काठमाडौंले कागको काँकाँ बुझ्दैन । भालेको डाको चिन्दैन, काठमाडौंलाई बिउँझाउन फिरन्ते व्यापारीको आवाजले जानेको छ, बुझेको छ । अनामनगर दिनभन्दा बिहान बढी जाग्गेको हुन्थ्यो । कागको काँकाँ भन्दा फिरन्ते व्यापारीको आवाज सहरियाको अलार्मजस्तै हुन्थ्यो ।

‘आयो हजूर,’ आवाजले कयौंका निद्रा भंग गरेको हुन्थ्यो । सहरका गल्ली गल्लीमा, तराईका फाँटबाट आएका , पहाडका डाँडाबाट झरेका फिरन्ते व्यापारी, ऊर्जा भरिएको आवाजमा आयो गलैँचा..गलैँचा ! आयो गोबी काउली टमाटर .. आयो भन्दै गल्ली गल्लीमा सामान बेचिरहेका देखिन्थे । ती आवाजमा विद्रोहको झिल्को झल्किन्थ्यो, आक्रोसको राँको देखिन्थ्यो, सपनाका बिम्ब भरिएका हुन्थ्यो । ती बुलन्द आवाज, त्यसै आएको होइन, त्यो गरिबीको विरुद्ध थिए, भोकका विरुद्ध मिठो मसिनो सपना बोकेका थिए । ती आवाज उनीहरूमा सीमित थिएन, त्यसभित्र परिवारको आवाज थियो । अभाव दबाब र प्रभाव पारको लक्ष्य थियो । ती आवाज निकम्मा सरकारको लागि थियो।

अनामनगरका गल्ली ती फिरन्ते व्यापारीका प्रिय थिए । सधैँ उही रुट, उस्तै सामान, उही ग्राहक । वास्तवमा अनामनगरका ती घुमाउरा गल्ली ठम्याउन त्यति सजिलो थिएन । जता गयो गल्ली र घरैघर, नयाँनयाँलाई ठम्याउन साह्रै गार्‍हो । तर ती पहाडका गोरेटा, तराईका फराकिला सडक छिचोलेका फिरन्ते व्यापारी सजिलै घुमेका हुन्थे । उनीहरूका पाइलाले सजिल्यै गल्ली पहिल्याउन जानेको थियो । सायद माटाले श्रम बुझेको थियो ।

ती तमाम फिरन्ते व्यापारीको हूलमा , एउटा आवाज मेरो कोठा छेउ हुँदै दिनहुँ गुन्जिथ्यो । आयो हजुर गोबी , काउली , फर्सी , टमाटर आयो …हजुर भन्दै, साइकलको घन्टी बजाउँदै ती फिरन्ते व्यापारी दिनहुँजसो म बस्ने गल्ली धाइरहेका हुन्थे । अफिस जाँदा पनि अनामनगरका गल्ली गल्लीमा उनी देखिन्थे । उहीँ उनको ट्रेडमार्क आयो हजुर … भनिरहेका हुन्थे । मानिसहरू उनको तरकारी किन्न झ्यालबाट कति हो भनी सोध्थे । कोही तरकारी छानिरहेका हुन्थे । कति मोल मालाइ गर्थे । उनी आउँदा साइकलको टोकरी भरि हुन्थ्यो । जाँदा रित्तो । म बस्ने घरकाले पनि सधैं उनैसँग तरकारी किन्थे । म पनि उनको ग्राहक थिए । अरुभन्दा सस्तो र सफा सागसब्जी उनको हुन्थ्यो । मान्छे पनि हँसिलो, सधैं बढी दिएकै हुन्थे । मानौँ, थप्ने उनको आदत थियो । सधैं तरकारी उनीसँग किने पनि उनको नाम थाहा थिएन । कोही भैया भन्थे, कोही भाइ त कसैले दाइ भन्थे ।

