कवि बाबु त्रिपाठीले राष्ट्रिय कविता महोत्सवमा ११ पल्ट कविता बुझाए । छ पल्ट छनोटमा परे । दुई पल्ट पुरस्कार जिते । २०६८ मा तेस्रा भए भने २०७० मा दोस्रा ।

अब बाबु त्रिपाठी पहिलो हुने चक्करमा छैनन् जस्तो छ । भएको भए राष्ट्रिय कविता महोत्सवको मंसिर २९ को संस्करणमा उनी भेटिएनन् । भएको भए उनको नाम ३० प्रतियोगी छनोटसम्म त पक्कै आउँदो हो ।

यसपालि भैरवी भूगोल प्रथम, प्रज्ज्वल अधिकारी दोस्रो र गणेशप्रसाद खतिवडा, देवकी अभिलाषी र रेजिना आपगार्इं तेस्रा भए । पुरस्कारको राशि थियो, ५० हजार, ३० हजार र २० हजार । शीर्षक हेर्दा कविता औसत र क्लिसे नै लाग्छन्, ‘नेपालको गीत’, ‘संकल्प’, ‘आमाको आदेश’, ‘आमाः एक विश्वविद्यालय’, ‘समृद्ध नेपालको सपना’ ।

विचित्र के भने महोत्सव हुनुअगावै को-को पुरस्कृत हुँदै छन् भन्ने साहित्यिक दुनियाँलाई लगभग थाहा भइसकेको थियो । फेसबुकमा तिनको गोप्य कोडिङ नम्बर समेत ‘भाइरल’ भइसकेको थियो । त्यसको कारण देखाइएको थियो, सम्बन्धित कविलाई दलीय छहारी । प्राज्ञ र जाँचकीसम्म तिनको सहज पहुँच र निकट सम्बन्धसम्म ।

ज्योतिषी बाजेले सेटिङ उल्लेख गरिसकेका थिए, भी-२८, डी-२९, पी-३० । ५ सय २ कवितामा छानिएका ३० कवितामध्ये २८ नम्बरकी भैरवी, २९ नम्बरकी देवकी र ३० नम्बरका प्रज्ज्वल पुरस्कृत भए । २७ नम्बरकी रेजिना र ७ नम्बरमा रहेका गणेशप्रसाद खतिवडाको नाम पो ‘सरप्राइज’ भयो । भनसुन नगरी पुरस्कृत ! प्राज्ञहरुलाई मान्नैपर्छ, पुरस्कृत हुनेलाई एकैठाउँमा राखेछन् ।

त्यसो त नेपाल प्रज्ञाप्रतिष्ठानको कविता महोत्सव वर्षेनी विवादित हुन्छ । विवादमुक्त कविता महोत्सव कुनै छैन । हरेक महोत्सव कुनै न कुनै रूपमा विवादका विषय बनेकै छन् । महोत्सवमा कुनै त्रुटि नै हुँदैनन् भन्न सकिँदैन । तर, कविता प्रतियोगिताका नाममा ज्यादती गरिरहने छुट कसैलाई छैन ।

यस्ता विवाद हुँदै गर्छन्, कविहरु हल्ला गर्दै भाग लिँदै गरिरहेका हुन्छन् । नपाउँदा कोकोहोलो मच्चाउँछन्, पाएपछि तैँ चुप मैँ चुप । कसलाई पुरस्कार दिने भन्ने कुरा कविता बुझाउनुअघि नै ‘ओपन सेक्रेट’ भइसकेको हुन्छ । लबिङ वा बार्गेनिङ मजाले चल्छ । कविता विभागका प्रमुख नै भन्छन् अरे, ‘तपाईं यसपटक सेकेन्ड नै हो, फस्ट अरू नै कोही फिक्स्ड भइसक्यो ।’

