
समालोचकडटकम एकाएक बन्द भयो केही महिना पहिले । साहित्यिक समालोचनासम्बन्धी त्यो एक्लो साइट बन्द भएको सुइँको कसैले पाएनन् । त्यो खबर कुनै कवि, लेखक, समालोचकलाई न हर्ष बन्यो, न बिस्मात !
२०७४ तिर त्यो वेबसाइट खोलेको थियो, सक्रिय साहित्यकर्मी महेश जोडीले । महेश पौडेल र महेश कार्की क्षितिजले साइट आफ्नै प्रचारका लागि मात्र त पक्कै खोलेका थिएनन्, समालोचनाको बेग्लै मञ्च बनाउने मिसन पनि थियो ।
समालोचनाको वेबसाइटले विज्ञापन नपाउनु त स्वाभाविकै भइहाल्यो, समालोचना समेत पाएन । ‘हामीले खोजेजस्तो उत्तरवर्ती सिद्धान्त र विषयवस्तुमाथिका गम्भीर लेख, विमर्श र बहस आएनन्,’ त्यसका सम्पादक पौड्याल भन्छन्, ‘समालोचना माग्यो, पुस्तक समीक्षा मात्रै बग्रेल्ती आउने । पुस्तक समीक्षा लेख्नेको संख्या बढिरहेको छ, समालोचना लेख्नेको संख्या दिनानुदिन घटिरहेको ।’
छापा र अनलाइन मिडियाको जबर्जस्त प्रभाव कस्तो छ भने धेरैजसोले समीक्षा नामको सूचनाले भरिएको सदिच्छा या सामाजिक सञ्जालको लाइक अनि ‘आहा,’ ‘अहो,’ ‘क्याबात्,’ ‘गजब,’ ‘बधाई,’ ‘शुभकामना’ आदि एकाध शब्दको कारोबारलाई नै समालोचनाका रुपमा बुझेका छन् । सामाजिक सञ्जालमा कविता, गीत, गजल, कथा उपन्यासको विज्ञापनबाजीमा कहिलेकाहीँ समालोचनाको ‘सरप्राइज’ दिने समेत कोही भेटिँदैन ।
यो सानो शब्दचित्र हो, नेपाली समालोचनाको । नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएका र नजोडिएका दुवै कित्ताका समालोचक छन् । तर ९० प्रतिशत समालोचक त विश्वविद्यालयका ‘सर, म्याडम’ नै हुन् । त्यो स्वाभाविक किन छ भने अध्येता, शोध गर्ने र गराउने उनीहरु नै हुन् ।
त्यसो त विश्वविद्यालयबाहिरका समालोचकमा कृष्णचन्द्रसिंह प्रधानदेखि पुरुषोत्तम सुवेदीसम्मले आफ्नो बलियो उपस्थिति नजनाएका पनि होइनन् । यसो भन्न सकिएला, समालोचना सुस्ताएको, मरेको वा थला परेको जे भनिए पनि विश्वविद्यालयका गुरुवरहरुकै कारण हो । भारतीय चिन्तक मुक्तिबोधले भनेजस्तै ‘युनिभर्सिटीका प्राध्यापक-डाक्टरहरूको जडता दर्शनीय र प्रदर्शनीय छन्’ नै ।

राजकुमार बानियाँ
‘हाम्रा अधिकांश समीक्षक बाँचेकाबारे भन्दा मरेकाबारे लेख्न बढी रुचाउँछन् । हेर्दा लाग्छ- उनीहरू मरेकाहरूको शोकगीत गाउने रजिस्टर्ड कम्पनीका कार्यकर्ता हुन् ।’ नारायण ढकालले आफ्नो निबन्ध संग्रह ‘शोकमग्न यात्री’ मा लेखेका थिए ।
त्यसको जवाफजस्तो कार्यपत्र लेखे, समालोचक नेत्र एटमले । ‘लेखकहरू अधीर छन्, त्यसैले उनीहरू आफ्नो कृतिलाई प्रशंसापरक ढंगले तुरुन्तै समालोचना भएको हेर्न चाहन्छन् । त्यसो नहुँदा समालोचनालाई मृत घोषित गर्नु वा समालोचक नै छैनन् भन्न उनीहरूलाई सहज छ । उपयुक्त प्रतिभा वा कृतिलाई भन्दा पनि आफैँ मात्र पुरस्कार, चर्चा र ग्ल्यामर हत्याउनका लागि गलत प्रक्रिया अपनाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’