प्रायःजसो निलो रङ्गको पाइट , हरियो कालो मिसिएको चेक सर्ट लगाउँथे । मध्यम कद , पातलो शरीर र हसिलो मुहार , मिठो बोलिमा उनी अनमामनगरका गल्लीमा भेटिन्थे । एकदिन म अफिसबाट फर्किंदै थिए । पुतलीसडकमा ती फिरन्ते व्यापारी र मेरो जम्का भेट भयो । ओहो राजा कता हो, नि मैले सोधेँ । उनले यतै यसो घुमघाम, बरु चिया खाउन दाजुभाइ उनले आग्रह गरे । मैले नकार्न सकिनँ । त्यहीँ चिया पसलमा पहिलोपटक उनको नाम थाहा पाएको थिएँ। कुरैकुरामा नाम सोधेँ, उनले विजेन्द्र राम बताए । घर माडर, सिराहा रहेछ । तरकारी किनबेच पेसा गरेको १२ वर्ष भएको रहेछ । पुतलीसडकको चिया भेटमा त्यति परिचय भएको थियो । त्यसअघि उही तरकारी किन्ने काम मात्र हुन्थ्यो ।

सधैंझैं म बस्ने घर अगाडि आवाज सुनियो । आयो हजुर गोबी , आलु …. । गल्ली छेउको कोठा हुनाले बाहिर को आयो, गयो थाहा हुन्थ्यो । हेर्दा उनै विजेन्द्र थिए । पहिलाभन्दा अब अलि उनीसँग सामीप्य बढेको थियो । त्यस दिन मेरो बिदा थियो । उनलाई चिया पिउन आग्रह गरे । उनले दाइ अहिले नखाउँ तरकारी टन्नै छ, समयमै घरघरमा पुगिएन भने ग्राहक रिसाउँछन् भने । बरु फर्किंदा खाउँला नि भने । मैले पनि कर गरिनँ, हुन्छ भने ।

मासु भुट्दै थिएँ । ‘दाइ काहाँ हुनुहुन्छ ?’ कसैले बोलाएजस्तो मानेँ, पर्दा पन्छाएर हेर्दा विजेन्द्र थिए । मैले भित्र बोलाएँ । चिया होइन, अब दाजुभाइ मासुभात खाऊँ है भने । उनले पनि हुन्छ भने। दुवैले हात धोयौँ । मासुभात खायौं । खान खाइसकेपछि एकछिन आआफ्ना सुखदुःख सुनायौँ । करिब दुई घण्टाको बसाइपछि हुन्छ दाजु अब म जान्छु, बजार गएर भोलिको लागि तरकारी किन्नुछ भने । म पनि चोकतिर डुल्न गएँ ।

एकाएक विजेन्द्रको आवाज गल्लीमा सुनिन बन्द भयो । अनामनगरमा देखिन छोडे । एकदिन दुई दिन भन्दाभन्दै तीन हप्ता बितिसक्दा पनि उनी आएनन् । अलिक नमज्जा लाग्न थाल्यो मलाई । सधैं उसैसँग तरकारी किन्थेँ, सस्तो राम्रो दिन्थ्यो । फेरि मानिस मनकारी र मिलनसार पनि थियो । बेलाबेलामा मोबाइल नम्बरमा कल गर्थें । सधैं तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइल स्विचअफ गरिएको छ भन्ने जवाफ आउँथ्यो। विजेन्द्रसँगै उनको तरकारी, साइकलको घन्टी, चर्को आवाज, छायाँ, त्यो गल्लीमा आउन छोड्यो । बेलाबखत, आफैँले आफूलाई प्रश्न गर्थें । कहाँ गयो होला ? के गर्दैछ होला ? कतै उसको घरमा अप्रिय घटना त घटेन जस्ता कयौं प्रश्न मनमा खेल्थे ।

पुतलीसडकको पहिलो चिया गफमा खासै घनिष्ठ भएनौँ । नाम, ठेगाना, घरपरिवारमा को को छन्, बारे कुरा भयो । दोस्रो भेटमा भने सुखदुःखका कुरा गरेका थियौं । विजेन्द्रले ममा त्यस्तो के देखे, आफ्ना दुःखका कुरा बताएको थियो । उनको संयुक्त परिवार रहेछ । आमाबुबा , दुई दिदी र चार दाजुभाइ । बुबाआमा माडरमै खेतीपाती गर्थे ।

दिदीहरुको बिहे भइसकेको रहेछ । चार दाजुभाइमध्ये उनी कान्छा रहेछन् । उनका दाजुहरु जीविकोपार्जनको लागि भारतको पन्जाबमा सिजनअनुसार धान तथा अन्य अन्नपात काट्न, गोडमेल गर्न जाने रहेछन् । उसका दाजुहरुको बिहेवारी भैसकेको रहेछ । उसको मात्र बाँकी रहेछ । संयुक्त परिवारको भान्सा एक भए पनि उसका दाजुहरु श्रीमती, छोराछोरी सम्मका थिए । बूढा आमाबाको जिम्मेवारी उसकै काँधमा रहेछ ।

विजेन्द्रले तरकारी बेच्ने काम गाउँकै जोगीलाल यादवबाट सिकेका रहेछन् । एकदिन उनकी आमाले, माहिली बुहारीसँग सय रुपैयाँ माग्दा नदिएकी रहिछन् । त्यो कुरा उसले थाहा पाएछ । त्यसपछि ऊ भाउजूसँग बाझ्न गएछ । आमाले उल्टै विजेन्द्रलाई गाली गरिछन्. ‘किन झगडा गर्छस् ? तँ गएर कमा न । अनि देलास् नि ?’