राजकुमार बानियाँ

कविता महोत्सवको ५५ वर्षे इतिहास केलाउँदा यसका दुई अध्याय छन्, एउटा बहुदलीय प्रजातन्त्रअघिको, अर्को बहुदलीय प्रजातन्त्रपछिको । यसलाई जनाउने दुई पुस्तक आएका छन् । ‘कविता महोत्सव पच्चीस वर्ष’ (२०२२–२०४६) र ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरु’ (२०४७–२०७६) ।

दुवै किताबमा १ सय २५ कविता नै छन् । पछिल्लो किताब ३० वर्षको भनिए पनि पाँच वर्ष कविता महोत्सव नभएकाले सारमा २५ वर्षकै संकलन हो । कविता महोत्सवको रजत जयन्तीमा प्रकाशित अघिल्लो किताबलाई कोही घोषित सम्पादक चाहिएको थिएन । तर पछिल्लोले तीन जना स्वनामधन्य सम्पादक पाएको छ, हेमनाथ पौडेल, देवी नेपाल र शशी लुमुम्बू । पञ्चायत र गणतन्त्रको फरक पनि यसमै देखिएको छ । धन्य हो, गणतन्त्र !

अघिल्लो किताबको प्रकाशकीय अनुसार राजा महेन्द्रले २०२२ असार ९ मा थालनी गरेको कविता उत्सव ‘मौसुफ सरकारबाट बक्स भएका शीर्षकहरुमै’ लेखिएका हुन् । राजा वीरेन्द्रले पनि बर्सेनि पूर्ववत् शीर्षक बक्स गरे । जगजाहेर छ- प्रज्ञाप्रतिष्ठान राजा महेन्द्रले २०१४ मा स्थापना गरेका हुन् । राजाकै निजी कोषबाट भव्य भवन पनि बन्यो । कवि गोष्ठी त थुप्रै गरे । राष्ट्रिय स्तरको कविता उत्सव पनि थपियो ।

२०२२ को कविता महोत्सवमा ‘शीर्षक बक्स’ भएको थियो, ‘नैतिकता’ । त्यसमा पहिलो भए, भैरव अर्याल । दोस्रो भइन् वानीरा गिरी । तेस्रा भए- गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव । यो क्रम चल्दै गयो । पञ्चायतमा ‘कविता उत्सव’ हुन्थ्यो, बहुदलपछि ‘महोत्सव’ चल्न थाल्यो । गणतन्त्रसम्म कविता महोत्सवको नाममा रमिता चलिरहेकै छ ।

२०२३ मा ‘इमान्दारी र देशभक्ति’, त्यसपछि क्रमशः ‘स्वदेशी बन स्वेदशी भन सम्हाल नेपाल’, ‘मुटुको व्यथा’, ‘अधिकार र कर्तव्य’, ‘पहिले आफूलाई चिन, शिक्षा, संस्कृति र उद्योग’ ।

दशकौँसम्म कविता महोत्सवको नाममा कविताको हुर्मत लिने क्रम रोकिएको छैन । जस्तैः कवि राजाबाट बक्स भएका शीर्षक हेरौ । २०२३ मा ‘इमान्दारी र देशभक्ति’, त्यसपछि क्रमशः ‘स्वदेशी बन स्वेदशी भन सम्हाल नेपाल’, ‘मुटुको व्यथा’, ‘अधिकार र कर्तव्य’, ‘पहिले आफूलाई चिन, शिक्षा, संस्कृति र उद्योग’ । २०२८ सम्म मात्र शीर्षक दिन भ्याए कविराजा महेन्द्रले । यी शीर्षकबाटै थाहा हुन्छ, यो बालबालिकालाई कविताको अभ्यास गराउने खालको छ । यसमा विचार र कलाको गुणवत्ता कहाँनेर छ ?

