साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पाठ्यपुस्तकमा एक जोडीको ‘गुन्डागर्दी’

सेराेफेराे

कुन किताब पढ्ने ? कुन किताब फाल्ने ? नयाँ या पुरानो कुन पाठ्यक्रम लागू गर्ने भन्ने नाममा अदालतले कक्षा ११ का शिक्षक र विद्यार्थीलाई चार महिना त्यत्तिकै अलमलाइदियो । शिक्षा मन्त्रालयले लागू गरेको राष्ट्रिय प्रारुप २०७६ का आधारमा कक्षा ११ को कक्षा भदौदेखि चलिरहेको भए पनि असोज २८ मा दर्ता भएको मुद्दा पेसी सर्दासर्दै भरखरै किनारा लाग्यो ।

पाठकका रुपमा स्वाभाविक चासो भयो- नयाँ नेपाली किताबमा के कसो भयो होला ? क–कसका रचना होलान् ? सर्सर्ती हेर्दा फेरि पनि भेटिइन्, सुधा त्रिपाठी । पुरानो ‘सबैको नेपाली’ किताबमा पाठ आठमा ‘म फूल लिएर आउने छु’ नामको लेखोट पढिसकेका थिए विद्यार्थीले । अब फेरि उनकै अर्को ‘सांस्कृतिक निबन्ध’ पढ्नुपर्ने भयो, ‘संस्कृतिको नयाँ यात्रा’ ।

सुधा त्रिपाठी नामकी लेखकलाई मेरो छोराले लगातार तीनवटा कक्षामा पढिसक्यो । कक्षा ८ मा उनको ‘भाग्य’ नामक कथा थियो । साँच्चै भन्ने हो भने त्यो कथाजस्तो पनि थिएन । कक्षा ९ मा ‘म को हुँ’ भन्ने निबन्ध कति भद्दा र पट्यारलाग्दो थियो भने मेरो प्रेसर एकैचोटि लक्ष्मणरेखा नाघ्न पुगेको थियो । त्यसका सुरुआती हरफ पढेर म बेस्मारी भाँचिएको थिएँ, ‘म त चोर हुँ नि । तपाईंलाई थाहा छ कि छैन ? किन आफ्ना आँखा ठुला ठुला पारेर तत्काउनुभएको नि ? तपाईंले मलाई सज्जन सम्झनुभएको थियो होला । यसैले पत्याउनु भएन !’ म त्यस पाठको अन्त्यसम्म पुग्नै सकिनँ ।

कक्षा ११ मा छोरोले पढिसकेको रहेछ, ‘म फूल लिएर आउने छु’ । छिः एउटा लेखकले कतिसम्म बीभत्स र अतिवाद लेख्न सक्दो रहेछ । ‘सत्ते ! मलाई त काठमाडौँले पानी पनि यस्तो खान दिन्छ कि कुरै गरेर साध्य छैन । त्यस्तो पानीमा त सायद मेरो सुनखानीमा भैँसी पनि आहाल बस्दैन ।’ ‘आधुनिक नेपाली उपन्यासमा नारीवादी चेतना’ विषयमा विद्यावारिधिको सामन्ती चिन्तनको प्रकटीकरण भएको छ यसमा ।

छोराछोरीको नयाँ किताब आउँदाखेरि म यसो पल्टाउँछु । मनपर्यो भने पढी पनि हाल्छु । तर सुधा त्रिपाठीलाई चाहिँ पढ्नै सकिनँ । के सुधा त्रिपाठी सुनखानीमै जन्मेकी हुन् त ? उनको बारेमा यसो गुगल-शोध गरेँ ।

सुधाले आफ्नो जन्मभूमि सुनखानी (दोलखा) लाई सम्झेर लेखेकी रहिछन्, ‘म फूल लिएर आउने छु’ । तर ‘कान्तिपुर’ को बाल परिशिष्टांक ‘कोपिला’ को स्तम्भ ‘सानो छँदा’ मा २०६४ भदौ १४ मा राजेश कोइरालासँग २०१५ जेठ २८ मा दार्जिलिङको मिरिकमा जन्मेको बताएकी छन् । एउटै मान्छे दुई पटक पक्कै जन्मँदैन । जन्मेको ठाउँ पनि दुइटा त पक्कै हुन सक्दैन । दुई दुई ठाउँलाई जन्मभूमि बनाउनुपर्ने त्यस्तो के छ ?

