
भूतकालको प्रयोग गर्नु नपरोस् कहिले जस्तो लाग्नेगरी सुन्दर हुन्छन् केही क्षणहरु जिन्दगीका. ती क्षणहरुलाई भर्याङ् बनाएर आत्मासम्म पुग्ने हो. मोक्षसम्म पुग्ने हो.
ती क्षणहरुका लागि हिजो, जमानामा, अस्ति नै जस्ता शब्द प्रयोग गर्नुपर्दा मनमा आफ्नो मन परेको चङ्गाचैट हुँदाको जस्तो चसक्क हुन्छ. समय रोकियोस् जस्तो लाग्ने त्यस्तै क्षणहरुमा हो.
समय रोकिएको जहाँ हुन्छ त्यहीं स्वर्ग हो. एक एक मिनेट जहाँ मुस्किलले बित्छ त्यहीं नर्क हो. जिजसले पनि यही भनेका छन् कतै, मेरो प्रभुको स्वर्गीय राज्यमा समय हुने छैन.. आत्माले समयातित स्वर्ग प्रवेश गरेको क्षण. जिन्दगीको रुखमा कहिलेकाहीँ यस्ता स्वर्गीय क्षण फल्छन् होसका. ती फलहरु द्वार हुन् समाधिमा प्रवेश गर्ने.
मैले यस्तो जिन्दगी बाँचे, कि हरेकपल्ट सासै रोकियो कि हरेकपल्ट सासले सयको स्पीड नाघ्यो. त्यहीँ माथि बुझ्नुभयो त्यो वाक्य भने तपाईंमा जागृतीका लक्षण छन्. बुझ्नुभएन भने अझै ध्यान गर्नुहोस्. मैले भन्न खोजेको, जस्तै मानौँ हिमाल वा सूर्योदय वा सूर्यास्त देख्दा सासै रोकिने ट्वाँ परियो. कहिलेकाहीँ कसैको टाउको आफ्नो छातीमा राखेर ओछ्यानमा पल्टिँदा पनि त्यस्तै सासै रोकिने गहिराइमा प्रवेश गरियो. कहिलेकाहीँ त्यो गहिराईमा पुग्न धेरैबेर दौडनु पर्यो. कहिलेकाहीँ ओछ्यानमा, कहिलेकाहीँ कर्ममा, कहिलेकाहीँ सडकमा. ती क्षणहरु आकाशका तारा झार्ने लठ्ठी हुन्. कविताका तारा झार्छन् त्यस्ता क्षणहरुले, स्मृतिको आकाशमा टल्किएका तारा.
त्यस्ता क्षणमा सूत्र लुकेको हुन्छ अमरत्वको.
गुर्जियफको साधना पद्धतिमा जागृतीभित्र प्रवेश गर्ने एउटा सूत्र छ. हामी बाल्यकालका जति घटना वा जिन्दगीका जति पनि क्षण सम्झन्छौँ, ती क्षणहरु हामी होसमा रहेका क्षण थिए. त्यसैले ती याद रहे. बेहोसीमा बिताएका क्षणहरु बिर्सिए. ती होसका क्षणहरुमा गएर केही गरी त्यसबेलाको चित्त दशाको मेन्टल फोटो खिच्न सकियो भने होसमा सहज प्रवेश हुन्छ. जबदेखि म होसमा आएँ तबदेखि मलाई जिन्दगीका एक एक क्षण याद हुन थाले. विस्तारै मैले आफ्नो दिमागलाई तालिम दिएर त्यहाँभित्र यस्तो डिपार्टमेन्ट खोलें जहाँ म आफूलाई नचाहिएका विचार र स्मृतिहरु डढाइदिन्छु. कहिलेकाहीँ चाहिएकै स्मृतिलाई पनि त्यही डिपार्टमेन्टमा लगेर थोरै खारेर ल्याउँछु. साधनाले दिएको शक्ति हो त्यो. यही शक्तिलाई स्पीड रिडिङ्को विकास गराउन पनि प्रयोग गर्न सकिन्छ.
सासले कबड्डी खेलेका वा सासै थामिएका त्यस्ता थुप्रै क्षणहरु म प्रोम्प्टका रुपमा दिन सक्छु तपाईंलाई कविता लेख्नलाई जहाँ म पूर्णतया होसमा थिएँ र त्यसैले ती क्षणका मलाई एक एक माइन्युट डिटेल्स याद छन्. यदि तपाईंलाई कविता लेखनको अभ्यास गर्न मन छ भने. मैले आफ्नो आत्मा तिनै क्षणहरुमा भेट्टाएको हुँ.
मानौँ बाह्र कटिसकेको एउटा रात, तपाईं तपाईंले मन पराएको कसैसँग मोटरसाइकलमा बसेर बीच जङ्गलबाट जाने हाइवेमा हुइकिँदै हुनुहुन्छ सयको स्पीडमा. चिनजान यस्तो भर्खरको हो, तपाईं मनले आफ्ना कुरा भन्न खोज्नुहुन्छ. मुखले भन्न सक्ने जस्तो सम्बन्ध छैन अहिले. तर भन्न चाहनुहुन्छ मुखले मुखमा. तपाईंलाई निद्रा लाग्यो. तपाईं यो कुरा पछाडि तपाईंलाई च्याप्प समाएर बसेकी, आफ्नी मन परेकीलाई बताउनुहुन्छ र ऊ भन्छे, रोक न त. म किस गर्दिन्छु अनि निद्रा भाग्छ.
तपाईं होसमा आउनुहुन्छ त्यो क्षण.
तपाईं मोटरसाइकल रोक्नुहुन्छ. मानौं यो चुम्बन तपाईंको जिन्दगीकै सुन्दरतम चुम्बनमध्येको एक हो. त्यो चुम्बनलाई तपाईं शब्दमा कसरी पोख्नुहुन्छ ? त्यो तपाईंको कविता हो. यो एउटा कविता बिउ बनेर बस्छ हृदयमा र झ्याम्मिन्छ पिपलको हाँगामा नयाँ पात झ्याम्मिएजसरी. होसमा आएका हरेक क्षण कविताका क्षण हुन्. ती क्षणमा प्रवेश गर्न जानेको मान्छेले कविता लेख्दैन. लठ्ठीले हानेर अग्ला लटरम्म फलेका रुखबाट पाक्केका कविता झार्छ.
मभित्र तिमीलाई स्वागत छ भन्ने निम्तो दिने चुम्बनजस्तो सुन्दर निम्तोकार्ड अर्को छैन.
तपाईं होसमा आउँदाका कस्ता क्षण सम्झनु हुन्छ जिन्दगीका ? तिनै हुन् आत्माभित्र छिर्ने रहस्यमयी द्वार. एकपल्ट जो त्यहाँ छिर्यो, सुन बन्यो. शरीरभन्दा उताको सत्य जसले जानेन, त्यो बन्यो माटो.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






