संसारमा चित्रकलालाई सबैभन्दा बढी प्रभावित तुल्याउने मिथक, धर्मशास्त्रका कथा र शासक हुन् । मिथक कहिले धर्मशास्त्रभित्रका कथा नहुन पनि सक्छन्, तिनले चित्रकलामा ठाउँ पाउँछन् । यो कुरा प्राचीन युनानी र ग्रिसेली कथाका पात्रहरूका चित्रकला हेर्दा थाहा हुन्छ । शासकले त यसै पनि प्रभावित तुल्याउने भइहाले किनभने ती सबै कामकुरा शासककै प्रत्यक्ष निर्देशनमा भइरहेको हुन्छ ।

आजको शृंखलामा हामीलाई कुरा गर्न मन लागेको भने बाइकलको पुरानो करारमा रहेको एउटा मिथकीय कथालाई पारेको प्रभाव र त्यसबाट निश्रित सिर्जनाका बारेमा चर्चा गर्दैछौँ ।

डेभिड र गोलिथको कथाले धेरै सर्जकहरूलाई प्रभावित तुल्याएको छ । सन् १४३५ मा जन्मिएका एन्ड्रिया डेल भेरोकियो, जो लियोनार्दो दा भिन्सीका गुरू पनि थिए, ले बनाएको मूर्तिकला होस् या अहिले हामीले चर्चा गर्न लागेका कलाकार क्याराभाजियो हुन्, सबैले उम्दा सिर्जना गरेका छन् ।

बाइबलको कथाअनुसार रोमन साम्राज्यको सबैभन्दा खतरनाक सेनापति भनी चिनिएका गोलिथ छेउछाउका राज्य जित्दै अघि बढिरहेका थिए । उनको आँखा छेउको इजरायलमाथि परिरहेको थियो ।

एक दिन उनी सेनामेनासहित इजरायल प्रवेश गरे । त्यसबखतका राजा गोलिथको प्रवेशलगत्तै लुगलुग काम्न थाले । स्वाभाविक थियो, गोलिथको विशाल सेनासामु इजरायलको केही चल्ने छैन । ठूलो मात्रामा जनधनको क्षति हुने देखेपछि एक-एक जना नै भिडेरै देश कसको हातमा जाने भन्ने निर्क्यौल भयो । जब राजा आफ्नो मृत्यु हुने निश्चितका साथ युद्ध मैदानमा जान लाग्दै थिए, गोठालो डेभिडले सेनापति गोलिथसँग भिड्ने सन्देश पठायो ।

बाउआमाले डेभिडलाई रोके, राजाले पनि १६ वर्षे ठिटो त्यत्रो अनुभवी सेनापतिसँग भिडाउन उचित मानिरहेका थिएनन् तर डेभिडले लिट्टी कस्यो ।

जब एकै प्रहारमा झिरिप्प पार्छु भन्ने आशयका साथ गोलिथ तरवार निकालेर दौडदै आयो, डेभिडले आफूसँग भएको घुँयेत्रो निकाल्यो र ढुंगा हाल्यो । फिनिनी घुमाएर जब उसले निधारमा ताकेर हान्यो, गोलिथ खुत्रुक्कै पर्यो । त्यसपछि डेभिडले उसैको तरबार खोस्यो र टाउको गिँड्यो । सेनापति ठाउँका ठाउँ ढलेपछि र टाउकै छिनालिएपछि सारा सेनामा खैलाबैला मात्र होइन भागाभाग नै मच्चियो ।

यता विजयपछि आत्मविश्वासको मुस्कानका साथ डेभिड गोलिथको तरवार लिएर उभियो ।

सानो भनेर हेप्नु हुँदैन, कमजोर पनि कसैलाई ठान्नु हुँदैन । हरेक व्यक्तिको आफ्नै क्षमता हुन्छ भन्ने सन्देश यो मिथकले दिन्छ । यो कथाले हरेक संवेदनशील सर्जकलाई झक्झक्याइरहन्छ र पटक पटक त्यस कथालाई आधार बनाएर सर्जकले सिर्जना गरिरहन्छ ।