त्यही सामग्रीमा उनले भनेकी रहिछन्, ‘अहिले पनि म आफूलाई साहित्यकार भन्ने आँट गर्दिनँ । अरुले साहित्यकार भनेर सम्बोधन गर्दा भित्रैदेखि लाज लागेर आउँछ ।’ अनि यस्ता कमसल रचना पाठ्यक्रममा भटाभट हाल्दा चाहिँ किन लाज नलागेको होला लेखकलाई ?

ठीकै छ, कक्षा १ देखि कक्षा ८ सम्म आधारभूत तहमा उनको एउटा रचनालाई छुट दिऊँ । कक्षा ९ देखि १२ सम्म त एउटै तह हो, माध्यमिक । यो विद्यालय तहको नेपाली पाठ्यक्रममा पुनरावृत्तिको दृष्टान्त हो । कक्षा ९ र कक्षा ११ मा उनका दुइटा निबन्ध राख्नैपर्ने कस्तो बाध्यता हो पाठ्यक्रम विकास केन्द्रलाई ? के यी सुधा त्रिपाठीका अमर रचना हुन् ? उनी नपढी नहुने निबन्ध शिरोमणि हुन् त !

रमेश र सुधाको जोडी

अहिले कक्षा १२ को पाठ्यपुस्तक बन्नै बाँकी छ । कक्षा १ देखि ११ सम्मका पाठ्यपुस्तकमा माधवप्रसाद घिमिरेका ६, सिद्धिचरण श्रेष्ठका ३, कृष्णप्रसाद पराजुलीका ३, लक्ष्मीप्रसाद देवकोटाका २, लेखनाथ पौड्यालका २, दैवज्ञराज न्यौपानेका २, क्षेत्रप्रताप अधिकारीका २, वासुदेव त्रिपाठीका २, प्रभा भट्टराईका २ वटा र पारिजातका एक कविता समावेश भएका छन् भने सुधा त्रिपाठीको एउटा कथा र एउटा निबन्ध समेटिएका छन् । यस अर्थमा उनी ‘भगवान्लाई देब्रे पारेरै हिँड्ने’ भाग्यमानी हुन् ।

हुन त सुधा त्रिपाठी आफूलाई नारीवादी लेखक-समालोचक मान्छिन् । उनको रचना नेपाली राजनीति सुहाउँदो मात्र छ । उनले जयदेव गौतमसँगको कुराकानीमा भनेकी रहिछन्, ‘उहिल्यै सानो छँदैदेखि लेख्दै आएको त हो, स्कुल पढ्दैदेखि ! भाले खनियाको बोट संज्ञा दिएर लेखेकै हो निबन्ध पनि । साहित्य मेरा लागि भाले खनियाको बोट मात्रै भयो । त्योभन्दा बढी त केही भएको छैन ।’ हो, मलाई पनि उनको साहित्य भाले खनियाको बोटभन्दा बढी लागेन ।

सुधा त्रिपाठी राजनीतिक भागबन्डा या आफ्नै क्षमतामा त्रिभुवन विश्वविद्यालयको ‘म्याडम रेक्टर’ भएकी होलिन् । तर साहित्यिक महत्त्वका दृष्टिले उनी लेखक नै बनिसकेकी छैनन् । पठनीय त परै जाओस् । निबन्ध साहित्यमा उनलाई सम्झने कुनै लेखोट पनि छैनन् । उनकै यति धेरै रचना विद्यार्थीलाई जबर्जस्ती पढाउनुको उद्देश्य के हो ? पक्कै पनि यसले साहित्यप्रति नै वितृष्णा सिर्जना गर्नेछ ।

