पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. अभिज्ञान प्रतीक्षा – प्रा.डा. अर्जुनदेव भट्ट
साहित्यकार तथा वरिष्ठ युरोलोजिस्ट डाक्टर अर्जुनदेव भट्टको नयाँ उपन्यास हो, ‘अभिज्ञान प्रतिक्षा’ । लेखकले पुस्तकमा मानसिक स्वास्थ्यलाई केन्द्रमा राख्नुभएको छ । मानसिक स्वास्थ्यमा समस्या आउँदा परिवारले झेल्नु पर्ने अप्ठ्याराहरू र मानसिक अस्वस्थ्य व्यक्तिलाई कसरी परिवारको स्नेहले स्वस्थ्य बनाउँछ भन्ने कुरा किताबमा भेटिन्छ ।
”साहित्य पढ्ने र लेख्ने रहरले मलाई लखेटिरहेछ । पात्र प्रायः मेरै बिरामीहरू नै हुन्छन् । बिरामी स्वयं र तिनीहरूका अभिभावकहरूले मानसिक अवस्था बारे गरेको गुनासो सुन्दा रचनामा समेट्न पाए तुलनात्मन किसिमले नेपाली साहित्यमा नयाँ विषयको उठान हुन्थ्यो कि भन्ने लाग्यो । आजको समाजका तीन तप्काका समस्यालाई उठाएर लेख्न पाए पाठकहरूलाई रोचक र समाजलाई लाभप्रद हुन सक्छ भन्ने विचार आयो ।’’, मन्तव्यमा भट्ट लेख्नुहुन्छ, ‘‘जेष्ठ नागरिकको तप्कामा उमेरसँगै बढेका पीडा र व्याधि छन् । प्रौढहरूको समूह परिवारको आर्थिक मेरुदण्ड भएर कार्यरत छ । तिनीहरूमध्ये अभावग्रस्त र सजिलै प्राप्त गरिएको धनमा अभावविहीन भई पौडिनेहरूको समस्या झनै मार्मिक छ । तेस्रो तप्का जो भविष्यका कर्णधार विद्यार्थीहरू हुन् । कस्तो परिवारमा छन् ती त्यही अनुरुप विभिन्न लतमा फसेर आफू, परिवार र समाज नै डुबाइरहेछन् ।”
यस्तै पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ‘‘आख्यानले नेपाली समाज डुब्दै गएको गम्भीर खाडल देखाउँछ । भत्किंदै, बिग्रिंदै, यो दिशाहीन बन्दै गइरहेको छ । युवा शक्तिको विदेश पलायल, घरदेश वृद्धवृद्धाको आश्रम हुनु, असहाय निरीह एक्ला र रोगीहरू एक्लै छोडिनु यसका जीवन्त दृश्य हुन् । आख्यानको अन्तिम खण्डमा त्यसको दुर्दान्त परिणाम देखिन्छ ।’’
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । ९० पृष्ठमा समेटिएको पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ ।
===
२. सुल्तान – सुशीला भुसाल
साहित्यकार सुशीला भुसालको नयाँ उपन्यास हो ‘सुल्तान’ । लेखकले पुस्तकमा हालको टर्की देश (कन्टेस्टाइनपोल) को सोह्रौं शताब्दीका राजा सुल्तान सुलेमानले साम्राज्य फैलाउन गरेको युद्ध र प्रेमको कथा लेख्नुभएको छ ।
”मेरो अध्ययनमा सुल्तान सुलेमान काइदाका शासक थिए । एक गहन प्रेमको खोजी गर्थे । प्रेमको अभावमा मान्छे व्यभिचारतर्फ अग्रसर हुन सक्दो रहेछ भन्ने कुरा यिनै राजाले बुझाउन खोजेका रहेछन् । सुल्तान सुलेमान खानले खोजेको प्रेम हाजियाले मात्रै पूरा गरिछन् । यसरी, प्रेम आत्माको मिलन हो भन्ने मेरो भावसँग यी राजारानी ठोकिन आए ।’’, आफ्नो कुरामा लेखक लेख्नुहुन्छ, ”सुल्तान सुलेमान खान र उनकी पत्नी हाजिया सुल्तानले वास्तविक प्रेमको अभावमा मानिस सम्पूर्ण विलासमा पनि निरस हुन्छ भन्ने बुझें । ‘प्रेम आफैं हुन्छ कि लगानी गर्नुपर्छ ?’ उपन्यासकी पात्र माहीजस्तै म पनि अन्योलकै बीचमा छु ।’’
पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ । २ सय ५४ पृष्ठ रहेको पुस्तकको मुल्य ५ सय ७५ रुपैयाँ रहेको छ ।
===
३. नदी बग्दैन – श्याम रिमाल
लेखक तथा पत्रकार श्याम रिमालको नयाँ कविकृति हो ‘नदी बग्दैन’ । लेखकले पुस्तकमा समसामयिक तथा प्रगतिशील कविताहरू पस्किनुभएको छ ।
”कविता लेख्दैमा सबै कवि भएका छैनन्, अरुले मानिदिनुपर्छ । लेखिएका सबै साँच्चिकै कविता हुन्नन् पनि । कविले सुनाएका कवितामाथि सर्वसाधारणले ‘वाह वाह’ गरे वा ताली ठोके पनि बौद्धिक वर्गले त्यसमा कविताको गुण वा शक्ति नपाउन सक्छ ।’’, लेखक आफ्नो कुरामा लेख्नुहुन्छ, ”पद्यबाट नै कविता जगत्मा प्रवेश गरे पनि त्यसबाट पार लगाउन नसकेर रबर छन्दमा लागेको हुँ । कविताको सिद्धान्त पढेर लेखिएन । सरल लेख्न नै मन लाग्यो । अग्रजले हिँडेको बाटामा हिँडन कोशिश गरेको मात्र हो ।”
