पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न सात वटा पुस्तक प्राप्त भएका छन् ।

=============

१. किताबको अँगालोमा –जयदेव गौतम


समीक्षक जयदेव गौतमको समीक्षासंग्रह हो ‘किताबको अँगालोमा’ । पुस्तकमा गौतमले समकालीन लेखकदेखि अग्रज लेखकका ४२ ओटा पुस्तकमाथि लेख्नुभएको समीक्षालाई समेट्नुभएको छ ।

”पुस्तकको संसार बेग्लै हुन्छ। हुन त आज भौतिक रूपमा पुस्तक पढ्ने प्रवृत्ति घटिरहेको देखिन्छ।” पुस्तकमा प्रमोद प्रधान लेख्नुहुन्छ, ”यथार्थतः आजका मानिस ‘डिजिटल’ संसारमा रमाउन थालेका छन्। डिजिटल संसारबाट मानिस फेरि पुस्तकमा फर्किन्छन् या फर्किंदैनन्, यसै भन्न सकिने स्थिति छैन। तथापि, डिजिटल संसारमा लामो समयसम्म अलमलिँदा हुने हानिबारे चिकित्सक र मनोचिकित्सकहरू, समाजशास्त्रीहरू र शिक्षाविद्हरू भने खुलेरै बोल्न थालेका छन्। तर अझै पनि कतिपय यस्ता मानिस पनि छन् जो पुस्तक पढ्नमै आनन्द मान्छन्, अनि पुस्तक पढ्दा आह्लादिन हुने गर्छन्। यस्तो आह्लाद कुनै पदयात्रीले पदयात्राबाट प्राप्त गर्ने आह्लाद जत्तिकै आनन्ददायक हुन्छ, यस्तो आह्लाद कुनै वैज्ञानिकले प्रयोगशालामा बसेर कुनै अनुसन्धान गरिरहे जत्तिकै विस्मयकारी हुन्छ अनि यस्तो आह्लाद कुनै सङ्गीत-साधकले कुनै नयाँ धुन तयार गरिसकेपछिको सुस्केरा जत्तिकै मनमुग्धकारी हुन्छ।”

त्यसैगरी पुस्तकमा लेखक गौतम लेख्नुहुन्छ, ”आखिर किताब भनेकै पो के हो र ? अनि किताबबाट हुन्छ के ? पाइन्छ के ? केवल कागजमा अक्षरहरूको एकलासको थुप्रो मात्र किताब हो त ? यसो होइन । किनभने किताबले पाठकलाई मनोरञ्जन त दिन्छन् नै, त्यससँगै शिक्षा पनि उत्ति दिन्छन्। किताबहरू कतै हाम्रा दमाली बनेका हुन्छन्, कतै दाजुभाइ वा दिदीबहिनी त कतै अभिभावक नै पनि। भनिएकै पनि त छ नि, ‘किताबहरूले हाम्रो आत्मासँग संवाद गर्न सक्छन्, गर्छन् पनि। र, किताबहरूले हामीलाई यो दुनियाँमा हामी एक्ला छैनौँ भन्ने पनि हेक्का दिइरहन्छन्। स्पष्ट छ, सबै किताबले त यसो गर्दैनन्, र, सबै किताब पढ्न पनि सकिँदैन। उसो भए आफूलाई काम लाग्ने किताबको छनोट कसरी गर्ने त ? सरल भाषामा भन्दा, त्यसका लागि यही पुस्तक-समीक्षा भरपर्दो साथी बनेको हुन्छ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । दुई सय ७४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय रुपियाँ रहेको छ ।

==================

२. सान्दाजु –सुभाष घिमिरे


लेखक सुभाष घिमिरेको उपन्यास हो ‘सान्दाजु’ । घिमिरेले बी.पी कोइरालाको जीवनकथामा आधारित रहेर सान्दाजु लेख्नुभएको हो ।

