इतिहासकार महेशराज पन्तको निजी संकलनमा दसैँ अगाडि २ सय ४९ औँ शब्दकोश थपिएको छ, ‘अमरकोशः’ । ५१ वर्षअघि नेपाल प्रज्ञा–प्रतिष्ठानले छापेको ‘अमरकोशः’ कै पहिलो संस्करण (२०२६) पनि उनको संकलनमा छँदै छ । पण्डित कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ऐतिहासिक महत्त्वको ग्रन्थ ‘अमरकोशः’ का रचनाकार चाहिँ विद्वद्वरामरसिंह हुन् । विद्वद्वरामरसिंहको नेपाली रुपान्तरण हुँदो रहेछ, ‘विद्वानहरुमध्ये सर्वश्रेष्ठ म अमरसिंह’ ।

पन्तको संकलनमा चार दराज शब्दकोश छन् । संस्कृत पद्य परम्पराका शब्दकोश, पाश्चात्य अकारादि क्रमका शब्दकोश अनि विभिन्न भाषाभाषीका शब्दकोश अलग- अलग । नेपाली, संस्कृत, अंग्रेजी, नेवारी, तिब्बती, जर्मन, हिन्दी, उर्दू, बंगाली, फ्रेन्च, पाली, कुमाउनी, प्राकृत, अवधि, भोजपुरी, राजस्थानी, ल्याटिन, इटालियन, स्पेनिस, डोटेली, रसियन, केवरत, बान्तवा, लिम्बु, तामाङ र मगर गरी २६ भाषाका शब्दकोश दराजमा छन् । कतिपय शब्दकोशका विभिन्न संस्करण छन् ।

संस्कृत भाषाका पर्यायवाची शब्दहरूको प्राचीन संग्रह ‘अमरकोशः’ सम्राट् विक्रमादित्यको पालाको हो । यो समानार्थी वा समानान्तर कोशको खास नाम चाहिँ ‘नामलिंगानुशासन’ रहेछ । पछि रचयिता पण्डित अमरसिंहकै नामबाट यसको न्वारान भएको रहेछ ।

कतिपय विद्वान्ले अमरसिंह काठमाडौँका शाक्य भएको दाबी गरे पनि उनी बंगाली भएको पन्तको दाबी छ । ‘नेपालमा कलाकृति बनेका छन्, गतिलो किताब लेखिएका छैनन्, शाक्य, बज्राचार्य आदि कलाकारले क्यालिग्राफिक अक्षरमा सारेका धर्मग्रन्थ मात्र भेटिन्छन्, अनुकूल हावापानी र बाहिरिया अतिक्रमण नभएकाले त्यस्ता किताब सुरक्षित पनि छन्,’ अमरकोशः कण्ठाग्र पारेका पन्त भन्छन्, ‘अमरसिंह बंगाली भएको ठोस प्रमाण त छैन तर उनी नेपाली चाहिँ होइनन् ।’

पन्त आफैँ पनि कोशकार हुन् । उनले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट जातरुपको अमरकोशःमाथि विद्यावारिधि गरे, सन् १९८७ मा । उनका अनुसार ‘अमरकोशः’ मा थुप्रै भाष्य र टीका लेखिएका छन् । बंगाली जातरुपले लेखेको टीका हराए पनि त्यसपछिका लेखकहरुले उनको नाम लिन छाडेनन् ।

राजकुमार बानियाँ

जर्मन प्रोजेक्टअन्तर्गत हस्तलिखित किताबको क्याटलग बनाउँदा संयोगवश बाह्रौं शताब्दीताका ताडपत्रमा सारिएको जातरुपको ‘अमरकोशः’ केशर पुस्तकालयमा फेला पारेका रहेछन्, उनले । दिल्लीको प्रकाशन संस्था मोतीलाल वनारसी दासले सन् २००० मा उपोद्घातसहित ९ सय ८० पृष्ठको पन्तको पुस्तक दुई भागमा छापिएको छ, ‘जातरुपज् कमेन्ट्री अन द अमरकोश’ ।

उनले ११ वर्ष बौद्धिक श्रम खर्चेको त्यो पुस्तकबारे हार्वर्ड युनिभर्सिटीका संस्कृत अध्यापकको समीक्षा आएको थियो, ‘संस्कृत क्षेत्रको ९० वर्षयताको इतिहासमा दोस्रो राम्रो योगदान’ । ‘वेतालपञ्चविंशती’ (वेतालसम्बन्धी २५ कथा) लाई पहिलो सत्कार्य मानिएको छ ।

