सयभन्दा ज्यादा किताब लेख्ने प्राध्यापकको सूचीमा पर्छन्, खगेन्द्र लुइँटेल । यस हिसाबमा लुइँटेललाई ‘किताब लेख्ने मेसिन’ भने पनि फरक पर्दैन । उनका किताब आम पाठकभन्दा पनि विश्वविद्यालयका विद्यार्थी र शिक्षकका निम्ति हुन्छन् ।

उनकै पाँच वटा किताब नेपाली र अन्य भाषाबाट हुबहु सारिएको तथ्यसहित हालै बाइलाइनबिनाको विस्तृत खबर आयो लोकसंवादडटकममा । एक सातासम्म उनले कतै खण्डनमण्डन गरेनन्, वक्तव्य पनि दिएनन् ।

विवादित किताब हुन्, ‘कविताको संरचनात्मक विश्लेषण’, ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’,  ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’,  ‘नेपाली उपन्यासको इतिहास’ र ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ । ती प्रायः हिन्दीका पुस्तकबाट सारेको प्रमाण दिइएको छ । भलै ती किताबमा हिन्दीभन्दा अंग्रेजीकै पुस्तककै सन्दर्भसूची छन् । कुनैमा अरूका पुस्तकबाट मन्जुरीबिना जस्ताको तस्तै, कुनैमा भाषान्तर र कुनैमा मिसमास गरी सारिएको गम्भीर आरोप लाग्दा पनि यसखाले मौनता पूरै बेवास्ता हो या स्वीकृति ?

विदितै छ, उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा शोधविधि मात्र पढाउँदैनन्, शोधविधि नामक पुस्तकका सहलेखक पनि हुन् । तर, त्यसमा एउटा पनि पादटिप्पणी दिएका छैनन्, सन्दर्भसूचीमात्र दिएका छन् । प्रश्न जायज छ, कक्षाकोठामा नैतिकतामात्र पढाउने, आफैँ चाहिँ पालना नगर्ने ?

अहिलेसम्म उनी समातिएका दुइटा दृष्टान्त रहेछन् । केही वर्षअघि साझा प्रकाशनबाट प्रकाशित स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेबापत उजुरीपछि हर्जाना तिरे । पछि ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’ (सहलेखन) तुलसी दिवसको ‘नेपाली लोककथा’ का बूढो बाबु फाल्ने डोको, सात भाइ, खीरपाक ताउलीलगायत १४ लोककथा रिट्ठो नबिराई सारेकाले क्षतिपूर्तिसहित तत्पृष्ठमा ‘यी सामग्री तुलसी दिवसका किताबबाट लिएका हुन्’ भनी स्ट्याम्प लगाउन बाध्य भए ।

त्यसो त सिद्धान्त बनाउने आचार्यत्व त्रिविको नेपाली विभागसँग छैन, त्यसैले नसारी धर छैन । तर, विश्लेषणसमेत सार्नैपर्ने बाध्यता किन छ,  प्राध्यापकहरुलाई ? उनीहरु ‘वा’ लाई ‘अथवा’, ‘एवं’ लाई ‘तथा’, ‘र’ बनाउने चलाख्याइँ मात्र गर्छन् । सार्दा पनि सही सारे हुन्थ्यो, त्यो पनि गलत सारिदिन्छन् । कतिपय अपुरा हुन्छन्, कतिपय संगति मिल्दैनन् ।

राजकुमार बानियाँ

त्यस्ता प्राध्यापकहरुको बौद्धिक वाकवाकी के भने विद्यार्थीलाई हाकाहाकी भन्छन्, ‘मैले सारेको छु, चोरेको छु । तिमीहरुले यसको कहिल्यै भेउ पाउँदैनौ । थाहा पाएर पनि केही लछार्दैनौ । किनभने त्यो थाहा पाउने बेला आफैँ चोर भइसकेका हुन्छौ ।’

लुइटेल प्रतिनिधि पात्र मात्र हुन् । विश्वविद्यालय छिर्ने हो भने ‘हाइ–प्रोफाइल प्लेजिरिस्टर्स’ ले भरिएको छ । तेस्रो दर्जाको बौद्धिक चोरी अटुट भइरहेकै छ । अमेरिका र युरोपका विश्वविद्यालयले बौद्धिक चोरी रोक्न ‘प्लेजरिजम डिटेक्सन’ नामक सफ्टवेयरमार्फत  डिग्री नदिने र थेसिस रद्द गर्नेसम्मका कारबाही सुरू गरेको तथ्य स्मरणीय छ ।

