लेख्दै थिएँ म…
म मान्छेको मन, बुद्धि दिमाग पढ्न सक्छु. कसले के सोचिरहेको छ ठ्याक्कै मिलाउन सक्छु. यो कुरा मैले तपाईंलाई तपाईंकै अघि सुनाएँ भने तपाईं के भन्नुहुन्छ त्यो पनि मलाई थाहा छ. तपाईं भन्नुहुन्छ, “लु म के सोच्दैछु भन् !”

मिल्यो हैन त यो पनि ? कतिपल्ट त मैले अनुहार हेरेरै कसले मनमा कुन गीत गाइरहेको छ ठ्याक्कै थाहा पाएको छु. नपत्याए सोधे हुन्छ मलाई चिन्नेहरुलाई. यो उस्तो गाह्रो पनि हैन. अनुहारमा त्यस्तै लगभग बयालीस त्रिचालीस वटा मांसपेशी हुन्छन्. हरेक सोच, भावना, धारणा, चाहना, कामना, वासनाले ती मांशपेशीहरु विभिन्न अनुपातमा चलायमान हुन्छन्. मुहारमा मांशपेशीका कुन-कुन सेट चलायमान भएका छन् हेरेर पनि मोटामोटी अनुमान लगाउन सकिन्छ, कसले के सोच्दैछ भनेर.

हात बाँधेर मान्छे तब बस्छ, जब ऊ आफूलाई बन्द गरिरहेको हुन्छ. आफ्ना भावना, धारणा कसैले थाहा नपाऊन् भनेर. इभोलुसनरी ट्रेट हो रे यो ! जङ्गलमा हाम्रा बाँदर पुर्खाले सिकेका. केही गरी अगाडिको मान्छेले हमला गर्यो भने मुटु, कलेजो, फोक्सोमा चाहिँ नलागोस् भनेर आफूलाई जोगाउन त्यसो गरेको. तपाईंको अघि बसेको मान्छेले आफ्नो हात बाँधेर बसेको छ भने सतर्क हुनुहोस् है ! भनिदेको छु अहिले नै ! पछि भनेन नभन्नु. नक्कली हाँसो पनि हुन्छ नि ! नक्कली हाँसो हाँसेको मान्छे ठ्याक्कै चिनिन्छ. त्यसरी हाँस्ने वा मुस्कुराउनेका आँखामा मुजा पर्दैनन्. लजाएको, अप्ठ्यारो मानेको मान्छेको खुट्टाको बूढी औंलामा हेर्नु. यसो औंला दोबारेको हुन्छ. खुल्ला ठाउँमा जम्मा भएर थुप्रै मान्छे बसेका छन् भने तिनको खुट्टा कता फर्किएका छन् हेर्नु. समूहमा बसेको मान्छे आफ्ना खुट्टा आफ्नो सबैभन्दा मन परेको मान्छेतर्फ फर्काएर बसेको हुन्छ. यो पनि एभोलुसनरी ट्रेट नै हो. खतरा भएको खण्डमा दौडेर म उसको छेउमा जान्छु भनेर खुट्टा रेडी पारेर मनपर्दो मान्छेतिर फर्काएर बसेको.

मान्छेको एक-एक भंगीमाको अर्थ हुन्छ. मुखले, बोलीले मान्छेले ढाँटछ तर भंगीमाले ढाँट्दैनन्. के गर्नु, हामीले संसार नै त्यस्तै बनायौं ! ढाँट्नै पर्ने, नाटक गर्नै पर्ने. एकपल्ट सुत्न मात्र मन लागेको मान्छेलाई आइ लभ यु फरएभर भन्नै पर्ने. मुखमा थुक्न मन लागेका मान्छेलाई “हजुर, नमस्ते..” भन्नै पर्ने.

बूढी र बालबच्चादेखि दिक्क लागेको हुन्छ बूढोलाई र भाइस भर्सा पनि तर कसको हिम्मत, “बुढी मलाई तँदेखि बोर भयो” भन्ने ? अनि हामी अनेक नाटक गर्छौं. झूट बोल्छौँ. धन्न तपाईंहरुका श्रीमती मैले जसरी अनुहार पढ्न, तपाईंका मनका विचार पढ्न सक्दैनन्. कि घर-घरमा गएर सिकाइदिऊँ म यो कला ? भन्नुहोस् है !