२०२९ पछि राजा वीरेन्द्रको पालो आयो । उनले शीर्षक फर्माए, ‘खियाऊ हातका नंग्रा’ । त्यसपछि क्रमशः ‘नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाऔँ,’ ‘उद्योगी बनी स्वेदशी वस्तु प्रयोगमा बढाऔँ,’ ‘रच्छौँ हामी सबै जुटेर विपना नेपालीको सुन्दर,’ ;बनाऔँ कर्मभूमि यो शान्तिक्षेत्र नेपाल’, ‘विकास देशको हुन्छ एकतामा जुट्यौँ भने’, ‘डटौँ विकास पथमा गरी संचालन जनशक्तिको’, ‘नदी र हाम्रा पाखुरा भाग्यरेखा नेपालका’, ‘हटेर होइन डटेर, फुटेर होइन जुटेर बनाऔँ हामी सबैका लागि सुन्दर शान्त नेपाल,’ ‘गम्काई छाड्छौँ विश्वमा हाम्रो माटोको सुवास’ । बाफ रे ! नाराहरुलाई कविता बनाउन त पञ्चायती प्रजातन्त्रले पो सिकाएको रहेछ ।

२०३९ मा ‘मान्छे खुल्दछ मान्छे भै उसको देशभक्तिमा’, त्यसपछि वर्षैपिच्छे ‘शान्ति क्षेत्र नेपाल’, ‘नेपाली जनता’, ‘विकेन्द्रीकरण’, ‘स्वदेशको माया’, ‘आधारभूत आवश्यकता’, ‘आधारभूत आवश्यकता र हाम्रो कर्तव्य’, ‘जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा’ एक शब्ददेखि १३ शब्दसम्मका शीर्षक दिए । राजाको हवाला दिएर कथित प्राज्ञ र दरबारिया भारदारहरुले शीर्षक दिएको पनि कसले नबुझेको छ र ! किनभने राम्रो शीर्षक दिए राम्रो कविता आउने खतरा पनि हुन्छ । यसरी २०४६ सम्म १ हजार ३ सय कवि महोत्सवमा सहभागी भएर राष्ट्रनिर्माणको महायज्ञमा होमिए ।

पहिले-पहिले राजाका नाममा शीर्षक दिएर प्राज्ञहरुले कविता लेख्न लगाउँथे, अहिले शीर्षक दिँदैनन् तर तिनै बासी शीर्षकका कविता पुरस्कृत गर्छन् । पञ्चायती मानसिकता गणतन्त्रका प्राज्ञहरुमा पनि दुरुस्तै रहेको भन्न गाह्रो छैन ।

गाउँलेका अनुसार प्रज्ञा गोप्य कोडिङ गरेको दाबी गरेर थाक्दैन, तर प्रतिस्पर्धी कवि मूल्यांकनकर्ता पत्ता लगाएर घरदैलोमै पुगिसकेको हुन्छ ।

यस्ता थोत्रा र बासी परम्परामा सामेल हुन कविहरु किन मरिहत्ते गर्छन् ? त्यो पनि एक पटक होइन, पटक-पटक । साँच्चै भन्ने हो भने नेपाली कविहरुको उमेर त पुरस्कार मठ र मठाधीशहरुको परिक्रमा गरेरै जाने रहेछ । उनीहरु एक समय राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत हुनका लागि चक्कर काट्छन् भने त्यसपछिको समय मोती पुरस्कारबाट विभूषित हुन । मोती पुरस्कार ४० कटेपछि पाइन्न भन्ने सुर्ताले छाड्दैन । ‘युवा मोती’ हुनु कम गर्वको बात पनि त होइन !

