
प्रिय कविलाई घाटमा अन्तिम विदाइ गर्न नपाउनुको खेद छ, ‘अभिव्यक्ति’ का सम्पादक नगेन्द्रराज शर्मालाई । कोरोना महामारी अनि सरकारी कर्फ्यूका कारण ८३ वर्षीय शर्मा घरबाहिर निस्कन पाएनन् । आम सञ्चार तथा सामाजिक सञ्जाल हेर्दा उनलाई लाग्छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेले शतायु मात्र होइन, जनश्रद्धा पनि उत्तिकै पाएका हुन् ।
मृत्युले राष्ट्रकवि घिमिरेलाई पाँच साता पनि पर्खिएन । नत्र २०७७ असोज ७ उनको १ सय २ औँ जन्मोत्सव हुने थियो । घिमिरेको ‘सामयिक’ निधनमा प्रायः नेपाली शोकाकुल देखिन्छन् । यहाँनेर सामयिक किन भन्नुपरेको हो भने १ सय २ वर्ष आफैँमा परमायु हो । बुढ्यौलीलाई कुनै अतिरिक्त रोग चाहिँदैन । शताब्दीको नेटो काटेको जीवनले मृत्युलाई अँगालो हाल्छ नै ।
क्रान्तिकारी छुवाछुत !
शोक आफैँ शोकमग्न भएका बेला कथित क्रान्तिकारी-विद्रोही कवि जमातले अर्को कोकोहोलो मच्चाइदियो । सत्ताको सेवामा सदा ‘हाजिर’ र जनताको परिवर्तनका आकांक्षामा सदा ‘गयल’ । कवि ‘इच्छुक’ को हत्या गर्ने ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनले दिएको ‘राष्ट्रकवि’ उपाधि लिने । दलित, जनजाति, आदिवासी, मधेसी, महिला आदि उत्पीडित समुदायको शुभ नचिताउने आदि इत्यादि । गाली-बेइज्जती पनि अलिक सिर्जनशील काइदाले गर्न सकिँदैन भन्या ?
सिद्धान्ततः प्रगतिशील कविहरु छुवाछुतका विरोधी हुन् । तर उनीहरु नै कति धेरै छुवाछुत गर्छन् भन्ने माधव घिमिरे श्रद्धाञ्जलि प्रकरणमै छयाङ्गै देखियो । एउटा लेखकले सबथोक लेख्न सक्दैन, स्वयं प्रगतिशील लेखकले पनि सक्दैनन् । रचना स्वैच्छिक कर्म होइन र ?
यस्ता प्रश्न के माधव घिमिरेले वर्षौंसम्म थाहा पाएका थिएनन् ? उनले सायद जवाफ दिन लायक पनि सम्झेनन् या विवादमा बिट मार्न चाहेनन् । माधव घिमिरेका बारेमा २० वर्ष पहिले नै खगेन्द्र संग्रौला या आहुतिले गरिसकेका कटाक्ष अहिले दोहोर्याएर सुगा-मानव पुष्टि गरेको त होइन ?
उसो त श्रद्धाञ्जलिका नाममा खिरमै खुर्सानी हालेजस्तो फेसबुके वक्तव्यमा पनि लाइक र कमेन्ट नआएका होइनन् । तर, कविहरुमा आफूभन्दा पनि जेसुकै होस्, आफ्नो बोसलाई खुसी पार्ने हतारोबाहेक नयाँ कुरा केही देखिँदैन । ‘जनकवि’ को पगरी गोकुल जोशी, देवीप्रसाद किसान, दुर्गालाल श्रेष्ठहरुलाई दिने अनि आँसु र पसिनाका कविताचाहिँ माधव घिमिरेसितै खोज्नुपर्ने कारण के हो ? तिनका एकछापे दिमागले यस्ता तर्क सीधै खारेज गरिदिन्छ ।
सत्य के हो भने न ‘वीरेन्द्र जिन्दावाद’ लेख्दैमा भूपी शेरचनको कवित्व नष्ट भयो, न त भीमशमशेरकहाँ दाम राख्न जाँदैमा लेखनाथको कवित्व । जनमतसंग्रह ताका पहेँलोमा छाप लगाऊँ भन्ने प्रगतिशील झुन्ड पनि देखिएकै हो ।
