यस पटकको अद्भूत चित्रकलामा पिएरो डेला फ्रान्सेस्काको ‘जिसस क्राइस्टको बप्तिस्मा’ शीर्षकको चित्रकला परेको छ । सन् १४५० मा निर्मित यो चित्रकलाको आकार १६७ बाई ११६ सेन्टिमिटरको छ ।

पिएरोको यो चित्रकला यसको जिवन्तताका लागि स्मरण गरिन्छ । उमेरको उत्तरार्द्धतिर उनले यो चित्रकला बनाएका थिए । उनका आँखा कमजोर हुँदै जाँदा पनि उनले जति मिहिन तरिकाले यो चित्र उतारेका छन्, त्यसलाई समीक्षकहरूले सराहना गरेका हुन् ।

त्यसो त उनको चित्रकलामा उनीअघिका महानतम कलाकारको छायाँ नपर्ने होइन तर उनले प्रकृतिसँगको आफ्नो सामीप्य जुनसुकै चित्रकलामा उत्तिकै प्रभावशाली छाप छाड्न भने बिर्सेका छैनन् । उनको खुबी भनेको रङको छनोट र प्रकाशलाई अभिव्यक्त गर्ने खुबी नै हो ।

को हुन् पिएरो

सन् १४१४ मा जन्मिएका पिएरो इटालीको पुनर्जागरणकालका प्रभावशाली चित्रकारमध्येका एक हुन् ।

उनी हालको इटालीस्थित सान्सिपोल्क्रोमा जन्मिएका थिए र जीवनको अधिकांश समय त्यहीँ बिताए । दक्षिणी फ्लोरेन्सको टाइबर उपत्यकामा उनको अधिकाश समय बित्यो । तर उनको खुबीको प्रचार हुँदै जाँदा फ्लोरेन्स र रोमले पनि कलाकारिताका लागि निम्त्याएका थिए ।

यत्तिका शताब्दीमा पिएरोका अधिकांश सिर्जनाहरू क्षतविक्षत हुन पुगेका छन् । तीमध्ये केही सीमितलाई भने पछिका संरक्षणकर्ताहरूले बहुतै महत्त्व दिएर तिनको संरक्षण गरेका छन् ।

उनको जीवनकालमा उनी निकै सम्मानित भए पनि मृत्युपछि भने उनका सिर्जनालाई उति संरक्षण गरिएको थिएन । १९औँ शताब्दीमा कलाका केही पारखीहरूले भने उनका सिर्जनालाई संरक्षण गर्ने अभियानै चलाइयो ।

एक समय जब फोटो खिच्ने चलन र त्यसको व्यापक प्रचारप्रसार र लोकप्रियता बढ्न थाल्यो, यस्ता कलाको मूल्य कम हुँदै जान थाल्यो । धेरैले पिएरोलाई बिर्सिएका पनि थिए । तर संरक्षण अभियानका कारण उनको यो सिर्जना भने अद्भूत कलाका रूपमा ठाउँ बनाउन सफल रह्यो ।

आखिर किन यो पेन्टिङ चर्चित ?
अघिल्ला पेन्टिङहरूमा मैले टिप्पणी गरेजस्तै त्यो बेला धार्मिक कथाहरूलाई आधार बनाएर पेन्टिङ गर्ने चलन व्यापक थियो ।

यस चित्रमा पनि जिसस क्राइस्टलाई क्रिस्चियनहरूको महत्त्वपूर्ण धार्मिक संस्कार बप्तिस्माका बारेमा देखाइएको छ । बप्तिस्मा भनेको ईश्वरको नाउँमा आफूलाई पवित्र बनाउनु हो । जुन बेला अभिभावकहरूले तिनका सन्तान ईश्वरप्रति समर्पित हुन उपयुक्त समय भयो भन्ने ठान्छन्, त्यसबेला यो धार्मिक संस्कार गरिन्छ । जसरी क्षेत्री-बाहुनहरूले उपनयन संस्कार अर्थात् जनै लगाउने धार्मिक विधि पूरा गरेजस्तै क्रिस्चियनहरूले पनि बप्तिस्मा लिने वा दिने गरिन्छ ।

यो चित्रमा जिसस क्राइस्टलाई कुनै दैवीय व्यक्तिका रूपमा अभिव्यक्त गरिएको छैन । यसअघिका पेन्टिङमा भने तपाईंले उनलाई दैवी व्यक्तिका रूपमा टाउकामा झल्झलाकार उज्यालो देख्न सक्नुहुन्छ । यहाँ जिसस एउटा सामान्य किसानका रूपमा बप्तिस्मा लिइरहेका छन् ।

छेउमा रातो लुगा लगाएका र बप्तिस्मा दिइरहेका व्यक्ति धार्मिक गुरू हुन् । उनलाई जोन द ब्याप्टिस्ट भनी चिनिन्छ । उनैले जिससलाई बप्तिस्मा दिइरहेका छन् ।

चित्रकलामा जिससलाई केन्द्रबिन्दु बनाइएको छ । उनका सम्पूर्ण अवयव स्पष्ट देख्न सकिन्छ । आँखा केही अर्द्धमुदित देखिन्छन् । गोडाका औँला, घुँडा, पाखुरा, पेट, नाइटोजस्ता कुराहरू सुस्पष्टसँग देखिन्छ । यसले उनी कति स्वस्थ व्यक्ति थिए भनी देखिन्छ ।

चित्रमा जिससको टाउकोको ठीकमाथि एउटा परेवा उडिरहेको देखिन्छ । परेवाले ईश्वरको आशीष र उनको उपस्थिति जनाउँछ ।

छेउमा तीन जना देवदूतको उपस्थिति पनि छ । यी देवदूतलाई अन्यत्र अलौकिक रूपमा प्रस्तुत गर्ने गरिन्छ तर पिएरेले भने यहाँ सामान्य मानिसहरूजस्तै प्रस्तुत गरेका छन् । गाउँलेहरूमा उत्सव मनाउँद देखिने जिज्ञासा यी देवदूतमा पनि देखिन्छ । यही जिज्ञासाले यिनको भावभंगिमालाई अन्य देवदूतभन्दा फरक बनाएको छ ।

अब फेरि नियालेर हेर्नुहोस्ः