हजारौं वर्षअघि, भन्छन् त्यस्तै आठ हजार वर्षअघि एउटा मान्छे थियो, जो जिन्दगीका हरेक स्वाद आफ्नै ओठले चुम्न चाहन्थ्यो. बिना कुनै नाटक. बिना कुनै बन्धन. केही त्यस्तो न थियो न हुनेछ, जो उसले आफ्नो जिन्दगीमा गरेन. उसले बच्चा बेला दुध दही चोर्यो, तन्नेरी भएपछि नुहाउन नदीमा छिरेका युवतीका कपडा चोर्यो. जंगलमा रातिराति गाउँभरिका तन्नेरी र तरुनीसँग नाच्यो. साथीमा ऊजस्तो कोही भएन. उसले बाजा बजाउँदा जनावरहरु मस्तीमा झुम्थे. उसको हातबाट मृत्युवरण गरे मुक्ति पाइन्छ भनेर दैत्यहरु ऊसँग जोरी खोज्थे. ज्ञानीमा ऊजस्तो ज्ञानी कोही भएन. उसले आफ्नो साथीसँग गरेको गफ पढेर एक्काइसौं शताब्दीका दार्शनिक, वैज्ञानिकहरु जिल् परेका छन्. रेशमको पहेँलो धोती, टाउकामा मयुरको प्वाँख. खुट्टामा फूलको पाउजु. अरु को केटाले यस्तो हिम्मत गर्न सक्छ ? उसको जस्तो फेसन सेन्स अरु कसैको भएन. जिन्दगीलाई उसले जसरी जिउने अर्को न कोही भयो न हुनेछ.
तिमी को हौ ? भनेर सोध्दा उसले भन्यो, “आइ एम द बेष्ट अफ एभ्रिथिङ! रुखहरुमा म पिपलको रुख. सबैभन्दा धेरै अक्सिजन फाल्ने. ढुङ्गाहरुमा म शालीग्राम. सुन भेटिन सक्ने. शब्दहरुमा म ओमकार, अनाहतको आवाज.”
त्यो मान्छेको व्यक्तित्वको भव्यता देखेर हामीले उसलाई पूर्णावतार भनिदियौं. भगवान श्रीकृष्ण. धेरै भयो उसको बारेमा एउटा उपन्यास लेख्ने कल्पना गरेको मैले. मैले मेरो दिमागमा एउटा कृष्णको सिर्जना गरेको छु, त्यसैले परस्पेक्टिभको लागि. मलाई केही लेख्नका लागि सोच्नु परे मोटरसाइकलमा सवार भएर एक चक्कर रिङरोड हान्न पर्छ. त्यो बेला म आफू भित्रको कृष्णलाई च्यालेन्ज गर्दै अनेक प्रश्न गर्छु. परस्पेक्टिभका लागि.
जिन्दगीका हरेक सिचुएसनमा म उसैलाई प्रश्न गर्छु, “कृष्ण.. तिमी भएको भए के गर्थ्यौ यो सिचुएसनमा ?”
एक दिन म मोटरसाइकलमा सवार भएर रिङरोड हान्दै थिएँ. कृष्णलाई जिस्काउन मन लाग्यो. सोधें, “कृष्ण.. पूर्णावतार हुँ भन्छौ. सबथोक गरेको छु भन्छौ… कहिले जेल परेका छौ ?”
उत्तर आयो, “भाइ…. ठूलो कुरा गर्छस् दाइको अगाडि ? म जन्मिएकै जेलमा हो..”
सोचेँ, हैट्. यो त ठूलो च्यालेन्ज आयो. म जेल परेको छैन. कृष्णले गरेका सबै कुरा मैले गरिसकेको छैन. कस्तो हुँदो हो जेल जीवन भन्ने क्युरिओसिटी त छ तर म आफ्नो लक्जरी र स्वतन्त्रता छाडेर जेलको चिसो अँध्यारो बन्धन चाहन्नँ. त्यसैले पर्स्पेक्टिभका लागि बरु जेल परेको कोही भेटेँ भने ऊसँग जेल जीवनको बारेमा सोध्छु र त्यो कथामा आफैंलाई पात्रको रुपमा बरु कल्पना गर्छु.
एउटा नेता भाइ छ. हल्का पावर चल्छ उसको यताउता. एकपल्ट उसलाई सोधी हेरें, “भाइ, म जेल परेँ भने छुटाउन सक्छौ ?”