आमाका ती शब्दले उसलाई छोएछ । भोलिपल्टै ऊ गाउँकै दाइसँग काठमाडौं भागेको रहेछ । त्यहींबाट उनले तरकारी बेच्न सुरु गरेको बताए ।

पाँच सन्तानमध्ये विजेन्द्र आमाका प्यारो रहेछ । सुखदुःख , हाँसो- आँसु सबै आमा रहिछन् । विजेन्द्रलाई जाडो मन नपर्ने रहेछ । मैले किन नि भनेर सोधेँ । उसको उत्तर थियो, ‘दाइ, जाडोमा आमालाई साह्रै गार्‍हो हुन्छ, दमको रोगी हुनुहुन्छ ।” उसो त जाडो दमका रोगीको दुश्मन नै हो । त्यसमाथि तराईको शीतलहर, कहिले हप्तौँसम्म घाम देखिँदैन । उस्तै परे मान्छेलाई सिध्याउँछ दाइ उनले थपे । हिउँद लाग्यो भने मेरो मनमा चिसो पस्छ दाइ । कुन दिन यस पापी हिउँदले आमालाई लग्ने हो भन्दै आँसु पुछेको थियो ।

मोबाइलको घण्टी बज्यो । नम्बर हेर्दा हाकिमको थियो । आज अफिस छिटो आउनु पर्यो, जरुरी काम छ भनेर फोन काट्यो । हतारहतार खाना खाए, अफिस गए । मेरो चेम्बरमा त्यस दिन पत्रिका थिएन ! घण्टी बजाए, बाहिरबाट सहयोगी भाइ आयो, सर, भन्यो, मैले भाइ पत्रिका छैन त भनेर प्रश्न गरे । उसले सर म लिएर आउँछु भनेर गयो । ल्यायो पनि ! सर्सर्ती पत्रिका हेरेँ, “तराईका दलित जागे” शीर्षक समाचारमा म रोकिए । कालो ब्यानरसहित मानिसहरु सिडियो कार्यलयमा धर्ना बसेको तस्बिर थियो ।

समाचार पढ्दै गर्दा एक युवाको तस्बिरमा आँखा रोकियो । उसको अनुहार विजेन्द्र रामको जस्तै थियो । मैले ठ्याक्कै ठम्याउन सकिनँ, क्याप्सनमा नाम उल्लेख गरेको थिएन । पुरा समाचार पढेँ तर नाम कतै देखिएन । उक्त आन्दोलन दलित समुदायको लागि छुट्टयाइएको बजेट गैरदलितले हिनामिना गरेको विरोधमा ती युवा धर्नामा बसेका रहेछन् । वर्षेनि करोडौंको बजेट , राज्यले दलित विद्यार्थीको छात्रवृत्तिको लागि छुट्याइएको हुन्छ तर रकम कहिल्यै पूर्ण रुपमा विद्यार्थीले पाएनन् । दलितमाथि जालेझेल, हुकुमी शैलीबाट बजेट हिनामिना भएको नयाँ घटना होइन । दलितमाथि सुकिलामुकिलाको रजाइँ आजको होइन । अर्कोतिर राज्य दलित समुदायप्रति निर्दयीजस्तै छ । कानुन कागजमा सीमित छ । मूलधारको समुदायले राज्यको लाचारीपनको भरपूर फाइदा लिएको छ र त दलित दिनदहाडै कुटिन्छन्, मारिन्छन् । राज्य र टाठाबाठा मिलाउन, एउटै समाजमा बस्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । सहनुपर्ने बाध्यात्मक अवस्था सृजना गर्ने समाज हाम्रै हो । तर दलितले विरोध विरलै गरेको पाइन्छ ।