हुन त ‘नयाँ स्रष्टा, नयाँ सृष्टि र नयाँ पुस्तकको समालोचना गरौँ’ भन्ने आवाज पनि नउठेका होइनन् । तर, त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग अझै पनि नाटकमा बालकृष्ण सम, कवितामा देवकोटा, उपन्यासमा बीपी र पारिजातको विद्यावारिधि शोध गराउनै निमग्न छ । उनीहरुले समालोचनालाई ‘खुसी पार्ने’ र ‘चाकरीको साधन’ पनि बनाएकै छन् । लेनदेनको लाभ वा व्यक्तिगत सान्निध्यका निम्ति प्रयोग गरेका छन् ।
समालोचना नामका अधिकांश लेखोट सप्रसंग व्याख्याजस्ता छन् । समालोचनाको क्षेत्र व्याख्या-विश्लेषण, शोध, मूल्य निरुपण र सैद्धान्तिकीकरण हुन् । तर समालोचना पादटिप्पणी र सन्दर्भ सामग्रीको सूची मिलाउनेजस्तो प्राविधिक रुपमा खुम्चिएको छ । स्रष्टाको स्थान र अर्थ सौन्दर्य निर्धारणका साथै साहित्यका तत्व र वादबाहेक अन्तरविषयक अध्ययन गरेका उत्तरवर्ती समालोचना दुर्लभ छन् ।
प्रायः विश्वविद्यालयीय समालोचना भतेर चखुवा शैलीको मात्रै छ, प्राज्ञिक गहिराइबिनाको । एकथरी समालोचना पाठकले बुझ्ने खालकै छैनन् । शब्दको गुजुल्टो मात्रै ।
दशकौँदेखिका शोधको नाममा ‘जीवनी, कृतित्व र व्यक्तित्व’ को प्रहसन जारी छ । कुनै जिल्लाको साहित्यिक इतिहास या कुनै विधागत इतिहास लेखेर एक हजार किताब बेच्ने प्रपोगान्डा गर्छन्, प्राध्यापक । प्रायःको ध्याउन्न बढुवामा जोडिने नम्बर हो । कतिपयले धनीमानी र ओहदावालका मूल्यहीन किताब (कृति होइन) माथि समालोचना नामका लेखोट छापेर पुरस्कार र विदेश भ्रमणको ‘नवउद्यम’ बनाएका छन् ।
‘अधिकांश प्राध्यापकको समालोचना भातसँग जोडिएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म पढाउने किन ? भात खान !’ अंग्रेजीका अध्यापक समेत रहेका समालोचक डा. राम्जी तिमिल्सिना भन्छन, ‘अनुसन्धानमा आधारित डिग्री लिने र शोधलेख प्रकाशन गर्ने किन ? नियुक्ति र बढुवा पाउन, पहिलेभन्दा अलि धेरै भात खान ।’
प्रायः विश्वविद्यालयीय समालोचना भतेर चखुवा शैलीको मात्रै छ, प्राज्ञिक गहिराइबिनाको । एकथरी समालोचना पाठकले बुझ्ने खालकै छैनन् । शब्दको गुजुल्टो मात्रै । फगत शोधविधिको प्रयोग हुन्छ तर कृतिकै बारेमा चाहिँ केही बोल्दैनन् । अप्रसंग इतिहास, दर्शन र राजनीति फलाक्छन् । राम्रोलाई राम्रो र कमजोरलाई कमजोर भन्ने साहस पनि गर्दैनन् । विद्यार्थीकेन्द्रित शोधको फर्म्याटमा लेखिएका कच्चा समालोचना त्यहीँभित्रै कुहेर सकिएका छन् ।
‘समालोचक बन्न नसक्ने शिक्षक विश्लेषक, विश्लेषक बन्न नसक्ने सर्वेक्षक, सर्वेक्षक बन्न नसक्ने गाइड लेखक, गाइड पनि लेख्न नसक्ने नोट लेखक भएका छन्,’ अध्येता युवक उप्रेतीको टिप्पणी छ, ‘स्थिति कतिसम्म हास्यास्पद छ भने गाइडलाई पनि शैक्षणिक समालोचनाको जामा दिइसकेका छन् ।’