सुरुमै बाबु त्रिपाठीको ‘केस स्टडी’ दिनुको तात्पर्य के हो भने, कविता महोत्सवको ५० शृंखलाको अध्ययन गर्दा कविहरु कविता महोत्सवको पुरस्कारका लागि चर्कै प्रयास गर्छन् । केही वर्ष पहिले साहित्यकार लव गाउँलेले आफ्नै लामो अनुभवका आधारमा ‘शारदा’ पत्रिकामा एउटा घतलाग्दो लेख लेखेका थिए, ‘प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवः इतिहास कि उपहास ?’ त्यसमा उनले कविता प्राप्त गर्ने प्रक्रियादेखि स्क्रिनिङ गर्दै कोडिङसम्मका हर्कत नांगेझार पारेका छन् ।

गाउँलेका अनुसार प्रज्ञा गोप्य कोडिङ गरेको दाबी गरेर थाक्दैन, तर प्रतिस्पर्धी कवि मूल्यांकनकर्ता पत्ता लगाएर घरदैलोमै पुगिसकेको हुन्छ । बजारमा पुरस्कृत कविहरूको नाम आएको हप्तौँपछि मात्र प्रज्ञाले बन्द खाम खोल्न थाल्छ ।

प्रज्ञाप्रतिष्ठानको मूल्यांकनकर्ताको छनोट प्रक्रिया पनि प्रतिस्पर्धात्मक छैन । अलिकति सुविधा दिएर आफ्नो अनुकूलका मूल्यांकनकर्ता भर्ती गर्ने, लोग्ने–स्वास्नी, भाइ–भतिजा, आफन्त, सालासाली, मावली पुरस्कृत गर्ने रोग पञ्चायतदेखि गणतन्त्रसम्म उस्तै छ ।

सबभन्दा उदेकलाग्दो कुरा त के भने यहाँ दोहोर्याएर, तेहेर्याएर या पाँच पल्ट पुरस्कृत हुँदा पनि प्रज्ञाप्रतिष्ठान आँखा चिम्लेर बसिरहेको छ । कवि लव गाउँलेले प्रश्न गरेका छन्, ‘एकपल्ट पुरस्कृत भैसकेपछि फेरिफेरि भाग लिने आँट कविहरूलाई कसरी आएको ? लाज किन नलागेको ? खै कविताको संवेदना ? खै कविको नैतिकता ? पाइन्छ भनेर जे पनि …. मोलिरहने ? कति भोक लागेको पुरस्कारको ? कति रोग लागेको सम्मानको ? खासमा सच्चा कवि एकपल्ट पुरस्कृत भएपछि आफ्नो सिर्जनामा लाग्नुपर्ने हो । तर २०२३ मा तृतीय भएका कन्चन पुडासैनी २०२४ मा द्वितीयमा बढुवा खान लागे । २०२४ मा तेस्रोमा झुन्डेका कवि वासुदेव त्रिपाठी २०२५ मा दोस्रो भए । २०२५ को तेस्रो वरियताका कालीप्रसाद रिजाल २०२६ मा एक तह प्रमोसनका लागि लालायित भए । गाउँले त छक्कै परे अरे, २०२७–२०३० सम्म कोही पनि दोहोरिएनन् !

२०३० मा तेस्रोमा चित्त बुझाएका नरेन्द्रराज पौडेलले २०३४ मा आएर पहिलो नम्बर हान्दिए । २०२५, २०३१ र २०३४ मा तीन वर्ष तेस्रामै थला परे कृष्णप्रसाद पराजुली ।

२०२५ मा तेस्रा भएका कृष्णप्रसाद पराजुली २०३१ मा पनि ऐजन ऐजन स्थानमै दोहोरिए । २०२८ मा तेस्रा भएका दैवज्ञराज न्यौपाने २०३२ मा फेरि तेस्रा भए । २०३३ मा कति झूर भयो भने २०२३ मै प्रथम भएका कूलमणि देवकोटा १० वर्षपछि दोस्रो स्थानमा झरे । त्यस वर्षको अर्को कीर्तिमान के भने २०२५ मा तेस्रा र २०२६ मा दोस्रा भएका उनै रिजाल प्रथम भए । नयाँ राजाको हातबाट पुरस्कार थाप्ने रहरले त्यसो भएको त होइन ?