पुस्तकको भूमिकामा कवि श्यामल लेख्नुहुन्छ, ”नेपाली पत्रकारिताका कुनामा श्याम रिमाल फगत एक सम्पादकको नाम भएजस्तो देखिए पनि कविका रूपमा उनको परिचय पहिल्यै स्थापित भइसकेको हो । साहित्य त्यसमा पनि कविता भनेपछि हुरुक्कै हुने प्रौढ पुस्ताको प्रतिनिधि पात्र हुन् उनी ।’’
पुस्तकलाई नन्दऋषि न्यौपानेले प्रकाशन गर्नुभएको छ । २ सय २६ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।
===
४. निरजोया– दाजु गरुङ
साहित्यकार दाजु गरुङको उपन्यास हो ‘निरजोया’ । लेखकले पुस्तकमा परदेशिएका युवाले परदेशमा पाएको दु.ख, प्रेम र देश फकिर्न गरेको संर्घषको कथा लेख्नुभएको छ ।
‘‘सुनिएका, भनिएका र देखिएका कुरा कति सत्य ! कति असत्य ! कतै जित्न खोजिएको, कतै जित्दा जित्दै हारिएको । र, जितहारलाई जिन्दगीको उपजका रूपमा स्विकारिएको । बाध्यता भनौँ वा आश्यकता ? कहर भनौ या रहर ! सबैसबै पलायित मनहरूले मनदेखि आत्मासात् गरिएको । कहीँ कतै फरक होलान् प्रकृति र कथाहरू तर समान छन् भोगाइका अनुभुतिहरू ।”, लेखक आभारमा लेख्नुहुुन्छ, ‘‘दिनहुँ यस्तै पात्रहरू ठोक्किन आउँछन् जिन्दगीका मोडहरूमा । यस्तै यात्रुहरू मात्र भेटिन्छन् अनुहारको भिडमा । अलिकति समय पाउनेबित्तिकै बग्नथाल्छन् मनका कहिरनहरू । कति सजीव भोगाइका व्यथाहरू, कति अजीव पलायित भुइँमान्छेका कथाहरू ! यस्तै सेरोफेरोमा बुनिएको हो, निरजोया ।”
पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ‘‘थालेपछि छोड्न नसकिने शैली र विषयको यस आख्यानमा नेपालीको लेबर डायस्पोरा मलेसियामा पुगेका हाम्रा युवाको गति र स्थिति दर्शाउने एक जादु रहेछ । उनको भाषाको स्वाभाविकता र चारित्रीकरणको जीवन्तता अतुलनीय छ ।”
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशन गरेको छ । २ सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ ।
===
५. श्वेताम्बरी – पदम दाहाल
साहित्यकार पदम दाहालको कविताकृति हो ‘श्वेताम्बरी’ । दाहालले पुस्तकमा आफ्नो जन्मभूमिदेखि विश्व–घटनासम्मका कथा–व्यथालाई कवितामा उन्नुभएको छ ।
”पहिलो कृति गद्य र पद्य व्याउरे, गजल विभिन्न शैलीमा लेखिएका कविताको सँगालो थियो भने दोस्रो कृति विशुद्ध छन्दोबद्ध कविताहरूको सँगालो । अहिले तेस्रो कृतिका रुपमा निस्कन लागेको यो कवितासङ्ग्रहमा जम्मा ६७ वटा कविता छन् । ती सबै गद्यकविता हुन् जो मुक्त छन्दमा लेखिएका छन् ।’’, लेखक मन्तव्यमा लेख्नुहुन्छ, ”विशुद्ध गद्यात्मक शैलीमा यी कविता विविध विषयवस्तुसित गाँसिएका छन् भन्ने लाग्छ । तिनको सही निरुपण र विश्लेषण गर्ने जिम्मा मैले स्वयं पाठक वर्गलाई सुम्पेको छु ।”
पुस्तकमा डा.इन्दुल केसी लेख्नुहुन्छ, ‘‘पदम दाहाल नेपाली साहित्यका क्षेत्रमा स्थापित साहित्यकार विशेषतः कवि हुनुहुन्छ । यस कुराको प्रमाण यसअघिको उहाँका बादलका तरेली, आँशुको दह नामक प्रकाशित दुई कृतिहरू हुन् । यी पुस्तकका माध्यमले नेपाली साहित्यका हजारौँ पाठकहरू उहाँसित परिचित हुनुहुन्छ । उहाँका कविता छन्दमुक्त र छन्दोबद्ध गरी दुवै खालका हुन्छन् भने विभिन्न रसले भरीपूर्ण पनि हुने गर्दछन् ।’’
पुस्तकलाई शब्दयात्रा प्रकाशनले बजारमा ल्याएको छ । १ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
साताका सात पुस्तक : पाउलोको काठमाडौँ यात्रादेखि ढुङ्गाको प्रेमसम्म
३० जेष्ठ २०८३, शनिबार 