”मलाई यसअघि मृत्युको डरले कहिल्यै भयभीत बनाएन । आफ्‌नै लागि त म मृत्युसँग अहिले पनि डराएको छैन । तर अहिले मृत्युको सम्भावना नजिकै छ भन्ने आभास हुँदा म व्यग्र बनेको छु। शीलाले त्यो पीडालाई कसरी झेल्न सक्ली ? मलाई माया गर्ने मानिसहरू कति विवह्वल होलान् ? मेरा त्यति धेरै अपूरा कामहरू छन् । मेरो कल्पनामा धेरै कथा र उपन्यासका विषयवस्तुहरू छन् । एउटा उपन्यासको खेस्रा भर्खर सकेको छु । अब त्यसलाई साफी गर्नु छ । मेरा कैयौ राजनीतिक योजनाहरू छन् । मृत्यु आइहाल्यो भने त मेरा सबै सपनाहरू, कल्पनाहरू, योजनाहरूमा पूर्णविराम लाग्नेछ ।” – बीपी कोइराला

”बीपी कोइराला जस्तो महान व्यक्तित्वको कथा लेख्नु आफैमा ठूलो जिम्मेवारी थियो ।”, पुस्तकमा लेखक सुभाष घिमिरे लेख्नुहुन्छ, ”आख्यान नै भएपनि मैले सम्भव भएसम्म उहाँको जीवन र विचारलाई यथार्थ ढंगले प्रस्तुत गर्ने प्रयत्न गरेको छु। आशा छ, पाठकहरूले यो कृतिलाई केवल उपन्यासका रूपमा मात्र नभइ, नेपालको लोकतान्त्रिक इतिहास र बीपीको आदर्शलाई बुझ्ने सेतुका रूपमा पनि स्वीकार गर्नुहुनेछ । ‘सान्दाजु’ उपन्यास प्रकाशन हुनु मेरा लागि केवल एउटा साहित्यिक उपलब्धि मात्र होइन, मेरो जीवनका सपनाहरूको सार्थकता पनि हो । यस कृतिमा मैले हामी बाँचिरहेको समाज, हाम्रो संस्कृति र मानवीय अनुभूतिहरूलाई उतार्ने प्रयास गरेको छु । आज ‘सान्दाजु’ लाई पाठकको हातहातमा पुऱ्याउन पाउँदा हर्ष, गर्व र कृतज्ञताले मेरो मन भरिएको छ। यो उपन्यासमा पाठकहरूले आफ्नो जीवनको जस्तै पीडा, संघर्ष र आशाको झल्को देख्न सक्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यस पुस्तकमा मैले हाम्रो समाजका विविध पक्ष, मानवीय संवेदना र इतिहासको झल्को दिने प्रयास गरेको छु। ‘सान्दाजु’ लाई मैले केवल साहित्यिक सिर्जना मात्र नभएर जननायक बीपी कोइरालाप्रतिको मेरो अन्तरहृदयको श्रद्धा र हाम्रो इतिहासप्रतिको मेरो जिम्मेवारीको रूपमा लिएको छु।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । तीन सय १५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय ५० रुपियाँ रहेको छ ।

===================

३. ऐँजेरु –शुकदेव उपाध्याय

लेखक शुकदेव उपाध्यायको उपन्यास हो ‘ऐँजेरु’ । उपाध्यायले उपन्यासमा दूर्योधन नामक पात्रको माध्यमबाट समाजमा देखिने ऐँजेरु प्रवृत्तिलाई चित्रण गर्नुभएको छ ।

”उपन्यास मात्र हैन साहित्यको जुनसुकै विधाको कथ्य लेखकको छनौटमा जे पनि हुनसक्छ ।”, पुस्तकमा राजव लेख्नुहुन्छ, ”कथ्यले त्यसको स्तर र प्रभावशालीता निर्धारण गर्दैन । कथ्य सिर्फ लेखनको आधार हो। त्यो आधारको दृष्टिकोण र त्यसको निर्वहन कस्तो भएको छ भन्ने पर्गेलाइ नै महत्त्वपूर्ण हो । निर्वहनको स्वरुप र शिल्प सुन्दर, परिष्कृत र कलाको ओजले भरिएको छ भने त्यस्तो साहित्यिक कृति पढ्दा पाठक ध्यानस्त हुन्छन्, त्यसको प्रभावभित्र बाँधिन्छन्, रमाउँछन्, सम्वेदित, उद्वेलित हुन्छन् । पाठकलाई यसरी कृतिपाशमा राख्ने, आल्हादित, सम्वेदित बनाउने कोसिश गर्नु लेखनको पहिलो सर्त हो। ‘ऐंजेरु’ सार्वजनिक भएपछि पाठकहरूले यसको कदको निरूपण गर्नु नै हुनेछ। यस पूर्व यहाँ पाठकको पठन वाधित हुने कुरा राख्नु समचिन हुँदैन । पारिवारिक विघटन र विच्छिन्नता विश्वका सबै भाषाका उपन्यास लेखनको सार्वकालिक विषय हो। यस विषयमा निरन्तर लेखिरहिएको छ । नेपाली साहित्यमा पनि पारिवारिक विघटन विषयक उपन्यासहरू लेखिएका छन् । तर अपेक्षित संख्या र स्तरमा छैनन् । त्यस्ता केही उपन्यास अद्यापि चर्चामा छन् । पढिरहिएका छन् । ती शास्वत मानिएका छन् । यसको मूल कारण तिनका स्रष्टाका निर्वहन र दृष्टिकोण नै हो ।”