२०३० मा तेस्रोमा चित्त बुझाएका नरेन्द्रराज पौडेलले २०३४ मा आएर पहिलो नम्बर हान्दिए । २०२५, २०३१ र २०३४ मा तीन वर्ष तेस्रामै थला परे कृष्णप्रसाद पराजुली । २०३२ मा तेस्रा सरला विष्ट २०३५ मा फेरि तीन धर्केमै थन्किइन् । २०३३ मा तेस्रा भएका राजेन्द्र थापाले २०३६ मा दुई तह बढुवा खाए । २०३७ मा विचित्र के भयो भने केदार न्यौपाने तेस्रोपल्ट पनि तेस्रा नै भए ।

२०३८ मा प्रथम भए कृष्ण ज्ञवाली । जब कि २०२४ मै प्रथम भएका थिए, कृष्णप्रसाद ज्ञवाली । यी दुवै सायद एउटै कवि नहुन पनि सक्छन् । भएको भए दोहोरिए, नभए दुइटा कृष्ण ज्ञवाली प्रथम भए । २०३९ मा अघिल्लो वर्षकी तेस्रा हुने शारदाकुमारी विन्दु प्रथम भइन् । कवि गाउँले यसलाई ‘फास्टट्रयाक बढुवा’ नै मान्छन् ।

फेरि गज्जब बढुवा भयो, २०४० मा । २०३८ का दोस्रा दिनेश अघिकारी पहिलो भए । २०४१ मा प्रज्ञा कुलघरानाका हेमन्त श्रेष्ठले प्रथम भए । २०३६ मा तेस्रो र २०४० मा दोस्रो जो भएका थिए । २०४२ मा सरुभक्त प्रथम भए । २०३५ मा उनी भक्त श्रेष्ठका नामबाट तेस्रा भएका थिए । यस वर्षको विस्मय के भने केदार न्यौपाने चौथोपटक तेस्रा भए ।

२०४३ मा लक्ष्मीकान्त पन्थी तेस्रा भए । २०३१ मै दोस्रा भएका उनलाई यस्तो घटुवा खान किन भाग लिनुपरेको ? २०४४ मा विनोद गौचन तेस्रा भए । उनी २०३९ पनि तेस्रा नै भएका थिए । २०४५ मा मोहनप्रसाद बन्जाडे २०३९ मा जस्तै तीनधर्के भए ।

केदार न्यौपानेले पाँच पल्ट तेस्रा भएर कीर्तिमान रचे । २०३०, २०३३, २०३७, २०४२ र २०४६ मा उनी यथास्थानमै रहे । उनको बढुवा खाने इच्छा प्रज्ञाले पूरा गरिदिएन । राजनीतिक परिवर्तनका कारण २०४७ मा महोत्सव भएन । २०४८ मा हेमचन्द्र नेपाल तेस्रोमा दोहोरिए । २०४९ मा शशिकला तिवारीले तेस्रोबाट दोस्रोमा बढुवा पाइन् । २०५१ मा तेस्रोमै तेहेरिए, हेमचन्द्र । कवि भनेको कस्तो ज्याद्रो जात हो ?

२०७२ मा प्रथम भए प्रोल्लास सिन्धुलीय । तर श्रवण मुकारुङकै जस्तो ‘मधुपर्क’ मा कविता छापेको बात लाग्यो र पुरस्कार खोसियो ।

२०५३ मा २०४८ मै दोस्रो भएका श्रवण मुकारुङ पहिलो बने । तर उनको कविता ‘गरिमा’ मा प्रकाशित भइसकेको भनेर पुरस्कार खोसियो । २०५६ मा लालगोपाल सुवेदीले २०४५ र २०५५ मा तेस्रो भएको इतिहासलाई प्रथममा बदले । पुण्य बराल २०४५ पछि दोस्रो पटक तेस्रो भए ।