भित्र हामी अर्कै हुन्छौं. बाहिर अर्कै. कसलाई रहर हुँदैन नदी किनारमा गएर बियर पिउँदै कविता रच्ने ! वा समुद्र किनारमा बसेर बिकिनी लगाएका सुन्दरी हेर्ने. वा स्त्री भए आफैं बिकिनी लगाएर इधर-उधर गर्ने. वा जङ्गलमा चिरबिरको सङ्गीत सुन्दै हाइक गर्ने. तपाईं महिला हुनुहुन्छ र यो पढ्दै हुनुहुन्छ भने के तपाईंलाई चेन अर्ग्याजम भनेको थाहा छ ? टाउकैमा कान छ, हामी कागको पछि दौडेर जिन्दगीका अमूल्य क्षण नष्ट गर्छौं. अनि मर्छौं. कोही झट्ट एकैपल्ट मर्छन्. कोही बिस्तारै मर्छन्. कसैको शरीर पहिला मर्छ आत्मापछि. धेरैका आत्मा पहिला मर्छ. शरीर बिस्तारै बिस्तारै. बुकाओस्की भन्छ, “पच्चीस वर्ष पुग्दासम्म मान्छेको आत्मा मरिसकेको हुन्छ.”

यस्तै यस्तै गन्थन लेख्दै थिएँ, लुसिफरकै लागि. तपाईंकै लागि. बाहिर पानी झमझम परिरहेको थियो. निथ्रुक्क भिज्न मन लाग्ने खालको पानी, लेख्दालेख्दै चिया पिउन मन लागेर आगो बालेँ. दुध तताएँ. सिलौटोमा सुकुमेल कुटेँ. अदुवा काटेँ. चिनी पो सकिएको रहेछ ! अनि यो कथा अर्कै हुँदै थियो, अर्कै बन्न पुग्यो.

चार जना थिए. साढे तीन तल्ले घर. दुई वटी छोरी र बूढाबूढी. म ठ्याक्कै अगाडिको घरमा बस्थेँ. भाडामा. यहाँ बस्न आएको भर्खर केही दिन भएको थियो. मेरो बरण्डाबाट उनीहरुको चहलपहल स्पष्ट देखिने. बिहान र साँझ वाकमा जान्थेँ म, दिनभर घर बस्थेँ, लेख्थेँ. पढ्थेँ. बोटबिरुवा गोडमेल गर्थें. खाना बनाउँथेँ. बेलाबेला बरण्डामा चुरोट खान जान्थेँ. यसो बोल्न खोज्थेँ म उनीहरुसँगै. बरण्डाबाटै. उनीहरु तर्किन्थे.

उनीहरुमध्ये कोही पनि घरबाहिर निस्किएको मैले कहिल्यै देखिनँ. सधैँ उही रुटिन. बेलुका उनीहरु ठूलो स्क्रिनको टिभीअघि बसेको देखिन्थ्यो पर्दाको चेपबाट. चार वटा छायाँ हलचल नगरी बसेका चम्किलो स्क्रिनअघि. न हाँस्थे. न बोल्थे. स्क्रिनअघि जमेर बस्थे. टाउको भने निहुरिएको हुन्थ्यो सबैको. आँखा स्क्रिनमा हुँदैन थिए. खै के गर्थे. म उनीहरु के गर्दैछन् भन्ने हेरेर कति बज्यो भन्ने अन्दाज गर्न सक्ने भएको थिएँ केही दिनमै. गेट सधैँ बन्द.

गेटबाहिर सडकमा खाल्टो परेको. हिलो जमेको. उनीहरुलाई कहिले यसको मतलब भएको देखिएन. अरे, पसलमा सामान किन्दा खराब सामान पर्यो भने हामी कति किचकिच गर्छौं पसलेहरुसँग. यिनीहरुलाई आफ्नो घरै अगाडिको बाटो त्यस्तो हिलो, खाल्टो भएको कस्तो मतलब नलागेको ! सडक पनि त सामान नै हो. सरकार नामको पसलेसँग किनेको. खराब सामान. खराब पसले. शायद कालो सिसा भएको ठूलो गाडी चढ्दा हुन् पक्कै पनि यी छिमेकी कतै जानु परे !

