‘ए सिनेमा हेर्न हिँड्न,’ साथीहरूले निकै कचकच गरिरहेका थिए । हुन पनि हलमा सिनेमा हेर्न नगएको धैरै दिन भइसकेको थियो। एक मनले सोचेँ ‘गएर हेर्नुपर्ला’ अर्को मन फिल्मको ट्रेलर हेरेर वाक्क भएको थियो । ट्रेलर खासै राम्रो लागेको थिएन । फिल्म रिलिज हुनासाथ साथीहरू पहिलो दिन पहिलो शो हेर्न पुगे । सिनेमा यति चर्चामा आयो कि जताततै फिल्मकै कुराकानी चल्दै थियो । सामाजिक सञ्जालभरि फिल्मकै ससाना भाग देखिने, जसले पनि उही फिल्मको गुनगान गरेको भेटिने । आखिर किन यसरी हाइपमा आयो त यो सिनेमा ? म मनमनै सोच्दै त थिएँ तर फिल्म हेर्ने जाँगर भने चलेको थिएन ।

करिब एक हप्तापछि मेरी ठूलोबुवाको छोरी बिपाशाले फिल्म हेर्न जाऔँ भन्ने प्रस्ताव राख्दै भनिन्, ‘सबैले त हेरिसके, हामी मात्र कति रिलको टुक्रा हेरेर बस्नु ?’

फिल्मको हाइपले मलाई पनि गाँजिसकेको रहेछ । प्रस्ताव सुन्नेबित्तिकै मैले पनि सहमतिमा टाउको हल्लाएँ ।

एक हप्तापछि सिनेमा हल जाँदा पनि मान्छे भरिभराउ देखियो । बल्लतल्ल शनिबारको टिकट पायौँ, त्यो पनि बिहान सात बजेको । मनमा झनै उत्सुकता बढ्दै गयो, हैन यति बिहानै पनि हाउसफुल किन ?

फिल्म हेर्ने तरखर गर्दै हामी दिदीबहिनी तयार भएर बसेका थियौँ । शुक्रबार बेलुकी हाम्री फुपूकी छोरी रोशना पनि टुप्लुक्क आइपुगिन् । हामी फिल्म हेर्न जाने कुरा थाहा पाएर दिदीलाई पनि जान मन लाग्यो । ‘म पनि जान्छु है, हेर मलाई नभनेका कस्ता होलान् मेरा बहिनीहरू। सबैले यही फिल्मको कुरा गरिरहेका छन्, मेरोलागि पनि टिकेट काटिहाल।’

दिदीको कुरा सुनेर सानी बहिनी सुभांषालाई झन्डै पानी छम्किनु परेको । ऊ पनि फिल्म हेर्न जान खुट्टा उचाल्न पो थाली । अब टिकट पो पाइएला कि नपाइएला भन्ने पिरलो पर्न थाल्यो । स्क्रिनको नजिक अगाडिका सिट मात्र खाली थिए । अनि ठाउँ ठाउँमा सिङ्गल सिटहरू छरिएका थिए । धन्न हामीले लिइसकेको सीटको छेउमा पनि एउटा सीट खाली रहेछ । टिकट काट्न खोज्दा नै त्यहाँ एउटा सन्देश आइसकेको थियो, ‘सोह्र वर्ष माथिकाले मात्र हेर्न पाउने ।’
फिल्मलाई ए अर्थात, अडल्ट श्रेणी दिइएको रहेछ। देख्ने बित्तिकै सुभांषाका फिल्म हेर्न जाने रहरमा कुठाराघात भइहाल्यो। ‘सबै साथी हेर्न गाका छन्, म पनि जान्छु,’ ऊ जिद्दी गर्दै थिई। तर हामीले कुनै हालतमा पनि उसलाई लैजान मानेनौँ। रातिसम्म अब हामी तीन जना मात्रै फिल्म हेर्न जाने तरखरमा मक्ख परेर निदायौँ।

सबेरै ७ बजे हामी हल पुगिसकेका थियौँ । यत्रो चर्चामा रहेको फिल्म के केन होला भनेर हामी निकै प्रतिक्षारत थियौँ। फिल्म हल छिर्दा पक्कै आइडी चेक होला भन्ने हामीले सोचेका थियौँ। १६ वर्ष माथिकाले मात्र हेर्न पाउने भनिएको सो फिल्म हेर्नलाई आएका दर्शकहरूमध्ये धेरै जसोका अनुहारकामा बालापन अझ मुस्कुराइरहेको थियो। म तीनछक्क परेँ । कुनै जाँच बिना भर्खरका स्कुले बालबालिकालाई फिल्म हलभित्र छिराइएको थियो। कुनै भयबिना, ती बच्चाहरू हामीसँगै फिल्म हेर्न हलमा बसे।

