलाई त्यस्तै भएको थियो. सनातन हिन्दू धर्मलाई केवल कमाई खाने भाँडो बनाएका अधिकांश व्राह्मणहरुलाई देखेर. व्राह्मण मात्र के, त्यहाँ त क्षत्रीय, वैश्य, सुद्र सबै पाँच दश रुपैयाँका लागि हानाथाप गरिरहेका देखिन्थे. हरिद्वारमा दुई दिन पनि टिक्न नसकेर म ऋषिकेश हान्निएको थिएँ. हिमालयका दुरुह गुफाहरुमा शरीरका सारा इन्द्रिय खिँचेर वर्षौं तपस्या गर्न भनी निस्किएका आदिम योगीहरुको बेसक्याम्प ऋषिकेश. यसबेला ऋषिकेश हिन्दू धर्मको राजधानीझैं बनेको थियो. विश्व प्रख्यात सांगीतिक समूह बिटल्सदेखि लिएर स्टिभ जब्ससम्मको हिप्पी अवतार देखेको ऋषिकेश ! केहीहदसम्म काठमाडौंका टुरिस्ट हबहरुको झझल्को दिलाउने यो ठाउँमा भने मेरो मन केही रत्तिएको थियो. यसर्थ हिमाल चढी तपस्या आरम्भ गर्नुअघि यो बेसक्याम्पमा केही दिन बिताउने निर्णय मैले गरेको थिएँ.
अर्को स्वार्थ पनि थियो यहाँ बस्न चाहनुको. एक सय साठी रुपैयाँमा संसारको अरु कुनै कुनामा कहाँ होटल कोठा पाइन्छ? यहाँ त छ महिना बसे पनि पुग्ने पैसा थियो मसँग र थियो उस्तै परिआएको खण्डमा भिक्षा मागेर खाने हिम्मत पनि. भिक्षार्थीहरुलाई दान गर्न इच्छुक धनाढ्य भारतीय पर्यटकहरुको कमी पनि थिएन.
विशेषतः मलाई तानेको थियो त्यहाँको साँझले. साँझ परेपछि मजस्तै आध्यात्मिक खोजमा निस्किएकाहरुको झुण्ड नै गङ्गा किनारमा टहल्न निस्कने ! प्रायः त युरोपेली र अमेरिकीहरु नै बढी. कोही धोती लगाएका, कोही केश खौरी टुप्पी पालेका. सायद बिटल्सको प्रभावमा, कोही काँधमा सितार झुन्ड्याएर हिँडेका.
ऋषिकेशस्थित महर्षि महेश योगीको आश्रममा बसेर योग ध्यान सिकेका बिटल जर्ज ह्यारिसनले सितार सम्राट रवि शंकरसँग सितार सिकेर पूर्वीय शास्त्रीय संगीतलाई पाश्चात्य पपसँग सम्मिश्रण गरेयता थुप्रै पश्चिमेलीहरुमा सितार सिक्ने धून सवार भएको थियो.
लगभग काठमाडौंजस्तै मौसम, चारैतिर हरियाली र एउटा कुनामा अथाह गहिराई बोकेर प्राचीन कालदेखिका अनेकन् पौराणिक कथाहरुको नायिका बनेर बगेकी गङ्गा ! साक्षात् योगेश्वर भगवान् शिवको केशबाट झरेकी मानिने गङ्गा ! गङ्गा किनारामा थापिएका स-साना चियापसल, पर्यटक तान्न निरन्तर बजाइने कुइरेहरुको स्वरमा रेकर्ड गराइएको हिन्दू मन्त्रहरु र निस्फिक्री अप्सराहरुझैं हिँडेका विदेशी महिलाहरु. कोही सारी लगाएका त कोही कुर्ता सुरुवाल. चुरा, टीका प्रायः सबैले लगाएका.
बेलाबेला गङ्गातिरबाट बगी आउने चिसो हिमाली बतास. मलाई यहाँको साँझ स्वर्गीय लाग्न थालेको थियो. यस्तै एउटा साँझ म गङ्गामा खुट्टा डुबाएर पानी सिङ्गडा छोडाउँदै खाँदै र त्यसका बोक्रा गंगामै फाल्दै गर्दै थिएँ. त्यही साँझ भेटीएकी थिई लारा. गङ्गा किनारमा आरती सुरु हुन लाग्दै थियो. भीड आरती हुन लागेको स्थानतिरै बढी केन्द्रित देखिन्थ्यो.
मलाई भने त्यो भीडमा समाहित हुनु भन्दा एक्लै बसेर सूर्यास्तको दृश्य हेर्नुमा बढी चाख लागेको थियो.
सूर्य लगभग अस्ताउनै लागेको बेला किनारको एउटा कुनामा धुमधुम्ती एक्लै बसेको मलाई आएर उसले आफ्नो क्यामेरा तेर्स्याउँदै भनेकी थिई, “एउटा फोटो खिचिदिन्छौ ?”
सुनौला बुट्टा कुँदिएका निक्खर सेतो कुर्ता सुरुवाल र सुनौलो रंगकै चुरा उसको हिउँजस्तो सेतो शरीरमा यस्तो सुहाएको थियो मानौं हिमालय पर्वतकी छोरी पार्वती ऊ स्वयम् हो.
मैले लाइन मार्ने शैलीमा भनेको थिएँ, “मसँग पनि एउटा खिच है त ?”