लेख्न त कविजीले ‘मालती–मंगले’ गीतिनाटकमा कमारो–कमारीकै कुरा लेखेका छन् क्यारे । तर रानीबाट दासमोचन गराइदिए । प्रगतिशीलहरुका निम्ति त्यो पक्कै काम कथित जननायकले गर्नुपर्ने होला । कुनै वादको चस्माधारीले चिन्ता गर्नुपर्दैन, भुइँमान्छेका बारेमा लेख्ने लालपुर्जा घिमिरेले लिएका छैनन् ।
‘कुनै कवि सर्वहाराका पक्षमा, कुनै विशेष भूगोलका पक्षमा, कुनै लिङ्गविशेषका पक्षमा बोल्छन्,’ युवा छन्दकवि मनोज भण्डारी भन्छन्, ‘राष्ट्रकवि आफ्ना कवितामा सधैँ राष्ट्रको भएर बोल्थे । उनका सबै राष्ट्रिय गीत र राष्ट्रनिर्माता आदि काव्य यसका दह्रा प्रमाण हुन् ।’
ट्राइबल (थातठेगान नभएका घुमन्ते आदिवासी) ले हाम्रा बारेमा पनि बोलिदिनुपर्यो भनी आग्रह गर्दा भारतका सुधारवादी विद्वान् भीमराव रामजी अम्बेडकरले दिएको जवाफ पनि क्रान्तिकारीहरुले पढे हुने हो । ‘वर्तमान अवस्थामा म दलित समस्याको गर्तमा फसेको छु । मलाई अहिले यसभन्दा एक इन्च पनि तल वा माथि सोच्ने र हेर्ने फुर्सद छैन ।’ के यही आधारमा भारतका आदिवासीले अम्बेडकरको विद्वतालाई दुत्कारिरहलान् ?
आत्मकथा खै आत्मकथा ?
यी तमाम प्रश्नको उत्तर हुन सक्थ्यो, माधव घिमिरेको आत्मकथा । मलाई उदेक लागेको के भने एक दशकयता आत्मकथाको फेसनै चल्यो । तर त्यसले काव्यिक विभूति घिमिरेको रौँसमेत छोएन । बजार बुझेका प्रकाशकहरुले लैनचौर डाँडोमा रहेको कविजीको कुटीमा बिन्तीपत्र हालेनन् होला ?

राजकुमार बानियाँ
नेपाली समाजको बिजोग के हो भने महापुरुष मानेकै व्यक्तिको आत्मकथा छैन । घिमिरेको त भइहाल्यो । उनी भन्दा ६ महिनामात्र कान्छा सत्यमोहन जोशीको पनि आत्मकथा छैन । फेसबुकको भित्तोमा भरखर शैलेन्दुप्रकाश नेपालले एउटा कभर सार्वजनिक गरेका छन्, त्यो पनि सायद जीवनी नै हो ।
इतिहासकार महेशराज पन्त ती दुवैलाई धन्यवाद दिन्छन् । कम्तीमा झुटमुटको फेहरिस्त त पढ्नु परेन । आफ्नो बारेमा निरपेक्ष रहेर लेख्ने हो भने दुस्साहस नै चाहिन्छ । ‘महात्मा गान्धीले जस्तो पिताजी घिड्घिडो भएका बेला श्रीमती कस्तुरबासित सम्भोग गरेको कन्फेसन लेख्ने आँट कतिलाई हुन्छ ?’ पन्त सोध्छन्, ‘उनीहरु बुद्धिमान् रहेछन्, लेखेनन् । आफ्ना असुन्दर कुरा लेख्दा मलामी त पक्कै घट्छन् ।’
गान्धीमार्का सत्यको प्रयोग गर्न सकिँदैन भन्ने उदाहरण हुन्, बालकृष्ण सम । त्यसैले त ‘मेरो कविताको आराधन’ मा १९९० सालसम्म मात्र लिपिबद्ध गर्न सके । बाँकी कुरा इमानदारीपूर्वक लेख्दा आफूलाई पनि असर गर्थ्र्यो, अरुलाई पनि असर पर्थ्र्यो । ‘उनीहरुले आफ्नो लेखकीय जीवनको बारेमा मात्र लेख्न पनि सक्थे तर त्यो एकांगी हुन्थ्यो,’ पन्तको भनाइ छ, ‘त्यसो त उनीहरुका बारेमा धेरैले राम्रा-राम्रा कुरा छानेर थेसिसदेखि किताबसम्म लेखिदिएकै छन् । आफूले दुःख बेसाउनै परेन ।’
बुर्जुवा प्रोपोगन्डा !