कुनै बेला विश्वविद्यालयमै पढाएका निर्भीक समालोचक ऋषिराज बरालले ‘समालोचनाको नाममा युनिर्भसिटीको प्रमोसनमा नम्बर बढाउने खेस्रा’ लेखिएको आरोप लगाएका थिए । ‘समालोचकले राम्रो कृति लेख्नका लागि स्रष्टालाई पनि चुनौती दिन्छ । कृतिले समालोचकहरूलाई आकर्षित गर्न नसक्नु र समालोचकहरूले पनि कतिपय कृतिको सामना गर्न नसक्ने अवस्थाले साप्ताहिक र दैनिक पत्रिकाका टिप्पणीकार र गाइड लेखकहरू ‘चर्चित ‘समीक्षक’ बन्ने ‘तातो चर्चा’ का लागि समालोचकहरू वेबसाइटतिर बसाइँ सरेर हराउने खतरा हुन्छ ।’ (समकालीन साहित्य, पूर्णांक ९८)
नेपाली समालोचना वास्तवमा पूर्वीय समालोचना र पाश्चात्य समालोचनाको किचघानमा छ । न यताको हो, न उताको । ‘नेपाली समालोचना आफैँमा एउटा समस्याजस्तो पो भएको छ । कहिले संस्कृत साहित्य सिद्धान्तको नाममा कहिले पश्चिमी सिद्धान्तका नाममा, कहिले प्राध्यापनका सीमितता आदि विषयसँग जोडेर यो क्षेत्रको मौलिकताप्रति प्रश्न मात्र उठाइने गरिएको छ,’ समालोचक डा. गीता त्रिपाठी घुमाउरो शैलीमा भन्छिन्, ‘नेपाली समालोचनाको पृष्ठभूमि, नेपाली साहित्य र समाजको वस्तुस्थिति, यस क्षेत्रमा स्वतन्त्रतापूर्वक लाग्नेप्रतिको जिम्मेवारी जस्ता पक्षहरूप्रति चासो दिइएको पाइँदैन । त्यसैले लगानी र प्रतिफलको अर्थशास्त्रीय सिद्धान्त यस क्षेत्रमा पनि उत्तिकै महत्त्व राख्दछ ।’
निश्चय नै समालोचनाबापत बढुवा, पद, पुरस्कार र एकाध भ्रमणको लाभ छाड्ने हो भने यसमा प्राप्ति केही छैन । पत्रिकाले दिने पारिश्रमिक नाममात्रकै हुन्छ या निःशुल्क । गुणस्तरीय समालोचना प्रकाशन गर्ने भरपर्दो जर्नल, पत्रिका या अनलाइन छैनन् । समालोचनामात्र लेखेर जीविका पनि चल्दैन ।
मदन पुरस्कार पुस्तकालयको स्रोतलाई आधार मान्ने हो भने नेपाली भाषामा समालोचना विधाका करिब नौ सय पुस्तक प्रकाशित छन् । तिनमा समालोचनाका सिद्धान्त, सौन्दर्य, प्रवृत्ति, इतिहास तथा समालोचनायुक्त लेखका संकलन छन् ।
शताब्दीको समालोचना
मदन पुरस्कार पुस्तकालयको स्रोतलाई आधार मान्ने हो भने नेपाली भाषामा समालोचना विधाका करिब नौ सय पुस्तक प्रकाशित छन् । तिनमा समालोचनाका सिद्धान्त, सौन्दर्य, प्रवृत्ति, इतिहास तथा समालोचनायुक्त लेखका संकलन छन् ।
अध्येता दीपक अर्यालका अनुसार सामान्यतः पत्रपत्रिकामा आउने समीक्षा समालोचना मानिँदैनन् । तर, समालोचना शीर्षकमा सामान्य त्रुटिसमेत औँल्याएर त्यस्तो पहिलो लेख गोरखापत्रमा आएको रहेछ, विसं १९७३ असोज १० मा । ‘दुर्गा भक्ति तरंगिणी’ का लेखक केदारशमशेर थापा क्षेत्री भए पनि समीक्षकको नाम छैन ।
