रेम्ब्रान्टको सेल्फ पोट्रेट संसारका अद्भूत चित्रकलामध्येमा पर्छ । रेम्ब्रान्टले जीवनमा सयौँ सेल्फ पोट्रेटहरु बनाए तर यसलाई उनका पोट्रेटहरुको मानकका रुपमा लिइन्छ । अघिल्ला पोट्रेटहरुमा उनले लगाएका महँगा कपडा, अनुहारमा देखिने उत्ताउलोपनाजस्ता कुराहरु यसमा छैनन् । बरु यसमा ६० को उमेर पुग्दै गर्दा आफ्नो कामप्रतिको गर्व, आफूप्रति विश्वास, गहनताजस्ता कुरा यहाँ प्रकट भएका छन् । उनका अघिल्ला चित्रकलाहरु आफूलाई छेउकिनारा बनाएर प्रस्तुत गरिएका भए पनि यसमा भने सिधासिधा मानिसहरुसँग अन्तरक्रिया गर्न तम्सिएका एक आत्मविश्वासी वृद्धका रुपमा देखिएका छन् ।

केही मानिसहरुले यसलाई रेम्ब्रान्टको अपूरो चित्रका रुपमा लिनेहरु पनि छन् । टाउकाको भागबाहेक अन्यत्र बुरुसको कमाल देखिनै बाँकी रहेको तिनको भनाइ छ ।

उनको कालमा सम्भवतः आफ्नो पोट्रेट बनाउने सीमित कलाकारमध्येमा उनी अग्रपंक्तिमा आउन सक्छन् । किनभने त्यतिबेला आम्दानीको स्रोत भनेको नै अरुका चित्र बनाइदिएबापत थियो तर उनले भने त्यसमा त्यत्ति धेरै जोडबल गरेनन् ।

को थिए त रेम्ब्रान्ट ?

रेम्ब्रान्ट नेदरल्यान्डको दोस्रो ठूलो शहर लेडन निवासी थिए । उनका बुवा धनी व्यापारी थिए । उनको एउटा कुटानी पिसानीको मिल पनि थियो । सानै उमेरदेखि उनले चित्रकलामा खुबी देखाएकाले उनका बुवाले उनलाई चित्रकलामा नै काम गर्ने छुट दिए ।
सन् १६३१ पछि भने उनी राजधानी आम्र्सडम बस्न थाले । त्यस अवधिमा उनले निकै चर्चित कृतिहरु सिर्जना गरेर आफ्नो ठाउँ बनाइछाडे । त्यसपछि उनले सन् १६४० को दशकसम्म मज्जाले नाम र दाम कमाए । त्यो बेला धनीमानीहरुको चित्र बनाउनु र कसैले त्यसका लागि पत्याउनु भनेको गुजाराका लागि निकै राम्रो मेलो थियो ।

सन् १६४२ ताका भने उनकी पत्नी सास्कियाको निधन भएपछि भने उनी भित्रैदेखि टुटे । त्यसपछि उनले अरुका पोट्रेट बनाउन चासो दिन छाडे । जसका कारण उनी आफ्नै चित्रकलामा जोड दिन थाले । यही कारण उनको आम्दानी पनि घट्न थाल्यो । एक समय त उनी झण्डैझण्डै कंगाल हुन पुगे । उनका छोरा हेन्ड्रिक र उनकी प्रेमिकाले कंगाल हुनबाट जोगाउनु प¥यो ।
उनले जीवनमा धार्मिक चित्रहरु नकोरेका होइनन् तर अहिले संसारले उनलाई चिन्ने भनेको उनको विशिष्ट शैलीको सेल्फ पोट्रेटका लागि नै हो ।

यो चित्रमा के हेर्ने ?
१. आँखाः
आँखा मानिसको सबैभन्दा पारदर्शी चिज मानिन्छ । उसका आँखाले अधिकांशतः मनको भित्री चाह खुलस्त पारिदिन्छ । त्यसैले पनि आँखालाई ‘आत्माको झ्याल’ भनिएको हुनसक्छ । रेम्ब्रान्टले उनको आँखामुनि गहन छायाँ र अँधेरो देखाएका छन् । आँखाका नानी त्यसैले ओझेलमा परेको छ । यसले उनको धीरता यहाँ देखिएको छ । कुनै पनि कुरामा अतिरिक्त चाह, चासो त्यहाँ देखिँदैन । जीवन यस्तै त हो भन्ने भाव त्यहाँ झल्किरहेको छ । जबकि उनका अन्य चित्रकलाहरुमा जे कुरा पनि बढीभन्दा बढी देखिनुपर्ने, प्रदर्शनकारी चरित्रका छन् । यसको अर्थ, उनले जीवनमा यतिञ्जेल जे भोगे, तिनलाई उनले गम्भीर भएर नियालिरहेका छन् वा तीप्रति उनी अनाशक्त छन् भन्ने बुझिन्छ ।

