पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।

=============

१. फिर्दोसको साँचो – राजबाबु श्रेष्ठ सागर


कथाकार राजबाबु श्रेष्ठको कथासंग्रह हो ‘फिर्दोसको साँचो’ । श्रेष्ठले कथाहरुमा काव्यिक भाषाशैली प्रयोग गर्दै, सामाजिक विषयलाई सन्देशमुलक बनाएर प्रस्तुत गर्नुभएको छ ।

”हामीले बाँचेको यही भौतिक जीवनको सेरोफेरोमाझ पवनको नभभित्र कवायद खेलिबस्छन् हाम्रा ती सुन्दर अमूर्त भावना र आत्माहरू ।” पुस्तकमा लेखक राजबाबु लेख्नुहुन्छ, ”त्यसैले, मैले आफूले बाँचेका, भोगेका, आँखाले देखेका र अनुभूत गरिएका तिनै तितामिठा जीवनका अनुभूतिहरूलाई जीवनसङ्घर्षको मसीमा भावनाको कलम चोपली थोरै आफ्ना अध्ययन, विचार र दर्शनका रङहरू पोख्ने कोसिस गरेको छु मैले यस ‘फिर्दोसको साँचो’मा । अझै भनूँ, सङ्गृहीत केही कथाहरूमा मैले मिथकीय नामहरू पनि प्रयोगमा ल्याएको छु । केही कथाहरूको थिम कुरान र हदिसबाट लिई त्यसलाई मैले आफ्‌नै काल्पनिक मरमसला हाली पाठकलाई थोरै भए पनि केही स्वादिष्ठ परिकार पस्किने प्रयास भने अवश्य गरेको छु । साँच्चै भनूँ, जीवन एक सङ्घर्षको समयसँगसँगै बग्दै गरेको एक धमिलो नदी हो । त्यो धमिलो नदी पनि एक निश्चित समयपश्चात् सङ्लिँदै जान्छ । र अर्को कुरो, जिन्दगी भनेको समयले डामेर समयले नै सेकेर जाती पारेको एउटा विशाल चोट, घाउ, दुःख, पीडा, भोक र अभावको एक सिङ्गै पहाड हो र सबैले भोग्ने जीवनको एक अविस्मरणीय महाकाव्य र आख्यान पनि हो ।”

पिता पूर्णबहादुर श्रेष्ठ र माता तेजमाया श्रेष्ठका माहिला सन्तानका रूपमा वि.सं. २०२८ भदौ १४ गते ईटाटार, महोत्तरीमा जन्मनुभएका राजबाबु श्रेष्ठ सागर अत्यन्त सरल, विनयशील र अतिशय सक्रिय साधक हुनुहुन्छ । उहाँका साउदी अरबिया अल्हस्साबाट २०५७ सालमै ‘बन्द फ्रेमभित्रको चिठी’ पहिलो उपन्यास, २०७७ सालमा कवितासङ्ग्रह ‘हराएका छोराहरु’, मुक्तकसङ्ग्रह ‘देशको चिना’ र २०७८ सालमा गीतिसङ्ग्रह ‘यादका बस्तीहरु’ प्रकाशित भइसकेका छन् ।

पुस्तकलाई इन्डिगो प्रा.लि.ले बजारमा ल्याएको हो । ११ ओटा कथा समेटिएको पुस्तकको मूल्य चार सय ९९ रुपियाँ रहेको छ ।

===============

२. जब देवी दुर्गा बन्छन् – डा. अस्मिता पौड्याल कोइराला


कवि डा. अस्मिता पौड्यालको कवितासंग्रह हो ‘जब देवी दुर्गा बन्छन’ । पौड्यालले कवितामा नारीलाई क्रान्तिकारी हुन र समतामूलम समाज निर्माण गर्न उत्प्रेरित गर्ने सन्देश दिनुभएको छ ।