आखिर किन यस्तो भयो ? सुधा किन यति भाग्यमानी ठहरिएकी रहिछन् भने उनका पति प्रा. डा. रमेशप्रसाद भट्टराई दलीय फेरो समातेर डेढ दशकभन्दा बढी समयदेखि पाठ्यक्रम विकास केन्द्रको विषय समितिको अध्यक्षका रुपमा विराजमान छन् । उनको एकमात्र ध्याउन्न हरेक कक्षामा आफ्नै पत्नीका रचना राखेर महान् लेखक बनाउनेबाहेक अरु देखिँदैन ।

रमेश र सुधाको जोडी कतिसम्म गर्छ भने आफैँ लेखक-सम्पादक रहेको किताबमा आफ्नो रचना हाल्न सरम मान्दैन । तैपनि उनी पढिने र खोजिने लेखकमा पर्दिनन् । उनका रचनालाई पढ्नेले नेपाली साहित्य दोस्रो पटक खोजेर पढ्छ जस्तो पनि लाग्दैन । पाठ्यक्रममा गुन्डागर्दी गर्दैमा सुधा त्रिपाठी भूपी, रिमाल, देवकोटा आदि बन्ने ग्यारेन्टी पनि छैन ।

बदलिँदो परिप्रेक्ष्य अनुसार समावेशी र आरक्षित पाठ्यपुस्तक बनाउने हो भने पनि महिला रचनाकार सुधा त्रिपाठी मात्र पक्कै छैनन् । अहिलेसम्म विद्यालय तहको पाठ्यक्रममा पारिजात, सुधा त्रिपाठी, प्रभा भट्टराई र ललिता दोषीलाई मात्र समावेश गरिएको छ । के अरु लेखक विद्यालय तहमा पढिन लायक छैनन् त ? त्यस्तो त पक्कै होइन । अन्य महिला, जनजाति, आदिवासी एवं दलिततिर चिहाएर हेरेकोसम्म छैन ।

पक्कै पनि नयाँ रचना समावेश हुँदा पाठ्यपुस्तकमा नवीनता जरुर आउँछ । तर एउटै संस्थाले बनाएका माध्यमिक तहदेखि स्नातक एवं स्नातकोत्तर तहसम्मका पाठ्यक्रममा पनि एकैथरी लेखकका रचना पुनरावृत्ति भएका छन् । पाठ्यक्रम निर्मातालाई कुन तहको पाठ्यक्रम तयार पार्न लागेको हो भन्ने पनि हेक्का छैन । अन्य तहका पाठ्यक्रम समेत हेरेको देखिँदैन ।

सबैभन्दा हास्यास्पद त के भने राजनीतिक भागबन्डाका आधारमा पाठ्यक्रममा रचना समावेश हुन्छन् । २०६२–०६३ पछि भागबन्डा गरेर सुधा त्रिपाठीहरु पाठ्यक्रममा छिरे । राजनीतिक हस्तक्षेपकै कारण ती पाठ्यक्रम युगानुकूल, परिवेश सुहाउँदो र गुणस्तरीय हुन सकेका छैनन् ।

शिक्षाको दिग्दर्शनअनुसार प्रत्येक पाँच–पाँच वर्षमा पाठ्यक्रम परिवर्तन हुनुपर्ने हो । तर यहाँ दशकौँसम्म पाठ्यक्रम अद्यावधिक हुन्नन् । नेपाली भाषाको पाठ्यपुस्तक पुस्तक त पढौँ पढौँ लाग्ने र साहित्यको आस्वादन गराउन सक्षम हुनुपर्ने हो । तर आधारभूत, माध्यमिकदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रमीय सत्ता कब्जा गरेको झुन्डले राजनीतिक भागबन्डा र समावेशीका नाममा बासी, थोत्रो र स्तरहीन रचना हालेको हाल्यै छ ।