राष्ट्रकविको मृत्युमा क्रान्तिकारी मात्र हैन, बुर्जुवाहरुले पनि सानोतिनो स्टन्ट गरेकै हुन् । नेपालमा चल्ने भनेकै यस्तै फन्डा र प्रोपोगन्डा हुन् । एउटा अनलाइन पोर्टलले लेख्यो, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत ।’
सेलो लोकशैलीमा लेखिएको गीत कर्ण दासको आवाजमा आएपछि साहित्यका पापाराचीहरुले खोजे- किन्नर-किन्नरीको ८३ औँ पृष्ठमा, त्यसरी होओस् मरण.. । पुछारमा रचनाकाल रहेछ, २०१६ असोज २१ गते । ४१ वर्षको उमेरमा घिमिरेले लेखेका रहेछन्, विदाइ गीत ।
त्यसै वर्ष भदौ २९ मा क्यान्सरपीडित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कष्टप्रद मृत्यु देखेर घिमिरेले ६२ वर्ष पहिले त्यो गीत लेखेको अनुमान छ । तर त्यो अनलाइनले दाबी गरेजस्तो घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत होइन कि मृत्युपछि बजाउन रेकर्ड गरिएको गीत रहेछ ।
राष्ट्रकवि मेरा बुझाइमा सगरमाथा हुन् । जसलाई आरोहण गर्न त सकिन्छ तर त्यत्रो अग्लो हुन सकिँदैन ।
काव्यको टाकुरा
भन्नु परोइन, माधव घिमिरे नेपाली काव्यका सर्वोच्च टाकुरा हुन् । छन्दकवितामा उनी बेजोडा छन् । काव्यिक लालित्यमा उनी सिद्धहस्त लाग्छन् । कतिपयलाई लाग्छ, छन्दकवि के कवि ? उनको जन्म पनि त छन्दकै साम्राज्यमा भएको हो । छन्दमा लेख्दैमा त्यो कवि ‘वर्ल्ड फेसन’ हुने पनि होइन ।
पाश्चात्य साहित्य पढ्दा थाहा हुन्छ, बीसौँ शताब्दीको दोस्रो दशकसम्म पनि बेलायती टीई ह्युम, एज्रा पाउन्ड, टीएस इलियट छन्दमै कविता लेख्थे । उनका कविता, गीत र गीतिनाटक मात्र होइन, गद्यमा समेत सुन्दर झंकार छ । सामान्य पाठक पनि माधव घिमिरेको अम्मली हुन सक्छ ।
‘छन्दकविता लेख्ने कुनै पनि कविले देख्ने सपनाको नाउँ घिमिरे हो । छन्द कविता कसको जस्तो हुनुपर्छ ? यो प्रश्न गरिएमा आउने उत्तर हो, माधव घिमिरे,’ युवाकवि भण्डारी भन्छन्, ‘राष्ट्रकवि मेरा बुझाइमा सगरमाथा हुन् । जसलाई आरोहण गर्न त सकिन्छ तर त्यत्रो अग्लो हुन सकिँदैन ।’

माधव घिमिर
प्रकृतिवादी निश्चय नै यथार्थवादी हुन्छ । वाल्ट हिटम्यानले जसरी उनले नेपाली प्रकृतिको कविताबाजी गरेका छन् । उनको कविता प्रकृति अध्ययनका अथाह सामग्री हुन् । तिनमा देशभक्ति, ग्राम्य जीवन, प्रेम र प्रणयभाव नृत्यमग्न छन् । दृश्य र ध्वनि चलायमान छन् । लोकलय र लोकभावनाका अटुट गंगा बगेका छन् ।
उनले कवितामा सत्य र सूक्तिको नित्य परख गरे । उनका गद्य र काव्यशिल्पका उम्दा उदाहरण हुन्, निबन्ध–प्रबन्ध ‘आफ्नो बाँसुरी, आफ्नै गीत’ (२०३०) तथा भूमिका र प्रकाशकीय ‘चारु चर्चा’ (२०५८) । कवि कति गहिरा छन् भन्ने भेउ दिन्छन् तिनले । कविजीको सौन्दर्यशास्त्र अद्भुत छ ।