राणाजीको रहर

चोरी साहित्यको महलमा ‘नरसिंह अवतार’ महाकाव्य (२०३७) का लागि मदन पुरस्कार विजेता जगदीश शमशेर समेत जोडिन पुगे । नरेन्द्रराज प्रसाईको ‘नारीचुली’ (२०६३) र जगदीश (शमशेर) राणाको ‘वुमन राइटर्स अफ नेपालः प्रोफाइल एन्ड पर्स्पेटिक्भ (२०६७) हुबहु अनुवाद लाग्छन् । रोचक के भने दुवैको आवरण, आकार, तस्बिर, साजसज्जा मात्र होइन, मूल्य पनि एक हजार रुपियाँ नै छ ।

राणालाई नामको अपुग के थियो र ? अनुवाद गरेका पुस्तकलाई उनले किन मौलिक रुपमा चिनाउन चाहे ? प्रसाईसित उनले बदला लिए या धोका दिए ? उनले खुलमखुला ‘एडप्ट’ गरेको जिकिर गरेका छन्, ‘डेट्स एन्ड डाटा एडप्टेड फर्म नारीचुली अफ नरेन्द्रराज प्रसाई’ । रमाइलो के भने ‘नारीचुली’ को विमोचनमा विशिष्ट अतिथि रहेका राणाले नै भनेका थिए, ‘नारीचुली बापत नरेन्द्रराज प्रसाईलाई एउटा मात्र होइन, दसवटा पीएचडी दिए पनि हुन्छ ।’

प्रसाईको ‘नारीचुली’ माथि तरुण साप्ताहिकमा १० वटा लेख लेखेर कडा आलोचना गरेका पुष्कर लोहनी नै अघि सरे, राणा प्रवृत्तिलाई खुइल्याउन । उनले राणालाई वालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, ढुण्डीराज भण्डारीकै कोटीमा राखेका छन् । लोहनीले प्रश्न उठाए, ‘एडप्ट गरेको माल मौलिक हुन्छ कि हुँदैन ?’

राणाजस्तै अनुवादलाई मौलिकता सिद्ध गर्न खोज्ने कति होलान् ? राणा त समातिए, अरु चाहिँ कृत्रिम परिचयकै पर्खालमा आड लागेर उभिएका छन् ।

राणाले त कतिसम्म भने देववीर पाण्डे र रामप्रसाद जोशीले लेखाएको नोटलाई नै ‘मुनामदन भ्रमण’ भनेर आफ्नो नाउँमा छपाएको स्वीकार गरेका छन् । ‘खेताला लगाएर नारीचुलीको अनुवाद गर्नुभन्दा त्यसलाई आधार बनाएर नेपाली नारीहरूको साहित्यिक स्तर तथा साहित्यिक धारणालाई समालोचनात्मक तरिकाले व्याख्या गर्न सकेको भए जगदीश राणाकै इज्जत बढ्ने थियो,’ लोहनी भन्छन्, ‘लोभीपापीको दुनियाँमा अरुको बालीमा रजाइँ गर्दा आनन्द बेग्लै हुने भयो ।’ राणा बिते, यो प्रकरण त्यत्तिकै सेलायो ।

राणाजस्तै अनुवादलाई मौलिकता सिद्ध गर्न खोज्ने कति होलान् ? राणा त समातिए, अरु चाहिँ कृत्रिम परिचयकै पर्खालमा आड लागेर उभिएका छन् । यस्तो लाग्छ, पत्ता नलागुन्जेल महान् लेखक हो, लागेपछि महाचोर ।

त्यस्तो उम्दा नभए पनि देवप्रकाश त्रिपाठीकृत ‘प्रलय प्रारम्भ’ र स्वागत नेपालको उपन्यास ‘मातृ सम्भोग’ मिल्दोजुल्दो रहेको सूचना पनि पाठकले पाठकलाई नै दिए । १० वर्षको अन्तरालमा आएको त्रिपाठीको उपन्यासमा स्वागतकै त्रासद कथावस्तु छ । विध्वंशपछि आमा र छोराबीचको गर्भाधान मातृसम्भोग हो कि पुत्रसम्भोग ? दुवै अलमलमा छन् ।

