हिप्पीहरुको हाम्रो टोलीमा भर्खर सामेल हुन आएकी एउटी साउथ इन्डियन केटी भन्दैछे, “यहाँ मान्छे किन यति राम्रा ? नाटक गरेका हुन् सबैले जस्तो छ. म त त्यस्तो राम्रो छैन. हजार दैत्य ताण्डव गर्छन् मभित्र.”
उसले भनेको ठीक हो. ठीकै छ. केही दिन फेवातालको हावा खाएपछि शान्त हुन्छन्, यसका पनि राक्षस. काठमाडौंबाट तीनवटा सडक कुकुर अडोप्ट गरेर ल्याएका एउटा हिप्पी जोडी कुकुर तिहारको प्रशंसा गर्दैछन्. उसलाई के थाहा हामी गाली गर्दा कुकुरले नपाएको दुःख भनेर भन्छौँ.
घाममा गायत्री मन्त्र फिल हुन्छ मलाई यो ठाउँमा बस्दा. तत् सवितुर वरेण्यम. घामको प्रकाशले रक्षा गरिएका हामी. घाम नै जननी. घामले नै रुख उम्रेका. घामले नै डिजेल पेट्रोल बनेका. घामले नै पानी पार्ने, घामले नै हावा चलाउने. घामको यत्रो उत्पात पराक्रम देखेर हिन्दुहरुले घामको नाममा मन्त्र नै बनाइदिए. त्यही हो गायत्री मन्त्र. क्याफेको स्पिकरमा सानो स्वरमा बज्दैछ पनि. कहिलेकाहीँ लेख्न आउँछु यहाँ. कहिलेकाहीँ खान. कहिलेकाहीँ खाँदै लेख्छु. यहाँ अक्सर हिप्पीहरु आउँछन्. ढुक्कै यतै बसेका खैरे. तालतालका. ताल जस्तै. प्यारा. यहाँ कसैले नाम ठाम गाम सोध्दैन कसैको. न थाहा छ कसैलाई, न मतलब. उदाहरणका लागि, आफ्टर पार्टीका लागि एउटा पबमा गएको थिएँ हिजो राति. मुडुलो टाउको भएको एउटा खैरे बोल्न आयो. मैले सोधेँ, “के गर्छस् ?” उसले भन्यो, “आई डन्ट नो…अठार महिना भयो आको. आफ्नै साथको आनन्द लिंदैछु. कसैले तपाईंको “के गर्छस्..”को उत्तरमा यही भन्यो भने बुझ्नुहुन्छ ?
म बुझ्छु त्यसैले सोध्दिनँ. म पनि त त्यही गर्दैछु. एक हप्ता अझै भन्दै दिनहरु थप्दै आफ्नै साथको आनन्द लिँदैछु.
टाउकोमा सडक र पुच्छरमा ताल भएको एउटा शाकाहारी रेष्टुरेन्ट जहाँ बसेर म लेख्दैछु. गाँजर, सुन्तला र पुदिना मिसाएर बनाएको जुस पिउँदै. म यहाँ आएको पहिलो दिन मेन्यु हेरेँ, सबै खाइदिउँजस्तो लाग्यो. शाकाहारीलाई खानाका कम अप्सन अभाइलेभल छन् भन्ने लाग्थ्यो, हैन रहेछ.
थियो र हुनेछ हैन जिन्दगी. जिन्दगी छ. आँखाअघि जे छ त्यही हो जिन्दगी.
यो हप्ताका चाखलाग्दा कुरा भन्छु. जे थियो त्यो भन्छु. जे छ त्यो त बाँच्ने हो. भन्न कहाँ फुर्सद हुन्छ वर्तमानको स्वाद लिइरहेको बेला ! वर्तमान मेरी प्रेमिका बनेकी छन् यहाँ पोखरामा. म हरेक क्षण आफ्नो सासको गर्मी महसुस गर्न सक्छु यहाँ. सुनेको, काठमाडौंमा सास फेर्न नसकिने भयो रे धुवाँ र धुलोले. म पोखराका साथीहरुलाई त्यही आग्रह गर्छु भेटेपिच्छे. काठमाडौंमा मुर्खहरु जस्तो लोभी नबन्नू. दिनू. बग्नू. दिन र बग्ने जान्ने मान्छे कहिले दुःखी हुँदैन र दुःखी मान्छेहरु नभएको सहर नै सुखी सहर हो. जिन्दगीको रहस्य दिनु र बग्नु हो. जसले आफ्नो लागि मात्र भनेर लुकाएर राख्यो उसलाई कब्जियत भयो. फेवाताल त बग्छ बिस्तारै. तपाईंलाई थाहा नहुन सक्छ, फेवाताल खासमा खोला हो. माथिबाट बग्दै आउने हर्पन खोला तल गुप्तेश्वरमा झर्छ. बीचमा एकछिन फैलिन्छ. यही फैलावट हो प्यारो फेवाताल.