२०६२ मा विचित्रै भयो । २०५९ मा दोस्रामा जमेका राधाकृष्ण भट्टराई तेस्रोमा घटुवा भए । २०६३ देखि २०६६ सम्म अर्थात् चार वर्ष राजनीतिक परिवर्तनको छाया पर्यो । प्राज्ञपरिषद् नै गठन हुन सकेन । २०६९ मा २०५८ का तेस्रा ठाकुर बेलवासेको पहिलोमा बढुवा भयो । २०७२ मा प्रथम भए प्रोल्लास सिन्धुलीय । तर श्रवण मुकारुङकै जस्तो ‘मधुपर्क’ मा कविता छापेको बात लाग्यो र पुरस्कार खोसियो । उनी अदालत गए र मुद्दा जिते । चार वर्षपछि अर्थात् २०७५ मा पुरस्कार पाए राष्ट्रपतिको हातबाट ।

कविता महोत्सवको असलियत देखाउन सफल अर्का कवि हुन्, दुबसु क्षेत्री । २०४४ मा तेस्रा भएका उनी २०४५ मा पहिलो भए । उनका सहोदर भाइ कृसु पनि प्रथम भए । त्यसपछिका वर्षमा पुरस्कृत हुने चक्रबहादुर सुवेदी, भरत भारद्वाज, ताराबहादुर सुवेदी र राम अविराम पनि उनकै सहोदर भाइहरु हुन् ।

एकाघरका छ जना पुरस्कृत गर्ने नेपाल प्रज्ञाप्रतिष्ठानमा के चल्छ, के चल्दैन ? यसबारे मैले केही वर्ष पहिले सोधेको थिएँ, शक्ति र दबाबमा भाइहरु पुरस्कृत गरिएको आरोप छ नि ? उनले भनेका थिए, ‘प्रतिभा बनाउन सकिँदैन, तिखार्न सकिन्छ । उनीहरु पुरस्कृत हुनुमा कसैले मेरो हात देख्छ भने म शक्तिशाली नै रहेछु ।’ सुवेदी परिवार मात्र होइन, एक वर्ष त एकै परिवारका दिदीबहिनी दुसला अधिकारी र रमा अधिकारी तेस्रो स्थानमा पुरस्कृत भए ।

कविता न लोकसेवा आयोगको जाँच हो, न कुस्ती खेल । कलाको के प्रतियोगिता भन्ने मतलाई परै छाडिदिने हो भने पनि कविता छनोटको विधि र आधार पारदर्शी छैन । दलको कोटामै निर्णायक मण्डल बनाउन थालेपछि कविताको के होला ?

तिनले आफ्नै मठ या गुट वरिपरिकालाई च्याप्छन् नै । औपचारिक कार्यक्रम हुनुअगावै पुरस्कृत कविको सूची बाहिरिएपछि महोत्सवको आकर्षण र भव्यता कसरी सही सलामत रहन्छ र ! यदि कविता प्रतियोगिता केही दिन, महिना ढिलो भयो भने कविहरुलाई चडिफाल हुन्छ । उनीहरु कविता छापेरै छाड्छन् । पारिश्रमिकको पाप होस् या चर्चाको लोभ ।

कहिलेकाहीँ त यस्तो लाग्छ, एकेडेमीमा कोही कवि छ ? छ भने यस्तो दुर्दशा पक्कै हुँदैनथ्यो । एकेडेमीका साहेबहरुलाई आफ्ना आराध्यदेवलाई खुसी पार्नेबाहेक कविताको आँगन फराकिलो बनाउने ध्याउन्न सायदै होला । यहाँ त अझ कविता विभाग प्रमुख भएपछि कविता लेख्न सिक्ने पनि देखापरिसकेका छन् । प्रज्ञाका अच्छा दिन कहिल्यै आएनन् ।

प्रज्ञा त अनुसन्धान गर्ने संस्था पो हो ! प्राज्ञहरु यसो फलाकी पनि हाल्छन् । तर गर्छन् कविता प्रतियोगिता । एकेडेमीको काम कविता विमर्श हो कि प्रतियोगिता ? काव्य विभाग प्रमुख हेमनाथ पौडेल कविता महोत्सवको लामो विरासत तोड्ने पक्षमा छैनन् । उनी ठाडै भन्छन्, ‘इतिहास बोकेको कार्यक्रम किन बन्द गर्ने ? विरोधीले विरोध गरे भनेर बन्द गर्ने कुरा आउँदैन । आज नाम चलेका दर्जनौँ कविहरू हिजो यही महोत्सवबाट पुरस्कृत भएका हुन् ।’

