कार्ल माक्सले धर्मलाई अफिम त्यसै भनेको होइनन् । धर्मले मानिसलाई दास बनाएको छ, नतमस्तक लठ्याएको छ । धर्मका रुप अनेक छन् तर सार भने मिल्दोजुल्दो रहेको छ । तमाम धर्मका सबल पक्ष हुँदाहुँदै पनि प्रायः मुलधारका धर्म, त्यसका अनुयायीले सहधर्मावलम्बी बीच विखण्डन, विभेद, वैमनस्यता उत्पन्न गरेका छन् । इस्लाम धर्मभित्र सिया र सुन्नी समुदायबीचको द्वन्द्व, हिन्दु धर्मभित्र वर्णव्यवस्थामा अधारित जात व्यवस्था, क्रिस्चियन धर्मभित्र क्याथोलिक र प्रोटेस्टेन्ट समुदायबीचको खटपट धार्मिक वैमनस्यताका बेमेलका उदाहरण हुन् ।

नशाको सुरमा मानिस जस्तोसुकै अपराध गर्न तयार हुन्छ । हत्या हिसां हुनुको प्रमुख कारणमध्ये नशा पनि एक हो । नशामा पनि धार्मिक नशाको रुप डरलाग्दो छ । मानिस मर्न र मार्न अघि सरेको विश्वभर घटेका घटनाले पुष्टि गरेको छ । जस्तै, जिहाँदको नाममा आत्मघाती विष्फोट, जातको आधारमा गरिने छुवाछूत, विभेदमा आधारित हत्या, रुवाण्डाको नरसंहार, जर्मन तनाशाहको हलोकास्ट इत्यादि । यी तमाम घटनाको मुख्य कारण भनेको धार्मिक नशा नै हो ।

घर्मप्रति संसारका आम मानिसको सबैभन्दा धेरै विश्वास, बुझाइ र आस्था रहेको छ । धर्म प्राप्तिको लागि मानिस जुनसुकै कार्य गर्न तम्तयार हुन्छ । दानदक्षिणा, तीर्थ यात्रा एक पाटो हो । धर्म प्राप्तिको लागि धर्मावलम्बी तीर्थ यात्रा अथवा धार्मिक स्थलमा पूजाआजाको निम्ति जान्छन् । जसको मुलसार धर्मको पालना गरेको ठान्नु हो । धर्मले देखाएको मार्गमा हिँडे झैँ गर्नु हो । आस्था र श्रद्धा गरे झैँ देखाउनु हो । धर्मको पालना गर्नु , दानदक्षिणा, तीर्थ यात्रा गर्नुको पछाडि एउटा प्रमुख कारण भनेको पाप पखाल्नु नै हुन्छ । भगवान वा आस्थाको केन्द्रबाट व्यक्तिले गरेका कुकर्म ढाकछोप होस् भन्नु नै हो। जुन विशुद्ध भ्रमसिवाय अरू केही होइन ।

मिम बहादुर परियार

आम मानिसको धर्मप्रतिको भाष्य पूजाआजामा सीमित छ । मानिसलाई के लाग्छ भने, देवीदेवताको पूजापाठ गर्नु मात्र धर्म हो । धर्म मन्दिरमा गएर घण्ट बजाउनु , चर्चामा गएर प्राथना गर्नु , मस्जिदमा गएर नमाज पढ्नु , गुम्बामा बसेर मन्त्र पढ्नु मात्र धर्म होइन । वास्तवमा उक्त भाष्यले मानिसमा धार्मिक भ्रम सृजना गरेको छ । धर्म पूजापाठ मात्र नभई अनुशासन, कर्तव्य र सत्कर्म पनि हो । धर्म दाइत्व र जिम्मेवारी पनि हो ।

प्रत्येक धर्मावलम्बीका पाप पखाल्ने आआफ्नै तौरतरिका छन् । कोही पुण्य प्राप्तिको लागि हज यात्रा, मक्का मदिना जान्छन् । कोही वेथलाम । हिन्दु समाजमा अझैसम्म पाप पखाल्न कासी गयाजी जानुपर्छ भन्ने मान्यता छ । कतिपय कुम्भमेला धाउने सुरसारमा हुन्छन् । कोही भने विभिन्न त्रिवेणी तथा कुण्डमा डुबुल्की मार्छन् ।

झट्ट सुन्दा पाप धार्मिक शब्द लाग्छ । तर पापको सम्बन्ध अपराधसँग गाँसिएको हुन्छ । सामान्यतः पाप अपराध हो । हिसां हो । कुकर्म हो । कानुनी समाजिक तथा मानवीय मूल्यमान्यता विरुद्ध हुने जुनसुकै कार्य पाप हो । अपराध हो ।