तीन काण्ड (स्वर, भूमि, सामान्यादि) मा रहेकाले कतिपयले ‘अमरकोशः’ लाई त्रिकाण्ड वा त्रिकाण्डी पनि भन्ने चलन छ । शब्दका साथै लिंग र वचनको पनि निर्देश गरिएको ‘अमरकोशः’ मा २५ वटा वर्ग र १५ सय वटा अनुष्टुप छन्दका श्लोक छन् । दस हजार वटा नाम छन् यसमा ।

कण्ठ गर्न सजिलोका लागि छन्द या पद्यमै लेखिएका हुन्छन्, संस्कृत शब्दकोश । अकारादि क्रमको शब्दकोश चाहिँ पाश्चात्य परम्परा हो । ‘महाभारत, पुराण आदि कण्ठ बनाउनका लागि होइनन्, मास एजुकेसनका लागि हो,’ पन्त भन्छन्, ‘वेद, कोश आदि चाहिँ कण्ठ गर्ने प्रयोजनका लागि हुन् ।’

शब्द-धनका हिसाबले संस्कृत भाषा सुसमृद्ध छ । एउटै वस्तुलाई बुझाउने अनेकानेक शब्द छन् । जस्तैः लक्ष्मीकै नाम पद्मा, पद्मालय, कमला, श्री, हरिप्रिया आदि । त्यसै भनिएको होइन, ‘कोष (धन) बिनाको राजा वा राज्य र कोश (शब्दभण्डार) बिनाको विद्वान् निरर्थक हुन्छन् ।’ प्रज्ञा–प्रतिष्ठानले पुनः प्रकाशन गरेको ६८८ पृष्ठको ‘अमरकोशः’ भाषाप्रेमी, कोशकार र अन्य अध्येताका सबैका लागि पठनीय छ ।

संसारको सबैभन्दा प्राचीनतम शब्दसंकलन भने प्रजापति कश्यपको ‘निघण्टु’ लाई मानिएको छ । १८ सय वैदिक शब्दसंग्रह गरिएको ‘निघण्टु’ कै शृंखलाको एक कडी मानिएको छ, ‘अमरकोशः’ लाई । कोश विद्यामा दुई हाँगा छन्, शब्दकोश र ज्ञानकोश । यी दुवैमा बरोबर काम भएकै छन् ।

नेपाली भाषामा शब्दकोश निर्माण र लेख्य नेपालीको मानकीकरणको श्रीगणेश गरे, कर्कप्याट्रिक, डेनियल राइट, टर्नबुल, डोपिङ हेपिन्स्टल, कुशलसिंह बुढाथोकी, गंगाधर शास्त्री द्रविड, आर किलगोर डंगन, जी प्रधान आदिले । यही गोरेटोमा सर राल्फ लिली टर्नरले ‘नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश’ (सन् १९३१) को लन्डनबाट प्रकाशित गरे । उनलाई नेपाली शब्दकोश निर्माण प्रक्रियाका आदिपुरुष भने पनि हुन्छ । टर्नरको पदचाप पछ्याउँदै रुथ लैला स्मिथले ‘व्यावहारिक नेपाली-अंग्रेजी शब्दकोश’ (सन् १९९३) प्रकाशन गरिन् ।

प्रारम्भिक चरणमा नेपाली भाषाको पहिलो लेख्य मानक शब्दकोशका रुपमा पण्डित चक्रपाणि चालिसेको ‘नेपाली बगली कोष’ (१९९८) र ‘नेपाली पर्यायवाची कोश’ (१९९९) आए भने पण्डित रामचन्द्र ढुंगानाको ‘संक्षिप्त नेपाली शब्दकोश’ का साथै बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’ (२०१९) मा प्रकाशनमा आएका देखिन्छन् ।