न धुवाँ, न धुलो न हिलो न खाल्टोको बाल ! आफ्ना खुट्टाले हिलो टेक्नु नपरेपछि अरुको छु मतलब ! चाहिने सामान शायद अनलाइनबाट मगाउँथे होला ती. बेस्सरी पानी परेको एक दिन मेरो घरमा चिया पकाउँदा पकाउँदै चिनी सकियो. पसलहरु अलि टाढै थिए. मैले सोचें, यही हो छिमेकीहरुको सङ्गत गर्ने मौका. म तल ओर्लिएँ. उनीहरुको गेटमा नक गरेँ. बूढा आए. म मुस्कुराएँ. बूढा पनि प्रत्युत्तरमा मुस्कुराए तर उनको आँखामा मुजा परेको देखिएन. मैले चाल पाएँ, नक्कली मुस्कान.

आत्मियता नभएको. मैले भनेँ, “चिनी सक्किएछ एक्कासि. पसल जाने मुड छैन अहिले. थोरै दिन सक्नुहुन्छ?”

बुढाले खुट्टाको बूढी औंला दोबारे. हात बाँधे. अनि कराए, “सरिता… तल आऊ.”

आन्टी आइन्. छोरीहरु आए. चारै जना हात बाँधेर मेरोअघि उभिएका थिए अब. कसैको मुहारमा मुस्कान थिएन. जिन्दगीको न्यानो ढुकढुक थिएन. मलाई मनमा थोरै चिसो पस्यो. प्लास्टिकका जस्ता अनुहार. घाम नदेखेका, हरियो नदेखेका. नदी नदेखेका अनुहार ! कहिले नदौडिएका गोडा. केही नउठाएका हात. कसैलाई कहिले नझिम्क्याएका, सपना नबोकेका आँखा. किताब नपढेका आँखा. जिन्दगीको धुन नसुनेका कान. प्रेम नजानेको हृदय. नचुमिएका ओठ. म उनीहरुको प्रोफाइलिङ गर्दै थिएँ मन मनमा. उनीहरु भने मलाई देखेर आत्तिएकाजस्ता देखिन्थे.

मोटो सिक्रीले बाँधेर राखिएको जर्मन सेफर्ड सिक्री चुँडालौंला जस्तो गरेर भुक्दै थियो. मलाई कुकुरदेखि डर लागेन, बरु दया लाग्यो त्यो बबुरोको. यत्रो ऊर्जा, यत्रो ठूलो ज्यान. बाहिरको संसार देख्नै नपाई, बेतोडले दौडनै नपाई जिन्दगी बित्ने भयो यसको भनेर सोच्दै थिएँ. एक्कासि मेरो आँखैअघि यी चारै जनाको शरीरबाट धुवाँ आउन थाल्यो. आगो थिएन. धुवाँ मात्र आउँदै थियो, प्लास्टिक डढ्दा आउने जस्तो गनाउने धुवाँ. उनीहरु त्यो धुवाँ जबर्जस्ती लुकाउने प्रयास गर्दै थिए. घर पनि पो बालुवाको रहेछ उनीहरुको, कहीँकतै हरियो नभएको. हैट् ! डरले आङ सिरिङ्ग भयो मेरो. धुवाँ बढ्दै गयो. उनीहरु छोपिंदै गए. एकछिनमा धुवाँ हट्यो. हट्दा उनीहरु मेरो अघिल्तिर थिएनन्. अनि मैले थाहा पाएँ. उनीहरु त वर्षौंअघि मरिसकेका रहेछन् !

मैले मान्छे ठानेका मान्छे छायाँ मात्र रहेछन् ! मैले हतारहतार जर्मन सेफर्डको सिक्री खोलिदिएँ. ऊ हुत्तिएर मतिर आयो र मेरो हात चाट्न थाल्यो. गेट खोलेर म बाहिर आएँ. जर्मन सेफर्ड बुर्कुसी मार्दै बाहिर निस्कियो सडकतिर. म घर आएर स्पिकरमा हनुमान चालिसा बजाउँदै लेख्न थालेंः
“श्री गुरु चरण सरोज रज,
निज मन मुकुर सुधार |
बरनौ रघुवर बिमल जसु,
जो दायक फल चारि |
बुद्धिहीन तनु जानि के,
सुमिरौ पवन कुमार |
बल बुद्धि विद्या देहु मोहि
हरहु कलेश विकार || …