नेपाली समाजको संरचना, रीतिरिवाज हेर्ने हो भने, हामी सदियौँदेखि पापको अभ्यास गरिरहेका छौँ । पापलाई प्रोत्साहन र प्रवर्द्धन गरिरहेका छौँ । जात, धर्म, लिङ्ग, वर्ण, भूगोल र पेसाको आधारमा पापलाई सरलीकरण गरेका छौँ । हामी पापी हौँ । हाम्रो विभेदकारी मानसिकता, भाष्य र क्रियाकलापले त्यसको पुष्टि गर्छ । गर्भमा लिङ्ग जाँच गर्छौँ, छोरी देखिए भ्रुण हत्या गरिदिन्छौँ । सम्बन्ध गाँस्न जात हेर्छौँ, जात नमिलेको खण्डमा हत्या गर्न पनि पछि पर्दैनौँ । छाउपडी, दाइजोको नाममा यातना भोगेका छोरीचेली हाम्रै वरिपरि छन् । एक नजरले हेर्ने हो भने हामी पापको भण्डारमा हुर्किएका छौँ । समाजको कुनाकुनामा पापको पल्ला भारी छ । त्यसकारण हामी पापी हौँ ।

नेपाली समाजमा कतिपयलाई थाहा छ, कतिपयलाई थाहा छैन, सदियौँदेखि निश्चित जात र लिङ्गको आधारमा संरचनात्मक लाभांश भरपुर उपभोग गर्दैआएको जमात हाम्रै अगाडि छन् । जुन तथ्य धेरैलाई सम्झाउन गाह्रो छ । छोरा भएको भरमा पैतृक सम्पत्तिमाथि एकाधिकार दावी गर्छौँ । छोरीलाई दानको रुपमा स्थान दिएका छौँ । त्यस्तै धर्म, संस्कार र समाजले पनि पुलिङ्गलाई सर्वश्रेष्ठ ठानेका छ । ब्राह्मण वर्ण भएको कारणले पुस्तौँदेखि पुजारी पदलाभ उठाइरहेका छौँ । अर्कोतिर जात र वर्णका कारण दलित समुदाय आधुनिक युगमा पनि विभेद सहन बाध्य छ । पाइलापाइलामा जातीय विभेदको सामना गर्नुपरेको छ । बिडम्वना यी यावत् कुरालाई नेपाली समाजले समान्यरुपमा स्वीकार गरेको छ । र निरन्तरता दिन अग्रसर छ।

नेपाली समाजको रवैया, चरित्र हेर्ने हो भने हामी पाप (अपराध)जस्ता दुष्कर्मलाई प्रोत्साहन गर्दैछौँ भन्दा अनुचित हुँदैन । समाजमा घट्ने जातीय विभेदका घटना, छाउपडी प्रथा, दाइजो प्रथा, भ्रुणहत्या जस्ता अपराधिक कुसंस्कारी गतिविधिलाई टेवा पुर्‍याउँदै आएका छौँ । आवाज उठाउने ठाउँमा चुपचाप बसेका छौँ । जुन विशुद्ध पाप हो, अपराध हो । भलै नेपालको संविधानले जातीय विभेदकारी मानसिकतालाई निस्तेज पार्ने हकअधिकार तथा कानुन स्थापित गरेको छ ।

तर विडम्बना कानुनका पानामा समानताका धारामा उल्लेख भए अनुसार, विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरे अनुसार, हामीले पालनाभन्दा अपहेलना बढी गरेका छौँ । ती दस्तावेजको मजाक उडाएका छौँ । रजस्वला अर्थात् छाउ बार्नु पनि अपराध हो, कानुनको उलङ्घन हो । त्यस्तै जातीय कुप्रथा, विभेदको सवालमा धेरैले बुझ पचाएका छन् । बोल्नुपर्ने ठाउँमा तटस्थ बसेका छन् । मानवतावादी नीतिको अनुसारमा पनि जातीय विभेद अपराध हो । कानुनले पनि जुनसुकै स्तरको विभेदलाई दण्डनीय मानेको छ । तर नेपाली समाजमा एउटा वर्ण जातको आधारमा सदियौँदेखि अमानवीय गतिविधि झेल्दै आएको छ । अमानवीय गतिविधिमै कथित उपल्लो जात भनिएका खुसी छन्, अभ्यासरत छन् । यदि कसैले प्रतिवाद गरे, हामीले बनाएको नियम हो ? यो चलेको चलन भन्ने उत्तर धेरै ठाउँमा सुनिएको छ । यस्ता अभिव्यक्ति पाप (अपराध) हुन्। जसको जतिसुकै निन्दा गरे पनि कम हुन्छ ।