चोरीको नौवत स्वनामधन्य समालोचक वासुदेव त्रिपाठीमाथि पनि आइलाग्यो । आफैँले एमएको शोध गराएका भीम राईको ‘नेपाली साहित्यको विकास प्रक्रियामा पहलमानसिंह स्वारको व्यक्तित्व, कृतित्व र योगदानको विश्लेषण’ बाटै ‘साहित्यकार पहलमानसिंह स्वारकाे पुनर्मूल्यांकन’ लेखेर प्राध्यापकको बढुवा पाए । त्यतिबेलासम्म न राईको शोधपत्र छापिएको थियो, न त डिग्री लिएका थिए । रमाइलो के भने मदन पुरस्कार गुठीको मुखपत्र ‘नेपाली’ त्रैमासिकको अंक ६७ मा त्रिपाठीको पुनर्मूंल्याकन छापियो भने अंक ७१ मा बल्ल राईले पालो पाए । यसबारे लोहनीले आलोचनासंग्रह ‘चहकदार मइन्टोल र पिलपिले लालटिन’ (२०३७) मा तीखो टिप्पणी गरेका छन् ।

शंकाको घेरामा मौलिकता

समालोचक वामदेव पहाडीले ‘मसानको मौलिकताको शंका’ मा हेनरिक इब्सनको ‘ए डल्स हाउस’ र निरुपमा देवीको ‘इन्कारी’ को तुलनात्मक अध्ययन गरी विशद समालोचना गरेका छन्, ‘आलोचनाको वृत्त’ मा । ‘…इब्सनकी नोरालाई नाटककार रिमालले मसानकी युवतीमा ढालिदिएका छन्, विचार उनले चोरेका छन्, इब्सनको मौलिकतामाथि डाँका मारेका छन् । … चोरचार पारेर मसान जस्तो खँदिलो नाटक लेख्ने गोपालप्रसाद रिमाल मरेका छैनन् तर मेरो शंकाको पुष्टि गर्ने मानसिक स्थितिमा उनी छैनन्, मलाई यस कुराको दुःख छ, ज्यादा अफसोस छ ।’

कोही अनुकृत हुन्छन्, कुनै उपज्ञात । कोही आर्थिक लोभमा फस्छन्, कोही यशको कामुकतामा ।

खोजी पस्दा अत्यासलाग्दो चोरी प्रकरण आउँछन् नेपाली साहित्यमा । विभिन्न निहुँमा थुप्रै प्रिय र आदरणीय लेखक पानीखेदोमा परेका छन् । तिनलाई चोर करार गर्नुको जोखिमै जोखिम छ । हाई-हेलो र बोलचाल हराउँछ, दागा धर्ने भेटिन्छन्, लेख सेयर गर्ने मित्र पनि भेटिँदैनन् कठैबरी ! तर, अठारौँ शताब्दीमै अनैतिक मानिएको क्लोन, रिमिक्स, कन्ट्रोल सी, हाइब्रिड आदि चल्तीका चोरीकर्म हामी किन गरिरहेका छौँ ?

सुन्दर व्यक्ति, सुन्दर वस्तु, सुन्दर दृश्य मात्र होइन, सुन्दर कृतिको लोभ संवरण गर्न नसक्दा पनि यस्ता दुर्घटना हुन्छन् । मीठा शब्द, वाक्य या विषयवस्तुबाट कोही प्रभावित मात्र हुन्छन्, कोही ठाडै नक्कल गर्छन् । कोही अनुकृत हुन्छन्, कुनै उपज्ञात । कोही आर्थिक लोभमा फस्छन्, कोही यशको कामुकतामा ।

हरोल्ड ब्लुमको सिद्धान्त ‘एन्जाइटी अफ इन्फ्लुएन्स’ ले ठीकै भनेको छ- लेखकहरु ठूला लेखकको प्रभावको पीडाबाट गुज्रिरहेका हुन्छन् । त्यसलाई विरेचन गर्न पनि उनीहरुले त्यही विषयवस्तु र शैली अँगाल्छन् ।

साहित्य चोरी जान-अनजान वा लापरबाहीमा हुन सक्छन् । एकैचोटि राम्रो सर्जकमा दरिने अनियन्त्रित लोभले बाटो बिराइदिन्छ । चोरीको आरोपमा हाम्रा महाकवि देवकोटा समेत मुछिएका छन् । उनको ‘घँसिया गीत’ र विलियम वर्डस्वर्थको ‘द सलिटरी रिपर’ । देवकोटाको ‘मुनामदन’ समेत मल्लकालीन नेवारी कथामा आधारित भएको आवाज उठेको छ ।

अविस्मरणीय आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चश्मा’ शीर्षक कथा आन्तोन चेखबको कथा ‘डेथ अफ क्लर्क’ बीच साम्यता पाउँछन् कतिपय । लेखनाथको ‘पिँजडाको सुगा’ लाई मैथलीशरण गुप्तको ‘पञ्जरबद्ध कीट’ कविताको अनुवाद भएको ज्ञानमणि नेपालले लेखेका छन् । यसरी नामी लेखकलाई नै शंकाको घेरामा राख्ने हो भने हाम्रो मौलिक र मानक साहित्य खोज्न कहाँ जाने ?