भन्नै परेन, भाव र विचार प्रस्फुटनका लागि मिल्दा र सुहाउँदा शब्द चाहिन्छन् । ती शब्दको ढुकुटीको अर्को नाम हो, शब्दकोश । तिनमा कोही तत्सम, कोही तद्भव त कोही आगन्तुक शब्द हुन्छन् । पठनपाठन, लेखन र अनुवादका लागि प्रामाणिक कोशको आवश्यकता महसुस गरेर यहाँ ३९ पृष्ठको ‘अंग्रेजी-नेपाली वर्ड बुक’ देखि कूल १९६६ पृष्ठको ‘अंग्रेजी–नेपाली बृहत् शब्दकोश’ जस्तो भीमकाय संकलनसम्मका काम भएका छन् ।

अनुवादकै खनखाँचो टार्नका लागि पुष्करशमशेरले ‘अंग्रेजी–नेपाली कोश’ (१९९३) ल्याएका थिए । सँगसँगै ‘एङ्ग्लो–नेपाली डिक्सनेरी’, ‘नेपाली–अंग्रेजी शब्दावली’, ‘न्यू स्ट्यान्डर्ड डिक्सनरी’ आदि पनि आए ।

यहाँनेर नरेन्द्रमणि आचार्य दीक्षितकृत ‘अंग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश’ बारे चर्चा गरिएन भने यो लेखोट नै अधुरो हुन्छ । २०३३ मा पहिलो संस्करण छापिएको यो शब्दकोशको समर्पणमा लेखिएको छ, ‘तयार गर्दा अति ठूलो मिहिनेत लागेको यो प्रिय पुस्तक काम लाग्ने निस्केमा आफ्नू परिश्रम खेर नगएको भन्ने सम्झी आनन्द मानी यसलाई सबै नेपाली भाषाप्रेमी र व्यवहार गर्ने सबैमा समेत सविनय समर्पण गर्दछु ।’

हुन त सानोतिनो अभिलाषा र मिहिनेतले विशिष्ट कोश तयार हुन्न । विसं १९८१ मा कोलकताबाट १४ वर्षे पठनपाठन सकेर घर फर्कंदा उनलाई लोक ठेट लवज थाहै थिएन, नेपालीमा हातै चलेन । उनले नेपाली सिक्ने व्यग्र उत्कण्ठाले अंग्रेजीबाट नेपालीमा उल्था काम थाले ।

नेपाली भाषा प्रकाशिनी समितिले संकलन गर्न लगाएको ‘युरोपीय साहित्यका नमुना’ मात्र होइन, पारसमणि प्रधानको अनुरोधमा हल एन्ड स्टेभेन्सको स्कुल ज्यामितिको प्रथम भाग पनि उल्था गरे ।

यसै क्रममा ‘कन्साइज अक्सफोर्ड डिक्सनेरी’ लाई आधार पुस्तक बनाएर उनले हरेक दिन केही न केही शब्द टिपेर राखे । सहायक ग्रन्थमा उनले १ सय ६५ वटा सूची दिएका छन् । शब्दका अम्मली दीक्षितले अंग्रेजी शब्दको दहीबारा, हनवेर्नुदेखि लोप्पा आदि उल्था गरेर झरिझुट्टै पारेका छन् ।

त्यसमा कतिसम्म मिहिनेत पर्यो भने साझा प्रकाशनले खटाएको कर्मचारीलाई साफी गर्न नै तीन वर्ष पूरापूर लागेछ भने कोशकारलाई साफी रुजु गर्न एक वर्ष । देखासिकीका पण्डिते शब्दभन्दा पुराना, मीठा र ठेट शब्द हराउँदै गएकाले उनले अर्गानिक उद्यम गरेका छन् ।

प्रथम बेलायती कोशकार डा. स्यामुएल जन्सनले ‘लेक्सिकोग्राफर’ लाई ‘एक बिचरो सुधो खटवा’ भनेको सम्झँदै दीक्षितले गरेको भाषा-भवानीको सेवारुपी यो मानक द्वैभाषिक शब्दकोश इस्तेमाल गरे भने अनुवादमा पक्कै झर्रोपना आउने छ ।

अंग्रेजी–नेपाली शब्दकोशको इतिहासमा पहिलो र पूर्णताको नजिक पुगेको भनी प्रशंसा पाएका छन् दीक्षितले । यसमा अध्ययन, अनुसन्धान र व्यवसाय अगाडि बढाउनका लागि अंग्रेजी र नेपाली शब्दहरूको गाँठो फुकाइदिने ल्याकत छ । जीवनको ४० वर्षभन्दा बढी उमेर लगाई ९२० पृष्ठको शब्दकोश तयार गरेका सरदार दीक्षितको २०४२ असार १८ मा निधन भयो ।

