दिन देश जस्तै हुने वाला थियो. बिहानदेखि परेको झरी, सडकमा बगेको खोला. खोलाले बगाएका मोटरसाइकल. पोहोर त सडकमै डुबेर एउटा बालकको मृत्यु भएको हो क्यारे यही समयमा ! केही दिनअघि एकाबिहानै एउटा भरिया हातमा नाम्लो च्यापेर सडकमा मरिरहेको थियो. शायद एउटा हातले पेट पनि समाइरहेको थियो. कसैलाई कसैको बाल मतलब थिएन, त्यसका बाबजुद. आफैंलाई केही आइनपरेसम्म कानमा तेल हालेर बस्ने मिडल क्लास आफैंले तिरेको करले बनाएको सडक एक हप्तामा पोखरी बन्दा पनि हाहाहा गरेर पचाउन सक्ने अभ्यास गर्दै थियो. खासमा हाम्रो मन, बुद्धि, शरीर हाल्न भन्दा फाल्न बनेको हो. भित्रै राखे जे पनि कुहिंदै जाने. आक्रोश कुहिएर आँसु बन्छ. आँसु पनि कुहिए मान्छे बाहिर बाहिर हाँस्छ भित्रभित्र बहुलाउँछ. विक्षिप्त हुन्छ. करुणा भनौं वा धन्दा, वा रुचि वा प्यासन, मेरो काम यो संवेदनाहीन समाजमा जबर्जस्ती फङ्सन गर्न बाध्य भएका विक्षिप्त मनहरुलाई थेरापी प्रदान गर्ने.

सोसियल मेडियामा सडकमा उर्लेको भेलले बगाएका मोटरसाइकलको भिडियो ट्रेन्डिङ थियो, बिहानैदेखि. रगत त सबैको सेलाई सकेको थियो देशमा. दुई दिनको जिन्दगीमा चार दिन पुग्ने सम्पत्ति कमाउनु थियो सबैलाई. कि भाइरल भिडियो बनाएर रातारात फेमस हुनु थियो. जिउनु कसैलाई थिएन, मात्र जिन्दगी बिताउनु थियो. टाइम पास.

सरकारले देशै बन्द गरेर बसेको एक वर्ष हुन लाग्दै थियो. बाहिर ननिस्की ! कर तिर् ! बाहिर ननिस्की कर तिर् ! बाहिर ननिस्की लाइन लागेर ठेलमठेल गरेर कर तिर् !

हस् हजुर, हजुरको आज्ञा शिरोपरको नाटक चल्दै थियो देशमा. टुँडिखेलमा यता हेलिकप्टरले फूल बर्साउँदै थियो, उता खान नपाएका मान्छे हात थापेर एक छाक जुटाउँदै थिए. सडकमा कुदाउँदा कुदाउँदैका मोटरसाइकल बगाएको दृश्य देखेर र पौडेर सडक पार गरिरहेका मान्छे देखेर घरमा बसिरहेका मान्छे के सोचिरहेका हुँदा हुन्, बुझ्न मन लागेर मैले पनि त्यही ट्रेन्डिङ स्टोरी सेयर गरेँ. लगत्तै हाहा रियाक्टको ओइरो आउन थाल्यो. भनेपछि आफ्नै देशमा आफ्नै पैसाले बनेको सडकमा ३०० परसेन्ट कर तिरेर बेला बेला हेपिरहने छिमेकी देशबाट ल्याएको मोटरसाइकल, गाडी र हाम्रा आफ्नै सन्तान बगाउँदा पनि हाहाहा गरेर बस्न बाध्य निरीह भएछौं हामी वीर गोर्खाली. यो सोचेर म मुखसम्म सिरक तानेर सुत्ने जमर्को गर्दै थिएँ, फोन बज्यो. पछिल्लो पटक अब्यान्डनमेन्ट सिन्ड्रोमको थेरापी गराएको एउटा भाइ रहेछ.