२. भुवादार कोटः
सन् १६५० को दशकमा उनी कंगालीका बेला उनका संकलन गर्ने सारा सोखहरु गायब हुन पुगे । उनले जम्मा गरेका संसारभरिका राम्रा कुराहरु बेच्नु प¥यो । राम्रा राम्रा कुराहरु लगाएर सेल्फ पोट्रेट गर्ने उनको सोख उनका अघिल्ला कृतिहरुमा निकै वाचाल रुपमा प्रस्तुत भएका छन् तर यहाँ भने उनको यो कोट अलि मैलो देखिएको छ । उनी ती लुगाप्रति अनाशक्तझैँ प्रस्तुत भएका छन् ।

३. ब्रुसहरुः
चित्रसँगै उनको हातमा बुरुस, पेलेटहरु र हातमा अड्याउने सामग्री पनि छ । रोचक कुरा त के छ भने चासो राख्नेहरुले यो सेल्फ पोट्रेटलाई स्क्यानिङ गरेर भित्र के छ भनी जाँचेका थिए । त्यसबाट उनको अर्को हातमा यो रङ र बुरुसहरु देखिएको थियो । शायद उनले ऐनामा हेर्दा जस्तो देखियो, त्यसलाई उतारेका हुँदा हुन् तर जब एक पटक यो चित्र पूरा भयो, त्यो हातबाट प्लेटहरु उठाएर अर्को हातमा सारे । यस मुनिको भागका लागि उनले अँधेरो भाग बढी छाडिदिएका छन् । उनको चासोमा त्यो भाग परेको छैन बरु उनले टाउकातिरको भागलाई बढी मिहिनेत गरेका छन् ।

४. भित्ताको वृत्त
उनी उभिएको भित्तामा दुई वटा वृत्त देखिन्छन् र त्यो वृत्त आधा अटाएका छन् । केहीले यी दुई वृत्तलाई नक्साको दुई वटा केन्द्र मानेका छन् । केहीले भने खाली भित्तो देखाउनु भन्दा दुई वटा वृत्त त्यहाँ राख्दा राम्रो देखिने आशयले रेम्ब्रान्टले सो वृत्त राखेको हुनसक्ने आँकलन गरेका छन् ।
खैर जे भए पनि यी दुई वृत्तले खाली भित्तोलाई एउटा आकर्षण भने दिएकोमा दुई मत छैन ।

४. श्वेत टोपी
टाउकामा केही न केही लगाउनुपर्ने त्यो बेलाको चलन थियो । जसरी हाम्रा नेपाली दाजुभाइका पुराना तस्बिरहरुमा टोपी अनिवार्य रुपमा देखिन्थ्यो । त्यो बेलाको नेदरल्यान्डका हुनेखाने परिवारले त टाउको छोप्न केही न केही लगाउँथे । यहाँ चित्रकारले पनि सेतो रङको टोपी लगाएका छन् । यो टोपी घर बस्दा लगाउने टोपी हो भनी केहीले बताएका छन् । उनले यो टोपीलाई ध्यान दिइयोस् भनी अलि बढी नै केन्द्रिकृत गरेका छन् । ताकि धेरैको ध्यान यसतर्फ केन्द्रित होस् ।

५. कपाल
उनको खैरो कपाल यहाँ देखिन्छ । उनको घुम्रिएको बाल यहाँ सुन्दर देखिएको छ । यहाँ नकोरिएको कपाल देखिएको छ जबकि उनका प्रायः चित्रहरुमा कपालहरु राम्रोसँग कोरेको र चिरिच्याट्ट परेको देखिन्छन् ।

६. नाक
रेम्ब्रान्टको ठूलो नाक यसको आकर्षण हो । अन्यत्र उनले आफ्नो नाकलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । तर यहाँ भने ढ्याब्रे नाक जस्ताको त्यस्तै रहोस् भनी छाडिदिएका छन् । यतिञ्जेलसम्म आइपुग्दा उनी जे छ त्यसमा सन्तुष्ट हुने क्षणमा पुगेको देखिन्छ ।