एउटा सहयोग कार्यक्रममा मुम्बई पुगेका हलिउडका प्रख्यात नायक रिचर्ड गेरले कार्यक्रमका बीचमा बलिउडकी अभिनेत्री शिल्पा सेट्टीलाई हातबाट शुरू गरेर गालासम्म चुम्बन गरेपछि सन् २००७ मा हंगामा भयो ।

कतिसम्म भने अभिनेता गेरको हर्कत आतिथेय मुलुककी एउटी युवतीमाथि यस्तो गर्नु बिल्कुल अनुचित मात्र होइन, अश्लील नै ठानियो । अखबारभरि यही दृश्य छाए ।

कतिपयले भने सार्वजनिक ठाउँमा चुम्बन गराएको भन्दै अभिनेत्री सेट्टीमाथि अदालतमा मुद्दा नै हाले ।

एड्स रोगको सचेतनाका लागि २००७ को मार्च महिनामा आयोजना गरिएको सहयोग कार्यक्रममा चुम्बन गर्न दिएको भन्दै एउटा हिन्दु समूहले सेटीमाथि मुद्दा हालियो । सँगैमा उनीहरूको चुम्बन दृश्य कैद भएको तस्बिर जलाउँदै यस्तो हर्कत सार्वजनिक थलोमा मान्य नभएको भन्दै केही युवाले गेरमाथि पक्राउ पुर्जी जारी गर्न भारतको उच्च अदालतमा मुद्दा दर्ता समेत गरे ।

अदालतले तत्काल सो दर्ता च्यातेर फ्याँकिदिएको थियो तर अश्लीलताको मुद्दा भने मुम्बई उच्च अदालतमा भने ज्यूँका त्यूँ थियो ।

अश्लीलताको मुद्दा आधारहीन भएको भन्दै अदालतले मुद्दा चल्न नसक्ने भन्दै हालै रद्द गरिदिएको छ ।

यो मुद्दाले हिन्दु अतिवादी युवा समूहले चुम्बनमाथि कसरी राजनीति गरेर सर्वसाधारणको ध्यान आकृष्ट गर्यो र क्रमशः भारतीय जनता पार्टीको प्रभाव बढाउन उपयोग गर्यो भन्ने एउटा उदाहरण बन्न पुगेको छ । अहिले बलिउड दुई भागमा विभक्त छ । पहिलो, भाजपाको कट्टर समर्थक र दोस्रो भाजपाको मौन विरोधी । दुवै अवस्थामा भाजपालाई फाइदा पुगेको छ ।