छन्दकवि भएकाले गद्यकवितामा घिमिरेको पक्कै केही असहमति थियो । तर उनले फेसबुकमा बिगुल फुकेर बसेनन् । घिमिरे अभिनन्दन ग्रन्थमा कमल दीक्षितले लेखेका छन्, ‘म उहाँलाई नेपालका सर्वश्रेष्ठ कवि भन्दिनँ । लेखनाथ, सम, देवकोटाभन्दा माथि राख्न मेरो मनले मान्दैन तर आजको नेपाली कविता फाँटमा भने शीर्षपुरुष भन्छु ।’
‘नेपाली पुरस्कारको इतिहास’ का अनुसार नेपालमा सबैभन्दा धेरै पुरस्कार बटुल्ने कवि घिमिरे नै हुन् । उनले मुलुकका डेढ सयभन्दा बढी पुरस्कार पाएका छन् । पाँच लाखको भूपालमानसिंह प्रज्ञा पुरस्कारदेखि ५० हजारको त्रिभुवन प्रज्ञा पुरस्कारसम्म । आफूलाई श्रद्धाका साथ दिइएका पुरस्कार, सम्मान र तक्माको जिम्मा लिएर राज्यले संग्रहालयका रूपमा राख्ने व्यवस्था मिलाइदियोस् भन्ने उनको चाहना थियो । त्यसका लागि केही समयअघि उनी नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसित प्रधानमन्त्री केपी ओलीलाई समेत भेटेका थिए । खैर, त्यो काम अधुरै रह्यो ।
‘मदन पुरस्कार साहित्यका लागि दिने होइन, भाषाका लागि भनेर विधानमै लेखिएको छ’ भन्दै पन्छिएछन् दीक्षित ।
न मदन, न नोबेल
घिमिरेलाई सधैँ सत्ताको नजिक हुने चतुर कवि भन्नेहरुलाई थाहा होला, उनले ‘अश्वत्थामा’ गीतिनाटक अनुवाद गरेर पठाउँदा पनि नोबेल साहित्य पुरस्कार पाएनन् । नोबेल त के, मदन पुरस्कार पनि पाएनन् ।
सम्पादक नगेन्द्रराज शर्माले मदन पुरस्कार गुठीका अधयक्ष कमल दीक्षितलाई यसबारे सोधेका रहेछन् । ‘मदन पुरस्कार साहित्यका लागि दिने होइन, भाषाका लागि भनेर विधानमै लेखिएको छ’ भन्दै पन्छिएछन् दीक्षित ।
‘मलाई पनि हो जस्तै लाग्यो । शब्दकोशले पनि पाएको छ, बालीनालीका किताबले पनि पाएको छ, बिजुलीको किताबले पनि पाएको छ,’ शर्मा भन्छन्, ‘घिमिरेमात्र होइन किन ? देवकोटा, लेखनाथ, सम, विश्वेश्वरले पनि पाएका छैनन् ।’
घिमिरेले मदन पुरस्कार नपाए पनि वितरण समारोहमा विद्वत् प्रवचन भने दिएका छन् । मदन पुरस्कार गुठीका सदस्यसचिव दीपक अर्याल सम, घिमिरेलगायत पुराना साहित्यकार अभिभावकका रूपमा रहेकाले पुरस्कारका समग्र प्रक्रियामा सल्लाह, सुझाव दिएको सुनाउँछन् । अभिनन्दन ग्रन्थमा कमल दीक्षितले घिमिरेलाई ‘मनको सम्मान’ दिएका छन् । पृष्ठ ५८ मा लेखेका छन्, ‘म उहाँलाई नेपालका सर्वश्रेष्ठ कवि भन्दिनँ । लेखनाथ, सम, देवकोटाभन्दा माथि राख्न मेरो मनले मान्दैन तर आजको नेपाली कविता फाँटमा भने शीर्ष पुरुष भन्छु ।’
‘पहिलो कुरा त मैले दिएर दिइँदैन, मदन पुरस्कार । यसको आफ्नो प्रक्रिया छ लामो । २०१६ (१५?) मा गौरी खण्डकाव्य पुरस्कृत हुनैपर्ने थियो । तर त्यो पुस्तक पेस भएन । गुठीमा पेस नभई पुरस्कारका लागि विचार गर्नै पाइन्न मदन पुरस्कारको नियमले । २०१६ सालमा मात्र होइन, त्यसअघि र पछि पनि माधव घिमिरेका पुस्तक गुठीमा पेस भएका छैनन्,’ दीक्षितको जिकिर छ, ‘ दुःख मलाई पनि छ, घिमिरेजीलाई पुरस्कारद्वारा सम्मान गर्न नपाएकामा । के सम्मान पुरस्कार दिएर मात्र हुन्छ र ? मनले गर्ने सम्मान सबभन्दा ठूलो होइन र ?’