आख्यानकार ध्रुवचन्द्र गौतमको ‘अलिखित’ ले २०४० सालको मदन पुरस्कार पाएपछि रामदयाल राकेशले  ‘नेपाली साहित्यः विभिन्न आयाम’ फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, राही मासुम रजाको ‘आधा गाँव’ र श्रीलाल शुक्लको ‘रागदरवारी’ रिमिक्स गरेको आरोप लगाए । आज पनि त्यसको सकार या नकारमा जवाफ आएको छैन । अब पाठकले भन्ने छन्- रमेश विकलको ‘अविरल बग्छ इन्द्रावती’ र मिखायल सोलोखोवको ‘डोन नदी चूपचाप बहती है’ उस्तै हुन् कि होइनन् ?

चल्तीका आख्यानकार कृष्ण धरावासीको ‘गेस्टापो’ र सत्यकेतु विद्यालंकारको ‘यूरोपका आधुनिक इतिहास’ या धरावासीकै ‘राधा’ र ‘प्रतिभा राय’ को ‘द्रौपदी’ बीच साम्यता कति छ ? अमर न्यौपानेको ‘सेतो धरती’ र दीपा मेहताको सिनेमा ‘वाटर’, युग पाठकको ‘उर्गेनको घोडा’ र कमलेश्वरको ‘कितने पाकिस्तान,’ बुद्धिसागरको ‘कर्नाली ब्लुज’ र खालिद हुसेनीको ‘द काइट रनर’ को शैली समतुल्य हुन् त ? त्यो छुट्याउन पाठक सक्षम छन् ।

साँच्चै भन्ने हो भने नेपाली साहित्य सक्कल बमोजिम नक्कल हुँदै नक्कल बमोजिम नक्कलमा पुगिसकेको छ ।

उसो त चोरी पक्रने कला असली पाठकमै हुन्छ । बिहारी मूलका आलोचक चन्द्रेश्वर दुवेले ‘तेस्रो आयामको शवपरीक्षा’ नै गरिदिए । बैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविता पश्चिम बंगालका कवि शक्ति घोषको कवितासँग हुबहु मिलेको उनकै संग्रहमा भूमिका लेख्ने ईश्वर बरालले उजागर गरिदिए । सबै कहाँ लोभीपापीमात्र छन् र !

२०६८–७० को बीचमा नेपाली महिला साहित्यकारहरूको इतिहाससम्बन्धी किताबहरूमा साहित्यिक संस्था गुञ्जनमा आफूले बुझाएको पाण्डुलिपिका अंशहरु सारिएको आरोप लीला लुइटेलले लगाउँदै आएकी छन् । रोचक के भने, लीलाले चोरीको डरका कारण पाण्डुलिपिको बीच–बीचमा ३० जना स्कुले साथीको नाम घुसाएकी रहिछन् । ती किताबमा ती स्कुले नाम पनि हुबहु आए ।

आफ्नोसम्म त ठीकै छ, बाबुका नाममा किताब छाप्दासमेत पक्राउ परे, अशोक सुवेदी । उनले आफ्ना पिता हितप्रसाद उपाध्याय सुवेदीका नाममा अनंगनाथ पौड्यालको खण्डकाव्य ‘अंगद रावण संवाद’ (१९९१) का १३२ वटा श्लोक छापेपछि विवाद भयो । उनले लोकनाथ उपाध्याय पोखरेलको ‘लोक मञ्जरी’ नीलकाण्ड खण्डका श्लोकहरू पनि पिताकै खातामा छपाएपछि प्रगतिशील लेखक संघले तीन सदस्यीय छानबिन समितिले चोरी सदर गर्यो ।