यही झक्झक्याहटमा दा भिन्सीका गुरू भेरोकियोले मूर्ति बनाए । यही झक्झकाहटमा क्याराभाजियोले बनाएको चित्र आज हामीले चर्चा गर्न खोजेको हो ।

त्यसो त त्यसअघि पनि यस कथामा अन्यले चित्र बनाएका थिए तर यसमा केही खास चिज छ, जसले यसलाई अमर चित्रकला बनाइदियो । जस्तो कि यसमा उज्यालो र अँध्यारोको प्रयोग गरिएको छ । यस किसिमको प्रयोगले नाट्यप्रभाव देखाउँछ । जसरी डेभिडको अनुहार उज्यालो छ, उसरी नै गोलिथको दायाँ पट्टिको अनुहार हल्का छायाँमा परेको देखिन्छ ।

यो चित्रको सबैभन्दा रोचक पक्ष चाहिँ गोलिथका रूपमा चित्रकार स्वयंले आफ्नो टाउको राखेका छन् । यो उनको अन्तिम चित्रकला मानिन्छ ।

 

को हुन् क्याराभाजियो ?

माइकलेन्जेलो मेरिसी दा काराभाजियोको जन्म सन् १५७१ मा भएको थियो । उत्तरी इटालिको मिलानमा जन्मिएका उनी १५९२ ताका रोम पुगेका थिए र उनी त्यतै स्थापित भए । उनका बेलामा चित्रकला वा मूर्तिकला बाइबलकै कथाहरूमा आधारित रही बनाइथ्यो । उनले चित्रमा वास्तविकतामा जोड दिएका थिए । कतिसम्म भने उनले डेभिडलाई यस चित्रमा वास्तविक देखियोस् भनेर किशोर अवस्थामा रहेका कयौँ इजरायली यात्रुहरूको संगत गरेका थिए । रोमन साम्राज्यका सेनापतिका रूपमा भने उनले आफैँलाई प्रस्तुत गरेका थिए । उनले बनाएका अन्य पेन्टिङमा पनि नाटकीयताको भाव प्रवल देखिन्छ ।

उनी रिसाहा प्रवृत्तिका मान्छे थिए । सन् १६०६ ताका उनले कुनै निहुँमा एक जना मान्छेसँग भिडन्त नै गरे । सो भिडन्तमा उनले ती व्यक्तिको हत्या गर्न पुगे । यसपछिका चार वर्ष उनी कानुनको पञ्जाबाट जोगिन लुक्दै हिँडे ।

 

यो चित्रमा के हेर्ने ?

खासमा यो चित्रमा हेर्नुपर्ने जम्माजम्मी दुई कुरा छन् । एउटा डेभिडको भावभंगिमा र अर्को चाहिँ गोलिथको अवस्था । डेभिडको अनुहारमा सारा प्रकाश खन्याइएको छ । एउटा भेडा गोठालोको अवस्था यहाँ प्रस्ट्याउन खोजेका छन् । उनको अनुहारमा जितको खुसियाली देखिँदैन । जबकि अन्य चित्रकारले जहिले पनि डेभिडको खुसी मज्जाले झल्काउने गरेका छन् । उनले जीतपछिको एक किसिमको खालीपनलाई यहाँ प्रस्ट्याएका छन् ।

यस्तै गोलिथको टाउकोबाट रगत झरिरहेको यहाँ देख्न सकिन्छ । खुला आँखा, झरिरहेको रगतजस्ता कुराले यो टाउको अझै जीवितै छ कि भन्ने प्रभाव पारिदिन्छ । पीडाले निधार खुम्चिएको, देब्रे आँखा दर्शकतिर हेरेर यसको पीडाको झल्को देखाउने प्रयास गरिएको छ ।

यसलाई पुनः हेरौँ न त !

David_with_the_Head_of_Goliath-Caravaggio_(1610).jpg (5922×7329) (wikimedia.org)