कामको चापले त्यसदिन कोठा अलि ढिलो पुगेको थिए । खाना अफिसमा खाइवरी आएको थिए । डेरामा खाली सुत्ने काममात्र थियो, त्यस दिन । च्यानल चेन्ज गर्दै थिए । समाचारमा रिमोट रोकेँ । सिराहामा हिंसा भड्कियो, समाचारको शीर्षकले मनमा चिसो पस्यो । सिराहा सुन्नासाथ विजेन्द्र याद आउँथ्यो । बिहान पढेको समाचार र हेर्दै गरेको समाचारले मनमा विभिन्न आशंका उत्पन्न भयो । कतै त्यो तस्बिर विजेन्द्रको त थिएन ? मनमा प्रश्न खेल्न थाल्यो । स्वभावैले ऊ निडर थियो । बोल्न पछि नहट्ने, अन्याय नसहने । नत्र काठमाडौंमा कसरी टिक्ने सक्थ्यो र ! अनामनगरमा कयौंपटक, उनी अरुसँग मुखामुख गरेको देखेको थिए । हेपाइ, तुच्छ वचन ऊ कदापि सहदैन थियो । तरकारी व्यापारी भए पनि ऊ तागतवर थियो । वचन, शब्द वजनदार थिए । कयौंपटक उसले धेरैको बोली बन्द गरेको थियो । उसका शब्द बन्दुकको नालभन्दा कमका थिएनन् ।

बिहान पढेको समाचार र त्यो समाचार एउटै थियो। झन् चासोको साथ हेरेको थिएँ । समाचार हेर्दै गर्दा, स्क्रोलमा ब्रेकिङ समाचार आयो, सिराहामा प्रहरीसँगको मुठभेटमा सात प्रदर्शनकारी घाइते देखियो । दुई जनाको अवस्था गम्भीर लेखिएको थियो । घाइते विजेन्द्र राम र किसनलाल पासवानको उपचार सिटी अस्पतालमा हुँदै पनि एकछिनमा थपियो । अब म पक्का भएँ, बिहान समाचारमा प्रकाशित विजेन्द्रकै तस्बिर थियो ।

भगवानसँग मनमनै केही नहोस् भनी प्रार्थना गरेँ । उसका वृद्ध आमा बाबा आँखामा आए । केही भैदियो भने ती बुढाबुढीको अवस्था के होला ? जवान छोराको मलामी जाँदा ती बाआमाको मनमा के बित्ला ? कसरी वृद्ध बाबुले जवान छोराको दागबत्ती देला ! वास्तवमा विजेन्द्र एक , असल छोरामात्र नभइ योद्वा रहेछ । समाजसुधारक रहेछ , विद्रोही रहेछ । उसको विद्रोही भाव अनामनगरका गल्लीमा देखिन्थ्यो । सिराहा घटनाले ऊ को रहेछ, भन्ने कुरा आज सारा जनताले थाहा पाए । लाखौंलाख दलितले अभास गरे ।

अस्पतालको माध्यमबाट उसको स्वास्थ्य अवस्था बुझे । भगवान तैंले यो के गरिस् ? टाउकोमा गम्भीर चोटका कारण ऊ कोमामा गएको थियो । विजेन्द्र मात्र कोमामा थिएनन् । अब उसका बृद्वा आमाबाबाको अवस्थामा पनि कोमामै हुने भयो । लक्का जवान छोराको होस पर्खेर बसेका ती वृद्धको हृदयमा के बित्ला ? चिसो पुसमा उनीहरू अवस्था के होला ? भगवान् ….!

विजेन्द्रको अवस्थाले कोमामा रहेको समुदायलाई केही दिन जीवन दियो । भलै ऊ अस्पतालको शैयामा जीवन पर्खाइमा सुतेको थियो । तर उसको देनले हिजो पराजित भएको समुदाय आज जागेको थियो, जितेका थियो । कयौं बालबालिकाले सेवा पाउने भए । केही दिन दलितका मुद्दाले राज्यभर चर्चा पाउने भयो । केही दिन चर्काचर्की हुने भयो । सदन सडकमा बहस हुने भयो । केहीले नारा लगाउने छन् तर ती वृद्धा दम्पतिमा आशमा बस्ने छन् । केही दिन दलितले आवाज पाउनेछन्, साथ पाउने छन् । बिस्तारै दलितका मुद्दा कोमामा बस्नेछन् । फेरि असमानताका विरुद्ध लड्ने अर्को विजेन्द्रको पर्खाइमा दलित समुदाय बस्ने छ ।