कवितामा भावहरण या बिम्बहरण क्लिसे विषय भैसक्यो । बैरागीको कविता ‘जिन्दगी मफलर भैदिए टाँगिदिन्थे किलामा’ र तुलसी दिवसको ‘जिन्दगी कमिज भैदिए टाँगिदिन्थे किलामा’ या दिनेश अधिकारीको ‘हर्के उर्फ हर्कबहादुर’ र विमल कोइरालाको ‘ध्रुवे उर्फ ध्रुवबहादुर’ कुन चाहिँ कसको अनुकरण हो ? साँच्चै भन्ने हो भने नेपाली साहित्य सक्कल बमोजिम नक्कल हुँदै नक्कल बमोजिम नक्कलमा पुगिसकेको छ ।

कहिलेकाहीँ लाग्छ, हामी धेरै नै नकारात्मक भयौँ कि ! सानो गल्तीमा ठूलो सजाय त दिइरहेका छैनौँ ? सानो गल्तीमा ठूलो सजाय अनि ठूलो गल्तीमा अनदेखा गरिरहेका छौँ कि !

कतिसम्म भने हामी असामान्य रचना लेख्ने उदीयमान लेखकलाई पुरस्कार र धाप दिनुभन्दा पहिले ओरिजिनल रचना कसको उछिट्यायो भनेर घोत्लिन थालिहाल्छौँ । कसको फर्मुला कसले हाल्यो, कसको मसला कसले हाल्यो ? हाम्रा प्रिय र सम्मानित लेखकहरुलाई चोर भन्ने हो भने लेखक चाहिँ कसलाई मान्ने त ?

यथार्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जस्तै डाम्ने र छाडिदिने थुप्रै हर्कत भएका छन् नेपाली साहित्यमा । कांग्रेसलाई कम्युनिस्टले, कम्युनिस्टलाई कांग्रेसले मात्र होइन, कहिलेकाहीँ कांग्रेसलाई कांग्रेसले, कम्युनिस्टलाई कम्युनिस्टले नै खतबात लगाएका छन् । कसैले कसैलाई छाडेका छैनन् ।

त्यसै भएर लेखक सौरभले एकताका ‘सरुभक्तबाहेक अरु सबैले चोर्दा रहेछन्’ लेखेका होलान् । तिनै सरुभक्तलाई पनि एचजी वेल्सको ‘इनभिजिवल म्यान’ को हवाला दिएर शिव अधिकारीले एक बित्ता छाडेनन् ।

यसैगरी, बालकृष्ण समले अन्धवेग र मुटुको व्यथा सेक्सपियरका समकालीन थोमस एउडका नाटक चोरेको कुमार प्रधानले नलेखेका होइनन् । प्रेमा शाह र मोहनहिमांशु थापालाई वाल्ट ह्विटम्यानको चोरी गरेको बात लागेकै हो । ईश्वरबल्लभ, मोहन कोइराला, पारिजात, मञ्जुल, सनत रेग्मी, महेश प्रसाईं, अशेष मल्ल आदिलाई मुछ्ने प्रयत्न भएकै छ ।

हाम्रा प्रिय र सम्मानित लेखकहरुलाई चोर भन्ने हो भने लेखक चाहिँ कसलाई मान्ने त ?

कतिसम्म भने कथामा स्थापित हुँदै गएका अविरल स्थापितलाई ‘माकुराको जालो’ (साझा प्रकाशन) कथासंग्रहमार्फत साहित्यबाटै विस्थापित हुन पुगे । किनभने ‘माकुराको जालो’ शीर्षक कथामै उनीमाथि चोरीको आरोप लाग्यो । र, लेखन पातलिँदै गयो । पछि अर्को कथासंग्रह पनि आयो, अविरलका कथाहरु । तर,  त्यसको कुनै चर्चा भएन । कृषि वैज्ञानिक रहेका भुवनरत्न स्थापितको २०७४ मै निधन भइसक्यो ।

साहित्यकारहरु अर्का कथाकार प्रकाश प्रेमीलाई सम्झिन्छन् । उनले पनि चोरीको आरोपपछि लेख्नै छाडे । कैयौँ चोरी पत्ता लगाउने कवि रासालाई सम्पादकहरुले नै भनेका छन्, ‘चुप लाग्नोस्, हाम्रै साथीभाइ हो, हल्ला गर्नुहुन्न ।’ कतिपय लेखकले ‘अनुवाद लेख्नै छुटेछ’ भनेर लाचारी देखाएका छन् । ‘चोरीको उद्घाटन निकै अब्जसी र जोखिमपूर्ण छ,’ रासाको अनुभव छ, ‘चोरी विशेषतः कविताभन्दा कथामा छ ।’