विसं १९५०-१९६० मा करिब ६७, १९६१-१९७० मा करिब ९५ तथा १९७१-१९८० मा करिब १ सय ४० नेपाली पुस्तक छापिएका बेला पनि पुस्तक समालोचनाको परम्पराको सुरुवात भएको यसले जनाउँछ । मोतीराम भट्टको ‘कवि भानुभक्त आचार्यको जीवन चरित्र’ नै नेपाली साहित्यमा समालोचना विधाको औपचारिक प्रारम्भ मानिएको छ ।
‘संख्याका आधारमा पनि समालोचना छँदै छैन त कसरी भन्ने ? समालोचना छन् तर एकदमै साधारण किसिमका,’ समालोचकसमेत रहेका प्राध्यापक कृष्ण गौतम भन्छन्, ‘यहाँ मेरो बारेमा लेखिदिए हुन्थ्यो भन्ने धेरै छन् । तिनले आफ्नो बारेमा लेखेमात्र पढ्छन् । समस्या के हो भने अन्तर्राष्ट्रिय सन्दर्भ दिएर लेख्यो भने त्यसलाई जाँच्ने मान्छे नै छैनन् ।’
समालोचना भनेकै अरुको बालीमा रजाइँकर्ताका रुपमा बुझ्ने पनि कम छैनन् । समयक्रम नमिले पनि यसबारे मोहनराज शर्मा र श्रवण मुकारुङको सवालजवाफ जस्तो छ ।
लेखक भर्सेज आलोचक
सिर्जना र समालोचना को अगाडि, को पछाडि ? कुन ठूलो, कुन सानो ? सर्जक र समालोचकबीचको बौद्धिक कुस्ती निकै पुरानो हो । साहित्यको श्रीवृद्धिका लागि यी दुवै विधा अगाडि या पछाडि मानिँदैनन्, ठूलो या साना पनि होइनन् । बरु सँगसँगै हिँड्छन् । साहित्य सिर्जनासँगै समालोचनाको बीजारोपण हुन्छ । कृतिको अर्थनिर्धारक लेखक होइन, पाठक हो भने त्यही पाठक नै समालोचक हो ।
लेखकहरुको छेडखानी त कतिसम्म छ भने समालोचकहरुलाई ‘परजीवी’ भन्न समेत पछि पर्दैनन् । समालोचना भनेकै अरुको बालीमा रजाइँकर्ताका रुपमा बुझ्ने पनि कम छैनन् । समयक्रम नमिले पनि यसबारे मोहनराज शर्मा र श्रवण मुकारुङको सवालजवाफ जस्तो छ ।
मुकारुङले २०७३ असार ५ मा ‘अन्नपूर्ण पोस्ट’ मा अन्तर्वार्ता दिएका छन्, ‘समालोचना गर्ने भनेको तत्विषयका प्राध्यापक-डाक्टरहरूले नै हो । तर, हाम्रा प्रा.डा.हरूको हामीमाथिको अध्ययन कमजोर भयो । बिहानदेखि दिनभरि ५–७ वटा कलेज धाउनुपर्यो । परिवार, दालचामलमै हाम्रा विद्वानहरू अल्झिनुपर्ने नियति छ । समय नै छैन बिचराहरूलाई । अनि, त्यही पुरानो नोटबुक झिक्यो, पढायो । जहाँ आधुनिक कवि लेखनाथ पौड्याल, समकालीन निबन्धकार लक्ष्मीप्रसाद देवकोटा लेखिएको हुन्छ ।
अलिक अपडेट प्राध्यापक रहेछन् भने समकालीन कवि भनेर आफ्ना विद्यार्थीहरूको, आफू संगठित भएको विचारसित मिल्ने कुनै कविको, श्रीमती या सालाहरूको नाम पनि थपेका हुन सक्छन् । विप्लव ढकालजीले त्यसै ‘प्रोफेसर शर्माको डायरी’ लेखेका हुन् र ? समालोचना पनि सिर्जनशील विधा हो तर यहाँ शास्त्रीय समालोचना हुन्छ, जो विद्यार्थीलाई पढाउनमात्र काम लाग्छ । वस्तुपरक समालोचना गर्न सक्ने केही बूढाहरू थिए तर तिनलाई पनि सुगर, दम, प्रेसर आदिले निष्क्रिय बनाइदियो । अभि सुवेदी, मोहनराज शर्मा आफैं कवि, कथाकार, नाटककार हुन दौडेका छन् । कसले गर्नु समालोचना ?’