”अहिले म डा. अस्मिता पौड्याल कोइरालाको कवितासङ्ग्रह ‘जब देवी दुर्गा बन्छन्’  पढेर कविता यस्तो हुँदोरहेछ भनेर अनुमान गर्न खोज्दै छु ।”  पुस्तकमा प्रा.डा कुमारप्रसाद कोइराला लेख्नुहुन्छ, ”उनको कवितासङ्ग्रह पढेर मलाई के लाग्यो भने कविता साहित्यिक अभिव्यक्तिको त्यस्तो रूप हो, जसमा भाषालाई सृजनात्मक तरिकाले प्रयोग गरेर अनेक प्रकारका बिम्ब सृजना गरी पाठकमा भाव जगाउने र विचार सम्प्रेषण गर्ने गरिन्छ । यसको प्रभाव बढाउन यसलाई लयात्मक वा छन्दोबद्ध पारिन्छ । रूपक, बिम्ब, प्रतीक, अन्योक्ति आदि अनेक प्रकारका साहित्यिक युक्तिको प्रयोग गरिन्छ । यसको आफ्नै प्रकारको सांरचनिक परम्परा हुन्छ । अरू कसैका कविता पढेर यसभन्दा केही फरक अनुभव पनि हुन सक्छ, तर आधारभूत कुरा एउटै हुन्छ, त्यो हो विशिष्ट भाषा प्रयोग गरेर आफ्ना भाव वा विचारलाई धेरै भन्दा धेरै प्रभावकारी बनाएर व्यक्त गर्नु । लय वा छन्द, उपमा, रूपक, बिम्ब, प्रतीक आदि साहित्यिक युक्तिले भाषालाई विशिष्ट बनाउँछन् । यस्ता साहित्यिक युक्तिको निर्माण कविमा अन्तर्निहित कल्पनात्मक र सृजनात्मक शक्तिले गर्दछ । भाषाको त्यस्तो विशिष्ट प्रयोग नै कविता हो। त्यसैले कविता अन्य विधाका तुलनामा अधिक गम्भीर र अधिक सुन्दर हुन्छ र यसलाई रच्न वा बुझ्न ध्यान चाहिन्छ ।”

त्यसैगरी पुस्तकमा डा. अस्मिता पौड्याल कोइराला लेख्नुहुन्छ, ”छोरीबाट आमा बनायो, बिरामीबाट डाक्टर बनायो । कर्कलाको शीतझैं निश्चल आकाश छुने मेरो मन, सेतीको किनारझैं एक्लो धर्ती भेट्ने मेरो आशा, जिन्दगीले बागलुङबाट बोस्टन पुन्ऱ्यायो । कहिले हँसायो, कहिले रुवायो, चार्ल्स नदीको किनारै किनार क्याम्ब्रिजका गल्ली गल्ली हिँडायो । शब्दहरू सुनायो, शब्दहरूबीचको शून्यता चिनायो। आँसुलाई परेलीले छोपेर जीवनले रगतलाई पसिना बनाउन सिकायो । बन्द मुटुको पर्खाल तोडेर जब सम्झनाको खहरे उर्लन थाल्यो, तब जिन्दगीले कविता चिनायो। यी मेरा कविता ! यी मेरा सुखका साथी ! यी मेरा दुःखका साथी! यी मुगलानका कथा! यी दरवानका व्यथा ! यी मेरो मुटु र मुटुको धड्कनका साक्षी ..”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । ५० ओटा कविता संग्रहित पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।

================

३. बालापनका धर्साहरु – आर्या त्रिपाठी


कवि आर्या त्रिपाठीको कवितासंग्रह हो ‘बालापनका धर्साहरु’ । आर्याको कवितामा बालसुलभ अभिव्यक्ति कला झल्कन्छ । उहाँका कवितामा अभिभावक, शिक्षक, विद्यालय, जन्मभूमि, देश, समाज, संस्कृति, प्रकृति, बालइच्छा, बालअधिकार, प्रकृति आदी विषय पाइन्छन ।

”आर्या त्रिपाठी किशोरावस्थामा पदार्पण गर्दै गरेकी एक पोखरेली प्रतिभा हुन् ।” पुस्तकमा सरुभक्त श्रेष्ठ लेख्नुहुन्छ, ”उनको आफ्नो उमेर सुहाउने गरी बालापनका धर्साहरु नामक कविता संग्रह प्रकाशित गरेकी छन् । यस कविता संग्रहमा उनले करिब एक दशकदेखि रचना गरेका कविताहरु संग्रहित गरेको छन् । हाल कक्षा ९ मा अध्ययनरत उनी चर्चित कविद्धय छन्दमणि त्रिपाठी र छन्दिका त्रिपाठीकी छोरी हुन् । उनका हजुरबा स्वनामधन्य महाकाव्यकार माधव वियोगी हुन् । आफ्ना हजुरबा माता र पिताबाट घरेलु वातावरणमा नै कविताको संस्कार पाएकी उनले कृति प्रकाशनको क्षेत्रमा पहिलो कदम चालेकी छन् जुन स्वागतयोग्य छ ।”