साहित्यमात्रै किन ? सिनेमा र गीतसंगीत पनि चोरिएकै छन् भन्नेहरु पनि कम छैनन् । उनीहरु अगाडिकाले पछाडिको, पछाडिकाले अगाडिको नक्कल गर्नु स्वाभाविकै मान्छन् । कवि दुर्गालाल श्रेष्ठको गीत ‘फूलको आँखा फूलै संसार’ पनि भारतीय कवि अन्जानको ‘फूलको आँखोमे फूली संसार’ सँग हुबहु मिलेको भन्ने भेटिन्छन् ।

इतिहासमा पनि उस्तै

अब इतिहास मात्र किन अछुतो हुन्थ्यो र ! इतिहासविद् नयराज पन्तले डिल्लीरमण रेग्मीले ‘मिडिएवल नेपाल’ पुस्तकमा आफूले अन्वेषण गरेका तथ्य पुरानो मिति राखी अंग्रेजीमा उल्था गरेको दाबी गरेका थिए । रेग्मीको पुस्तक २०२१ मा छापिएकामा प्रकाशक (फर्मा केएल मुखोपाध्याय, कोलकाता) मै दुई वर्ष पहिले नै पाण्डुलिपि प्राप्त भए पनि बेलैमा मुद्रण हुन नसकेको बेहोरा लेखेर बँच्न खोजे ।

चोरी कसरी पत्ता लाग्यो भने राष्ट्रिय अभिलेखालयमा २०१९ पछि राखिएका सामग्रीबारे पनि पुस्तकमा उल्लेख रहेछ । पन्त स्वयं प्रतिलिपि अधिकारको अफिस धाएछन् ,२०२२ मा । तर, तत्कालीन हाकिम भीमनिधि तिवारीले नजिर नभएकाले उजुरी लिएनन् । ‘पूर्णिमा’ मा लेखिएको छ, ‘डिल्लीरमण रेग्मीले हाम्रो सम्पत्ति फेरि पनि चोर्नुभयो’ । २०१४ मा ‘एन्सेन्ट इन्स्क्रिप्सन्स् अफ नेपाल’ मा पनि उनले त्यही जाली काम गरेको पन्तको आरोप छ ।

इतिहासकार ज्ञानमणि नेपालले ‘अतीतका स्मृति र अनुभूति’ मा लेखेका छन्, ‘मैले नेपालीमा लेखेको थिएँ, उनले अंग्रेजीमा अनुवाद गरे । अभिलेख खोज्न पनि, पढ्न पनि उनले परिश्रम गर्नु परेन । ..‍.डिल्लीरमणजस्तो ठूलो मान्छेको विरोध कसले सुन्छ ? चोर्यो भनेर कसले पत्याउँछ ?’

नेपाली साहित्यमा टाइटल र कन्टेन्ट मात्र होइन, कभर समेत हुबहु चोरी भएका उदाहरण छन् । नेपाली पुस्तकका आवरण विदेशी लेखकको पुस्तकबाट क–कसले चोरे भनेर केही वर्षअघि सनसनीखेज बयान आएको थियो ।

इतिहासकार महेशराज पन्त भन्छन्,  ‘सन्दर्भ स्रोत सामग्री छिपाएर, लुकाएर लेख्नु बेइमानी र चोरी हो । चोरी चोरी नै हो, बौद्धिक चोरी भन्ने भए आर्थिक, भौतिक चोरी पनि भन्नुपर्छ । स्रोत नखोल्नु अशास्त्रीय काम हो । सबै आफैँले जानेजस्तो गरी लेख्नु पाठकको अपमान गर्नु हो ।’

लेखकीय दुर्घटना

नेपाली साहित्यमा लेखकीय बेइमानी गरेको शंकर लामिछानेले मात्र स्वीकार गरेका छन् । खासगरी २०२९ भदौमा ‘रूपरेखा’ पत्रिकामा ‘प्लेजरिजम’ को आरोप लागेपछि उनले लेखेनन् । त्यसको तीन वर्षपछि मेनेन्जाइटिसका कारण ४८ वर्षमै उनको निधन भयो ।

रुपरेखाको अंक ११२ र ११४ मा ‘आभाँ गार्देको सौन्दर्यशास्त्र’ मा दुई किस्ता लेख छापिएपछि कुमुदिनी, २४६, पकनाजोल नाम र ठेगानामा त्यो माइकल कर्बीको पुस्तक ‘द आर्ट अफ टाइम एसेस अन द एभाँ–गार्द’ को अनुवाद मात्र भएको प्रतिक्रिया छापियो ।