भन्दै थियो, “दाइ मेरो एउटी साथी.. लास्ट गाह्रो भयो भन्दैछे. मर्न मन लाग्यो भन्छे. प्लिज एकपल्ट भेट्दिनु न…”

“भाइ आज त म बरु बियर पिएर सुत्छु दिन भर बाहिर निस्किन्नँ… मेरो मोटरसाइकल बगायो भने तिमी किन्दिन्छौ ?”

मेरो भनाइ टुङ्गिन नपाउँदै उसको यसरी सुरु भयो अनि म बाध्य भएँ हुन्छ भन्न…, “दाइ बरु डबल फी लिनु अनि उसलाई तपाईंको घरनजिकै बोलाउनू ।”

एकैछिनमा फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो, नाम भन्दिनँ. प्रोफेसनल प्राइभेसी. केटी भनौं उसलाई. केटीले हाइ हेल्लो गरी इधर उधरका बात गरी हल्का अनि हामीले कहाँ भेट्ने तय गर्यौं. केटी महँगो स्कुटरमा पानीजहाज चढेर आई. आफ्नै देशको झण्डा फहराएको पानीजहाज खै कुन्नी महासागरमा दौडाउने वाला जोक याद दिलाउने गरी आई, हामीले प्लेजेन्टरी एक्सचेन्ज गर्यौं, केटी मुस्कुराई. हजार पीडा लुकाएको मुस्कान ! भूपीको कविता जस्तो….. “ए जून फरक मात्र यति कि तिमी रुन्छौ र शीत बन्छ…”

अब पालो सिरियस कुराको. केटीले भनी, “हात धुँदाधुँदा थाकिसकेँ. कसैले छोयो भने त झन् नुहाउनै पर्छ मलाई. दिनमा पाँच सयपल्ट हात धुन मन लाग्ने. पचास पल्ट नुहाउनु पर्ने. सयपल्ट किताब ढोग्नु पर्ने. एक्जाम आउँदैछ, म किताब पढेर हैन ढोगेर बसिरहेकी छु. रातभर निद्रा लाग्दैन. कोही छ मेरो कोठामा, जो बत्ती निभाउनेबित्तिकै मलाई झम्टिन आउँछ जस्तो लाग्छ. बत्ती बालेर सोफामा बस्छु. कुनै बेला आफैं निदाएँ भने निदाएँ त्यसरी, नत्र नसुतेको त कति भयो कति ! बाटोमा हिंड्दा पछाडिबाट कसैले हेरिरहेको छ जस्तो लाग्छ मलाई. के गरौँ म ?”

ओसिडी. मैले मनमनै सोचेँ. अब्सेसिभ कम्पल्सिभ डिसअर्डर. मेरो थेरापीको प्रोसेस अलि फरक हुन्छ. म सतही कारण र समाधानमा जान्न, बाहिर जे देखिन्छ भित्र त्यसको जरो हुन्छ. जरो पत्ता नलगाई गरेको समाधान इन्स्टा फिल्टर जस्तो हुन्छ. बाहिर बाहिरको लिपपोत. अब मैले केटीको ओसिडीको कारण पत्ता लगाउनु थियो सुरुमा. यसका लागि म थोरै हिप्नोसिसको र थोरै एम्प्याथीको प्रयोग गर्छु. ती झ्याउलाग्दा  प्रोसेस अहिले फास्ट फरवार्ड गरौँ र गुदीतिर जाऊँ.

केटी अब बर्बराउन थाल्छे…, “बीस वर्षको उमेर हुँदादेखि केटा देखाउन थालेका मलाई मेरा बाउआमाले. बिहा गराउन भनेर. अहिले बाइसकी भएँ. केटा त कति देखाए कति.”

“बोइफ्रेन्ड छैन र ?”

“थियो… झडङ्ग रिसाउने. सामान हान्ने, रिह्याब बसेर आएको. एकपल्ट मलाई फोनमा मुख छाडेको बाउआमाले सुने. त्यहाँदेखि त्यो केटा हुँदैन तँलाई भन्न थालेका. एउटी कहाँकी हो माता पनि देखाएछन्, माताले पनि आगोमा घ्यू थपेर यो केटा हुँदैन भनिछे. अनि ब्वाइफ्रेन्ड आउट.”