विशेषतः राजनीतिक परिवर्तनपिच्छे एकाध झुन्डहरु देखिन्छन् । तिनले पाठ्यक्रम सुधारका नाममा स्तरै नपुग्ने आफ्ना गुटउपगुटका मानिसलाई लेखक बनाउने दुस्साहस गरिरहेका छन् । मानक साहित्य रचनामा स्थापित, स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा छुटेका छुट्यै छन् । आफ्नै कोटरी खुसी पार्न लाग्दा नेपाली विषयको पाठ्यक्रममा विदेशी साहित्यकारका कुनै पनि रचना वा कृति समावेश गरिएको छैन ।

यस्तै प्रवृत्ति देखेर प्रा. डा. ऋषिराम शर्माले सन् २०२० सेप्टेम्बर १९ मा दिक्दारीसाथ फेसबुकमा लेखेका थिए, ‘कक्षा ९ देखि १२ माध्यमिक तह हो । कक्षा ९ र ११ का एउटै तह र विषयमा एकै व्यक्तिका अनेक पाठ राखेको देख्दा नेपाली विषय समितिका अध्यक्षको क्रिटिकल थिङ्किङ्को किचन प्रभाव राम्रै देखियो । परिवारवादले पाठ्यपुस्तकलाई समेत डसेछ !!! हैट् !!!’

शर्माले इंगित गरेका ‘क्रिटिकल थिङ्किङ्को किचन प्रभाव’ भनेको यिनै सुधा त्रिपाठी एन्ड रमेशप्रसाद भट्टराई कम्पनी हो । दिनदहाडै भाषा साहित्यको पाठ्यक्रममा उनीहरुले गरेका भ्रष्टाचारबारे जो कोही भलिभाँती परिचित छन् । नेपाली भाषाप्रेमी समूहले पाठ बहिष्कारसम्मको चेतावनी दिँदा पनि यो जोडी प्रतिक्रियाविहीन छ ।

सुधा कतिसम्म गर्दिरहिछन् भने कक्षा ९ मा पाठ्यपुस्तक लेखन र सम्पादन गर्दा पनि आफ्नै रचना राखिछन् । आफ्नै हात जगन्नाथ भन्ने नेपाली चलनै छ । त्यसमाथि उनी परिन् जगन्नाथ त्रिपाठीकी छोरी नै । भन्नु परोइन, उनलाई लेखक र सम्पादक बनाउने चाहिँ उनकै पति रमेशप्रसाद भट्टराई हुन् ।

सुधा र रमेशको जोडी कब्जावादमा विश्वास गर्छ । माओवादी हुँदा पनि उसले गर्ने त्यही हो । एमाले हुँदा पनि गर्ने त्यही हो । दुवै पार्टीमा नहुँदा पनि उसले कब्जा सिद्धान्त छाड्ने छैन् । उनीहरुको प्राध्यापक डाक्टर भन्ने फुर्को देखाएर पाठ्यक्रममा गर्ने व्याभिचारी प्रवृत्तिबारे देश र दुनियाँ जानकारै छ ।

ताप्लेजुङ, फुङलिङका रमेशप्रसाद भट्टराई कुनै बेला विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिलको नेतागिरी गर्थे । त्यही फेर समातेर उनी त्रिभुवन विश्वविद्यालय छिरे, साझा प्रकाशनको महाप्रबन्धक भए, गोरखापत्र संस्थानको अध्यक्ष भए । अहिले पाठ्यक्रम विकास केन्द्रको विषय समिति कब्जा गरेर बसेका छन् । एमाले सरकारले दिएको पद खाँदाखाँदै माओवादी छिरेर पद थमौती गर्न सक्ने कीर्तिमान पनि उनले राखेकै हुन् ।

