एकादेशमा महादेव आफ्ना चेलाचपेटा साइडमा राखेर काखमा पार्वती च्यापेर चिलिम फुक्दै शिव सूत्रको उपदेश गर्दै थिए. एउटा बाउँठिएको क्रियायोगी आयो र महादेवसँग निहुँ खोज्न थाल्यो, “के हो ओम् नमः शिवाय भनेको? यसरी आफ्नै नामको मन्त्र बनाएर पनि हुन्छ?”

महादेवले याकको नलीहाडले बनेको चिलिममा एक पफ मारेर मुस्कुराउँदै भने त्यो क्रियायोगीलाई, “ऊ त्यो किरा छ नि… त्यसको कानमा गएर ओम् नमः शिवाय भनेर आऊ.”

क्रियायोगी झोक्किंदै गयो र छेवैको किराको कानमा गएर भन्यो, “ओम् नमः शिवाय !!”

किरा ठाउँको ठाउँ ठहरै. क्रियायोगी तर्सेर आयो महादेवको सामुन्ने र थरथर काम्दै भन्यो, “के हो यस्तो? बिचरो निम्छरो किरो खुत्रुक्कै पार्दिने ?”
महादेवले उत्तर दिए, “ऊ त्यहाँ परको हरिणको कानमा गएर मन्त्र भनेर आऊ अब.”

क्रियायोगी यो पल्ट केही अर्कै होला कि भनेर क्युरियस हुँदै गयो र त्यहीं चरिरहेको एउटा हरिणको कानमा ओम् नमः शिवाय भनेर आयो. हरिण ठहरै.

क्रियायोगीको सातोपुत्लो उड्यो. कराउँदै ऊ महादेवकहाँ पुग्यो र भन्यो, “प्रभु म डराएँ. पुग्यो. तपाईंको नामको असर यस्तो ध्वङ्सात्मक !”
महादेवले आफ्नो हात अभय मुद्रावाला पोजमा देखाउँदै भने, “नडराऊ… यो छेवैको बच्चाको कानमा अब मन्त्र भन- एक अन्तिम लट.”
क्रियायोगीको मनमा डर त थियो नै तर अभय मुद्राका महादेवले भनेको कसरी नमान्ने ! छेवैमा खेलिरहेको एउटा बच्चाको कानमा गएर उसले मन्त्र भन्यो. बच्चा ठहरै ! बच्चाको ठाउँमा अब एउटा मान्छे उभिएको थियो. ऊ महादेवको चरणमा आयो, नतमस्तक निहुरियो र भन्यो, “हरहर महादेव !! प्रभु म किरा थिएँ, हजुरको नाम सुन्न पाएर म हरिण भएँ. त्यसै गरी म मान्छे भएँ. अब एकपल्ट हजुरको नामको मन्त्र सुनाइदिनुहोस् प्रभु र यो जीवन मरणको चक्करबाटै मुक्त गरिदिनुहोस्.”

[bs-quote quote=”क्रियायोगीको आँखामा गहभरि पश्चातापको आँसु र महादेवको ओठमा करुणाको मुस्कान थियो अब. एकपल्ट उनै देवादिदेव महादेवको स्मरण गरौँ र भनौँ हरहर महादेव !” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”अनुपम पाेखरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/anupam.jpg”][/bs-quote]

क्रियायोगीको आँखामा गहभरि पश्चातापको आँसु र महादेवको ओठमा करुणाको मुस्कान थियो अब. एकपल्ट उनै देवादिदेव महादेवको स्मरण गरौँ र भनौँ हरहर महादेव !

आश्रममा साउण्ड हिलीङ् गराउन सिंगिङ् बउलहरुसँग खेल्दैछु. एउटा टिबेटियन बउलबाट यस्तो सघन ध्वनि निस्किन्छ, मानौँ त्यो ध्वनि जमेर पदार्थ नै बनोस्. अनि मैले बुझेँ क्वान्टम थ्योरी ! पदार्थको सबैभन्दा मसिनो तत्त्व भनेको ध्वनि नै हो. सब एटोमिक पार्टिकल्स भनेका तनक्क तन्किएका रबर ब्याण्ड जस्ता हुन्छन् रे ! अनि ती झंकृत भइरहेका हुन्छन् रे ! जति साना सब एटोमिक पार्टीकल, उति दह्रो तन्काई अनि उति तीव्र झंकार ! सबैभन्दा सानो पार्टिकललाई हिग्स बोसोन भनिएको छ. हिग्स बोसोन परम तन्काई हो. परम गुन्जन्. त्यसको गुन्जनको ध्वनि ओमकारको ध्वनिसँग मिल्छ. सिङ्गिङ बउलको ध्वनिसँग मिल्छ. अर्थात् हामीभित्र असंख्य ओमकार ध्वनिहरु झंकृत भइरहेका छन्. त्यही ध्वनि सघन भएर हाम्रो शरीर बन्यो केही समयलाई. मन्त्रको शक्ति, ध्वनिको शक्ति हो यो. फिजिक्स पढ्दा मैले रेजोनेन्स भनिने एउटा प्रक्रियाका बारेमा पढेँ. अर्थात्, हरेक वस्तुको एउटा प्राकृतिक फ्रिक्वेन्सी हुन्छ. कसैको फ्रिक्वेन्सी मिल्न गयो भने कि सिर्जना हुन्छ कि विध्वंश. हुन त सिर्जना र विध्वंश दुवै एकै हुन्. दुवै महादेव ! हरहर महादेव.