“तिमी मिस कतिको गर्छौ उसलाई?”

“पैला त मिस गर्थें धेरै नै. अनि त्यसको पारा देखेर लाग्न थाल्यो, छाडेकै राम्रो. कति सहनु किचकिच !”

“दिनभर के गर्छौ ?”

“घरै बस्छु. कतै जान मन लाग्दैन. ब्वाइफ्रेन्ड हुँदा बाउआमा त्यसलाई भेट्न जाली भनेर माया गरेर राख्थे. डराउँथे पनि हल्का. अब त्यसलाई छाडी भन्ने थाहा पाएपछि त दिनरात किचकिच ! बाहिर कतै गए मलाई के भन्छन् थाहा छ मेरा बाउआमा ?”

“के भन्छन्?”

“भन्छन्, थाहा छ तैंले किन चुमुकचुमुक गरेकी ! थाहा छ, कहाँ गएर के गरेर आएकी होस् ! म त हरेकपल्ट बाहिर गएँ कि सेक्स नै गर्न गएकी कसैसँग भन्ठान्छन्, हेर्नु त मेरा आफ्नै बाउआमा !!”

“मलाई यस्तो घृणा लाग्न थालेको छ आजभोलि सबैसँग. झन् बाउआमादेखि त सबैभन्दा धेरै. उनीहरुलाई छोइन्छ भनेर म तर्केर हिंड्छु आफ्नै घरमा. उनीहरुले छोएको हरेक कुरा धोएर मात्र प्रयोग गर्छु. उनीहरुले छोएको हरेक ठाउँ र सामान घिनलाग्दो लाग्छ मलाई.”

“अनि के गर्छौ…?”

“के-के मात्र धुनु ! भर्याङको रेलिङ, ढोकाको हेन्डील, भाँडा, गिलास,चम्चा !! के के मात्र धुनु !! त्यसैले बरु म आफ्नै हात धुन्छु. हजारपल्ट धुन्छु होला दिनमा. म हात धोएरै थाक्छु…”

“अब बिस्तारै लामो सास फेर अनि मेरो काउन्टमा ध्यान देऊ…”

केटी गहिरो निद्राबाट बिउँझिएझैँ हुन्छे. आजको पहिलो सेसन धेरै लामो गएन. मलाई उसको समस्याको जरो थाहा भयो. अब बाँकीका दुई सेसन उसलाई उसको ओसिडीको कारण र निवारण बताउने.

ऊ भन्छे, “मलाई त तपाईंसँग कुरा गरेरै कस्तो हलुका भयो… म ठिक हुन्छु जस्तो छ हैन त ?”

“पक्कै हुन्छ्यौ ! त्यति मात्र हैन, तिमीभित्र के प्रतिभा छ, त्यसको बारेमा पनि डिस्कस गरौँला अनि तिम्रो हात धुँदा नष्ट भएको समय आफ्नो प्रतिभा नर्चर गर्नमा स्पेन्ड गर्नू.”

म उसलाई एउटा न्यानो, आत्मीय हग गर्छु. ऊ हल्का आँसु झार्छे.

झरीले डुब्न लागेको देशमा एउटा थेरापी सेसन यसरी सकिन्छ. बगैँचाको जिम्मा म लिन सक्दिनँ तर आत्मा सुकेका एक दुई फूलमा पानी हाल्न पाऊँ यसरी. एक दुई मुहारमा मुस्कान ल्याउन सकौँ यसरी. हे ईश्वर !

यसो भन्दै म भारतमा पचास हजारमा आउने यहाँ साढे तीन लाख पर्ने आफ्नो मोटरसाइकल पानीजहाज कुदाउँछु सडकको महासागरमा. अब घर गएर सिरकले मुखसम्म छोपेर सुत्छु म दिनभर !!