अर्का कोशकार वसन्तकुमार शर्म्मा नेपालको दीर्घ शब्द-तपस्या पनि यहाँनेर स्मरणीय छ । ‘संक्षिप्त नेपाली शब्दासागर’, ‘सानो नेपाली शब्दसागर’, ‘शब्दार्थ नेपाली शब्दसागर’ उनका केही शब्दकोश हुन् । ‘नेपाली शब्दसागर’ (२०५७) १ लाख ४१ हजार शब्दको विशाल ग्रन्थका रूपमा रहेको छ । यति मात्र होइन, उनले ‘नेपाली-अंग्रेजी संस्कृत शब्दसागर’ (२०६७), ‘नेपाली-अंग्रेजी विशाल शब्दसागर’ (२०६७) को पनि सम्पादन गरेका छन् । यी कोशकार शर्मालाई खोइ कसले पुरस्कार दियो होला ?

नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ को पहिलो प्रकाशन २०४० सालमा भएको थियो । हिज्जे विवादका कारण यसको एउटा संस्करण भने खारेजी नै गर्नुपर्यो । अहिले नेपाली यसलाई ९० हजार नयाँ शब्द थपी डेढ लाख पुर्याउने तयारी छ ।

प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीको भनाइमा अब लिम्बू भाषाको सेवारो, माङ्गेना, तामाङ भाषाको फ्याफुल्ला, लास्सो, नेवार भाषाको ज्वज्वलपा आदि मात्र होइन, लाठीचार्ज, समोसाजस्ता शब्दसमेत थपिनेछन् । यसले बद्रीविशाल भट्टराई र हेमांगराज अधिकारीकृत ‘प्रयोगात्मक नेपाली शब्दकोश’ बाट झन्डै १० हजार शब्द सापटी लिनेछ ।

अंग्रेजी भाषामा डा. स्यामुएल जन्सनले सोह्रौं शताब्दीमा गरेको केही हिज्जे सुधार गरे । त्यसपछि त्यस्तो चमत्कार केही भएको छैन

पुरस्कार नपाए पनि कोशकारबीच पदयोग, पदवियोग, हृस्व–दीर्घ, सकार, शकारको झैझमेला भने कायमै छ । बहुसंख्यक लेखक संस्कृत परम्पराबाट हटे । उनीहरुमा अंग्रेजी परम्परा पनि छैन । अंग्रेजी भाषामा डा. स्यामुएल जन्सनले सोह्रौं शताब्दीमा गरेको केही हिज्जे सुधार गरे । त्यसपछि त्यस्तो चमत्कार केही भएको छैन । तर हामीकहाँ ह्रस्व र दीर्घको झगडाले हिज्जे आयोग बनाउने मात्र होइन, त्यसको सच्चाइमै लाखौँ खर्च हुने स्थिति छ ।

नेपाली भाषाको हिज्जेमा एकरूपताका लागि बालकृष्ण सम र पुष्करशमशेरले तयार गरेको ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (१९९२) कै आधारमा पुस्तकहरू प्रकाशन हुने गरेका थिए । महाराज जुद्धशमशेरको आडभरोसा भएकाले कोही पनि त्यसका विरुद्ध जाँदैनथे । त्यतिबेला नेपाली भाषा प्रकाशिनी समितिले अनुमति नदिई साइनबोर्ड समेत लेख्न पाइँदैथ्यो । राणा शासनको अन्त्यलगत्तै नेपाली भाषाका विद्वान्हरूबीच ह्रस्व र दीर्घ, तर्कुले र बर्धन्ने, डिको जोड्ने र छुट्याउने आदि भाषिक वितण्डा सुरु भइहाल्यो ।

‘प्रयोगात्मक नेपाली शब्दकोश’ (२०६१) अधुनातन एकभाषी नेपाली शब्दकोश हो । यसमा बहुप्रचलित कथ्य र लेख्य शब्द प्रविष्टिमा परेका छन् । अर्को विशेषता के भने यसमा शब्दको उच्चारण समेत समेटिएको छ । यो सँगै चर्चा गर्नुपर्ने शब्दकोश हुन्, बालकृष्ण पोखरेलको ‘नेपाली–अंग्रेजी शब्दकोश’ र प्रज्ञा–प्रतिष्ठानकै ‘नेपाली–अंग्रेजी–नेपाली शब्दकोश’ ।