उसले भन्यो, “गाँजाको केस र चोरीको केसमा नपर्नू. यी केसमा छुटाउन मिल्दैन. राम्रो रुपमा लिँदैनन् यिनीहरुलाई.”
“के केसमा मिल्छ त ?”
“बरु झगडाको केस मिलाउन सजिलो हुन्छ. जवानीको जोसमा दुई चार मुक्का हान्यो त हान्यो. गल्ती त गर्यो तर त्यस्तो ठूलो गल्ती पनि हैन… भन्ने एङ्गल हुन्छ.”
अब म यो उमेरमा कहाँ कोसँग झगडा गर्न जानु ? जेल पर्नु र यो भाइलाई छुटाउन आऊ भन्नु. हैट !
सोच्दै थिएँ, बरु कुनै दिन माइतीघर जान्छु, कुनै एउटा आन्दोलनमा नक्कली ऐक्यबद्धता जनाउन. पक्राउ पर्छु. दुई चार घण्टामा छोड्लान् नि यस्तोमा त.
यस्तैमा एकजना भाइ भेटियो जो जेल बसेर आयो अठार दिन. ऊ भन्छ, “जेल हैन दाइ. म कस्टडीमा मात्र बसेको हो. फरक छ दुइटामा. त्यो पनि मेरो गल्ती हैन. फँसाए मलाई.”
जेल जीवनका थुप्रै फिल्म हेरेको छु मैले. सबैले आफैँलाई निर्दोष नै भनिरहेका हुन्छन् तिनमा.
हामी दोस्रो चरणको लकडाउनमा छौं. एउटा साथीको घरमा चिल गर्दै बसेका. केही साथी, केही भाइ. ध्यान गर्दै, खाँदै, पिउँदै.
आज हामी बियर पिउँदै गफ गर्दैछौं. जेल बसेर आएको भाइको फ्लाइट पोस्टपोन भयो. नत्र ऊ आज डेनमार्क जाँदै हुन्थ्यो. अब केही दिनमा फ्लाइट खुल्छ र ऊ जान्छ.
उ जेलको आफ्नो अनुभव सुनाउँदैछ मलाई.
“मलाई फँसाएर जेल पारेका हुन्.”
“कति दिन बस्यौ ?”
“लगभग अठार दिन बसेँ. दशैं बिदा परेर धेरै बस्नु पर्यो. नत्र त दुई चार दिन मै छुट्थें.”
झगडाको केसमा जेल परेको ऊ.
“झगडा किन पर्यो ?”
“मेरो दाइको दुश्मनहरु. मेरो दाइलाई जहाँ भेट्छु, त्यहीं पिट्छु भनेका. भोज खाएर दाइ फर्किंदै रैछ. बाटोमा उनीहरु भेटिएछन्. दाइ एकैछिन पख भनेर भागेर मलाई बोलाउन आयो. म पनि भोजबाटै फर्कंदै थिएँ. सुट लगाएर गएको. उनीहरु खुकुरी लिएर आएछन् खोज्दै. हामी भाटा लिएर गयौं. अनि हानाहान.”
“पुलिस कुन बेला आयो ?”
“खै, उनीहरुले बोलाए होला… हामी फर्केको बीस मिनेटपछि पुलिस आएछ. घाइतेहरुलाई हस्पिटल लगेको रैछ. उनीहरुले मेरो नाम पनि लिएछन्. म उनीहरुलाई हेर्न हस्पिटल गएको. पुलिसले मलाई त्यहीं समात्यो. आखिर सबैको गल्ती छ भन्ने थाहा हुँदाहुँदै मलाई मात्र कस्तो समातेको त !”
उता छेवैमा अरु साथीहरु नेटफ्लिक्समा केही हेर्दैछन्. प्यारो, स्वीट कुकुर ‘हनी’ ओहोरदोहोर गर्दैछ. ल्हासा ह्याप्सो ब्रीड.
भाइ दुःख मनाउ गर्दैछ. “हिरासतमा धन्न नाइके चिनेको मान्छे परेछ. म कैदमा सुट लगाएर बसेको छु अलमल्ल परेर. भित्र एउटा छ भैंसी चोर, अर्को रहेछ ज्यान मुद्दामा हालेको. एउटा रेप केसमा. बिहान मलाई ज्यान मुद्दा लगाउने भनेको सुनें. मेरो त होस उड्यो. मैले कहाँ ज्यानै मारौं भनेर हानेको थिएँ त.”