त्यसैगरी पुस्तकमा माधव वियोगी लेख्नुहुन्छ, ”प्रस्तुत कविता सङ्ग्रहमा ५ दर्जन कविता रहेका छन् । समसामयिक सन्दर्भ नै कविताका विषय बनेका छन् । बिग्रदो राजनीति, पारिवारिक स‌द्भाव, अग्रगामी भावना, देशभक्ति, शैक्षिक जागरण जस्ता विषयसन्दर्भमा रहेका यी कवितामा अधिक मात्रामा लोक लयात्मक शैली र केही अनुष्टुप् र उपजाति छन्दमा बांधिएका छन् । कलिलै उमेरमा छन्द या लयलाई समातेकाले काव्यसंस्कृतिको रक्षाका लागि उनी भविष्यमा अग्रपङ्क्तिमा रहनेछिन् भन्ने विशवास मलाई लागेको छ । साधना, सरसंगत र अध्ययनको दायरालाई अझै फराकिलो पार्दै खण्डकाव्य र महाकावयमा पनि उनको कलम सशक्त बनोस् भन्दै उत्तरोत्तर प्रगतिका लागि म नातिनी आर्यालाई हार्दिक शुभेच्दा प्रदान गर्दछु ।”

त्यसैगरी पुस्तकमा कवि आर्या त्रिपाठी लेख्नुहुन्छ, ”बालापनका धार्साहरू” मेरो पहिलो कवितासङ्ग्रह हो, जसमा मैले मेरो बाल्यकालका अनुभव, भावनाहरू, र समाजप्रति देखिएको दृष्टिकोणलाई कविताका माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरेकी छु । बाल्यकाल केवल उमेरको एउटा भाग मात्र होइन, यो हाम्रो सोच, सपनाहरू र व्यक्तित्व निर्माणको जग हाल्ने महत्त्वपूर्ण चरण हो। यही कुरालाई हृदयङ्गगम गरेर मैले यी कविताहरू लेखेकी छु । यस सङ्ग्रहमा ६० वटा कविता समावेश छन् जसले बाल्यकालको निष्कपट प्रेम, मित्रता, सपनाहरू, विडम्बनाहरू, आशा र कहिलेकाहीं अनुभव गरिने पीडालाई झल्काउने गर्छन्। बाल्यकालको मिठासलाई समेट्नका साथै मैले समाजमा रहेका केही यथार्थपरक पक्षहरूलाई पनि समेट्ने प्रयास गरेकी छु ।”

पुस्तकलाई माधव वियोगी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो । ६० ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

===================

४. अदृश्य हावा – निद्रा देउजा ‘राजवंशी’


कवि निद्रा देउजा ‘राजवंशी’को कवितासंग्रह हो ‘अदृश्य हावा’ । देउजाको कविताहरुमा माया, प्रेम, दु:ख, असन्तुष्टि, समाजमा बढ्दै गएको विकृति, अन्याय, भ्रष्टाचार जस्ता विषय समेट्नुभएको छ ।

”हरेक सिर्जना आफैंमा अद्वितीय हुन्छन् । तर ग्रहण गर्ने जिम्मा भने पाठक वर्गको हो ।” माधव घिमिरे अटल लेख्नुहुन्छ, ”कुनै सिर्जना सही, गलत, प्रभावकारी वा प्रभावहीन भन्ने अधिकार मोलाहिजाबाट माथि उठेको पाठकले राख्छ भन्ने मेरो निजी ठहर छ । अपरिचित नै किन नहोस् अपितु इमानदार पाठकसँग पैरवी गर्ने भरपुर ल्याकत हुन्छ भन्ठान्छु म । कविता अर्थात् भाव र लयको सङ्गति भएको सशक्त विधा । सिङ्गो जीवनको साङ्गोपाङ्ग समालोचना । जीवनका अनुभव, अनुभूति र संवेदनाको सारांश । भनिन्छ, कविता सर्वाधिक लेखिने साहित्यिक विधा हो । अझ प्राचीन कालमा त साहित्य भन्नासाथ कवितालाई नै बुझिन्थ्यो । लेखनको प्रचलन प्रारम्भनहुँदासम्म कविताको पुस्तान्तरण मौखिक रूपमा भएको विभिन्न ऐतिहासिक ग्रन्थहरूले उल्लेख गरेका छन्, जसमा निकै हदसम्म सत्यता भेटिन्छ ।”

