हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ४ वटा पुस्तक प्राप्त भएको छ ।

यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो । ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।

‍‍‍====

१. मोहोर – सागर गैरे

यो साता हामीलाई प्राप्त भएको पुस्तक हो, मोहोर । सागर गैरेको औपन्यासिक कृति मोहोर वास्तविक रूपमा उनकै बाको कथा हो । आफ्नो बालाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कताकति बुद्धिसागरको कनार्ली ब्लुजको झल्को दिन्छ भने कतै कतै नयनराज पाण्डेको उलारको शैली याद आउँछ । धेरै जसो समय पहाड र केही समय तराईको पृष्ठभूमिमा बाँचेको यो उपन्यासले नेपाली समाजको बुबा र हजुरबुबाहरूको संघर्ष र त्यसभित्र नारीहरूको अवस्था पनि चित्रण गर्दछ ।

सफल व्यवसायीको परिचय बनाएका लेखक सागर गैरेले यसअघि पनि पुस्तक प्रकाशन गरिसकेका छन् । यस पुस्तकको अन्त्यमा उनले पुस्तकका बारेमा केही लेखेका पनि छन् । भन्छन्, ‘इतिहास जित्नेहरूकै लेखिन्छ । शक्तिशालीबाटै इतिहास निर्माण हुन्छ । तर रमाइलो कुरा, त्यो इतिहासमा रित्तो मानवता भेटिन्छ । खास मानवता ओझेलमा पर्छ । मलाई भने भरिएको मानवता लेख्नु थियो । ….त्यसैले…संसारमा अर्बौं मानिस छन् । सामान्य मान्छेहरू समुद्रको एक थोपा पानी सरह नै हुन् । उनीहरूको के नै अस्तित्व रहन्छ र ? तर हरेक मानिसका लागि बा सिङ्गो संसार हुन् । मेरालागि पनि एउटा ब्रह्माण्ड हो मरो बा ।’
आफ्नै बाका बारेमा लेखिएर होला, उपन्यास चरित्रको निकट, भावनाको निकट र चरित्रको दुर्गुणबाट टाढा छ ।

‍‍‍====

२. अमर त्यागीका कवितामा वस्तु विधान – दीपकप्रसाद गौतम

लामो समय आफ्नो जन्म र कर्मभूमि कलैयामा नेपाली भाषा र साहित्यको पठन पाठन गर्दै नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने अमर त्यागी अनेक साहित्यिक विधा उपविधाका अभियन्तासमेत हुन् । केही समय काठमाडौँ र हाल अमेरिका बस्दा पनि उनको भाषा साहित्य अभियान रोकिएको छैन । त्यागीको यही जुधारुपन देखेर हुनुपर्छ, भुवानीशङ्कर बहुमुखि कलेज, चितवनका क्याम्पस प्रमुख दीपकप्रसाद गौतमले ‘अमर त्यागीका कवितामा वस्तु विधान’ विषयको अनुसन्धानात्मक पुस्तक लेखेका छन् । सोही पुस्तक साहित्यपोस्टलाई प्राप्त भएको छ ।

यो पुस्तक दुई दृष्टिकोणले महत्त्वपूर्ण छ । पहिलो, यस कृतिमा समकालीन स्रष्टा अमर त्यागीका कवितायात्रा, प्रवृत्ति र कृतिगत विश्लेषण र विवेचना गरिएको छ भने अर्कोतिर यस कृतिले वस्तुुवधानको कोणबाट कविताकृतिको विश्लेषण गर्ने आधार र नमुना प्रस्तुत गरेको छ ।

कृतिको अन्तिम पातोमा भनिएको छ, ‘समालोचना यात्रामा प्रवृत्त हुन चाहनेहरूका लागि यो पुस्तक एउटा राम्रो नमुना हुनसक्छ ।’

====

३. पहिलो निर्वाचित सरकारको प्रशासन व्यवस्था – अर्जुनमणि आचार्य दीक्षित

निजामति सेवाका विषयमा लोकसेवा आयोगको परीक्षालाई केन्द्रमा राखेर धेरै पुस्तक लेखिएका छन् । यद्यपि परीक्षाका दृष्टिबाट मात्र लेखिने यस्ता पुस्तकलाई आम बौद्धिक पाठकले सधैँ किनारामा राख्ने गरेको दुःखद स्थिति छ । सरकारी जागिरे हुन वा बढुवामा लालायित कर्मचारीको भावनामार्फत व्यवसाय गर्ने उद्देश्यले लेखिने यस्ता पुस्तकको बौद्धिक विमर्श नहुनु सायद उपयुक्त नै होला ।