श्रवणलाई घच्चीको जवाफ प्राध्यापक मोहनराज शर्माले १५ वर्ष पहिले ‘समकालीन साहित्य’ मै दिएका रहेछन्, ‘समालोचना भनेको त कुनै कृतिबारेको प्रतिक्रिया र विश्लेषण हो । सशक्त रचनाहरूको सिर्जनै भएको छैन । कृति भए न समालोचक हुने हो, कृति छैन भने केको समालोचना ? अहिले नेपाली–समालोचना सामान्यतः ठगीको कार्यजस्तै भएको छ । अधिकांश समालोचकको अध्ययन राम्रो छैन । एउटा प्रभावमा बगेर त्यो कुरो कृतिमा लागू हुने भए पनि, नहुने भए पनि आफूले जानेका कुरा छाँद्ने र उदाहरणस्वरुप त्यस कृतिका एकदुई उद्धहरण राखिदिने । साहित्यशास्त्र पढेर मात्र समालोचना हुँदैन, त्यसका लागि ज्ञानविज्ञानका अन्य विषय पनि पढ्नुपर्यो । मेराबारे लेखिदिएन, त्यसैले सम्पूर्ण नेपाली समालोचना नै शिथिल भयो भन्छन् तिनीहरू । अचेल लेखकहरू काम थोरै गर्छन्, दाबी धेरै गर्छन् । यही सानो उपलब्धिमा ठूलो दाबी गर्ने प्रवृत्तिले बिगारेको छ ।’
लेखकहरु जसरी झर्किने र तात्तिने गर्छन्, समालोचकहरु पनि त्यही गर्छन् । सबै आलोचकमा समदृष्टि मात्र हुन्छ भन्ने छैन, दोषदृष्टि पनि हुन सक्छ । आलोचकको बुटले कुल्चिएका कति स्रष्टा पनि होलान्, सर्जकको दम्भका सिकार भएका कति आलोचक होलान् । भनिन्छ, कुनै कटु आलोचनाबाट मर्माहत अंग्रेज कवि जोन किट्सको ज्यानै गयो ।
आलोचक दण्डाधिकारी होइन, ऊसँग लेखकलाई शूलीमा चढाउने अधिकार छैन, केवल (असल छ भने) प्रशंसाको माला लगाइदिन सक्छ ।
हिन्दीका सूर्यकान्त त्रिपाठी ‘निराला’ देखि अंग्रेज लेखक एज्रा पाउन्ड, जेम्स ज्वाइस, डीएच लरेन्ससम्मले आलोचकको सम्बन्धमा जनाएको कैफियतले आहत भएर समालोचक डा. वामदेव पहाडीले ‘गरिमा’ (२०४२) मा लेखेका रहेछन्, ‘आलोचकबाट निन्दा गरिन्छ, कृतिकारप्रतिको दुराग्रहको भावनाले होइन, अपितु कृतिको गुण-दोषका आधारमा । लेखकका अहंकारलाई, दम्भको गुरुतालाई, दोष औँल्याएर आलोचकले हलुका पारिदिन्छ । आलोचक दण्डाधिकारी होइन, ऊसँग लेखकलाई शूलीमा चढाउने अधिकार छैन, केवल (असल छ भने) प्रशंसाको माला लगाइदिन सक्छ । समीक्षामा आलोच्य वस्तु हुनु नितान्त जरुरी छ, त्यो छैन भने त्यसलाई आलोचनाको सट्टा वन्दना किन नपुकार्नु ? त्यसबाट के लेखकीय वरीयता सिद्ध हुन्छ ?’