कमल दीक्षितको लेख पढेपछि मैले मदन पुरस्कारको खातापाता पल्टाएँ । ‘गौरी’ (२०१५) का बेला गंगाविक्रम सिजापतिको ‘उद्यान’ र कृष्णचन्द्रसिंह प्रधानको ‘कवि व्यथित र काव्यसाधना’ ले पुरस्कार पाए । कमल दीक्षितकै भनाइ २०१६ सदर गर्ने हो भने त्यस वर्ष नित्यराज पाण्डेको ‘महाकवि देवकोटा’ ले पुरस्कार पाएको छ ।
‘राष्ट्रनिर्माता’ (२०२३) का बेला मोदनाथ प्रश्रितको ‘मानव’ महाकाव्य र उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’ ले मदन पुरस्कार पाएका छन् । यस्तै, किन्नर– किन्नरी (२०३३) को वर्ष कसैलाई पुरस्कार दिइएन । ‘मालती–मंगले’ (२०३९) को पालामा मदनमणि दीक्षितको ‘माधवी’ ले पाएको छ भने गीतिनाटक ‘अश्वत्थामा’ (२०५३) को वर्ष ‘नेपाली राष्ट्रिय झन्डा’ का लागि दयाराम श्रेष्ठले पाए ।
हुन त पुस्तक पेस नभएर मात्र होइन, आफैँले छानेर सम्मान गर्न सकिने गरी स्थापना भएको जगदम्बाश्रीले पनि विभूषित भएनन् । ‘मदन पुरस्कार नदिएको पनि होइन, मैले लिन नचाहेको पनि होइन । प्रज्ञा–प्रतिष्ठानमा काम गर्दा अफर आएको पनि हो । अलि पछि लिने थिति मिलेन । आफूभन्दा कनिष्ठले पाइसकेपछि कसरी लिने ?’ घिमिरेले २०७३ भदौमा मसँगको अन्तर्वार्तामा भनेका थिए, ‘राष्ट्रकवि नै पाएपछि अरू के पाउने ? राष्ट्रकविको उपाधि पाउनुलाई पुरस्कारकै अन्तिम नवीन संस्करण मानेको छु । तर त्यो पाउँला भनेर मैले लेखेको होइन ।’
थापा र घिमिरे मिलेर विसं २००४ मा लमजुङमा विद्यालय सञ्चालन गर्न बिन्तीपत्र हालेपछि राणा प्रधानमन्त्री पद्मशमशेरले हुकुम प्रमांगी गरेका थिए ।
कवि घिमिरे जीवनको उत्तरार्धमा आएर एकपछि अर्को विवादमा परिरहे । २०७४ फागुन २ मा ९९ वर्षको उमेरमा मानार्थ सहायक रथी (ब्रिगेडियर जनरल) को दर्ज्यानीमा देखिएपछि उनका आलोचकहरु अझै जुर्मुराए । नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानको कुलपति र ‘राष्ट्रकवि’ को सम्मान पाइसकेका कविलाई ‘कम्ब्याट ड्रेस’ मा गरिएको सुशोभन कतिपयलाई जँचेन पनि । त्यसै वर्ष माघ २६ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गरेलगत्तै उनले भने त्यो दर्जाप्रति सन्तोष व्यक्त गरेका थिए ।
कविवरलाई एकतारे जर्नेल दिने रहर लमजुङे छिमेकी तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीको पनि थियो । वर्तमान सेनापति पूर्णचन्द्र थापाका जिजु हजुरबा कप्तान प्रेमबहादुर थापा र घिमिरे पनि साथी थिए । थापा र घिमिरे मिलेर विसं २००४ मा लमजुङमा विद्यालय सञ्चालन गर्न बिन्तीपत्र हालेपछि राणा प्रधानमन्त्री पद्मशमशेरले हुकुम प्रमांगी गरेका थिए ।
तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङको पहलमा कवि गोपालप्रसाद रिमाल र संगीतकार अम्बर गुरुङलाई मानार्थ महासेनानी दिने २०६८ भदौ २ को सरकारी निर्णयलगत्तै कवि घिमिरेले यसमा चासो देखाएका थिए । सैनिक गान ‘रातो र चन्द्र सूर्य, जंगी निसान हाम्रो’ का रचयिता र संगीतकार हुन् । पहिले-पहिले राणाको हुकुम प्रमांगीमा निजामतीले पनि जंगी पद पाउँथे । मातृकाप्रसाद कोइराला, विश्वबन्धु थापा र भूपालमानसिंह कार्कीसमेतले राजाको हुकुम प्रमांगीमै ‘जनरल’ को दर्जा पाएका छन् ।
राष्ट्रकवि कसले बनायो
नेपाल प्रज्ञाप्रतिष्ठानमा उपकुलपतिको कार्यकाल सकिएपछि मदनमणि दीक्षितले ‘अभिव्यक्ति’ पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मालाई प्रस्ताव गरे, ‘मैले उपकुलपति भएर केही राम्रो काम गर्न सकिनँ । मिलेर केही राम्रो काम गरौँ न ।’
शर्माले सम्झे- स्वामी प्रपन्नाचार्य, लैनसिंह बाङदेल, सत्यमोहन जोशी वा माधव घिमिरेका अनुहार । अन्नतः घिमिरेको अभिनन्दनमा सहमति भयो । दीक्षितको अध्यक्षतामा गठित ७ सय ८७ सदस्यीय अभिनन्दन समारोह समितिका सदस्यसचिव भए, शर्मा ।
कार्यक्रमको अघिल्लो दिन मुटुको व्यथाका कारण नर्भिक अस्पताल भर्ना भए, दीक्षित । अभिनन्दन समारोहमा सबै अगुवाइ शर्माले नै गर्नुपर्यो । मञ्चासीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई शर्मासित गोप्य मन्त्रणा गरेका थिए, ‘कविवरका निम्ति राष्ट्रले केही गर्नुपर्यो ।’
सार्वजनिक अभिनन्दन र होहल्ला गरेको तीन दिनपछि राजा ज्ञानेन्द्रबाट घिमिरेले राष्ट्रकविको पदवी पाए । तर त्यसमा सबैले आआफ्नो दाबी पछार्दै छन् । कोही भन्छन्, नरेन्द्र प्रसाई । कोही भन्छन्, सूर्यबहादुर थापाका कविभाइ नगेन्द्र थापा । कोही भन्छन्, सोझै राजा ।
कसैले कोसिस गर्यो होला, गरेन म भन्दिनँ । तर काम गर्ने मान्छेले बोलेर हिँड्दैन ।
माधव घिमिरे राष्ट्रिय अभिनन्दन मूल समारोह समिति, २०६० ले ‘कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ,’ २०६० मात्र निकालेको थियो भने तन्नेरी प्रकाशनले त्यसै वर्ष घिमिरेको जन्मदिन असोज ७ मा ‘राष्ट्रकवि घिमिरे समीक्षात्मक अवलोकन’ प्रकाशन गरेको थियो । जसका सम्पादक थिए, नेत्र एटम । त्यसो भए के राजा ज्ञानेन्द्रले त तन्नेरीकै सत्प्रयासमा लालमोहर लगाइदिएका हुन् त ?
‘कसैले कोसिस गर्यो होला, गरेन म भन्दिनँ । तर काम गर्ने मान्छेले बोलेर हिँड्दैन । मैले पनि प्रधानमन्त्रीलाई राष्ट्रकवि बनाउन भनेको थिइनँ,’ शर्मा भन्छन्, ‘मलाई के लाग्छ भने यहाँ सबैजसो आफूलाई महाकवि- राष्ट्रकवि ठान्छन् । माधव घिमिरेलाई राष्ट्रकवि बनाउने चाहिँ उनकै कविता हुन् ।’
राष्ट्रकवि भएबापत राज्यले घिमिरेलाई सुरुमा १५ हजार र पछि १० हजार थपेर मासिक वृत्तिस्वरुप २५ हजार रुपियाँ दिइरहेको थियो । उनले नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यताबापत ३० हजार रुपियाँ पनि पाएका थिए । राष्ट्रकवि भने पनि उनलाई अफिस, पीए या गाडी केही सुविधा थिएन ।
