साहित्यपोस्ट

लामो समय नेपाली साहित्यमा बिताएका चर्चित साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँ साहित्यपोस्टसँग आबद्ध भएका छन् । बानियाँले हरेक बुधबार सेरोफेरो स्तम्भअन्तर्गत् नेपाली साहित्य क्षेत्रको खोजतलास गर्ने छन् ।

२३ वर्षदेखि पत्रकारितामा संलग्न बानियाँले केही वर्ष नयाँ पत्रिका, केही वर्ष नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा काम गरेका थिए ।  त्यसपछि उनी विगत एक दशकयता कान्तिपुर पब्लिकेसनसँग आबद्ध थिए । नेपाल साप्ताहिकमा उनले लेख्ने नेपाली साहित्यका विश्लेषणात्मक लेख तथा रिर्पाेटहरू अध्याधिक रुचाइने गरिन्थ्यो । गएको महिना कान्तिपुर पब्लिकेसन्स छाडेपछि उनी स्वतन्त्र पत्रकारिताको अभ्यास गरिरहेका छन् ।

‘साहित्यपोस्टले बानियाँजस्तो निर्भीक पत्रकार पाउनु गौरवको कुरा हो’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘उनीमार्फत् आएका सामग्रीहरूले हाम्रा पाठकहरूलाई नेपाली साहित्यको वास्तविक भूगोलसँग परिचित गराइदिने विश्वास लिएकाे छु ।’

साहित्यपाेस्टमा खाेजी पत्रकारिताकाे अभाव पूर्तिका लागि राजकुमारलाई गरेकाे अनुराेध उनले स्वीकार गरेकाे कुरा काेइरालाले बताएका छन् ।

‘नेपाली प्रोफाइल लेख्ने परम्परामा विशिष्ट क्षमता र शैली भएका पत्रकार हुन् राजकुुमार बानियाँ’, चर्चित आख्यानकार नारायण ढकाल ले साहित्यपोस्टसँग भने, ‘साहित्यिक पत्रकारितामा सत्य बोल्न नडराउने निर्भीक पत्रकारका रूपमा मैले उनलाई बुुझेको छु । उनीजस्तो पत्रकार पाउनुु साहित्यपोस्टको सफलताकाे संकेत हो ।’