सत्यका दुई रूप हुन्छन्, ‘सत्य’ र ‘ऋत’ । वैज्ञानिक र दार्शनिक ‘सत्यद्रष्ट’ हुन्छन्, तर कवि कलाकार ‘ऋतं पश्य’ हुन्छन् । सत्यमा सत्ता हुन्छ, ऋतमा चाहिँ गीत हुन्छ । आकाशको पक्षी उही पँखेटामा अडिन्छ र उही पँखेटाले उड्छ पनि । पृथ्वीको गति ‘सत्य’ हो भने आफैमा अलिकति झुकेर वृत्तमा अलिकति बांगिएर घुम्नु ‘ऋत’ हो । यही नृत्य हो, यही लीला हो, यसैबाट ऋतले रङ फेर्छन् र हृदयले नौला–नौला झल्का पाउँछ ।

पानीघट्ट घुम्छ, त्यसमा काठको चरोले मकैको पनि घान हाल्छ, घुनको पनि घान हाल्छ । तर, हाम्रो सधैँ घुमिरहने मुटुको ऋतको घट्टमा चेतको चरोले छुन्छ, मनले नचाहेको कुरो घानमा हाल्दैन । प्रकृति आफ्नो सन्तानलाई उही हातले हुर्काउँछे र उही हातले घाँटी पनि निमोठ्छे, ऊ वरदान पनि हो र श्राप पनि हो । अझ यी दुवै हैन, केवल नियम हो ।

अनि, एउटी आमा सन्तानलाई हुर्काउन मात्र जान्दछे, उसले भूलमा पनि सन्तानको अहित हुन दिन्न । मस्त निद्रामा पनि बालक रोएको सुन्छे, यहाँ ऋत नियम हैन, अनुभूति मात्र हो । बिराना देशमा तन्नेरी छोरो मारिन्छ, घरमा बूढी आमाको दूध चर्किन्छ, यहाँ अनुभूतिभन्दा पनि परको चेत छ ।

यौटा हृदयले अर्को हृदयलाई कहाँ–कहाँबाट बोलाउँछ र हरेर लान लागेकी उर्वशीको क्रन्दनले अनजानमै पुरुखालाई बोलाउँछ । हाम्रा सयौँ सुयोगमा मनमा संगतिले काम गर्छन् र हाम्रा कति दुर्घटनामा पनि हृदयका शिथिलताको हात हुन्छ ।

दुई दुई जोडे चार हुन्छ, यो नियम कहिल्यै बदलिँदैन । तर, दुई दुई आँखा जोडे चौसठ्ठी कलामय प्रस्तार हुन सक्छन् र शून्य पनि निस्कन सक्छ । विषको परिणाम मृत्यु हुन्छ । तर, अपकारको परिणाम प्रत्युपकार पनि हुनसक्छ । यहाँ कुनै एक निश्चित नियम छैन । तर पनि संसारका सारा व्यवहार यसैमा आधारित छन् ।

कुनै सत्य देखेर पनि भन्न हुन्न, भनेर पनि मान्न हुन्न । आफ्नो अपांग सन्तानलाई आमाले कुरूप देख्दा–देख्दै पनि सुरूपै ठान्दछे, अर्काले हेला गर्यो भने झन् सुन्दर देख्छे । नवबधुलाई पुरोहितले ‘सत्यं वद’ भनेर आशीर्वाद दिन्छ । तर, माइतको र घरको कति सत्य कहाँ कसरी भन्ने हो, यसको कला त्यो दुलहीले आफैँ सिक्छे र ऊ सत्यलाई पनि प्रिय बनाएर भन्छे ।

यही ‘सत्यं वद’को प्रिय सत्य साहित्यको सत्य हो । भोलि तुसाराले खाएर झर्ने फूल त हुन् नि भनेर आज हामी चुँड्न सक्तैनौँ, आखिर एक दिन सेलाएर जाने पृथ्वी त हो नि भनेर हामी चार चोसामा बम हानेर आजै भस्म पार्न सक्तैनौँ र नयाँ–नयाँ अविस्कारले आफ्नो सभ्यतालाई सिंगार्छौँ ।

