मिम बहादुर परियार

म अक्सर जात बिर्सन्छु,
मलाई वास्ता हुँदैन,
आफ्नै काममा व्यस्त हुन्छु,
सबैलाई उस्तै देख्छु ।

दुई हात, दुई खुट्टा सबैका उस्तै,
रगत राताे त्यस्तै,
खाने मुख दुरुस्तै,
रुपरङ, चालचलन परम्परा उस्ताउस्तै देख्छु ।

बाबू के थरी साेध्छन् काकाले,
म झसङ्ग हुन्छु ,
एे बाबू त अर्कै थरी,
अलि पर है, चल्दैन हाम्रो वरिपरि ।

मन खिन्न हुन्छ,
तिम्रो खुसीमा टाम्काे ठटाएकै थिएँ,
तिम्रो शाेकमा मैँ अगाडि थिएँ,
तिम्रो शंख र मेरो सहनाई सँगै बजेकै थिए,
फेरि किन तिमी एक थरी र म अर्कै थरी?

मन्दिरकाे तिम्रो भगवान् बनाउने मै हुँ,
भान्साकाे अदान, शरीर ढाक्ने, लाज छाेप्ने,
तिम्रो कात्रो बनाउने मै हुँ,
यी सब चले, बस् म चलिनँ,
अझै तिमी एक थरी म अर्कै थरी कसरी?

बेलाबेलामा मेरो रगत चल्यो,
साथ, सीप र सास चल्यो
चेलीकाे जाेवन चल्यो,
मेरा घरभित्रकाे मीठाे, मसिनो चल्यो
तर तिम्रो घरमा पानी चलेन
खै कस्तो थरी, बाहिर चल्ने भित्र नचल्ने
कस्तो मनपरि?

मेरो थुक तिम्रो सिरकाे टाेपीमा टाँसिएको छ,
मैले सिलाएकाे जुत्ता तिम्रो पाउमा सजिएको छ,
तिम्रो खाने थालीमा मेरो पसिना चुहिएको छ,
अब के गर्छौ, पखाल्छौ कति?
पाइला-पाइलामा, समाजको कुना-कुनामा म चलेको छु,
अझै भन्छौ, म अर्कै थरी?

तिम्रो पाप, अपराध तिमीले भने जस्तै थरिथरिकाे छ,
मैले भाेगेकाे, सहेकाे हिंसा पनि थरिथरिकाे छ,
कति ठाउँमा मरारिएकाे छु, कुटिएकाे छु,
थरिथरिबाट, अझै भन्छाै
हामी एक थरी, तिमी अर्कै थरी।

हाे म अर्कै थरी,
मानव थरी, सबैलाई सम्मान गर्ने थरी
सुखदुःखमा साथ दिने थरी,
तिमी पर्यौ अर्कै विचित्रको थरी,
आफ्नालाई बिरानाे ठान्ने थरी
मनपरि गर्ने थरी, अझै मान्छौ म अर्कै थरी?

तिम्रो चेतना कुन थरिकाे हाे,
विचार कस्तो थरिकाे हाे,
मान्छेलाई नचिन्ने के थरि,
अझै घमण्ड गर्छौ म सर्वोच्च थरी?
याे कस्तो थरी हाे मान्छे नचिन्ने
अहम् गर्ने सधैंभरि !