सामाजिक वहिष्करण र सामाजिक सांस्कृतिक स्वतन्त्रताको हनन् त सर्वविदित नै छ ।

हिन्दु धर्मको वर्णव्यवस्थामा आधारित जात व्यवस्थाले दलित समुदायमाथि करिब ३५०० वर्षदेखि पाप, अपराध, हिसां, कुकर्म र ज्यादती गरेको छ । एउटै धर्मावलम्बी बीच जातको आधारमा विभाजन र विखण्डन पैदा गरेको छ । एउटै रीतिरिवाज मान्ने समुदायबीच सांस्कृतिक र पारिवारिक सम्बन्ध स्थापित हुनबाट वन्चित छ । सामाजिक वहिष्करण र सामाजिक सांस्कृतिक स्वतन्त्रताको हनन् त सर्वविदित नै छ । यी तमाम सामाजिक, धार्मिक, सांस्कृतिक र विभेदकारी पाप कथित उपल्लो जात भनिएकाले कहिले पाखाल्ने ? कथित उच्च जातीय अहंकारी रवैया कहिले त्याग्ने ? काँशी जाने कि राँची ?

जातीय र लैङ्गिक सवालमा नेपालीले समाजले ठूलो पाप र अपराध गरेको छ । जसको उदाहरण हामी माझ प्रशस्त छन् । तेस्रो लिङ्गी समुदायलाई आजको मितिसम्म पनि समाजमा घुलमिल हुन ठूलो समस्या छ । पठनपाठन लगायतका अन्य आधारभूत कामको लागि विभिन्न चुनौतिको सामना गर्नुपरेको हुन्छ । रुपा चौधरी भन्छन्, “हामी तेस्रो लिङ्गी समुदायलाई समाजले हिन नजरले हेर्छ । देख्नेबित्तिकै मानिसको नजर अर्कै हुन्छ । आपत्तिजनक शब्द प्रयोग गर्न मानिसहरु हिच्किच्याउँदैनन् ।”

रुपा चौधरी प्रतिनिधि पात्र हुन् । हजारौं रुपाहरु डिप्रेसनबाट पिडित छन् । विद्यालयदेखि शौचालयसम्म, समाजको हरेक कुनाकुनामा समस्या छ । हामी एउटा व्यक्तिको प्राकृति भिन्नताको आधारमा उसको स्वतन्त्रताको अधिकार उपभोग गर्नबाट वन्चित गर्दैछौँ । यी समाजिक समस्याको मूल तत्त्व हामी आफैँ हौँ ।

जातको सवालमा नेपाली समाज चिराचिरामा विभाजित छ । मानव सभ्यताको सबैभन्दा घातक दानवीय कुसंस्कारी चरित्र बोकेको वर्णव्यवस्था अमानवीय तत्वले भरिएको छ । जन्मसिद्ध कसैलाई कथित उच्च जात दिएको छ भने कतिलाई कथित तल्लो जात थमाइदिएको छ । उच्च जातीय अहंकारमा हुर्केको कथित उच्च जातका मानिएकाले मानिसबीच विभेद र विभाजनको खाडल निर्माण गरिदिएको छ । एउटै धर्मावलम्बीभित्र जातको आधारमा स्वागत र बहिष्कारको नीति बनाइदिएको छ । सामाजिक सांस्कृतिक तहमा समुदायलाई निश्चित घेरा बनाइदिएको छ, मिल्ने नमिल्ने जातीय रेखा कोरिदिएको छ । फलतः एउटा निश्चित समुदायमा सधैँ सामन्ती हैकमवादी निश्लीय प्रवृत्ति देखिन्छ भने अर्को समुदाय जातको आधारमा समाजका धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, आर्थिक अधिकारबाट वञ्चित भएको छ । अपहेलित हुनुपरेको छ ।

नेपाली समाजले समाज विरोधी सामन्ती तानाशाही, जनविरोधी शासनसत्ता र प्रवृत्ति बोकेका राजनीतिक तथा समाजिक व्यवस्थाको अन्त्य विभिन्न कालखण्डमा जनसहभागितामार्फत् गरेको इतिहास छ । नेपाली जनताको सहभागीतामा ६२/६३ को जनआन्दोलनले दुई सय चालीस वर्षीय राजतन्त्रको अन्त्य गर्यो । त्यस्तै, २००७ को प्रजातान्त्रिक आन्दोलनले एक सय चार वर्षको क्रूर राणाकालीन शासनलाई वहिर्गमनको बाटो देखाएको थियो । पञ्चायती मण्डले व्यवस्था, सति प्रथा, कमैया प्रथा, देवकी प्रथा जस्ता राजनीतिक तथा समाजिक कुसंस्कारलाई जनताको बलिदानबाट अन्त्य भएको इतिहास हाम्रै अगाडि छ ।

समाजको प्रत्येक आवश्यकतालाई मनन् गरेर, जनमतको कदर गरेर जनहितकारी नयाँ प्रणालीको अभ्यास र स्थापना भएको तथ्यका साक्षी हामी आफैँ छौँ । तर बिडम्वना, राज्यको नजर वर्णव्यवस्थामा आधारित जात व्यवस्थामा कहिल्यै परेन । सदियौँदेखि वर्णव्यवस्थाले निर्माण गरेको कथित जात व्यवस्थाप्रति, त्यसले सृजना गरेको अमानवीय गतिविधिलाई राज्यले किन नजरअन्दाज गर्छ ? किन विभेदको वीभत्स अन्त्यमा तत्परता देखाउँदैन ?