वास्तविकता के हो भने अहिले नेपाली साहित्यमा समालोचनालाई पठनीय र सुस्वादु रचना बनाउने सामर्थ्य र फुर्सद भएका लेखक विरलै छन् । रामकृष्ण शर्मा न्यायाधीश थिए, लेखकहरुसित कुनै लिनुदिनु थिएन । त्यसैले आलोचनामा एउटा उचाइ थपिदिए । उनले उहिल्यै ‘टाक्सिएको नेपाली कविता’ लेखेका थिए, अहिले भए लेख्दा हुन्, ‘टाक्सिएको नेपाली समालोचना’ ।
भरखर कथा लेख्न थालेका पुष्करशमशेर, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली र बालकृष्ण समका कथाको मूल्यांकन गरिदिएका थिए, नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट ‘कथाकुसुम’ (१९९५) निकालेर सूर्यविक्रम ज्ञवालीले । हामीलाई त यसो सोच्ने फुर्सद पनि छैन, उनको नीरक्षीर नजर कस्तो हो ?
ईश्वर बरालकै कलम हो, मोहन कोइरालालाई कविदेखि उपकुलपतिसम्मको दर्जा दिलाउने । कृष्णचन्द्रसिंह प्रधानले समालोचनामै निबन्ध पढेजस्तो आनन्द दिए । यदुनाथ खनाल, इन्द्रबहादुर राई, केशवप्रसाद उपाध्याय, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, लक्खीदेवी सुन्दास, दयाराम श्रेष्ठहरुको उत्तराधिकारी कहाँ पाउनु ? यावत् गुणस्तरहीन किताबको क्षतिपूर्ति कसले गरिदिने ?
कतिपयका निम्ति समालोचना नै ‘बोझ’ भइदियो । लामो समय समालोचनामा बिताएका डा. गोविन्दराज भट्टराईले घोषणा गरे, ‘एउटा उर्वर लेखकका निम्ति समालोचना साँच्चै व्यर्थ कर्म हो । यो गर्नु भनेको अर्काको बाँझोबारी जोत्नु हो । मकै फल्छन्, बोट छोडेर घोगा भाँचेर उसैले लान्छ । तपाईं त सदाको ज्यालादारी मात्रै ।’ यो उनको व्यंग्य हो, आत्मस्वीकारोक्ति !
‘हाम्रोमा आफूले प्रशंसा नपाएर र अरुको प्रशंसा खप्न नसकेर अधिकांश लेखक समालोचकसँग रिसाउँछन्, अनि समालोचकहरू आफ्नो कामको प्रकृतिको पत्तो नपाएर मुर्मुरिँदै जिन्दगी बिताइदिन्छन्,’ समालोचक डा. राम्जी तिमिल्सिना भन्छन्, ‘दुवै पक्षले आआफ्नो काम चिन्ने हो भने यो समस्या त्यति धेरै आउँदैन ।’
सिद्धान्त र पद्धतिभन्दा बाहिर गएर समालोचना असम्भवप्रायः छ । तर कतिपय सिद्धान्त नेपाली साहित्यमा नवीन भए पनि विश्व साहित्यमा पुराना भइसकेका हुन्छन् ।
मार्क्सवादी भर्सेज गैर-मार्क्सवादी
पक्कै पनि समालोचना सिद्धान्त र पद्धतिमा आधारित हुन्छ । सिद्धान्त र पद्धतिभन्दा बाहिर गएर समालोचना असम्भवप्रायः छ । तर कतिपय सिद्धान्त नेपाली साहित्यमा नवीन भए पनि विश्व साहित्यमा पुराना भइसकेका हुन्छन् । आज नयाँ रहेको सिद्धान्त भोलि बासी हुन बेर लाग्दैन ।
मार्क्सवादीहरुले आफू र अरुलाई सजिलो कित्ताकाँट गरिदिएका छन्, मार्क्सवादी र गैर मार्क्सवादी । मार्क्सवादी दृष्टिकोणमा कला–साहित्य क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुका साथै राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नु हो भने गैरमार्क्सवादीका निम्ति कला कलाकै निम्ति हुन्, स्वान्त सुखाय हुन् । राजनीतिसित यिनको खासै तालुक छैन ।