थुप्रै वरिष्ठदेखि कनिष्ठ लेखकमाथि चोरीका खतबात लागेका छन् । तर, चोरी स्वीकारेको घटना नेपाली साहित्यमा पहिलो र अन्तिम बन्न पुगेको छ ।

लामिछानेले विनम्रतापूर्वक स्वीकार गर्दै पत्र लेखे– ‘कुमुदिनी बहिनी, नेपाली साहित्यलाई तपाईंजस्ती जागरुक पाठक चाहिएको छ । यस्तो भएन भने मजस्ताले बेला बेलामा बदमासी गरिरहने सम्भावना हुन्छ । तपाईंजस्ती बहिनीको तिलक लगाएर मात्रै हामी संग्राममा उभिन सक्छौं ।’

दोस्रो विवाह र बेरोजगारीका कारण चरम आर्थिक संकटमा रहेकाले चोरी गर्नुपरेको जनाउँदै लामिछानेले ‘सेल्फ पनिस्मेन्ट’ गरे-  ‘यस पाँच वर्षभित्र उसले चारपाँच वटा विश्वका महान् इतिहास र लेखनशैली समेत चोरेको छ । कारण हो उसको जागिर थिएन र उसलाई बाँच्नु थियो । …बाँच्नुजस्तो ठूलो कुरो जीवनमा अरु केही रहेनछ । …अब म लेख्ने पनि छैन होला । …मैले पछि लेखिहालेँ भने पनि त्यसबेला तपाईंलाई उजुरीको कुनै मौका पनि दिनेछैन । त्यस सुअवसरको प्रतीक्षा रूपरेखाको पानामा नै गर्नुहोला ।’

आलोचना भनेको खुल्लमखुला हुनुपर्ने हो । तर शंकरले आफ्नी छिद्रान्वेषी आलोचकलाई जीवनकालभरि चिन्नै पाएनन् । अरु पाठकले पनि अहिलेसम्म चिन्न पाएका छैनन् । ‘लामिछाने इरेज गर्ने परम्परा अर्थात् अरुको नामनिसाना धूलोमा मेटाउने अभियानका सिकार भएका हुन्,’ लोहनीको टिप्पणी छ ।

खासमा कुमुदिनीको परिचय अझै गुमनाम छ । कहिले कसको त कहिले कसको नाम जोडिएर आउँछ । यकिन छैन । त्यसउता पनि थुप्रै वरिष्ठदेखि कनिष्ठ लेखकमाथि चोरीका खतबात लागेका छन् । तर, चोरी स्वीकारेको घटना नेपाली साहित्यमा पहिलो र अन्तिम बन्न पुगेको छ । लुकीचोरी त सबैले गरिरहेका छन् तर साँच्चिकै इमानदारचाहिँ शंकर लामिछाने ठहरिए । नेपाली साहित्यको साँच्चै ठूलो दुर्घटना हो, शंकर लामिछानेको संन्यास ।

चोरी कि प्रभाव ?

सिर्जनामा सुकिलो शब्द प्रभाव हो भने मैलो शब्द नक्कल । सतहमै हुने नक्कल चोरी हो भने छद्म रूपबाट आउने प्रभाव जुन सघन या मन्द हुन सक्छ । मानवीय स्वभावको दुर्बलता या पिछडिएका मुलुकका नागरिकको कमजोर आत्मगौरबले पनि चोरी या प्रभाव बढेको साहित्यकार खगेन्द्र संग्रौलाको मत छ । उनी नाम चलेका लेखकको स्वतःस्फुर्त नक्कल स्वाभाविक मान्छन्, जो अभ्यासका लागि पनि आवश्यक छ ।

चोरी र प्रभावको कुनै सीमारेखा छैन । कतिदेखि प्रभाव र कतिसम्म चोरी भन्ने कुनै मानक छैन ।

खास कल्पना र रचना शिल्पको गरिबी, अल्छी या डाहले चोरी हुन्छ साहित्यमा । वामपन्थी स्कुलिङका धेरैजसो युवा लेखकमा खगेन्द्र संग्रौलाकै नक्कल या प्रभाव छ भने गैरवामपन्थी लेखकमा शंकर लामिछानेको । ‘मनोवैज्ञानिक दृष्टिमा देउरालीको नजिक बन्ने चाहना या अनुकरण प्रिय पनि लाग्छन्,’ उनी भन्छन्, ‘सचेत, चनाखो र पारखी पाठकले नै तथ्य, तर्क र औचित्यबाट चोर पक्रन सक्छन् ।’

