सूर्यको उर्जा हो सबै. मान्नुहुन्छ ?

बिना घाम न माम छ न जाम.

दाल चामल घामले फलायो, पेट्रोल डिजेल घामले बनायो.

ब्रम्हाण्ड त तर, सूर्यभन्दा उता छ ? इन्द्रियभन्दा उता छ ? यो पनि मान्नुहुन्छ ?

विज्ञानसँग यो अव्याख्य ब्रम्हाण्ड छाम्न केही सेट प्यारामिटर मात्र छन्.

आँखामा कालो चस्मा हाल्दा त संसार अर्कै देखिन्छ, हाम्रो भन्दा फरक बनौटका आँखा भएका जनावरले झन् संसार कस्तो देख्दा हुन् ?

भनेपछी ठ्याक्कै मैले देखेको संसार मात्र एकमात्र संसार हो भन्ने चाहीं ठान्नुहुन्न ?

ल अफ सेभेनमा रहेर एब्सोल्युटको उर्जा सूर्यले केही मात्रामा प्राप्त गरेको हुन्छ.

सूर्यमा उ भन्दा बलवान एउटा अर्को स्रोतको उर्जा पनि त छ जसको आड पाएर उ उर्जावान छ.

हामीसम्म त्यो उर्जा आउँदा केमेस्ट्रीको भाषामा, यस्तो भोलाटाइल भइसकेको हुन्छ,

त्यसलाई बाँधेर राख्न ध्यानले मात्र सक्छ.

हाम्रो धर्तीमा समस्त प्राणको स्रोत घाम स्वयमको स्रोत त्यो परम तत्व वा चेतना

ध्यानले समाउन सक्छ.

ध्यानले त्यसैले अनुहारमा ग्लो दिन्छ. ध्यानले त्यसैले माइन्ड ब्लो गर्छ.

ध्यानले त्यसैले तपाईंलाई एउटा फ्लो दिन्छ.

म त्यही फ्लोमा लेख्छु.

ध्यानका थुप्रै बाटा छन्. टेकनिक छन्.

कर्मयोग बुझेको मान्छेले जिन्दगीमा एक दिन पनि काम गर्नु पर्दैन.

कारण, उ जे काम गर्छ त्यही ध्यान बन्छ.

सूर्यबाट त्यो उर्जा सर्वप्रथम आदिम मानवले प्राप्त गर्यो जो बाँदरबाट मान्छे बन्दै गर्ने युगको प्राणी थियो. त्यहाँबाट त्यो उर्जा उनका छोरा इक्ष्वाकुले प्राप्त गरे जो आजको तथाकथित सभ्य समाजको आदि पुरुष थिए.

“इमं विवस्वते योगम् प्रोक्तावानहमव्ययम्

विवसवान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवित्” ३.१

यसरी एक पुस्ता पछी अर्को गर्दै आउने क्रममा फेरी उही ल अफ सेभेन कै कारण ज्ञानको उर्जामा ह्रास आउँदै गयो र दिव्य ज्ञान मुर्ख ठगहरुको पैसा कमाउने मेलो मात्र बन्यो. धर्ममा मान्छेको आस्था त्यसैले हरायो.

तिमी मेरो साथी भएकाले अर्जुन, हामीमा मैत्रीभाव भएकाले, तिम्रो चित्त म प्रती रिसेप्टिभ भएकाले, तिमीले यो कुरा बुझ्छौ भन्ने मैले ठानेकाले, यो कुरा भनें.

केवल मैत्री भावमा मात्र सिक्न सम्भव छ. सुरुमै, जुध्छु भनेर आउनेले, सिक्ने हो र उल्टो सिकाउँछु भनेर आउनेले सिक्दैन. टाइम वेस्ट गर्छ. तिमीमा मैत्री भाव छ त्यसैले तिमी सुन्छौ र बुझ्छौ. यसको अर्थ यो हैन कि अन्ध अनुशरण गर्छौ. प्रश्न त गर्छौ तर हृदयमा कैंची बोकेर हैन. चित्तमा आत्मसाक्षात्कारको मुमुक्षा बोकेर. क्लासमा प्रश्न गर्न बोल्ने विद्यार्थी र हल्ला गर्ने विद्यार्थीमा फरक हुन्छ.

त्यसैले यो दिव्य ज्ञान तिमीलाई दिन सम्भव भयो.

इन्द्रियले अतीतमा टिपेको इन्फरमेसन त्यही इन्द्रियले मेकानिकल्ली प्रोजेक्ट गरिरहन्छ. यसलाई तिमी ‘म’ भन्छौ नबुझेर.

म भन्छु त्यसलाई योगमाया. छैन, तर पनि छ जस्तो लाग्ने. भ्रम. मरिचिका. यो संसार.

र यही बुझाउन म फेरी फेरी आउँछु. अथवा फेरी फेरी जहाँ र जसले यो बुझाउँछ, त्यहाँ म हुन्छु.

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे.

जसरी हुन्छ एक हुनुपर्यो यो अस्तित्वसँग. चाहे ध्यान, चाहे धर्म. चाहे कला कविता.

यो सारा ब्रम्हाण्ड एक हो भनेर त भन्ने, तर तेरो जुठो म खान्न भन्नेहरुलाई सबै बराबर हुन् भन्ने हक छैन.

त्यो जसले एक जान्यो, कर्म नै धर्म हो भनेर पनि उसले जान्यो. अब कर्म गर्दाको आनन्दको लागी उसले कर्म गर्छ.

घडी हेरेर गर्दैन. छुट्टी खोज्दैन. तलबको वास्ता गर्दैन.

कविले छुट्टी खोज्छ ?

आफ्नो सन्तुष्टीको लागी लेख्नेले त्यही सन्तुष्टी मै प्राप्ती पाएन ? फल पाएन ?

वाहवाही आदि इत्यादी आए प्रसाद.

कर्म नै प्राप्ती हो र फल हो भनेर बुझे सधैं ध्यान. तर त्यो कर्म आफैले निर्धारण गर्न पाएको हुनुपर्छ.

बाउआमा र छिमेकीलाई तपाईं के बन्ने वा के गर्ने भन्ने निर्णय गर्न नदिनुहोस्.

एउटा यस्तो केही खोज्नुहोस् जहाँ तपाईंको स्यानो ‘म’ झुकेर अस्तित्वको अखण्ड ‘म’ मा समाहित हुन सकोस्.

झुक जाए सर जहाँ मिलता है रबका रास्ता….

धुन्धला जाए मंजिलें, एक पलको तु नजर झुका….

 

Find what you love you

And let it kill you….

 

योगसंयस्तकर्माणम् ज्ञानसन्छीन्नसंशयम्

आत्मवन्तम् न कर्माणी निबध्नन्ति धनन्जय…..