बलिउडका लोकप्रिय अभिनेता गोविन्दाले पत्नी सुनीता आहुजासँग पारपाचुके गर्ने भएका छन् । केही महिनायता उनीहरुको दाम्पत्य जीवन सुखद् नरहेको चर्चा चलिरहेका बेला गोविन्दाले पारपाचुकेका लागि अदालतमा मुद्दा हालेको सार्वजनिक भएको छ ।

अर्को एक खबरअनुसार पारपाचुकेका लागि सुनीताले मुद्दा दर्ता गराएकी हुन् । उनले सन् २०२४ को डिसेम्बर ५ मा नै बान्द्रास्थित पारिवारिक अदालतमा पारपाचुकेका लागि निवेदन दिएकी थिइन् ।

सुनीताले हिन्दू म्यारिज एक्ट १९९५ को धारा १३ (१) अनुसार दायर गरिएको बताइएको छ ।

पारपाचुकेको मुख्य कारण गोविन्दाले गरेको व्यभिचार, क्रूरता र लामो समयसम्म गरेको अपमान रहेको बताइएको छ ।

अदालतले गोविन्दालाई यस विषयमा थप जानकारीका लागि हाजीर हुन आदेश दिएको भए पनि उनी हाजीर नभएको बताइएको छ । यसपछि गएको मे २०२५ मा उनीविरुद्ध कारण देखाऊ आदेश जारी गरिएको थियो ।

गएको जून महिनामा यो जोडीबीच सुलह गराउनेबारे छलफलसमेत भएको थियो । सुलहका बारेमा आफू चासो राख्ने भएकाले अदालत पुगे पनि गोविन्दा नपुग्ने गरेको आरोप लगाइएको बताइन्छ ।

केही वर्षयता दुवैले सम्बन्ध सामान्यीकरण गर्न थेरापी लिइरहेको स्रोतले बताएको छ ।

यसपछि भने अब उनीहरुबीच सुलह हुने सम्भावनाको अन्त्य भएको मानिदैछ ।