अंशियार – त्रिविक्रम पाण्डे
लेखक तथा गीतकार त्रिविक्रम पाण्डेको गीतिसंग्रह हो ‘अंशियार’ । पाण्डेकाे गीतमा माया-प्रेम, मिलन-विछाेडका अनेकाैं माेडहरू छन, विकृति – विसङ्गतिका दृश्यहरू छन् ।
”बहुमुखी प्रतिभाका धनी त्रिविक्रम पाण्डेले अहिले आएर ‘अंशियार’ शीर्षकको गीतसङ्ग्रह प्रकाशन गर्न लाग्नुभएको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ ।”, पुस्तकमा कुलपति भूपाल राई लेख्नुहुन्छ, “यसअघि नै रेकर्ड भइसकेका केही गीतसहित तीन सय आठ वटा गीतहरू समाविष्ट यस सङ्ग्रहमा उहाँले माया, प्रेम, मिलन बिछोड, राष्ट्रिय भावका अतिरिक्त जीवन-भोगाइका विभिन्न आयामलाई समेट्ने प्रयास गर्नुभएको छ । कतिपय गीतमा उहाँका निजी भावना प्रकट भएका छन् त कतिपयमा सामाजिक यथार्थको चित्रण । भाव, संरचना र बनावटका हिसाबले मात्रै नभएर लेखनशैलीका हिसाबले पनि उहाँका गीत निकै सुन्दर र मर्मस्पर्शी छन् । कलात्मक प्रस्तुति र उपयुक्त शब्दसंयोजनले उहाँका गीत सरल र सुललित बनेका छन् ।”
त्यसैगरी पुस्तकमा त्रिविक्रम पाण्डे लेख्नुहुन्छ, ”समग्रमा मेरा गीतहरूमा जीवन, जिजीविषा, सौन्दर्य, शृङ्गार, उपलब्धि-अनुपलब्धि, आशा-निराशा, सदाचार-भ्रष्टाचार अनि विकृति-विसङ्गतिका दृश्य परिदृश्यहरू झल्किएका छन् भन्न सकिन्छ । त्यसरी नै यी गीतहरूले माया-प्रेम, मिलन-बिछोडका अनेकौँ घुम्ती-मोडहरू पनि छिचोलेका छन् जस्तो लाग्छ । पैतृक सम्पत्ति बाँडफाँड अर्थात् अंशको विषयलाई लिएर मृत्यु-चेत नभएका व्यक्तिहरूले घरपरिवारमा मच्चाउने गरेको वितण्डा ताण्डव अनि निरर्थक रूपमा सिर्जिन गरेको पारिवारिक कलह \ द्वन्द्वजन्य महाभारतलाई लिएर पनि मैले गीत लेखेर यो सङ्ग्रहमा समेटेको र त्यही गीतबाट शब्द साभार गरी प्रस्तुत सङ्ग्रहको शीर्ष नाम नै ‘अंशियार’ चयन गरेको हुँ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । तीन सय आठ ओटा गीत समेटिएको पुस्तकको मूल्य छ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