आफू वरपरको संसार नियालेर हेर्नुभयो भने तपाईं कि साधु बन्नुहुन्छ कि वैज्ञानिक. साधु र वैज्ञानिक उस्तै-उस्तै हुन् प्रायः. म दुवै हुँ. खाँटी वैज्ञानिकले सजीव र निर्जीवमा भेद देख्दैन. किनकि उसले देख्छ. तालले सास फेर्छ. सुटुक्क फेर्छ. देख्न सक्नुपर्छ. लिटरल्ली फेर्छ. सेभेन्टिन्थ स्ट्रिटमा बिहानको तीन बजे म यहाँ ओर्लिएको थिएँ खै कति पो हो दिन अगाडि. बच्चैदेखि बस्दै आएको एउटा होटलमा ढुक्कै बसेको छु. पोखरेली शान यहाँको संगीत पनि हो भन्दा हुन्छ. हर कोही बब डिलन र बब मार्ली छन् यहाँ. सेभेन्टिन्थकै एउटा क्याफेमा तिनीहरु जम्मा हुन्छन् र आ-आफ्ना गीत गाउँछन् आफ्नै लागि. पैसा र ग्राहकका लागि गाएर रित्तिएर आउँछन् र आफ्नो लागि गाएर भरिएर जान्छन्. यहीँ मैले भेटेँ एउटा नपत्याउँदो ब्रो, जो एउटा कुनामा चुपचाप गिटार बजाएर बस्थ्यो. कहिले अन्तिममा एक दुई हान्थ्यो. साथी रहेछ साइकोलोजीमा मास्टर्स. भन्छ, “मेरो क्लासका सबै अर्को दिमाग पढ्न साइकोलोजी पढ्दै थिएँ. म आफ्नो दिमाग पढ्न.”
“मान्छेले सबैभन्दा धेरै जसलाई माया गर्छ उसैलाई हो दुःख दिने. मैले आफ्नो सङ्गत धेरै गरेँ र त्यसैले आफैँलाई धेरै दुःख दिएँ.” एम्स्टरड्याममा साइकोलोजी पढेको !
अर्को एउटा साथी, गीत गाउँदा कुण्डलिनीका चक्र हल्लाई दिने. नामै कबिर कामै कबिर ! छोराको नाम उपहार. फ्रेन्च र नेपालीको मिक्स. कति क्युट ! कबिर आफ्नो सुरमा एउटा गोरेको गिटार बरो गरेर गाउँदै थियो, केही रातअघि.
कबिरले गीत गाउँदा कस्तो हुन्छ भनेर नसोध्नू. लाइभ हेर्नू मौका मिले. गितारको खै कुन तार चुट्टियो बजाउँदै गर्दा. रिसाहा खैरेले चित्त दुखाउला भनेर कबिर ब्रोले भने, “सरी आइ ब्रोक योर स्ट्रिङ.”
खैरेले भन्यो, “ब्रो..म्युजिक ब्रोक योर स्ट्रिङ….थ्याङ्क यु.” अनि हेर्यो कुन स्ट्रिङ् र छक्क पर्यो. “मैले बजाउँदा अहिलेसम्म डि स्ट्रिङ चुट्टिएको थिएन. जो पायो त्यहीले सजिलै चुट्टाउन नसक्ने कुरा हो त्यो. फेरि धन्यवाद !”
भाँचिदा, चुट्टिँदा जिन्दगीमा केही, यही एटिट्युड राख्नू.
यो लास्ट हतारोमा लेखियो किनकि आँखैअघि दुई भाइ मलाई पन्चासे लैजान तैयार उभिएका छन्.
धेरै कुरा फर्केर गरौंला.
बाइ.
पी.एस. –यो लेख्दा पनि भर्खर सूर्योदय हुँदैछ.
तत् सवितुर वरेण्यम
लभ यु गाइज
टेक केयर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।