काठमाडौं । शैलेन्द्र अधिकारीको नवीनतम उपन्यास ‘अर्हत्’ को परिसंवाद सम्पन्न भएकाे छ ।
वक्ताहरूले बुद्धको खोजीमा लेखकको गहन यात्रालाई प्रशंसा गर्नुभएकाे छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक तथा साहित्यकारहरूले २०८१ सालमा प्रकाशित यस उपन्यासलाई पठनीय तथा चिन्तनीय कृति भएको बताउनुभएकाे छ ।
समालोचक राजकुमार बानियाँले ‘अर्हत्’ आधुनिक नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई पढ्नैपर्ने पुस्तकको संज्ञा दिनुभयाे । उहाँले उपन्यासले बुद्ध दर्शनलाई कथावस्तुमा कसरी सफलतापूर्वक समाहित गरेको छ भन्ने कुराको प्रशंसा गर्नुभयाे ।
पत्रकार दीपक सापकोटाले बुद्धको जीवनका तनावपूर्ण पक्षहरू र त्यसका बाबजुद उहाँले प्राप्त गरेको अर्हत्त्वलाई उपन्यासले कसरी चित्रण गरेको छ भन्ने कुरा उजागर गर्नुभयाे । उहाँले भन्नुभयाे, “काँडाको बाटोमा फूल कसरी फुल्छ, थाहा पाउन यो पुस्तक पढ्नैपर्छ। बुद्ध के हो ? बुद्ध कसरी चिन्नुपर्छ ? यो पुस्तकले यिनै प्रश्नहरूको मार्मिक उत्तर खोज्ने प्रयास गरेको छ।”
लेखक भुवनहरि सिग्देलले उपन्यासकार अधिकारीले बुद्धको पात्रलाई आत्मसाथ गर्दै बुद्ध बनेर लेखेको धारणा राख्नुभयाे । उहाँका अनुसार, ‘यो किताब बुद्धको आत्मकथा हो।’ पुस्तक समीक्षक अनिता कोइरालाले साधारण मान्छेको रूपमा बुद्धलाई प्रस्तुत गर्ने उपन्यासको शैलीको प्रशंसा गर्नुभयाे । उहाँले यस पुस्तकले जीवन जिउने कला सिकाउने बताउनुभयाे ।
कार्यक्रममा करिब एक दर्जन वक्ताहरूले आ–आफ्नो पाठकीय धारणा प्रस्तुत गर्नुभएकाे थियाे । उहाँहरूले उपन्यासले बुद्ध दर्शनलाई समसामयिक सन्दर्भसँग जोडेर प्रस्तुत गरेकोमा प्रशंसा व्यक्त गर्नुभयाे ।
यसअघि अधिकारीका ‘निर्वेद’ उपन्यास र ‘बह्मास्त्र’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 