व्यापारिक प्रयोजनका लागि बनाइएका एकाध शब्दकोशलाई छाडिदिने हो भने प्रायः कोश अविस्मरणीय छन् । गोकुलप्रसाद शर्मा, महानन्द सापकोटा, शंकरराज पाठक, श्रीधरप्रसाद लोहनी र रामेश्वरप्रसाद अधिकारी, बलदेव अधिकारी आदि पनि यसमा निकै लागिपरेका हुन् । ‘नेपाली बाल–शब्दकोश’ बनाउने उषा दीक्षित र दिवाकर ढुंगेललाई कसरी बिर्सन सकिएला र ? पछिलो समय विज्ञान शब्दकोश, चिकित्सा शब्दकोश, कानुनी शब्दकोश, गणित शब्दकोश, अर्थशास्त्र शब्दकोश इत्यादि थपिँदै गएका छन् ।

शब्दकोशको जागरण कति आएको रहेछ भने ‘नेपाली–थामी शब्दकोश’ समेत तयार भएको रहेछ । मार्क टुरिन र वीरबहादुर थामी सम्पादक रहेको त्यो शब्दकोशको प्रकाशक रहेछन्, मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्र ।

अध्ययन, इच्छाशक्ति र धैर्य हुने हो भने जुनसुकै विषयका शब्दकोश र ज्ञानकोश तयार हुने रहेछन् । यस्ता कोश निर्माणमा थुप्रै साधक गुमनाम लागेका छन् । उदाहरणका लागि हरिराम जोशीको एकलव्य कर्म हेरे हुन्छ । उनले पोहोर मात्र ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा प्रयोग भएका शब्दार्थ र तिनको व्याख्यासमेत दिएर ‘अभिनव वेदादि कोष’ निकाले । ६६५ पृष्ठको त्यो कोश प्रकाशन गरेको हो, सत्याल प्रकाशनले ।

‘अभिनव संस्कृति कोष’ का लागि २०५८ को मदन पुरस्कार पाएका जोशीका ‘प्रदीप अभिनव संस्कृति विश्वकोष’ लाई पनि बिर्सन सकिँदैन । यहाँनेर ‘सही शब्द’ (२०५१) नामक कोशका लागि मदन पुरस्कार पाउने गैरनेपाली भाषी फादर विलियम बर्कलाई पनि सम्झनु श्रद्धाञ्जलि नै हुनेछ ।

यहाँनेर म ‘सरल नेपाली शब्दकोश’ लाई सम्झन्छु । मैले पहिलोचोटि पढेको शब्दकोश । स्कुले जीवनमा शब्दकोश भनेकै थाहा थिएन । न शिक्षकको हातमा थियो, न विद्यार्थीको हातमा ।

त्यो शब्दकोश मलाई द रेयुकाई नेपालले जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भए बापत पुरस्कार दिएको थियो । त्यो शब्दकोशका बेचल्तीका शब्द हालेर मैले शिक्षकहरुलाई समेत छक्काएँ धेरैपल्ट । त्यो शब्दकोश मलाई करोडबराबर पुलकित बनाएको थियो ।

६६६ पृष्ठको त्यो शब्दकोश कहिले मेरो मित्र भयो, कहिले गुरु । कहिले गुरु भएर बाटो देखाउने, कहिले साथी भएर सघाउने । कण्ठजस्तै थिए त्यसका शब्दहरु । मैले सुनेको थिएँ, गणेशमान सिंहले पनि अक्सफोर्ड लर्नर डिक्सनेरी कण्ठ गरेका थिए रे । कविता लेख्दा, लेख लेख्न बस्दा प्रायः म त्यसमै घोत्लिन्थेँ । एक्लो शब्दकोशको आडमा के-के जानेजस्तो गरी म कति शब्द फलाक्थेँ, फलाक्थेँ ।

साँच्चै भन्ने हो भने त्यसपछि मेरो प्रिय विधा नै शब्दकोश भयो । आख्यान, गैरआख्यान पढ्नुभन्दा शब्दकोश पढ्नै सजिलो र रमाइलो पनि । अहिले पनि मलाई शब्दकोश हरेक दिन नयाँ लाग्छ । यसको पाना पल्टाइएन भने कहिलेकाहीँ पाइलै सर्दैन ।