त्यसैगरी पुस्तकमा दिलकृष्ण प्रजापति लेख्नुहुन्छ, ”मान्छेका मनमा उठेका विविध भावनालाई व्यक्त गर्ने सजिलो र सहज माध्यम हो कविता
त्यसैले प्रायःजसो साहित्यकारहरूले आफ्‌नो लेखनको प्रारम्भ कविता लेखनबाट गरेका हुन्छन् । वास्तवमा कविता नै त्यो बाटो हो, जुन बाटो हिँडेपछि मनलाई एक प्रकारको सन्तुष्टि मिल्छ । व्यक्तिले सहजता र तनावबाट मुक्तिको बोध गर्छ । सम्भवतः यस्तै बोध भएको होला, निद्रा देउजालाई पनि । जीवनका विभिन्न क्षण, अवस्था र भोगाइहरूका बारेमा गीत, कविता, लेख, उपन्यास, गजल, मुक्तक आदि सिर्जना हुँदै आएका छन् । यसरी मनमा उठेका भावनाहरूलाई शब्दका रूपमा अभिव्यक्त गर्दा आत्मिक सुख प्राप्त हुने गरेको अनुभव मैले स्वयम् स्थापित स्रष्टाकै मुखबाट सुन्दै आएको छु ।”

त्यसैगरी पुस्तकमा कवि निद्रा देउजा राजवंशी लेख्नुहुन्छ, ”साहित्य मेरो मन पर्ने विषय हो । अझ कथा र कवितामा मेरो विशेष झुकाव रहेको छ । मैले केही कथा र संस्मरणहरू पनि रचना गरेकी छु । म साहित्यको विज्ञ होइन तसर्थ साहित्यको व्याख्या र विश्लेषण गर्ने तागत पनि ममा छैन भन्दा अप्ठेरो लाग्दैन । तथापि मेरो विचारमा साहित्य मानिसको आफ्नै भोगाइ हो । मानिसका मनमा अनेक प्रकारका भावनाहरू उर्लिरहेका हुन्छन् ।”

पुस्तकलाई सूचक प्रकाशनले बजारमा ल्याएको हो । ४९ ओटा कविता संग्रहित पुस्तकको मूल्य एक सय १५ रुपियाँ रहेको छ ।

=======================

५. मायामा माया – नानीबाबा अधिकारी


मुक्तककार नानीबाबा अधिकारीको मुक्तकसंग्रह हो ‘मायामा माया’ । अधिकारीकोे मुक्तकमा प्रकृति, सामाजिक, भावना, राजनितिक द्धन्द्ध, विद्रोह र प्रेम समेटिएको पाइन्छ ।

”नानीबाबालाई मुक्तकसङ्ग्रह प्रकाशन गर्न पहिलेदेखि नै आग्रह गरिएको हो ।” पुस्तकमा विधान आर्चायलेख्नुहुन्छ, ”पत्रपत्रिकामा उनका फुटकर रचना धेरै आए । एक दिन अलि कर गरेर भनेपछि उनले डायरी लिएर आइन् । डायरीमा एकहजार दुईसयभन्दा बढी सङ्ख्याका मुक्तक रहेछन् । अनि, केही समयका अन्तरालमा ती सबैलाई पढी, बाँची  चार सय ५० मायाका मुक्तकजतिलाई यस सङ्ग्रहका लागि छुट्टयाइयो । मायाबाहेक सामाजिक र राजनीतिक विसङ्गतिमा पनि उनका कलम तिखा रहेछन् । ती मुक्तकको स्वाद भने पाठकहरूले केही समयपछि अवश्यै लिने छन् ।”

त्यसैगरी पुस्तकमा नानीबाबा लेख्नुहुन्छ, ”यसरी लेखनमा समय बित्दैजाँदा र अन्य साहित्यकारसँग पनि भेटघाटका क्रममा एउटा कार्यक्रममा पञ्चाङ्ग साहित्य समाजका संयोजक सोमनाथ लुइटेल ‘रवि पाल्पाली’ले राम्रा मुक्तक लेख्नुहुँदो रहेछ अब, पाँच पङ्क्तिमा लेखिने पञ्चाङ्ग विधामा पनि कलम चलाउनु पर्छ है भन्नुभयो । मैले पञ्चाङ्ग विधामा पनि कलम चलाउन सुरु गरेँ । त्यसरी नै टुक्का कविताका अध्यक्ष ताराप्रसाद चापागाईले पनि ‘मुक्तक सँगसँगै टुक्का कविता पनि लेख्ने गर्नुस् है’ भन्नुभयो । मैले टुक्का कविता पनि लेख्न थालेपछि मेरा पञ्चाङ्ग र टुक्का कविताहरू विभिन्न पत्रपत्रिकामार्फत् प्रकाशित हुनथाले । यसरी के के लेख्दालेख्दै म यहाँहरूको मायाको अपेक्षा राख्दै आज मुक्तकमा आइपुगेकी छु । हिजोआज लेखन कार्यमा नै मेरा दिनहरू बितिरहेका छन् । मेरा लेखहरू देख्दा र पढ्न पाउँदा खुसी हुने मेरा श्रीमान बालकान्त अधिकारी र केही समय म अस्ट्रेलिया बस्दा पनि मुक्तक लेख्न सम्झाई रहने र लेख्ने वातावरण मिलाई दिने मेरा ज्वाइँ सुरेन्द्र तथा छोरी आभा अधिकारीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु । साथै नातिनी ओरिभा र नाति एइडेनका माया पनि यिनमा घोलिएको अनुभूत गरेकी छु ।”