त्यसैगरी, प्रकाशकियमा लेखिएको छ,  ”प्रस्तुत पुस्तक ‘ऐंजेरु’ कृतिका हिसाबले शुकदेव उपाध्यायको दोस्रो उपन्यास हो। उहाँको भाषामा भन्नुपर्दा ”यो उपन्यास विगतदेखि वर्तमानसम्मको हाम्रो समाजको ऐना हो, एकादेशको कुनै कालखण्ड झल्काउने दास्तान पनि हो।” यस उपन्यासले कथानकमा वर्णित निरौला परिवारको पीडामात्र बोलेको छैन अपितु दुर्योधनजस्ता ऐंजेरु पात्रको दुष्टता र बेइमानीले क्रूरताको पराकाष्ठालाई नाघेको समेत दर्शाएको छ। घरपरिवारका मूली नेत्रप्रसाद निरौला र महर्षि निरौलालगायतका अन्य सदस्यहरू र खासगरी सबैभन्दा पीडित विदुर निरौलाजस्ता पात्रको मनोदशाको चित्रण उपन्यासमा छ ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको छ । एक सय ४२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।

=======================

४. सुदामा –विष्णु एस राई


लेखक विष्णु एस राईको खण्डकाव्य हो, ‘सुदामा’ । राईले नेपाली काव्य–कविता परम्परामा सुदामा मार्फत नवीन वास्तुशिल्पको प्रयोग गर्नुभएको छ ।

”सुदामा एक प्राचीन वास्तुशिल्पका ढाँचामा कतिपय तिनै सामग्री प्रयोग गरी नयाँ समयमा निर्मित एक सुन्दर कला हो ।”, पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”यो पुनर्निर्मित, जीर्णोद्धारित भए पनि सुदामा पात्रको गरिबी, अभाव र दारिद्रयको भने धेरै विनिर्माण हुन सकेन, धेरै उच्छेदन भएन यद्यपि पुराणको सुदामामा भन्दा फरक आजको सुदामा अक्षरको वा बौद्धिक कर्ममा लाग्ने व्यक्तिको प्रतीक देखिएको छ । अरू धेरै कुरा उस्तै देख्ता समय कहिल्यै बदलिएन छ कि भन्ने चिन्ता पनि लाग्छ । यो महाभारतको उदात्त औ अनन्त ज्ञानभण्डारबाट अलिकति गूढ तत्त्व आधान गरी यस समयमा निर्मित एक प्रतिकला वा एक प्रतिनिर्मिति हो। त्यसो त विश्वसाहित्यले आफ्ना सभ्यताको, कलाको आद्यभण्डारबाट केही प्रस्तर, मृत्तिका, काष्ठ, अक्षर आदी टिपी नवीन बुट्टामा पुन निर्माण कला प्रदर्शन गरिरहेको छ ।”

