द ब्रोकन न्युज नामक शृङ्खलाबाट वेबसिरिजमा पदार्पण गरिरहेकी एक समयकी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे तथा मिस इन्डिया पछिल्लो समय स्तन क्यान्सरका कारण चर्चामा थिइन् । उपचारपछि अचेल फिल्म तथा सिरिजमा सक्रिय हुन थालेकी छन् । उनको पहिलो चर्चित विज्ञापन निरमा डिटरजेन्ट पाउडर थियो, जसले उनलाई घरघरमा चर्चित बनाएको थियो ।
उनलाई इन्डिया टुडे म्यागेजिनले सोधेको थियोः
टिभीमा वासिङ पाउडर निरमा गीत बज्न थालेपछि सबैले चिन्न थाले । त्यसमा खेल्दै गर्दा तपाईं त्यति चर्चित होला जस्तो लागेको थियो ?
थिएन । त्यो बेला त म त्यति चर्चित अनुहार पनि थिइनँ । खासै चर्चित नभएका कारण पनि एउटा ठूलो साबुन कम्पनीले मलाई आफ्नो साबुनको विज्ञापनमा खेलाएन । नखेलाएर के भो त, अर्कै साबुनको विज्ञापनमा भए पनि खेलूँला भन्ने लाग्यो । त्यसपछि निरमा सरफ र साबुनको विज्ञापन पाएँ । त्यो पाउँली भनेर मैले कल्पना पनि गरेकी थिइनँ तर पाएँ । त्यसपछि त लगातार आठ वर्षसम्म त्यो विज्ञापन बजेको बज्यै गर्यो । मलाई घरघरमा पुर्याइदियो त्यो विज्ञापनले ।
फिल्ममा नायिकाहरूले एउटा उमेर पार गरिसकेपछि काम नै पाउँदैनन् । उता नायकहरू चाहिँ जतिसुकै बूढा भए पनि फरक पर्दैन । हिरोकै उमेरका हिरोइनहरूलाई त पछि आमा बनाएर खेलाइदिन्छन् नि ? कस्तो लाग्छ ।
यो वास्तवमा सत्य हो । जुन जुन नायकहरूसँग मैले काम गरेँ, उनीहरू अझै पनि नायकै भएर खेलिरहेका छन् । तर उमेर बढ्दै जाँदा रूचि पनि फरक हुँदै जाँदोरहेछ । अब अचेल हिरोइन भएर नाच्नुभन्दा पनि नयाँ नयाँ चुनौतीपूर्ण भूमिकामा खेलूँ भन्ने इच्छा हुन थालेको छ । रमाइलो त, अचेल ओटिटीका कारण नयाँ नयाँ अवसर पाउन थालिएको छ । वास्तवमा नयाँ अवसरका ढोकाहरू खुलेका छन्, अचेल ।
तपाईंका त फ्यानहरू धेरै छन् तर तपाईं चाहिँ कसको फ्यान हुनुहुन्छ त ?
कुनै एक जनाको नाम लिनु गाह्रो छ, मेरा लागि । बालापनमा म अमिताभ बच्चनको ठूलो फ्यान थिएँ, अहिले पनि उत्तिकै छु । उहाँसँग जब म मेजर साब भन्ने फिल्ममा काम गर्ने अवसर पाएँ, उहाँ अघिल्तिर हुनुहुँदा म लुगलुग कामिरहेकी थिएँ ।
तपाईंले भर्खरै द ब्रोकन न्युज शृंखला खेल्नुभयो । त्यसका बारेमा थोरै भनिदिनु न !
म आवाज भारती नामक च्यानलको प्रधान सम्पादक अमीना कुरेसीको भूमिकामा देखिन्छु । मेरो छवि यस्तो छ कि टेलिभिजनमा अहिले देखिएका कतिपय अनुहारहरू तपाईंलाई झल्को दिन सक्छ । यसको सबैभन्दा राम्रो कुरा चाहिँ, मैले मेरो उमेरअनुसारको भूमिका पाएकी छु । यो मेरा लागि एउटा सिकाइको यात्राजस्तो बन्न पुगेको छ । स्वयं अमीनाको यात्रा पनि कम रोमाञ्चक छैन । ऊ टेलिभिजनमा इन्टर्न, ट्रेनी रिपोर्टर र सम्वाददाता हुँदै यो उचाइमा पुगेकी छ । एउटी महिलाले त्यो उचाइ हासिल गर्नु कुनै सहज कुरा हुँदैन । यही कुरा भूमिकामा पनि प्रस्टिन्छ ।
तपाईंलाई त स्तन क्यान्सर पनि भयो । त्यसबाट बच्नु पनि भयो । क्यान्सरयुक्त जीवनबाट निस्कनका लागि के गर्नुभयो ?
म अझै पनि पूर्ण रूपमा निको भइसकेकी छैन । अझै म उपचारकै क्रममा छु । कुनै कुनै बेला त अति पीडा हुन्छ । कुनै दिन अलि कम । यो एउटा प्रक्रियाको कुरा रहेछ । योग, स्वस्थ भोजन र प्राणायामले मलाई निक्कै सहयोग गरेको छ । क्यान्सरभन्दा पनि भयानक चाहिँ यसको उपचारको क्रममा गरिने कीमोथेरापी रहेछ । तपाईंले कीमो चाँडो गराउनु भएन भने त्यो तुरून्त शरीरभरि फैलन्छ । त्यसैले त्यसमा तपाईं ज्यादै सतर्क भएर उपचार गराइहाल्नु पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।