“दशैं सुरु हुन लागेको बेला थियो. जाडो जाडो. घरबाट सिरक मगाएँ. घरमा थाहा भैसकेको थियो झगडा भएर जेल परेको.”
“एउटा कोठामा कतिजना मान्छे राख्दा रहेछन् ?”
“आउने जाने भैरहन्छ त्यो त दाइ. म निस्केको दिन बीस जना मान्छे थियौं एउटा कोठामा.”
“हिरासतमा सबैभन्दा मिस चुरोट हुने रहेछ. चुरोट तान्न चाहिँ नपाइने. धन्न पुलिसहरुले माया गरेर, निकोटिन क्रेभिङ बुझेर सुर्तीसम्म च्याप्न दिए. सुनेको, जेलमा चाहिँ पैसा हुनेले जे पनि गर्न पाउँछ रे!”
“हतकडी पनि लगायो ?” म सोध्छु.
“लगायो नि दाइ. कस्तो लाज लाग्यो. अदालत लग्यो. हस्पिटल लग्यो, मेडिकल गर्न हतकडी लगाएर.”
“त्यहाँभित्र केस पनि थरिथरिका हेर्न पाएँ मैले. मेरो काम नै चेन गेटबाट नयाँ केस के-के आए भन्दै चिहाउने, हेर्ने.”
“कस्तो कस्तो केस देख्यौ त ?”
“एउटा खलासी फुच्चे ल्याएछन्. केटीहरुले फसाए त्यसलाई. जाउँजाउँ भनेर ठेलेको थियो होला, हात पात गर्यो भनेर थुनाएछन्. दुई जना सामान हान्ने लिएर आए. पुलिसले यत्तिकै छाडिदिन लागेका रहेछन् उनीहरुलाई, उनीहरुले कसलाई फोन गर्न लगाएर दस हजार घुस दिन खोजेछन् छुट्न. पुलिसले लाठी हानेर फेरि भित्र ल्याएछन्.”
“अनि फिल्ममा देखाएको जस्तो डनहरु पनि देख्यौ भित्र ?”
“जेलमा त्यस्तो हुन सक्छ दाइ. म त हिरासतमा मात्र बसेको हो. त्यहाँ सबै बराबर नै हुन्छन्. प्रायः सोझा साझा, फ़साइएका मान्छे नै हुन्छन् हिरासतमा.”
“नयाँ आउने मान्छेलाई ट्वाइलेट सफा गराउने नियम हुँदोरहेछ. जो नयाँ आउँछ, उसले अर्को नयाँ मान्छे नआउन्जेल ट्वाइलेट सफा गर्ने र पुसपास गर्ने काम. मैले पनि केही दिन गरेँ. एकपल्ट एउटा भारतीयलाई ल्याए. रेसलरजस्तो जिउ भएको. हल्का हिरो बन्न खोज्दै थियो तर सकेन. ऊ नयाँ भएकाले पुछपाछ गर्ने काम उसको हुन्थ्यो. तर उसले टेरेन. सबै मिलेर सम्झायौं उसलाई. चौकीदारहरुले पनि सम्झाए. अनि ऊ बाध्य भयो काम गर्न.”
यसरी हामी रातभर उसको जेल जीवनका बारेमा कुरा गरेर बस्यौं. उसको भाषामा जेल जीवन हैन, कस्टडी मात्र थियो त्यो. मेरो लागि त चिलाउनेका गेडा भनौं वा गेडा चिलाउनेका, एकै हुन्. खोरभित्र थुनिनु भनेकै जेल पर्नु.
बिहानीपख हामी सुत्न गयौं. मैले सपनामा उसले भनेका सबै कुरा आफैं पात्र भएर देखें. कस्तो ठ्याक्कै महसुस हुने. कहिलेकाहीं त सपना रियालिटी भन्दा वास्तविक लाग्छ. सपनामा गरेको सेक्स जस्तो रियल सेक्स बरु हुँदैन. सपनामा लागेको जस्तो डर रियलमा बरु लाग्दैन. अब कृष्णसँग अर्कोपल्ट कुरा गर्दा म सविस्तार भन्न सक्छु जेलको प्रोसेसको बारेमा.
हरे कृष्ण !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।