अति महत्त्वाकांक्षा बोकेकी महिला हुन् सुधा त्रिपाठी । उनी एमालेमा बसेर हुन्छ कि माओवादी छिरेर हुन्छ, आफ्नो मक्सद पूरा गरेरै छाड्छिन् । त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ या उपकुलपति, महिला आयोगको अध्यक्ष या यस्तै पदमा मोलतौल गरेकै थिइन् । पछि ‘प्रचण्ड कमरेड’ को सिफारिसमा प्रधानमन्त्री केपी ओलीले उनलाई २०७२ पुस १ गते शिक्षाध्यक्षको नियुक्ति दिए ।

यो जोडी आफूलाई अद्वितीय प्रतिभा ठान्छ । कुनै बेला तत्कालीन नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीले रमेश भट्टराईलाई ‘फुलमार्क’ चढाएका थिए । प्राध्यापकको परीक्षामा सुधाले दुई सय पूर्णांकमा १ सय ९४ नम्बर ल्याइन् अरे । सेटिङबिना त्यस्तो सम्भव भयो होला ?

रेक्टर बनेपछि सुधाले पीएचडीमा सुधार गर्छु भनेर फूर्ति गरेकी थिइन् । आफ्ना पतिलाई २०७३ मा पीएचडी दिएपछि पक्कै सुध्रिएजस्तो लाग्यो होला उनलाई । २०४६ मा विवाह गर्दा सुधाले रमेशसित राखेका केही सर्त पनि रोचक छन्, ‘कम्युनिस्ट हुनुपर्ने, धेरै धनी हुन नहुने, सामन्ती चरित्रको हुन नहुने ।’ एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई तँ भने म पनि (रमेशलाई) तँ भन्छु, तिमी भने तिमी नै भन्छु, तपाईं भने तपाईं नै ।’ सुधा-वाद सुनेर कति हाँस्नु !

यो जोडीले त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि आएको युरोपियन युनियनको इरास्मस परियोजनामा त्यस्तै पारा देखायो । रेक्टर सुधाले पतिलाई विज्ञ बनाएर विदेशको राम्रै रमण गरेकी थिइन् । नेपालीका प्राध्यापक भए पनि रमेशले व्यवस्थापन विषयको सेमिनारमा जान लाज मानेनन् । रमेशको कामै नेतागिरी हो । उनी राष्ट्रिय प्राध्यापक संगठनको उपसंयोजक थिए । नेपाली पढेका उनले कुनै बेला अर्थशास्त्रको गाइड लेखेको सहपाठीहरु सुनाउँछन् ।

सुनिए अनुसार विषय समितिका अध्यक्ष भट्टराईले हरेक कक्षामा सुधाको रचना राख्न धाक, धम्की र दबाब दिएपछि मौखिक असन्तुष्टि जनाएका धनप्रसाद सुवेदीले पनि चीन जान पाउने लोभमा मुख बन्द गरे । यो देशमा नियुक्ति, सरुवा, बढुवा आदिको प्रलोभनमा नपर्ने को होलान् ?

पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणका विभिन्न चरण हुन्छन् । विषयविज्ञ र विषयशिक्षकबीच पटकपटकको कार्यशालापछि पुस्तकको प्रारम्भिक मस्यौदा हुन्छ । त्यस अनुसार लेखकले पुस्तकको खेस्रा तयार पार्छन् । त्यो खेस्रा समन्वय समितिमा जान्छ । त्यहाँबाट सुधार भएर आएपछि विषय समितिले अन्तिम टुंगो लगाउँछ र त्यसलाई शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन समितिले पारित गरेपछि छपाई गरी विद्यालयमा परीक्षण गरिन्छ । परीक्षणका क्रममा आएका सुझावका आधारमा परिवर्तन गरी सबै विद्यालयमा लागू हुन्छ । प्रश्न उठ्छ, यावत् प्रक्रिया पूरा गरेर नै यो पुस्तक तयार भएको होला त ? यहाँ न मूल्यांकन समितिको औचित्य देखियो, न त विषय समितिकै । ‘सुट, टाई र सुँगुर’ चेतना भएपछि के लाग्छ !

प्रतिक्रिया
Loading...