वार्धक्यका कारण पनि हुन सक्छ, राष्ट्रकवि भएपछि घिमिरेले नयाँ सिर्जनालाई समय दिन भने सकेनन् । ‘बालकुमारी’ (२०६१) ‘बिजुले र बिजुला’ (२०६३) पछि उनका किताब आएनन् । राष्ट्रकविको पदवीले उनलाई यति व्यस्त बनायो कि विमोचन, फोटो सेसन, सेल्फी, टीकाटाला, पुरस्कारमै समय व्यतीत भयो । त्यसपछिका १४ वर्ष खर्चिएको भनिए पनि २१ औँ कृति ‘ऋतम्भरा’ महाकाव्यको जीवनकालभरि टुंगो लागेन ।
राजा ज्ञानेन्द्रका पालाका सबै निर्णय बदर भए । मात्र राष्ट्रकविको ताज माधव घिमिरेमै रह्यो । अरुले दिएको राम्रो, राजाले दिएको नराम्रो कसरी भन्ने ? ‘राष्ट्रकवि सुविचारित ढंगले सरकारले दिने उपाधि हो । राष्ट्रकवि हुनका लागि माधव घिमिरेको पात्रता र योग्यता यथेष्ट थियो,’ विश्लेषक एवं अध्येयता शंकर तिवारीको टिप्पणी छ, ‘तर प्रजातान्त्रिक संविधान निलम्बन गरेर तानाशाही चलाइरहेको नालायक सरकारबाट राष्ट्रकवि घोषणा गरिए पनि घिमिरेको पात्रता सर्वथा त्यस पदका लागि उपयुक्त भएकाले जनस्तरबाट यसको विरोध भएन । त्यस मानेमा नालायक सरकारले लायक कविलाई राष्ट्रकवि घोषणा गरेको थियो ।’
कविहरुको पदवीको इतिहास खोतल्दा जंगबहादुर राणाको पालामा पुग्छन्, इतिहासकार महेशराज पन्त । त्यतिबेलाका चल्तापुर्जा विद्यानाथले आफ्नो नाम अगाडि ‘कवि शिरोमणि’ लेखे । उनलाई कसैले दिएको हो वा आफैँले प्रयोग गरेको भन्ने चाहिँ यकिन छैन । मोतीराम भट्टले पनि आफ्ना दौँतरी राजीवलोचन जोशीलाई ‘कवि शिरोमणि’ दिए । राजा त्रिभुवनले लेखनाथ पौड्याललाई ‘कवि शिरोमणि’ दिए भने नाति राजा ज्ञानेन्द्रले माधव घिमिरेलाई ‘राष्ट्रकवि’ । पन्तको प्रश्न छ, ‘कवि शिरोमणि चलनचल्तीमा हुँदाहुँदै राष्ट्रकवि किन दिनुपर्यो ?’
डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेसको साप्ताहिक बुलेटिनमा लेखिएको रोचक प्रसंग सुनाउँछन् पन्त । २००७ पछिको अन्तरिम सरकारमा मन्त्री भएका गणेशमान सिंहसित इतिहासकार बाबुराम आचार्यले एउटै थालमा भात खाएछन् । नेवारको छोरासित एउटै थालमा भात खाएपछि गणेशमानलाई के दिऊँ के दिऊँ भएछ । अनि राजा त्रिभुवनसित बिन्ती गरेर २००८ मा इतिहास शिरोमणि दिलाएछन् । ‘नेपालमा सम्मान पाउन पैसा पनि दिनुपर्छ, दोसल्ला पनि आफैँ बोकेर जानुपर्छ,’ उनी तीतो यथार्थ ओकल्छन् ।
विकिपिडियाका अनुसार राष्ट्रिय संस्कृतिको पहिचान, विश्वास र सिद्धान्तको प्रतिनिधित्व गर्ने नायकका रुपमा रहन्छ राष्ट्रकवि । सरकारद्वारा विधिवत् घोषित राष्ट्रकवि सर्वमान्य कवि हो । सच्चा राष्ट्रकविले आफ्ना रचनामार्फत जातीय भावना र इतिहास कलात्मक ढंगले अभिव्यक्त गर्छ ।
राष्ट्रकविलाई विश्वकवि समेत मानिएको छ । विश्वकविको पहिलो सर्त नै राष्ट्रकवि हुनु हो भन्ने मत पनि छ । जसले राष्ट्रभित्रको अन्तर्राष्ट्रिय तत्वलाई वाणी दिन्छ । भारतको सन्दर्भमा त जातीय र भाषिक समुदायको ऐतिहासिक व्यक्तित्व मानिएको छ । राष्ट्र भनेको सांस्कृतिक अवधारणा हो भने देश भनेको भौगोलिक अवधारणा र राज्य राजनीतिक अवधारणा ।