तर यसै विषयमा एउटा गम्भीर पुस्तक प्रकाशन भएको कुरा साहित्यपोस्टलाई भर्खरै आधिकारिक जानकारीमा आएको छ । पुस्तकको नाम छ, ‘पहिलो निर्वाचित सरकारको प्रशासन व्यवस्था’ ।

नेपाल सरकारका महत्त्वपूर्ण पदमा ३१ वर्ष सेवा दिएका अर्जुनमणि आचार्य दीक्षितद्वारा गहन अध्ययनपछि लेखिएको यो पुस्तक त्यस विषयमा अध्ययन गर्नेहरूका लागि गतिलो खुराक बनेको देखिन्छ । पुस्तकमा डा. द्वारिका ढुङ्गेलले लेखेका पनि छन्, ‘इतिहासका पानामा बिलाइसकेको तर मुलुकको महत्त्वपूर्ण कालखण्डको प्रशासन व्यवस्थालाई समेटेको यो किताब समग्रमा हिजो केही पनि भएको थिएन, हिजो आजकाले सबै बिगारेका थिए भन्ने बढ्दो भाष्य र धारणातर्फ आकर्षित हुँदै पाठकलाई प्रथम जननिर्वाचित सरकारका पालामा प्रशासन, सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा भए गरेका काम कारबाहीको बारेमा जानकारी दिने गरी यो सामग्री तयार पारेर लेखक दीक्षितले निजामती प्रशासनको विधामा ठूलो गुन लगाएका छन् ।

हुन पनि २५ वर्ष सामान्य प्रशासन मन्त्रालय, ४ वर्ष प्रधानमन्त्रीको कार्यालय र २ वर्ष लोक सेवा आयोगमा सेवा दिएका अर्जुनमणिले जीवनभर अनुभव गरेको, काम गरेको, तथ्याङ्कसँग खेलेको तथा त्यस क्षेत्रका सबै विकृति र सकारात्मक कुराहरूको साक्षी भएको अनुभवहरू यसमा हालेका छन् । यद्यपि पुस्तक तथ्यपरक र ऐतिहासिक दस्ताबेजको सिलसिलामा कतै तलमाथि पर्न दिएका छैनन् ।

पुस्तककै भूमिकामा कृष्णहरि बाँस्कोटा लेख्छन्, ‘शासन सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने राजनीतिक र प्रशासनिक व्यक्तिहरूले यो पुस्तक अनिवार्य रूपमा आद्योपान्त पढ्नुपर्ने देखिन्छ ।’

====

४. शिवसूत्र – कमलप्रसाद ढुङ्गाना


प्राचीन संस्कृत कवि बसुगुप्तले पुनर्लेखन गरेको शिवसूत्रको नेपाली अनुवाद साहित्यपोस्टलाई प्राप्त भएको छ । संस्कृत साहित्यमा गहिरो रुचि राख्ने कमलप्रसाद ढुङ्गानाले संस्कृत श्लोकसहित नेपालीमा सरल रूपान्तर गरेका छन् । जसलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

कथनअनुसार शिवशुत्रको रचना भगवान् शिवले गर्नुभएको थियो । उक्त शिवसूत्र केही शताब्दी अघिसम्म भारतको कश्मीर क्षेत्रमा शिलालेखमा कुँदिएको अवस्थामा भेटिएको थियो । यद्यपि यी शिवसूत्रहर श्रुतिपरम्परा अन्तरगत सयौँ शिव भक्तहरुले कण्ठस्त गर्दै आफ्ना चेलाहरूलाई सुनाउँदै आएका थिए ।
शिवसूत्रको मूल रूपलाई वसुगुप्तले आफ्ना चेलाहरूलाई बताउँदै त्यसलाई लिपिबद्ध गरेका हुन् । जसमा २२ सूत्रहरु छन् । तर यी २२ सूत्रहरू यति गुरुगम्भीर छन् कि जसलाई पहिल्याउन सिङ्गै पुस्तक प्रकाशन गर्नुपर्ने छ । यही कारण हिन्दु धर्म मान्ने सयभन्दा बढी भाषामा शिवसूत्रका ७ सय भन्दा बढी टिकाहरू पाइन्छ ।

यो पुस्तक भने हिन्दी भाषाका प्रख्यात विद्वान डा. श्यामाकान्त द्विवेदीको ‘शिवसूत्र सिद्धान्त’, आचार्य क्षेमराजको शिवसूत्र विमर्सिनि र आनन्द वरदराजको शिवसूत्र वार्त्तिकका टिकाहरूलाई आधार मानेर शिवसूत्रलाई आधार बनाइएको छ ।