फोटो खिचिसकेर ऊ पनि मसँगै गङ्गाको पानीमा आफ्नो खुट्टा डुबाउन बसेकी थिई. जर्मनीबाट योग सिक्न आएकी लाराको कथा पनि मेरो भन्दा भिन्न कहाँ रहेछ र ? संसारबाट विरक्तिएर आध्यात्मिक खोजमा भारत हान्निएकी ऊ अर्को दिनबाट शिवानन्द आश्रममा योग सिक्नका लागि एक महिनाको शिविरमा बस्न लाग्दै रहिछ.
जर्मन बाउ र पोलिस आमाकी एक्ली छोरी ऊ ! ऊ नजन्मदै उसका बाउ-आमाको डिभोर्स भएको रहेछ. ऊ भन्दै थिई, “सबै सम्बन्ध त्यस्तै हुन्. सुरु सुरुमा ईश्वरको याद दिलाउने, बिस्तारै-बिस्तारै एकअर्काको अनुहारै हेर्न वाक्क हुँदै जाने. मलाई कसैले प्रेम गर्नु छ भने जीवनभर किस्ताबन्दीमा अलिअलि गर्नुको सट्टा एकैदिनको लागि सही, त्यो सबै प्रेम जम्मा गरेर एकैपल्ट खन्यावोस्.”
एक महिनाको लागि बन्द शिविरमा बस्नुपर्ने भएकाले आज साँझ फ्रेस हुन बाहिर निस्किएकी बताउँदै थिई ऊ. मैले उसलाई आफू तपस्या गर्न बद्रिनाथतिर हिँडेको कुरा बताउँदा खुबै चाख दिएकी थिई उसले. साँझ झमक्क पर्दा सुरु भएको आरतीको दृश्य हामीले गङ्गा किनारमा साथै बसेर हेरेका थियौं. बेलाबेला गङ्गाबाट आएको चिसो बतासले उसको शरीरको मिठो सुगन्ध पनि मतिर फ्याँकिरहेको थियो. लागिरहेको थियो मानौं म स्वर्गको कुनै बगैंचामा बसिरहेको थिएँ, जहाँ फुलेका थिए असंख्य बास्नादार गुलाब. ऋषिकेशको कुनै साँझ गंगा किनारमा चाहेजस्तै नास्तिक किन नबसोस्, ऊ स्वतः ध्यानस्थ हुन थाल्छ र आफ्नो वरिपरिको वातावरणसँग एकाकार हुन थाल्छ. लारा पनि यसै लट्ठिएकी थिई. म भने यसबेला धेरै उसैलाई हेर्दै लट्ठिएको थिएँ जसको चाल उसले पनि पक्कै पाइरहेकी थिई ! त्यसमा उसलाई पनि केही आपत्ति नभएको हुँदो हो. त्यसैले त सायद, आरती सकिएर गङ्गा किनार लगभग खाली भइसक्दा पनि हामी सँगै बसिरहेका थियौँ. कुरा हामी ध्यान र समाधीका गरिरहेका थियौं. मनले भने हाम्रो अर्कै केही भनिरहेको थियो. हामी कुनबेला त्यहाँबाट उठ्यौं, कुनबेला उसले मलाई उसको होटेलसम्म छाड्न भनी र म उसको पछिपछि लागेँ, अहिले सम्झँदा सबै सपना जस्तो लाग्छ. त्यो बेला भने म मन्त्रले लट्ठिएर तानिएझैं उसको पछिपछि तानिएको थिएँ.
यसरी जर्मनीकी लारा र म, संसारका दुई विपरीत गोलार्ध्दका हामीले ऋषिकेशको पवित्र भूमिमा छोटो समयका लागि सही समाधिको अनुभव गरेका थियौं. समाधि भन्नु आखिर त्यही त हो, जहाँ दुई एकअर्कामा समाहित भएर एकाकार हुन्छन्. सिरकभित्र घुस्रिएर लपक्क मसँग टाँसिएकी लाराले निदाउनुअघि भनेकी थिई, “म भोलि बिहान सबेरै निस्कन्छु, शिविरका लागि. तिमी उठ्नुभन्दा अघि. बिदा माग्न पाइनँ भने नराम्रो नमान्नू.”
भोलिपल्ट बिहान म उठ्दा ऊ कोठामा थिइन. थियो त केवल उसको शरीरको अत्तरको एउटा मिठो, मादक र प्यारो सुगन्ध. यस्तोमा मेरो मन उदास, बेचैन हुनुपर्ने थियो, तर भएन. मलाई लाग्यो जीवनभर कसैले कसैलाई गर्ने प्रेम त्यो एउटा साँझ र रातमा हामीले एकमुष्ठ एकअर्कालाई गरेका थियौं. यस्तो एउटा प्रेम, जो मुक्त थियो सारा बाचा बन्धन र समयक्रमसँगै धमिलिँदै जाने भावनाहरुबाट.
लारा थिइन, तर कोठामा उसको बास्ना छँदैथियो. आफ्नो होटलबाट चेकआउट गरेर म त्यही कोठामा सिफ्ट भएको थिएँ.
जतिन्जेल उसको सुगन्ध त्यो कोठामा रहन्छ, त्यत्तिन्जेल त्यसैसँग समय बिताउन. यसको दुई दिनपश्चात् म हिमालयको काखमा स्थित बद्रिनाथतर्फ तपस्या गर्न हान्निएको थिएँ. ओठमा मुस्कान र यादमा एउटा मिठो सुगन्ध बोकेर.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।