पुस्तकलाई नेपाल स्रष्टा समाजले बजारमा ल्याएको हो । चार सय ५० पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय ९९ रुपियाँ रहेको छ ।

===================

६. श्रीमद्धगवद्गगीता – हरिभक्त सिग्देल’ महेश’


लेखक हरिभक्त सिग्देल ‘महेश’को नेपाली अनुवाद हो ‘श्रीमद्धगवद्गीता’ । सिग्देलले श्रीमद्धगवद्गगीताको श्लोकहरुलाई नेपालीमा अनुवाद गर्नुभएको छ ।

श्रीश्रीमद्भगवद्गता छ शिरमा के थाप्नुपर्ने छ र ?
यौटा मात्र छ नाइके भुवनमा के जान्नुपर्ने छ र ?
पढ्दै मात्र थिएँ कतातिर भनी आयो कुरा सोधनी
लेख्नूस् है अनुवादकै विषयमा आज्ञा दियो लेखनी 

गीता सप्तशती छ श्लोक जसको भाषा हुँदा संस्कृत
भाषामा अनुवाद छन्द नमिली के गर्नु मैले छ त
मेरो सोच छ रामचन्द्र घिमिरे लेख्नूस् न यो छन्दमा
यो प्रस्ताव सुनी म हार्न नसकी थाली बनें शून्य म 

नौलो लेखक पृष्ठभूमि खुदकै के लेख्न सक्ला हरे !
ज्ञाता साधक छन् सुभक्तहरिका सर्वस्व जान्ने परे
जानेका मुखिया विशेष मनका आधारको हो मत
थार्ले नूतन काम यो समयमा आज्ञा छ होस् उन्नत 

धेरै एक लिएर जन्ममितिमा जन्मे हरीभक्त जो
अर्को जन्म दिए म पात्र चुनिएँ आधार पाएँ अहो
गङ्गा खड्ग मिलेर सिंह प्रहरी बन्ने हरीको मति
राख्छन् जो हरिकृष्ण पुस्तक भनी मान्छे बुझेका अति

हरिभक्त सिग्देल महेशद्वारा दक्षिणकालीको सेरोफेरो, विश्व ब्रहमाण्डपति श्री पशुपतिनाथजस्ता अनुसन्धानात्मक पुस्तक साथै श्रीमद्भगवद्गीता, श्रीदुर्गा सप्तशती चण्डी, श्रीरामगीता, श्रीरुद्रगीता, श्रीशिवगीता, श्रीमद्भगवद्गीतासमेत नेपाली भाषामा र लोकलयमा अनुवादित भई प्रकाशित छन् । साथै शान्तिक्षेत्र नेपाल, रौराको जिन्दगानी कवितासङ्ग्रह सवारी ज्ञानमणि माला, मुक्तिको बाटो र गृहस्थाधममै मुक्ति, सबैको प्रार्थना र भजन, गीता सार, नवरत्न, त्रिरत्न, सूर्यमाला भजनसङ्ग्रह, धर्मसार शास्त्रसार, गौराङ्ग खण्डकाव्य, एकमात्र महाकाव्य, म अमर छु पद्य कवितासङ्ग्रह, एकमात्र गद्य कवितासङ्ग्रह, एकमात्र वृहद् अनुसन्धानात्मक कृति, अनित्य वाछिटासङ्ग्रह, व फिलोसोफी अफ रिलिजन्स, सूयं प्रार्थना सहित ४९औं पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

पुस्तकलाई मीना सिग्देलले प्रकाशन गर्नुभएको हो । एक सय छ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।