साहित्यमा यथार्थ लेख्ने कि नैतिकता देखाउने ? कलाले जीवनको नक्कल गर्छ कि जीवनले कलाको नक्कल गर्छ भन्ने सनातनी विवाद छन् । ‘सिर्जना र समालोचनामा आफ्नो हैसियत बनाउन सकिदैन भन्ने ठम्याएपछि साहित्यको नाममा राजनीति गर्ने सिल्पटहरूको ठगीधन्दा हो यस्तो विभाजन,’ डा. तिमिल्सिना भन्छन्, ‘कला–साहित्यलाई हेर्ने कैयौँमध्येको फगत एउटा हो मार्क्सवादी दृष्टिकोण ।’
२००६ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै आएको मार्क्सवादी समालोचनाले वर्गीय समाजकै वकालत गर्छ । यसलाई पछ्याउने धेरै लेखकहरुका समालोचना पनि प्रकाशित छन् । मार्क्सवादी कमरेडहरु विभिन्न वामपन्थी पार्टीको झन्डामुनि ओत लाग्छन् । बहुलीय जनवाद या नौलो जनवादका नाममा एकअर्कालाई गलगाँड भनेर खुइल्याउन पछि पर्दैनन् ।
उत्तर आधुनिकताको आँधी
अहिले समालोचनाका लागि दसौँ विषय खुलेका छन्, नारीवाद, डायस्पोरा, पर्यावरण, विद्युतीय संस्कृति, लैंगिकता, सवाल्टर्न आदि । तर मार्क्सवादीले उत्तर आधुनिकतासित जति दुस्मनी अरुसित देखेनन् ।
हुन पनि एक दशकमा उत्तरआधुनिकताका मात्रै ६० कृति आए । विरोधी मोर्चाको नेतृत्व गरे, निनु चापागाईंले ‘उत्तरआधुनिकता र भ्रम’ लेखेर । मार्क्स, लेनिन, माओ आदिका विचार र वाद मास्न आएको बहुलवादी, पुँजीवादी, पश्चिमा, दलाली विचार नै उत्तरआधुनिकता हो भन्ने उनको निष्कर्ष थियो । भलै अहिले तिनै उत्तरआधुनिकता मजाले पढाइरहेका छन् कक्षाकोठामा । निनुको मुद्दा भने सायद अझै छिनोफानो भएको छैन ।
‘मार्क्सवाद जस्ताको तस्तै छ भन्नु फूर्ति मात्रै हो । मार्क्सवादी दसैँ मान्छन्, टीका लगाउँछन्, पर्वमा माला लगाउँछन्, मन्दिर घुम्छन्, उद्घाटन गर्छन्, मार्क्सवादीलाई पनि पैसा, घर, सुविधा, बाहन चाहिएकै छ,’ समालोचक कृष्ण गौतम भन्छन्, ‘मार्क्सवादीले कति दिन पुरानै रटान लगाउने ? नयाँ कुरा पनि लेख्नुपर्यो ।’
गीता भन्छिन्, ‘नेपाली नारीका ज्ञान, विवेक र क्षमता सापेक्षको घर–समाज बनेपछि मात्र यस विषयमा बोल्ने अधिकार राख्छु ।’
त्यसो त मार्क्सवादीले मात्र उत्तर आधुनिकताविरुद्ध मिसायल खोलेका होइनन् । प्राध्यापक माधवप्रसाद पोखरेलको लेख ‘समालोचनाको शल्यक्रिया’ (मधुपर्क, २०७६ भदौ) मा विलियम लोगनको विश्लेषण यसरी उद्धृत गएिको छ, ‘उत्तर आधुनिकताले निष्पक्षता र न्यायको ढ्वाङ फुक्छ, सहिष्णुता र उदारताको मुखुन्डो लगाउँछ, अरुको इज्जत गर्ने संकेतकहरुको आफूखुसी खेला मन पराउँछ, सापेक्षित मूल्यलाई महत्त्व दिँदै पुरुषलाई भन्दा महिलालाई, गोरालाई भन्दा कालालाई, धनीको साटो गरिबलाई, सामान्य (परलिंगी) को साटो समलिंगीलाई, उपनिवेशकलाई भन्दा आदिवासीलाई, व्यवस्था वादीलाई भन्दा विद्रोहीलाई उछाल्छ । त्यो समालोचनाले अटेरी, विलम्ब र निर्णयहीनतालाई पुरस्कृत गर्छ । तर समालोचनामा लेखकको बेवास्ताको बीउ त नवसमालोचनाले नै रोपेको हो ।’