यसपालि दसैँमा गाउँ जाँदा मैले त्यो शब्दकोश भेट्टाएँ । तर, अगाडिको पहेँलो ज्याकेट भेट्दै भेटिनँ । त्यसका बारेमा विस्तृत जान्ने हिसाबले गुगल गरेँ । तर नामनिशाना भेटिएन । त्यसको प्रकाशक सायद रत्न पुस्तक भण्डार नै हुँदो हो । र, त्यसलाई मायाले च्यापेर काठमाडौँ ल्याएँ । एउटा शब्दकोशमा फूर्ति लडाउने म महेशराज पन्तको पुस्तकालयमा साढे दुई सय शब्दकोश देखेपछि तिरिमिरी झ्याइँ भइहालेँ ।

हुन त अहिले पनि शिक्षक र विद्यार्थी त परै जाओस्, लेखक, पत्रकार, वकिल, लेखन्दासको घरमा समेत शब्दकोश भेटिँदैन । शब्दकोश कसैको हातमा पनि छैन भन्ने त तिनको लेखन हेर्दा थाहा भइहाल्छ । मौका पाए तिनले मिलेको हिज्जे र व्याकरण पनि बिगारिदिन्छन् । तिनका लागि हिज्जे र व्याकरण हेर्ने काम अरुकै हो ।

अधिकांश लेखकको घरमा शब्दकोश छैनन् । भएका पनि उपयोग गर्दैनन् । मसँग पनि शब्दकोश कम छन् किनभने कसैले शब्दकोश उपहार गर्दैन । त्यस्तो चलन पनि छैन । न उखानटुक्का कोश छ, न त पर्यायवाची शब्दकोश नै । तर, नयाँ नयाँ शब्दकोश पढ्न पाउँदा धन्य हुन्छु । लेखकहरुबीच शब्दकोश उपहार दिने चलन चल्यो भने शब्द भण्डार मात्र होइन, लेखन पनि एक हदसम्म सुध्रिनेछ ।

मोबाइल या जुनसुकै ग्याजेटमा सजिलै राख्न मिल्छ । कम्प्युटरमा राख्न मिल्ने पीडीएफ निःशुल्क डाउनलोडको सुविधा छ ।

शब्दार्थका लागि मात्र होइन, लेख्ने शैलीका लागि पनि हो शब्दकोश । विडम्बना के भने अंग्रेजी पढ्न शब्दकोश नभई नहुने, नेपाली पढ्न नभए पनि हुने । अंग्रेजीवालाले अंग्रेजी लेख्दा हिज्जे, व्याकरण सबै मतलब गर्नुपर्ने, नेपाली पढ्नेले मतलब नगरे पनि हुने ।

त्यसो त अब पहिलेजस्तो शब्दकोश नै किन्नुपर्ने बाध्यता छैन । विभिन्न भाषाका शब्दकोशका एप बग्रेल्ती आएका छन् । भारीका भारी डिक्सनेरी छन् अनलाइनमा । मोबाइल या जुनसुकै ग्याजेटमा सजिलै राख्न मिल्छ । कम्प्युटरमा राख्न मिल्ने पीडीएफ निःशुल्क डाउनलोडको सुविधा छ ।

साहित्य र शब्दकोशबीच अटुट सम्बन्ध छ । संस्कृत भाषाका कोशका प्रमुख उद्देश्य नै कविहरूलाई सहयोग गर्नु थियो । नेपाली भाषामा कहिलेकाहीँ शब्दकोश बाहिरबाट शब्द आउँदा पनि खुसी नै मिल्छ । लेखक या साधकजति शब्द ज्ञानी को होला ?

केही वर्षअघि अर्चना थापाले आफ्नो कथासंग्रहको नामै राखिन्, ‘कठपुतला’ । चल्तीको शब्द ‘कठपुतली’ मा चर्को लिंगीय विभेद महसुस गरी उनले त्यसको ढन्नेसो भाँचेर नौलो औतार दिएकी थिइन् । त्यसका लागि कम्तीमा अर्चनाजस्तो संस्कृत पढेको हुनुपर्यो । शब्द बनाउने आत्मविश्वास पनि चाहियो र त्यसको सार्थक प्रयोग पनि चाहियो । शब्दको जय होस् । साधकको जय होस् ।