‘सर्व दुःखं दुःखं’को तत्व देख्ने बुद्ध संसारका सारा दुःखलाई पिएर करूणामा बदल्छन् । हामी इन्द्रधनुषी आभाले एक–एक कणका अन्तरलाई आलोक भर्छौँ । हाम्रा प्रतीक्षाका दीर्घ दिवस र रजनी प्रियदर्शनका आशाको मधुरताले भरिएका हुन्छन् । शरद्को शुभ्र नील आकाशमनि ढकमक्क भएर फुलेको सयपत्री देख्ता हाम्रो हृदयमा यस्तै अर्को फूल फुल्दछ । हामीले कल्पना गरेका, हामीले स्वप्नमा देखेका, हामीले प्रत्यक्षमा देखेर पनि बिर्सन नसकेकालाई हामी आफूभित्र लिएर हिँड्छौँ र एक परिपूर्ण सौन्दर्य देख्नासाथ सब त्यसैमा छाया परेका देख्छौँ ।

यो वनपथको छायामा यौटी सुन्दरी बस्छिन् । यो बाटोबाट आउने यात्रीहरू कसैले तिनलाई गोरी देखे, कसैले साँवली देखे । तर, सबैले तिनलाई सधैँ नै अपूर्व सुन्दरी देखे । हाम्रो मनमा यस्तो यौटा मधुर पीर छ, जसको नाउँ हामी लिन सक्तैनौँ । तर, सारंगीमा त्यही पीर सरलतासाथ बजेको हामी बारम्बार सुनिरहन्छौँ । हामीले दुःख पाउँदा एकाएक अज्ञातको झ्याल खोलेर यौटा छाया रुन्छ । हामीले सुख पाउँदा रहस्यको अन्तःपुरमा यौटा छविका नूपुर बज्छन् । यो केही पनि हैन, हाम्रै मनको प्रतिच्छाया र प्रीतिध्वनि हो ।

भ्रान्ति र कल्पनामा पनि मर्म र मधुरिमाको अनुभव गर्छौँ । हामीले नश्वर जीवन पाएका छौँ । तर पनि हाम्रो मनमा अमरताको आभास हुन्छ । सम्पूर्ण विश्वसृष्टिको सार्थकता हामी यति सानो जीवनमा पाउँछौँ ।

भर्खर दुइटा दाँत उम्रेको सुकुमार शिशु, प्रीतिको मधुरताले गद्गद तरुनी पत्नी, स्वस्थ र सुन्दर, परिश्रमी र उन्नतीशील आफू—यस्तो परिवार स्वयंमा परिपूर्ण छ । मानूँ, यस्तै संयोग र यस्तै आनन्द सृष्टिको कुनै समयमा पनि थिएन—भरत, शकुन्तला र दुष्यन्त केवल कल्पना हुन् ।

यहाँ आफ्नो समयको शाश्वत स्वर्ग छ, यही बेला कुनैको मृत्यु भयो भने हामी स्वर्गमा पनि यही रूपमा भेट्न चाहन्छौँ । सकुशल यही परिवार बिस्तारै नजानिँदो तवरले आफैँमा रङ फेर्दै जान्छ र कालान्तरमा अर्कै रूपमा देखापर्छ । अब व्यवहारको भार आफ्नो काँधमा बोक्ने बुद्धिमान् छोरो छ, सुन्दरी शीलवती बुहारी छ, कुखुरीले चल्ला छोपेजस्तै नाति—नातिनालाई खेलाउने बूढीमाउ छ, संसारलाई स्थायी कलाकृति दिएर सम्मान र सन्तोषमा सानन्द सास फेरिरहेको आफू छ ।

परिवारको यस रूपमा पनि आफ्नै किसिमको पूर्णता छ । अब मृत्युले उसलाई केही गर्न सक्तैन, ऊ सुखैले आँखा चिम्लन सक्छ । हाम्रो सभ्यताको शैशव—अवस्थामा पनि आफ्नै घेराभित्र जीवनको पूर्णता थियो । आज पृथ्वीको कक्षलाई नाघेर ग्रह–तारामा फेरो मार्ने घेरामा पनि जीवनभित्रका रहस्यानुभूति उति नै मधुर छन् ।

पोखरीको पानीको भुँवरीजस्तै हामी प्रत्येक घेरामा पूर्ण हुन्छौँ, यही पूर्णताबाट फैलिँदै फेरि अर्को घेरा बनाउँछौँ । यहाँ अनन्त सम्भावना छन्, मुस्कानको एक भेदले अझ अर्को भेदलाई संकेत गरेजस्तै पलपलमा नौला परिणाम छन् । तर, अन्त्य छैन ।

हाम्रो माया र प्यार सीमित छ । तर, त्यसको सीमा छैन । यही ‘वृत्तम्भरा वृत्ति’ नै ‘ऋतम्भरा प्रज्ञा’ हो । यही नै साहित्यको सत्य हो ।

(राष्ट्रकविको ‘आफ्नो बाँसुरी आफ्नै गीत’बाट)