कुनै कुनै देशमा त एकभन्दा बढी राष्ट्रकवि हुँदा रहेछन् । राष्ट्रकवि, नेसनल पोयट, महाकवि (ग्रेट पोएट) र पोयट लरेट समानार्थी मानिएका छन् । ‘राष्ट्रकवि र पोयट लोरेट फरक कुरा हुन्,’ शंकर तिवारी थप्छन्, ‘राष्ट्रकवि पोयट लरेट हुने नै भए तर सबै पोयट लरेटले राष्ट्रकवि बन्ने सामर्थ्य राख्दैनन् ।’
भारतडिस्कभरीडटओआरजीका अनुसार भारतमा अहिलेसम्म आठ जनाले राष्ट्रकविको दर्जा पाएका छन् । सुब्रमण्य भारती, एम गोविन्दा पै, मैथिलीशरण गुप्त, रामधारी सिंह दिनकर, कुवेम्पु, कवि प्रदीप, हरिवंश राय वच्चन र जीएस शिवरुद्रप्पा ।
पहिलो राष्ट्रकवि सुव्रमण्य भारती तलिमभाषी हुन् । कन्नड कवि शिपरुद्रप्पा सन् २०१३ मा बितेपछि भारतमा कसैलाई राष्ट्रकवि घोषणा गरिएको छैन । कर्णाटक सरकारले उनलाई सन् २००६ मा राष्ट्रकवि पदवी दिएको थियो ।
अफगानिस्तानका राष्ट्रकवि हुन्, रुमी । बंगलादेशमा काजी नजरुल इस्लाम, चीनमा डुफु, लिबेइ, लु सुन ।
हुन त भारतमा बाल्मीकि, वेदव्यास, कालिदास, तलसीदास, रवीन्द्रनाथ टैगोर आदि पनि महाकवि मानिन्थे । अफगानिस्तानका राष्ट्रकवि हुन्, रुमी । बंगलादेशमा काजी नजरुल इस्लाम, चीनमा डुफु, लिबेइ, लु सुन । विकिपिडियाका अनुसार जापानमा मात्सुओ बासो, कोइजुमी याकुमो र मुरासाकी शिकिबु, लेबनानमा खलिल ज्रिबान, सइद अकल, बेलायतमा जेफ्री चौसर, विलि यम ब्लेक, विलियम सेक्सपियर विलियम वर्डस्वर्थ र कलरिज, अमेरिकामा वाल्ट ह्विटम्यान, इमिली डिकिन्सन, रोबर्ट फ्रस्ट, ल्याङ्स्टन ह्युज, माया एन्जेलु राष्ट्रकवि मानिएका छन् भने फ्रान्समा भिक्टर ह्यगो, चार्ल्स बोद्लेयर राष्ट्रकविका रुपमा सम्मानित छन् ।
प्रश्न स्वाभाविक छ, अब राष्ट्रकविको पदवी सधैँभरि माधव घिमिरेकै हुन्छ या नयाँ कवि नियुक्त हुन्छ ? नेपालमा त्यो हैसियतका प्रियतम कवि छन् कि छैनन् ? ‘राष्ट्रकवि शब्दको ठ्याक्कै अर्थ त म बुझ्दिनँ । तर यो उनलाई सुहाउँदो थियो,’ छन्दकवि भण्डारी भन्छन्, ‘दलाई लामाको जस्तो अथवा वडाध्यक्षको पदजस्तो यो विशेषण अरूमा सर्नु उपयुक्त छैन ।’
विश्लेषक तिवारी समाज जहिल्यै आइकनको खोजीमा रहने सुनाउँछन् । ‘बेलायतजस्तो देशमा पनि सेक्सपियरपछि राष्ट्रकवि आए । गणतन्त्रका लायक सरकारहरूले त्यो परम्परा कायम राख्न नालायक कविलाई राष्ट्रकवि घोषणा नगरुन्,’ उनी थप्छन्, ‘गणतान्त्रिक चेतनालाई वाणी दिएका हिसाबले बिसे नगर्चीको बयान लेख्ने श्रवण मुकारुङ राष्ट्रकवि हुन लायक सुयोग्य कवि हुन् । यस्ता अरु पनि नाममा बहस छलफल हुनुपर्छ ।’
घिमिरेबाहेक राष्ट्रकविको सम्मान अरु कसैले नपाउने पाका सम्पादक शर्माको विश्वास छ । ‘लेखनाथपछि कसैले कवि शिरोमणि पद पाएका छैनन्,’ शर्माको भन्छन्, ‘राष्ट्रकवि कुनै दरबन्दी भएको पदवी होइन, कसैलाई दिनुपर्छ भन्ने पनि छैन ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 