पौडेलका अनुसार नेपालमा कविको संख्या नै ५० हजारभन्दा बढी पुगिसक्यो । न सबैको कृति छाप्न सकिन्छ, न त सबैलाई पुरस्कृत गर्न । त्यसैले कविता महोत्सव त चाहिन्छ नै । १९ करोड ५० लाखको वार्षिक बजेट बनाउने एकेडेमीले काम भने पनि विवाद भने पनि कविता महोत्सवमार्फत नै चर्चा बटुल्छ । अरु कामबारे कसैलाई अत्तोपत्तो हुन्न ।

खालि ‘शीर्षक बक्स’ नभएको मात्र हो । समसामयिक विषयमा आधारित नेपाली भाषामा लेखिएको १ सय ५० शब्दसीमाको आफ्नो कविता कम्प्युटरमा टाइप गरी जेठ २५ सम्म पठाउनुपर्ने ।

पौडेलको दाबीमा प्रज्ञाले महोत्सवका लागि तीन जनाको विज्ञ कमिटी बनाएको हुन्छ । निर्णायकलाई दिइने कवितामा कविको नाम, फोटो, ठेगाना, फोन नम्बर हुँदैन, हस्तलिपि पनि हुँदैन । कविताको अन्तरवस्तु, रुप, भाव, विचारजस्ता सैद्धान्तिक पक्ष हरेर मूल्यांकन हुन्छ । त्यसलाई प्रज्ञापरिषद्ले अनुमोदन गर्छ । त्यसो भने सूचना लिक चाहिँ कसले गर्छ ?

सबैभन्दा हास्यास्पद त यस पटकको कविता पठाउने सूचना थियो । खालि ‘शीर्षक बक्स’ नभएको मात्र हो । समसामयिक विषयमा आधारित नेपाली भाषामा लेखिएको १ सय ५० शब्दसीमाको आफ्नो कविता कम्प्युटरमा टाइप गरी जेठ २५ सम्म पठाउनुपर्ने ।

अझ प्रज्ञाप्रतिष्ठानको लाचारी के भने असार ९ मै हुनुपर्ने कविता महोत्सव मंसिर २९ मा मात्रै हुन सक्यो । कोभिड-१९ को कारण देखाइए पनि ‘भर्चुअल’ माध्यमबाट कार्यक्रम गर्न सकेन । काव्य विभाग प्रमुख पौडेलले भनेछन्, ‘कहिले इन्टरनेटले धोका दिने, बेलाबेलामा डिस्कनेक्ट हुनेजस्ता समय हामीले देखिरहेका छौँ । भोलि जुममा कार्यक्रम भयो भने पनि प्रभावकारी भएन भनेर आलोचना हुन्छ ।’

पूर्व काव्य विभाग प्रमुख अमर गिरी विवादलाई हाम्रो समाजको प्रवृत्ति नै मान्छन् । शतप्रतिशत राम्रो गरे पनि विवादमुक्त नहुने उनको अनुभव छ । ‘एउटा विकल्प प्रतियोगितात्मक कविता महोत्सवका ठाउँमा अप्रतियोगितात्मक हुन सक्छ । व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने प्रज्ञा प्रतिष्ठानले कविताको प्रतियोगिता गराइरहनु उचित हुन्छ जस्तो लाग्दैन,’ गिरी भन्छन्,  ‘यसले प्रतिष्ठानलाई सधैँ धेरथोर विवादमा तानिरहनेछ । निर्णायकहरू कुनै न कुनै रूपमा सधैँ अपमानित भइरहने छन् ।’