चोरी र प्रभावको कुनै सीमारेखा छैन । कतिदेखि प्रभाव र कतिसम्म चोरी भन्ने कुनै मानक छैन । प्रतिलिपि अधिकार कानुनबाट हुबहु चोरीलाई समात्न सकिने भए पनि शैली या पात्रको चरित्रचित्रण या कुनै अध्यायविशेषको चोरीलाई कानुनी दायरामा ल्याउन सकिँदैन । हामीकहाँ त अझ प्रतिलिपि अधिकारमै समेत चोरीका बात लागेका मानिस हर्ताकर्ता बनिरहेका छन् ।

कसैको कला, साहित्य, संगीतको हुबहु र आंशिक नक्कल गरेर आफ्नो सिर्जना हो भनी झूटो नाम कमाउन चाहने मनोरोग संसारभरि नै छ । त्यसैले साहित्य, ज्ञानविज्ञान, चित्र, मूर्ति, सिनेमा, गीतसंगीत आदि मौलिक वा बौद्धिक सम्पत्तिहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्ने चलन छ । प्रतिलिपि अधिकार ऐन, २०५९ ले बौद्धिक चोरी (प्लेजरिजम) लाई फौजदारी अपराध मानेको छ ।

प्रतिलिपि अधिकारमा व्यक्तिको जीवनभर वा मृत्युपछि ५० देखि १०० वर्षसम्म उसको रचना वा सिर्जना प्रयोग गरी अनुमतिबिना फाइदा लिन पाइँदैन । त्यो उल्लंघन गर्ने व्यक्तिलाई नियम अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन्छ, अनि दोस्रो पटकदेखि पटकैपिच्छे २० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

त्यसो त चलाखी साथ चोरीलाई कला मान्ने पनि थुप्रै छन् । निबन्धकार मनुजबाबु मिश्रले ‘एकलानुभूति’ निबन्धसंग्रहमा लेखेका छन्, ‘मान्छे पो एउटाजस्तै अर्को हुँदैन, भावना त धेरै मान्छेको एउटै पनि त हुन सक्छ नि । सत्ययुगले सिकाओस् कि कलियुगले । साहसको कुरा हो । साहस भए दहीदेखि लिएर अर्काकी चेलीबेटी र अर्काको आत्मासम्म चोरे हुन्छ । पच्यो मात्र भने पुण्यप्राप्ति भइहाल्छ । नपचे पो पाप (चोरी) ।’

खास लेखक भनेको दुई दिनको हिरो होइन, सक्कली हिरा नै हो । तर कीराले हिरा बिगारिदिन्छ ।

खास लेखक भनेको दुई दिनको हिरो होइन, सक्कली हिरा नै हो । तर कीराले हिरा बिगारिदिन्छ । रातारात नाम र दाम कमाउने लोभमा चोर बनेकाहरु आफूमाथिका आरोप स्वीकार गर्दैनन्, बरु सुनेको नसुन्यै गरिदिन्छन् । तिनीहरुमाथि लेखिएको यो लेखोट पनि गैँडालाई छेस्काले घोचेजस्तै मात्र हुनेछ ।

चोरी स्तरका प्रभाव नेपाली साहित्यमा प्रशस्तै छन् । विदेशी साहित्यबाट गरिएको चोरी थाहा नै नपाइने खतरा छ भने अन्य भाषा पढ्ने ल्याकत नभएका लेखकहरुको चोरीचाहिँ तुरुन्तै थाहा हुन्छ । त्यसका लागि सचेत पाठक र स्वतन्त्र आलोचक चाहिन्छन् ।

रमाइलो के भने भीमनिधि तिवारीपछि धेरै किताब लेख्नेमा गनिएका हरिहर शास्त्री प्रभावको डरले अरुका किताबै पढ्दैनथे । सामान्य लेखकबाट विशिष्ट लेखकको चोरी चाहिँ औचित्यहीन छ ।

‘कमजोर लेखकलाई ख्याति कमाउने हुटहुटी हुन्छ भने स्थापित लेखकलाई चर्चामा छाइरहने बाध्यता,’ प्राज्ञ चूडामणि बन्धुको मत छ, ‘अनुकरण, अनुसरण, प्रभाव, नक्कल जे नाम दिए पनि अर्काको मौलिक सिर्जना चोर्नु र धनमाल उडाउनु एकै हो ।’