फिल्म करिब साढे तीन घन्टाको थियो । सुरुमा त जसोतसो बलिउड सिनेमा हो, मसलेदार होला, गीतसित होला, कटी हाल्छ जस्तो लागेको थियो। फिल्म हेर्दै जाँदा ३ घन्टा काट्न पनि निकै हस्मेहम्मे पर्यो । सिनेमा अत्यन्त हिंसात्मक थियो। बारम्बार फिल्ममा मारकाटका दृष्यहरू सैलाब भएर उठेका थिए। कसैको आँखा फुटाएको दृश्य थियो, कसैले गोली हानेको । रगत छ्यालब्याल थियो । हातहतियारको पर्याप्त प्रयोग र फिल्मभरि हिंसाका कयौँ दृश्य । फिल्म‌को प्लट सुरु हुनासाथ यस्ता काटमारका दृश्य फिल्ममा आइसकेका थिए। हुन त म आफू क्राइम थ्रिलर विधाको फिल्महरू हेर्न खुबै रुचाउने मान्छे हुँ। तर यो फिल्ममा हिंसात्मक दृश्य अत्यधिक रुपमा बारम्बार देखाको देखाई गरिएको थियो, चाहे त्यो दृष्य र सन्दर्भ आवश्यक होस्, या नहोस्। यस्तो लागिरहेको थियो कि, यो फिल्ममा हिंसा हो कि हिंसामा फिल्म ?

संसारमा सबभन्दा बढी बिक्री हुने विधा भनेकै अपराध र यौन हो । यो फिल्मका निर्माताहरूले राम्रोसँग बुझेर फिल्म निर्माण गरेको पाइन्थ्यो । अनावश्यक रूपमा अश्लील संवाद राखेर दर्शकलाई उत्तेजित पार्ने ध्येय फिल्मको थियो। र फिल्मले चाहे जसरी कलिला बालबालिका जो दर्शकदीर्घामा थिए, कठपुत्लीझैँ फिल्मका दृश्यहरूसँग रमाइरहेका थिए।

फिल्मको अर्को मुख्य कमजोरी महिला पात्रको चित्रण रहेको थियो। महिलामाथि हुँदै आएको दमनशोषण निकै सटिक रुपमा फिल्ममा देखाइएको थियो। ‘कबिर सिंह’ जस्ता सिनेमा ‘टक्सिक म्यासकुलिनिटी’का कारण खुबै आलोचनामा आएको थियो। हामीले हेर्न गएको सिनेमाले पनि यस्कै बिँडो थामेको थियो । महिलाहरूलाई वस्तुको रूपमा देखाइएको थियो । महिलालाई होच्याएर बोल्ने, यातना दिने, चर्को स्वरमा बोल्ने । दक्षिण एसियाको घरघरको कहानी यस फिल्ममा देखाइएको छ । मानौँ महिलाहरू माथि पुरुषहरूले गरेको बर्बरता देखेर प्रायः युवाहरू जोडजोडले चिच्याउँदै ती क्रुर दृष्यहरूबाट पनि आनन्द र मज्जा लिइरहेका थिए । अझ चर्को स्वर त ससाना ठिटाहरूबाट आइरहेको थियो जो स्क्रीनमा देखाइएको यातना रमाई-रमाई स्वाद लिएर हेरिरहेका थिए। फिल्ममा ‘अल्फा मेल’को खुबै महिमा गाइएको छ। सायद यस्तै ‘अल्फा मेल’ आफू पनि बन्न पाए हुन्थ्यो भन्ने धेरैले सोचे होलान् । उदण्ड, हिंसात्मक र परपीडक प्रवृत्तिको ‘हिरो’ स्क्रीनमा देखाएपछि, आजका युवाले आफ्नो रोल मोडल त्यस्तै अमानुष प्रवृत्तिका पुरुषलाई बनाउन त होला नि युवा दर्शकको मनभरि ऊर्जाले उन्माद खेल्दै थियो।