त्यसैगरी, पुस्तकमा लेखक विष्णु एस लेख्नुहुन्छ, ”भन्नै पर्दा मेरा आदरणीय मित्र प्रा.डा. गोविन्दराज भट्टराईज्यू प्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । उहाँका गहकिला सुझावहरूका लागि र विशेषरूपले आफ्नो अमूल्य समय खर्चेर लेखिदिनुभएको यस खण्डकाव्यको भूमिकाका लागि। निरन्तर भइरहने फूलवारीका हाम्रा भेटमा उपस्थित भई काव्य श्रवण गर्ने सुधी समालोचक तथा सर्जकहरू प्रा.डा. कुमारप्रसाद कोइराला, डा. अन्जना वस्ती भट्टराई, डा. ज्ञानु पाण्डे, डा. नारायण चालिसे, गोपाल पराजुली, खिमानन्द पोखेलप्रति र कवि र कविताप्रेमी युवा साथीहरू सजन कुमार, बलराम अधिकारी, सुनिता बराल अधिकारी, सगुन श्रेष्ठ, कर्णाकर खतिवडा, टेकनारायण ढकाल, मदन सुवेदी, भावना पोख्रेल र कमलेश राउतलाई यो खण्डकाव्यको श्रोता मात्रै होइन टिप्पणीकार पनि भइदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । पाँच ओटा काव्यक्रम भएको पुस्तकको मूल्य साधारणकभर दुई सय रुपियाँ र हार्डकभर दुई सय ५० रुपियाँ रहेको छ ।

==================================

५. अमेरिका यात्राका डोबहरू –हरिप्रसाद उप्रेती

लेखक हरिप्रसाद उप्रेतीको यात्रासंस्मरण हो, ‘अमेरिका यात्राका डोबहरू’ । उप्रेतीले आफ्नाे अमेरिका यात्रामा भएकाे, देखेकाे, भाेगेकाे, अनुभूतिहरूलाई पुस्तकमा समेट्नुभएकाे छ ।

”आँखाले देखेको र पैतालाले लेखेको इतिहास हो- यात्रासंस्मरण ।” पुस्तकमा प्रतीक ढकाल लेख्नुहुन्छ, ”जब यसमा मन र अनुभूति पनि मिसिन्छ तब बन्छ- ‘नियात्रा’। अर्को शब्दमा भन्ने हो भने आँखा, पैताला र मनको मिश्रित व्यवहारले यात्रीको चेतनामा जुन रासायनिक प्रतिक्रियात्मक अनुभूति उत्पन्न हुन्छ, त्यसैको शाब्दिक अभिव्यक्ति हो- ‘नियात्रा’। यात्रा त यात्रा नै हुन् सबै, तर जब तिनमा निजात्मकता हुन्छ, निर्बन्धता हुन्छ, तब यो नियात्रा हुन्छ । नियात्रा हुनासाथै यो ‘महाविधा’ कहलाउँछ, ‘महासाहित्य’ भनिने ठाउँमा पुग्छ । अनि यसभित्र साहित्य, सङ्गीत, दर्शन, कला, भूगोल, इतिहास, पर्यावरण, अर्थतन्त्र, संस्कृतिजस्ता मानव सभ्यतालाई छुने यावत् कुरा अटाउन थालिहाल्छन् । यति मात्र होइन, यो त समयको तथ्यपूर्ण अभिलेख पनि हो । त्यसैले त यात्रा साहित्यलाई इतिहास-लेखनको सबैभन्दा भरपर्दो स्रोत मानिन्छ । आज पनि हामी चिनियाँ पदयात्री ह्वेन साङ र फाहियान, फ्रान्सेली पदयात्री सिल्भाँ लेभी, जापानी पदयात्री इकाई कावागुची आदिलाई हाम्रो तत्कालीन ऐतिहासिक परिवेशका जीवित साक्षीका रूपमा मानिरहेकै छौँ नि ! सम्राट अशोकको लुम्बिनी भ्रमण र उनैद्वारा स्थापित शिलालेख नै बुद्ध जन्मस्थलको निक्र्यौल गर्ने सबैभन्दा बलियो आधार बन्यो । यही हो एउटा यात्रीले पछिल्लो युगलाई दिने उपहार !”

त्यसैगरी, पुस्तकमा जय छाङछा लेख्नुहुन्छ, ”नियात्रा विधाकाे उपस्थिति आजभन्दा दश हजार वर्ष अगाडि रचिएको ऋग्वेदलाई मान्नु पर्ने हुन्छ । किनकि ऋग्वेद अध्येताले त्यसमा पर्याप्त मात्रामा यात्राका कुराहरू उल्लेख भएको पाउनु कुनै अनौठो कुरा होइन । यस जगतमा मानवको सृष्टिका साथै जीवजन्तु र वनस्पतिको उपस्थिति भएको पाइन्छ । अझै भन्ने हो भने मूर्त र अमूर्त कुराले जगतमा उपस्थिति जनाउनासाथ यात्राको शुरुवात गरेका छन् । अर्थात्, पृथ्वी सृष्टिको साथसाथै यात्राको शुरुवात भएको हो । यसबाट के ठोकुवा गर्न सकिन्छ भने जब यात्राको शुरुवात भयो तब नियात्रा विधा अस्तित्वमा आयो । त्यसैले विश्वकै सबैभन्दा पुरानो विधा र व्यावहारिक विधा नियात्रा होभन्दा कसैले टाउको दुखाउनु पर्ने स्थिति छैन ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । दुई सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।