मानिसहरू उक्त पापलाई, अपराधलाई सामान्यिकरण गर्दै, चलेको चलन भन्दै जातीय विभेदजस्तो पापलाई पचाउने काम गरिरहेका छन् ।

राज्यले समाजको हरेक आवश्यकतालाई नजरअन्दाज गर्न सक्दैन र मिल्दैन पनि । उसको दाइत्व भनेको समाजमा स्थापित कथित प्रकृतिका एकलवादी चरित्र आत्मसाथ गरेको कुसंस्कार, रीतिरिवाज र कुव्यवस्थालाई निस्तेज पारेर शान्ति, समाजिक मित्रता, भाइचारा कायम हुने व्यवस्थाको विकास गर्नु हो । पापलाई पाखा लगाउने र न्यायलाई आत्मसाथ गर्नु हो ।ताकि सबै समुदायका भाषाभाषी, धर्म संस्कारका मानिसले सम्मानपूर्वक तरिकाले जीवनयापन गर्नसकून्, सबैले आत्मसम्मानपूर्वक समाजमा हिँड्डुल गर्न पाउने वातावरण हुनुपर्छ । तर बिडम्वना, अमानवीय गतिविधिले भरिपूर्ण, छुवाछूतजस्तो जघन्य अपराधले समाजिक संरचना तहसनहस बनाएको छ । मानिसहरू उक्त पापलाई, अपराधलाई सामान्यिकरण गर्दै, चलेको चलन भन्दै जातीय विभेदजस्तो पापलाई पचाउने काम गरिरहेका छन् ।

दलितमाथि हुने अमानवीय गतिविधि हुँदा मौन बस्ने गैरदलित अपराधी हुन् । पापी र ढोँगी हुन् । दलितमाथिको ज्यादती विरुद्ध निकै सानो प्रगतिशील र बौद्विक हिस्सा सक्रिय देखिन्छ । पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि हुँदा सडक जाम गर्ने, टायर बाल्ने भविष्यका खम्बा दलितका मुद्दामा मौन बस्ने नीतिको जति निन्दा गरे पनि कम हुन्छ । विद्यार्थी नेतृत्व मात्र होइन, समग्रमा युवाशक्ति जातीय मुद्दामा चुपचाप रमिता हेर्छ । बालुवाटार घेर्ने अभियन्ता यसका ज्वलन्त उदाहरण हुन् । एक दुई वर्षमा निर्कोल हुने माहाव्याधीमा भ्रष्टाचार भयो, जनस्वास्थ्यका सामाग्री भएनन्, घोटला भयो भन्दै अनसन बस्ने युवाले करिब ३५ सय वर्षदेखिको जातीय माहामारी देख्दैनन् । जातको आधारमा कलिला युवाको सामूहिक हत्या हुन्छ, त्यो देख्दैनन् । छिमेकमा अन्तरजातीय विवाह हुन्छ, हौसला र प्रोत्साहन दिँदैनन् । जबकि समाजिक रुपान्तरणमा युवाको भूमिका अहम् हुन्छ ।

गैरदलित युवा जातीय विभेदका घटनामा मौन बस्नु दुखद् हो । यस्ता मौन प्रवृत्तिले पाप गर्न अग्रसर गराउँछ । समाजिक भाइचारा ध्वस्त हुन मद्दत गर्छ । समाजमा असभ्य रीति स्थापना हुन सहज हुन्छ ।

नेपालीमा उखान छ “पाप धुरीदेखि कराउँछ” । भन्नुको तात्पर्य अति भएपछि खति हुन्छ । त्यस्तै नेपाली समाजमा दलितमाथि हैकमवादी प्रवृत्ति र अत्याचारले धुरी देखिसकेको छ । जसको नतिजा ढिलोचाँडो समाजमा देखिनेछ । ‘सहनुको पनि सीमा हुन्छ’ भन्ने जमात दिनानुदिन बढ्दो छ । त्यसकारण अब सच्चिनुपर्छ, पाप (अपराध) त्याग्नुपर्छ । पहिलो र अन्तिम विकल्प पनि यही हो । समाजिक स्वतन्त्रताको लागि सबैले हातमा हात मिलाएर अगाडि बढ्नुको विकल्प छैन ।