फिल्ममा खलनायकको भूमिकामा एउटा मुस्लिम पात्रलाई उपस्थित गरिएको थियो । एन्टी मुस्लिम भावनाहरूसँग फिल्मले कसरी खेलेको छ भन्ने प्रस्ट थाहा हुन्थ्यो । अझ फिल्मको क्लाइम्याक्समा नै हिन्दु हिरोले मुस्लिम भिलेनको घाँटी रेटेर मारेको दृश्य सामेल गरिएको छ । यो फिल्मले कुन् हदसम्म हिन्दु राष्ट्र‌वादी, भावनाको प्रयोग गरेको प्रष्ट्र देखिन्छ। मुस्लिम पात्रलाई ‘स्टिरियोटाइप’ गरेर दर्शकको हिन्दुवादी, भावनाको फाइदा उठाउने भरपूर कोसिस यो फिल्मले गरेको पाइन्छ । मिडियाको विद्यार्थी भाएर हामीले फिल्म हेरेर आएपछि कक्षाकोठामा नै यो फिल्मको समीक्षा गर्यौँ। यो फिल्म विभत्स र प्रोपागान्डिस्ट त छँदैथियो । साथमा भरपूर रूपमा यसले महिलामाथि हिंसाको प्रचार गरेको पाइन्छ । कानुन व्यवस्थाको कुनै पर्वाह नगरी फिल्मका पात्रहरूले मारकाट गरेको देख्दा कुन हदसम्म यो सिनेमाले अवास्तविकताको मसला हालेर युवापिँढीलाई भ्रमित गरिरहेको छ भन्ने विषयमा बहस हुन आवश्यक छ ।

फिल्म सक्किँदासम्म टाउको नै रननन भइसकेको थियो । बारम्बार मस्तिष्कमा प्रश्नहरूले मार्चपास खेल्दै थिए, ‘आखिर जानवर नै हुन् त पुरुषहरू ? मेरो घरमा पनि त मेरा पिता पुरूष नै हुन् । मेरो साथी, गुरु, मामा, काका पनि त पुरुष नै हुन् नि ! म मेरा नजिकका आत्मियजनहरूमा जानवर देख्दिनँ तर पुरुषहरूको चरित्रलाई यसरी सिनेमामा नाङ्गेझार पारेर प्रस्तुत गर्दा पनि किन पुरुषहरू मौनप्रायः छन् ? कि आफैँभित्रको जनावरलाई हेरेर दङ्ग परेका हुन् ?’

यस्तो अवास्तविक अमानवीय र अनावश्यक फिल्म साँच्चै नै पाशविक छ । तर जतिसुकै अवास्तविक भाए पनि यस्ता सिनेमाले समाजमा कस्तो सन्देश देलान् भनेर म निकैबेर घोत्लिएँ। हल ससाना बालबालिकाले भरिएको थियो । यो फिल्मले हिंसाको सामान्यीकरण गरेको पाइन्छ। यस्तो फिल्मको छाप लिएर गएका युवाहरूले कस्तो किसिमले हिंसा बुझे भन्ने प्रश्न सबैसामु राख्न जरुरी छ। १६ वर्ष मुनिकाले हेर्न नपाउने भनेर केही कारणले त राखियो होला भनेर बुझ्न आवश्यक थियो।

जे हेर्यो त्यसको देखासिकी गर्ने हाम्रो समाजमा यस्ता फिल्मले युवावर्गलाई प्रतिगमनतर्फ ढकेल्छ । मेरो तात्पर्य हिंसात्मक सिनेमा नै नबनाउनु भन्ने होइन, तर उमेर अनुरुपको सामग्री उपभोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो। जथाभावी उमेर नै नहेरी हलभित्र बच्चाहरूलाई पनि अडल्ट श्रेणी पाएको फिल्म देखाउनु कति हदसम्म ठीक हो ?

मसलाको नाममा कुनै जात, धर्म, लिङ्‌गप्रति प्रहार गर्नु सामान्य मान्नै सकिन्नँ। यसरी समाजमा भेद‌भाव र घृणित मानसिकता फैलिदै जान्छ। सिनेमा अवश्य मनोरञ्जनको लागि हो तर मनोरञ्जन कुन लागतमा गर्ने भन्ने पक्ष पनि महत्त्वपूर्ण प्रश्न हो ।

फिल्म हेरेर निस्किँदा हामी हठात र निराश भएर फर्कियौँ। फिल्म चल्न त चल्यो कुनै वजनबिना, चलेछ भनेर हाम्रो कौतुहलता पनि मेटियो। भिडको पछि लागेर फिल्म हेर्न जाँदा हामी पनि भेडा नै ठहरियौँ। फिल्मका गीतहरू ठिक भने एक सय एक थिए । ३ घण्टा त्यस्कै भरमा बित्यो ।