लोगनले भनेजस्तै विश्वका लागि नयाँ नभए पनि यहाँ भरखरै फस्टाएको छ नारीवाद । नारी हस्ताक्षर पनि बढेका छन् । समालोचक डा. गीता त्रिपाठीको विचारमा जतिको उपस्थिति छ र जति गरेका छन्, त्यो न्यूनभन्दा पनि स्तुत्य छ ।
कस्तो छ नारी लेखन ? ‘यही प्रश्न पुरुष समालोचकलाई सोधियो भने उनले दिने उत्तर कस्तो हुन्छ होला ? उपस्थिति छैन या ती के लेख्छन् र भन्ने उत्तर पश्चगामी उत्तर हुनेछ,’ गीता भन्छिन्, ‘नेपाली नारीका ज्ञान, विवेक र क्षमता सापेक्षको घर–समाज बनेपछि मात्र यस विषयमा बोल्ने अधिकार राख्छु ।’
समालोचक अर्थात् सहृदयी पाठक
समालोचक भनेको साहित्यको सहृदयी पाठक हो । तिनका विश्लेषण कहिले सौन्दर्य हुन्छन् त कहिले दुर्घटना । रचनाको अर्थ निरुपण गर्दा कोही ‘निन्दक’ र कोही ‘पूजक’ को हुलियामा बदलिएका छन् । रामकृष्ण शर्मा र यदुनाथ खनालको ‘सूक्तिसिन्धु’ सम्बन्धी विवाद वा तारानाथ शर्माको सम तथा सिद्धिचरण श्रेष्ठबारे मूल्यांकनमा त्यस्तै केही हुन गयो ।
कतिपय समालोचना बुद्धिविलास पनि हुन गएका छन् । कतिपयले गहन विषयलाई सरल भाषामा बुझाउन सकेका छैनन् । कतिपयले ईश्वर बराल, इन्द्रबहादुर राई वा वासुदेव त्रिपाठीका समालोचनाको अनुवाद गर्नुपर्ने तर्क पनि गरेका छन् ।
नेपाली समालोचना पाँचथरी भाइरसको संक्रमणमा छ ।
समालोचना गर्नु मात्र होइन, बुझाउनु पनि मह्त्वपूर्ण हो । अहिलेलाई ‘छुच्चो’ भन्ने विशेषण नै समालोचक कमाइ हो । कमजोरी औँल्याइदिएकामा चित्त नदुखाउने लेखक एकाध मात्र हुन्छन् । ‘कति लेखक पुस्तक निकाल्ने बेलामा मलाई भोजमै बोलाउँला जस्तो गर्छन् । विभिन्न माध्यमबाट मेरो बोली फुटोस् भन्ने प्रयत्न गर्छन्,’ डा. तिमिल्सिना भन्छन्, ‘सार्वजनिक मञ्चमा अलिकति देखाइदिएको कमजोरीलाई टेकेर दुश्मनजस्तै पो गर्छन् ।’
उनका अनुसार नेपाली समालोचना पाँचथरी भाइरसको संक्रमणमा छ । एक- लेखकहरूलाई (सर्जक होइन) आफ्नो प्रशंसा र अरुको आलोचनामात्र पढ्ने इच्छा । दुई- समालोचक, पाठक र पत्रिकाका सम्पादकहरूको पुस्तक-समीक्षालाई नै समालोचना ठान्ने तहको अज्ञानता । तीन- प्रकाशकहरूको सिर्जनाको सट्टा मान्छेको नाम र पद बेच्ने व्यवसाय । चार- गम्भीर विमर्शको सट्टा फेसबुक पढेरै अघाउने पाठकहरूको बिगबिगी । पाँच- विश्वविद्यालयहरूमा गेसपेपरलाई नै ‘महान् ग्रन्थ’ मान्ने तहका प्राध्यापक र विद्यार्थीहरूको पर्याप्त भर्ती ।
‘एउटा कोरोनाभाइरसले त संसार यस्तो हल्लायो । अनि पाँच-पाँच वटा भाइरस लागेको नेपाली समालोचनाको हालत के होला ?’ डा. तिमिल्सिना भन्छन्, ‘भाइरस संक्रमण भएपछि इन्द्रियहरूले ठीक-बेठीक चालै पाउँदैनन् । भ्याक्सिन पत्ता लगाएपछि मात्र नेपाली समालोचना बौरिन्छ होला ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 