सोप्रानो गायकहरु हुन्छन्, जो गीत गाएर गीतकै ध्वनिले सिसाका गिलास फुटाउन सक्छन्. भने, वर्षौंको रिसर्च गरेर तपस्वीहरुले इन्जिनियर गरेको मन्त्र ध्वनिमा कति शक्ती हुँदो हो ? मन्त्र विज्ञान भनेको साउण्ड इन्जीनियरिङजस्तै हो. मनमा, शरीरमा विभिन्न मन्त्र ध्वनिका विभिन्न प्रभाव हुन्छन्. शुरुमा म मन्त्रको शाब्दिक अनुवाद पढ्थेँ र हाँस्थेँ. मन्त्रका अर्थले खासै अर्थ राख्दैनन्. महामृत्युन्जय पाठ गरेर मैले धेरैपल्ट कमजोर र रोगी भएको आफ्नो शरीर र मन तन्दरुस्त बनाएको छु. हनुमान चालिसा थियो एउटा, मैले दिमागले पढेर तिरस्कार गरेको ग्रन्थ. भक्ति योगको दारु, दिमागले के बुझोस् ! कृष्ण दासको हनुमानचालिसा सुनेपछि मैले त्यसको रहस्य बुझेँ. अनाहत चक्र जागृत गराउने ध्वनि छ हनुमानचालिसाको मन्त्रहरूमा. दिमाग बन्द गरेर हृदयले सुन्नु त्यो मन्त्र. दीपक राग गाएर आगै बाल्थे रे शास्त्रीय संगीतका धुरन्धरहरुले. भनेपछि ढङ्ग मिलाएर ध्वनि निकाल्न जान्यो भने, ताप नै निस्कन्छ. यो सारा सृष्टि ताप कै खेल हो. ताप ध्वनि हो. ओमकार हो. ओमकार जहाँ जम्यो, त्यहाँ पदार्थ बन्यो. जहाँ ओमकार न ठ्याक्कै पदार्थ न ठ्याक्कै ऊर्जा, बरु चेतना बनेर बस्यो त्यहाँ आत्मा बन्यो. शब्दमा जादु हुन्छ भन्ने बुझेरै जादुगरहरु भन्छन्,आब्राकाडाब्रा….. !! अर्थात् –आइ क्रिएट एज आई स्पिक.

विधि पुर्याएर निस्किएको हरेक ध्वनि मन्त्र नै हो. हामीले सुनेकै हौँ. पुलसँग फ्रिक्वेन्सी मिलेर लेफ्ट राइट गर्दै हिंडेका सिपाहीको बुटको ग्रप ग्रप ध्वनिले पुल भत्किएको. अनि त्यस्तै होला फेरि भनेर सिपाहीहरुलाई पुलमा चाहिँ ग्रप ग्रप गर्न नदिइएको. अब सोच्नुहोस्, मानौं मैले त्यही ध्वनि मेरो मुखबाट निकाल्न सकेँ भने, अथवा कुनै शब्दमा त्यही सरहको ऊर्जा रहेछ भने गरेन त त्यसले पनि संहार ? शब्दमा शक्ति हुन्छ. ध्वनिमा शक्ति हुन्छ. त्यो शक्ति पहिचान गरेर सही ठाउँमा लगायो भने त्यही हो मन्त्र.

कसले ठ्याक्कै भनेको हो बिर्सिएँ, द अर्थ ह्याज म्युजिक फर दोज हु लिसन. शान्त भएको बेला धर्तीको संगीत सुन्नु. ती आवाज पनि वेदका ऋचा वा उपनिषदका मन्त्र भन्दा कम शक्तिशाली हैनन्. म अक्सर साँझमा आँखा चिम्म गरेर सन्ध्याको मिस्टिकल आवाज सुनी बस्छु. जिन्दगीका एक एक क्षण अमूल्य लाग्छन् अनि. ध्वनिमा भाव मिसियो भने भजन बन्छ, भजनले हृदय खोल्छ. खुला हृदयको पुकार ईश्वरले पनि सुन्छन्. सुनेको हुँ, ईश्वरले केवल धन्यवाद सुन्छन्. आर्द्र पुकार सुन्दैनन्. यो सुन्दर संसारमा यस्तो मिस्टिकल लाइफ बिताउने अवसर दिएकोमा परमात्मालाई एकलट धन्यवाद भन्न मन छ मन मिलेका साथीहरुसँग बसेर एकलट कीर्तन गर्न मन छ.