भर्खरै विवाहित जोडी जब मधुमास अवधि बिताइरहेका छन्, त्यो बेलाको रोमान्स र वातावरण उतार्नु कस्तो हुन्छ, त्यो उदाहरण मि. एन्ड मिसेज एन्ड्रयुज चित्रले बताउँछ । यस चित्रले त्यो बेलाको समृद्ध मानिसहरूको गाउँले जीवनलाई पनि चिहाउने प्रयास गरेको छ ।
मि. एन्ड्रयुजको सडबरी छेउको एउटा गाउँको बसाइ थियो । उनको त्यो फराकिलो कामतमा गर्वका साथ नवविवाहिता श्रीमतीछेउ उभिएर खिचाएको यो चित्रले त्यो बेलाको झल्को दिन्छ । पतिले गाउँले परिधान लगाएको भए पनि उसकी पत्नीले फ्रान्सेली नयाँ फेसन लगाएको देखिन्छ । यी महिलालाई शहरिया नयाँ परिधानका बारेमा जानकारी पक्कै हुनुपर्छ भन्ने सन्देश यहाँ देखिएको छ ।
गाउँको हरियाली र बालीनालीले सम्पन्न ठाउँ देखिन्छ ।
को हुन् थोमस गेन्सबोरो ?
१८ औँ शताब्दीका गिनेचुनेका राम्रा चित्रकारका रूपमा थोमस गेन्सबोरोले परिचय स्थापित गरेका छन् । उनको प्रकृतिप्रेमी प्रायः सबैजसो चित्रमा देख्न सकिन्छ । उनले पोट्रोट बनाउँदा पनि प्रकृतिलाई कहीँ न कहीँ स्थान दिने गरेकाले अहिले पनि यी चित्र जीवन्त लाग्छन् ।
सन् १७२७ मा सफोकको सडबरीमा जन्मिएका र त्यहीँ प्रारम्भिक शिक्षा लिएका उनी १३ वर्षको उमेरमा लन्डन पुगे । यहीँ उनले कलाका नयाँ पहलुहरू सिके ।
१७४८ मा उनी सफोक नै फर्किए । त्यहाँ करिब एक दशक बिताएपछि उनी बाथ भन्ने ठाउँमा केही वर्ष बिताए । सन् १७७४ मा उनी लन्डनलाई सधैँका लागि अपनाएर रहन थाले । उनी रोयल एकेडेमीको सदस्यका रूपमा समेत चुनिए ।
उनको निधन १७८८ मा भएको थियो ।
चित्रमा के हेर्ने ?
१. रोबर्ट एन्ड्रयुज
त्यो बेला रोबर्ट करिब २२ वर्षका थिए । भर्खरै फ्रान्सेस मेरीलाई बिहे गरेका थिए । भर्भराउँदो युवावस्थामा केही गर्व र केही जिम्मेवारीको गहनता अनुहारमा प्रकट भएको देखिन्छ । र, केही चाहिँ एउटा पुरूषत्वयुक्त अहं पनि देखिन्छ । उनले हातमा पुरूष अहं प्रकट गर्ने शिकारी बन्दुक पनि देखिन्छ । गोडालाई कैँचीपारामा उभिएका उनको एउटा हात गोजीमा राखेका छन् । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनको छेउमा पत्नी, तलपट्टि शिकारी कुकुर पनि देखिन्छ ।
२. फ्रान्सेस मेरी एन्ड्रयुज
त्यो बेला फ्रान्सेस मेरीको उमेर जम्मा १६ वर्षको थियो । ठूला आँखा, दुब्लो काया, लामो घाँटी, एउटा सुन्दरताको मानक बोकेकी फ्रान्सेस गुडियाजस्ती देखिन्छिन् । उनको बस्ने शैली र तरिकाले उनी पतिमा पूरै आश्रित देखिन्छिन् ।
३. चर्च
यी दुई पतिपत्नीको बीचमा माथि घना जंगलबाट चिहाइरहेको चर्चभवन देखिन्छ । सडबरीको यो चर्च अल सेन्ट्स भनी चिनिन्छ । यो जोडीको बिहे सोही चर्चमा सन् १७४८ को नोभेम्बर भएको थियो । यी साना साना कुराहरू पनि चित्रमा अभिव्यक्त हुनुले यो चित्र कहाँनेर कोरिएको भन्ने ठ्याक्कै पत्ता लगाउन सकिन्छ ।
४. खेतीको आधुनिक तरिका
क्यारी बनाएर खेती गर्ने चलन धेरै पुरानो होइन । जब बेलायत सम्पन्न हुँदै गयो, खानेमुख पनि बढ्दै गयो, खेतीपातीबाट आम्दानी पनि बढाउनुपर्ने बाध्यता बढ्दै जान थाल्यो । सामान्य तरिकाले भन्दा पनि क्यारी बनाएर खेती गर्दा तुलनात्मक बढी उत्पादन हुने पत्ता लगाइएपछि सोहीअनुरूप खेती गर्न थालियो । यो समय यस किसिमको खेतीको शैली भर्खरै बेलायतमा प्रचारप्रसार भएको थियो । यसले यो चित्र त्यति धेरै प्राचीन पनि होइन भन्ने जनाउँछ । त्यस्तै पर भेडाहरूको बथान पनि देखिन्छ ।
५. फ्रान्सेस मेरीको काख
यो चित्रमा फ्रान्सेस मेरीको काख खाली देखिन्छ र त्यहाँ चित्रकारले कुनै कुरा रंग्याएका छैनन् । उनले त्यहाँ काम गर्न बाँकी नै रहेको देखाउँछ । सिल्कको लुगा निकै खुलेको देखिन्छ यहाँ । एउटा भनाइ के पनि छ भने भर्खरै शिकार गरेर ल्याएको एउटा चरो फ्रान्सेस मेरीको काखमा राख्ने योजना थियो । तर मेरीले यस्तो महँगो पहिरनमाथि मरेको चरो राख्न मन गरिनन् । तर जब काख खाली देखियो, मानिसहरूले अनेकन अडकल लगाएर यस चित्रलाई झनै रोचक बनाइदिए ।
६. कुकुर
रोबर्टको छेउमा उभिएको कुकुरले रोबर्टतिर हेरिरहेको छ । यस्तो लाग्छ, मानौँ कुकुर अर्को आदेश कुरिरहेको छ ।
७. ओकको रूख
गेन्सबोरोले चित्रकलाको आधार यो बूढो ओकको रूखलाई बनाएका छन् । प्रायः चित्रकलामा यस्ता आधार केन्द्र निकै सुन्दर देखिन्छन् र यो एउटा शास्त्रीय तौरतरिका पनि हो । रूख बलिष्ठता र पुरातनताले एउटा बेग्लै कथा कहेजस्तो देखिन्छ ।
८. बादलहरू
माथि आकाशमा देखिएका सेता र खैरा बादलले यो चित्रमा एउटा बेग्लै कलर र टोन दिएको छ । मौसम बद्लिने छनक यी बादलहरूले दिएका छन् । अब पक्कै पानी पर्छ कि भन्ने पारिदिएका छन् । यस्तो मौसमले भविष्यमा केही अनहोनी होला कि भनी संकेत गरेको छ ।
यसलाई अझ गहिरिएर हेरौँ न त, हुन्न ?
Thomas_Gainsborough_-_Mr_and_Mrs_Andrews.jpg (7301×4231) (wikimedia.org)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