=====================================

 

६. विश्वमानव – दुर्गा खरेल ‘दीपज्वाला’


निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को निबन्धसंग्रह हो, ‘विश्वमानव’ । खरेलले पुस्तकमा मानवता र मानवीय संवेदनासँग वर्तमान विश्व परिवेशको रोचक विश्लेषण गर्नुभएको छ ।

”विश्वमा बढ्‌दै गइरहेको सङ्कटका कारण आज मानिसले मायालु काख र आत्मीय व्यवहार खोजिरहेको तथ्य यस कृतिमा समावेश छ ।”, पुस्तकमा डा. छवि वैरागी घिमिरे लेख्नुहुन्छ, ”आम मानिसले भोग्नुपरेको विभेद, अन्याय, दमन, नैतिक स्खलन, वर्गीय असुन्तुलन, शक्तिको दम्भ, उन्माद, स्वार्थको टकराव र धार्मिक अतिवाद, राज्यको कुशासन आदिको चित्रणले पाठक वर्गमा विद्रोहको तर‌ङ्ग उत्पन्न गर्न सक्छ । अर्कातिर पूर्वीय दर्शनमा आधारित संस्कृतिको कसीमा पाश्चात्य दर्शन र संस्कृतिको तुलनाबाट गौरवबोध गर्नुहुनेछ । विश्वका मानिसलाई एकसूत्रमा आबद्ध गर्न प्रेम, स‌द्भाव र मानवताको अनिवार्यता महसुस गर्नुहुनेछ । युद्धबाट भएको विनाश र आक्रान्त मानिसहरूप्रति संवेदनशीलता महसुस गर्नुहुनेछ । वर्तमान विश्वमा मानिसले सुरक्षा र प्रेम खोजेको विषयले पाठकलाई सोचमग्न बनाउनेछ भन्ने लागेको छ ।”

त्यसैगरी, पुस्तकमा अमृतप्रसाद आचार्य लेख्नुहुन्छ, ”दुर्गा खरेल ‘दीपज्वाला’ द्वारा लिखित ‘विश्वमानव’ निबन्धस‌ङ्ग्रह पाठकसमक्ष आएको छ । सबै निबन्धहरूमा विचारको प्रौढता रहेको अनुभव गर्न सकिन्छ । युगीन मूल्यबोध र अगाडिको गन्तव्यलाई निबन्धहरूले आत्मसात् गरेका छन् । सांस्कृतिक सङ्क्रमण, नग्नता, पर्दा, परनिर्भरता, विज्ञान र अध्यात्म, सामाजिक स‌ङ्क्रमणकाल, नारी, चेतना, विश्वमानव तथा ढोंग र पाखण्ड गरी जम्मा १० ओटा निबन्ध प्रस्तुत सङ्‌ग्रहमा समावेश गरिएका छन् । उक्त शीर्षकहरू हेर्दा नै पाठकहरूलाई के लाग्ने देखिन्छ भने सबै निबन्धहरू गुरुगम्भीर चिन्तनका वाहक हुन सक्छन् । निबन्धहरूमा प्रवेश गरिसकेपछि सो सोचाइको पुष्टि पनि भएको स्पष्टसँग अनुभव गर्न सकिन्छ, साथै समाविष्ट निबन्धहरूमा नैबन्धिक शिल्प र सारवस्तुको पनि राम्रो समन्वय देख्न सकिन्छ ।”

पुस्तकलाई किरण खरेलले प्रकाशन गर्नुभएको हो । १० ओटा निबन्ध रहेको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

============================================

 

७. विश्वराज अधिकारी अनुभूतिका विविध प्रवाहमा –स. ममता मृदुल


विश्वराज अधिकारीको बारेमा विभिन्न सर्जकहरूले लेख्नुभएको लेख तथा अन्तर्वार्ताहरूको संग्रह हो ‘विश्वराज अधिकारी अनुभूतिका विविध प्रवाहमा’ । विश्वराजको नजिकका साथीहरूले विश्वराजलाई कसरी चिन्नुहुन्छ भनेर लिएको अन्तरर्वाता र लेखहरूलाई ममता मृदुलले सम्पादन गर्नुभएको छ ।

”एकदमै अप्रत्याशित रूपमा ममता बहिनीसँगै सर्वनाम थिएटरमा देखापर्नु भएको थियो । ममताले नै परिचय गराएपछि मात्रै थाहा भयो विश्वराज अधिकारी हुनुहुँदोरहेछ ।”,  पुस्तकमा अशेष मल्ल लेख्नुहुन्छ, ”पहिलो भेटमै यस्तो अनुभूति हुँदैथ्यो मानौ अनेक जन्मदेखि हाम्रो गहिरो सम्बन्ध हुनुपर्छ । साच्ची नै भन्नुपर्दा मलाई उहाँको बारे खासै थाहा थिएन । थाहा नहुँदा नहुँदै पनि एक एकघण्टाको कुराकानीमा शालीन, प्राज्ञिक र जिज्ञासु पाएँ । मलाई जिज्ञासु मन पर्छ। मलाई जिज्ञासा राख्न मन लाग्छ । सिद्धार्थ त्यत्तिकै गौतम बुद्ध भएका होइनन् । अनेक जिज्ञासाले बुद्ध भएका हुन् । विश्वराजजीमा पनि त्यो जिज्ञासु स्वभाव देखें पहिलो भेटमै । सर्वनाम थिएटरमा पहिलो पटक आउनेहरूमा मैले दुई प्रकारका व्यक्ति पाएको छु । अधिकांश व्यक्ति आउँछन् । नाटक हेर्छन्, वा कार्यक्रममा दर्शकका रूपमा बस्छन् र कुनै प्रतिक्रिया बेगर जान्छन्। अर्का थरी चाहिँ सर्वनामका भित्ता छुन्छन् । त्यहाँका कला र सौन्दर्य पक्ष नियाल्छन् । भाव भनेको उहाँका जिज्ञासाले गर्ने कुरा हो। यस्ता अनुभूत गर्नेहरूको सङ्ख्या ज्यादै कम छन् । पहिलो पटककै आगमनमा सर्वनाम थिएटरप्रतिको उहाँको जिज्ञासा मेरो लागि प्रेमिल थियो । ‘त्यो किन पनि भने प्रायः यहाँ आउनेहरूले थिएटर भवनको कलाको पक्षबारे सोध्नेहरू विरलै हुन्छन् । विश्वराजजीका यस्तै अनेक प्रश्नले म वास्तवमै प्रभावित भइरहेको थिएँ ।”

त्यसैगरी, पुस्तकमा ममता मृदुल लेख्नुहुन्छ, ”अमेरिकामा बसेर नेपाली भाषा साहित्यलाई माया गर्न सजिलो छैन । पैसाका लागि जन्मभूमि छोड्नेको लर्को लागेको बेलामा देशको माया गर्नेले भाषा र साहित्यको संरक्षण र सम्बर्द्धन गर्न अग्रसर हुन्छ भन्ने कुराको पुष्टि यी स्रष्टाले गरेको भान हुन्छ। यो हुनु खुसीको कुरा हो । नेपालको मधेश प्रदेशको छतौनामा जन्मेर देशका र अमेरिकाका विभिन्न ठाउँमा बसेर अध्ययन गरेका विश्वराज अधिकारीले नेपाली भाषा साहित्यमा दिएको योगदानको कदर पनि हुनुपर्छ । राम्राे काम गर्ने मान्छेको कामको मूल्याङ्कन हुनुपर्छ । सफलताका कथा लेखिनुपर्छ । पुरस्कारले मात्रै हौंसला दिँदैन स्रष्टाका कामलाई महत्त्व दिएर लेखिएका केही शब्दले पनि सम्मान व्यक्त गरिएको हुन्छ ।”

पुस्तकलाई नारी स्रष्टा समाजले बजारमा ल्याएको छ । दुई सय २० पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय ५० रुपियाँ रहेको छ ।