‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक – चैतन्य अधिकारीको ‘झरीको किनार’, जगन्नाथ पौडेलको ‘बग्दैबग्दै’, दीपक सुवेदीको ‘हङ्कङको नेपाली साहित्य र अन्य समालोचना’, दिव्य गिरीको ‘ईश्वरको अनुहार’, जिग्मे लामा (नर बहादुर)को ‘अमरभूमि’, विनोद नेपालको ‘ससुरालीदेखि सुस्तासम्म’ ।
० ० ० ०
१. झरीको किनार – चैतन्य अधिकारी
दृष्टिकोण, विचार र भावनालाई सशक्त ढङ्गले काव्यिक अभिव्यक्तिमा रूपान्तरण गर्ने कवि चैतन्य अधिकारीको कवितासंग्रह हो – “झरीको किनार” ।
१०९ पृष्ठमा आबद्ध यस संग्रहमा ‘जूनको वर्षा’, ‘मौसम आग्रह’, ‘शरद’, ‘फुकुशिमा’, ‘शहरमा’, ‘पहाडमाथिको अनुसन्धान’, ‘ओदाने जून’, ‘प्रगतिमा कविता’, ‘झाल र रूख’, ‘मणिहरू’ लगायत ६२ थान कविता संग्रहित छन् । यस संग्रहभित्र कविको सरलता र बोधगम्यता स्पष्ट रूपमा पाइन्छ । त्यसलाई कविले आफ्नै शैली र काव्यिक बनोटमा लिपिबद्ध गरेका छन् ।
पुस्तकको पछिल्लो कभर पृष्ठमा सरुभक्तको अभिव्यक्ति पाइन्छ, “युवा कवि चैतन्य अधिकारीलाई म केही समयदेखि निरन्तर पढिरहेको छु । उनका कवितामा आवेग र आक्रोशको सपाट बयानवाजी होइन, भिन्न संरचनात्मक प्रविधिप्रतिको सचेतता भेटिन्छ । उनका कवितामा समकालीन युगका बिम्बहरू, राष्ट्रिय एवं सामाजिक बिम्बहरू पाइन्छन् तर ती कथात्मक ढङ्गले अभिब्यक्त हुन्छन् । उनका छोटा लामा कविताहरू कथात्मक छन् । कविता भन्दाभन्दै तिनले कथा भन्छन्, कथा भन्दाभन्दै तिनले कविता भन्छन् । कवितामा उनका शब्दहरू सरल छन्, शिष्ट छन् तर बौद्धिक गहिराइयुक्त छन् । सरल शब्दहरूमा गहन अभिव्यक्ति सन्धान गर्नु उनको कवितात्मक विशेषता हो । निरन्तर साधनाले उनको प्रतिभा ऊर्जा घनिभूत बन्दै जाने कुरामा म विश्वस्त छु ।”
“प्रकृतिको विचित्र लाग्दो वैविध्यतामा रमाउने कवि हो चैतन्य । यसको अर्थ प्रकृतिको निरपेक्ष वर्णन भने होइन । ऊ आफू भित्रको मान्छेको आँखाबाट प्रकृतिलाई हेर्छ र त्यसको उदात्ततालाई जीवनमा ग्रहण गर्न आतुर हुन्छ । साना कद काठीका सरल शब्दहरूबाट गम्भीर कविताको आयोजन तर्फ चैतन्यको कवि प्रयत्नरत छ भनेर म ढुक्कै भन्न सक्छु ।” शुभकामनामा तीर्थ श्रेष्ठ लेख्छन्, “मधुर ध्वनिका सुमधुर कविता लेखन तर्फ प्रवृत्त चैतन्य नेपाली जनजीवनका पीडा, छटपटी, कुण्ठा, आक्रोश, र दुखसँग परिचित छन् । तिनलाई वाणी दिएर मुखरित गर्ने तर्फ उनी सचेत छन् । उनी विद्रोह त बोल्छन् तर त्यो दावानल जस्तो हुँदैन । चुल्होको आगो झैँ आत्मीय हुन्छ । सत्ताको कुरूप अनुहार र त्यसको दंशले विषाक्त जनजीवनलाई छोइने ढङ्गले उजागर गर्न चैतन्य सिपालु देखिन्छन् ।”
पुस्तकलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशनमा ल्याएको हो । यसको मूल्य २ सय रुपियाँ हो ।
= = = =
२. बग्दैबग्दै – जगन्नाथ पौडेल
सूक्ष्म चिन्तनलाई गम्भीर चेतनाद्वारा कलात्मक सौन्दर्य साथ प्रस्तुत गर्ने कवि जगन्नाथ पौडेलको पहिलो कवितासंग्रह हो – “बग्दाबग्दै” ।
२ सय ३९ पृष्ठमा बुनिएको ‘बग्दाबग्दै’मा ‘हाँगा’मा ९ थान कविता, ‘पात’मा ७ थान कविता, ‘फल’मा ४ थान कविता, ‘सेउला’मा २२ थान कविता, ‘रुख’मा ९ थान कविता, ‘चरा’मा १९ गरी ६ वटा उपशीर्षकमा ७० थान कविता समावेश छन् । यसमा विशेषगरी डायस्पोरिक जीवन, मानवीय सन्ताप, क्षयग्रस्त पर्यावरणका विषयवस्तु पाइन्छ ।
‘डायस्पोराका उच्छ्वास’शीर्षकमा महेश पौड्याल लेख्छन्, “जगन्नाथ पौडेलका कविता अमेरिकामा वर्तमान र भविष्य खोजिरहेको नेपाली डायस्पोराका उच्छ्वासका काव्यिक अभिव्यक्ति हुन् । डायस्पोराभित्र विद्यमान मानसिक ऊहापोह, स्वप्नमोह र अतीतप्रेम यी कवितामा यथेष्ट मात्रामा भेटिन्छ । डायस्पोरा भित्रको स्निग्ध व्यक्तित्वको निर्मिति भने उसले बालापन र युवाकाल बिताएको घरदेशकै सुखदुःखले बढी निर्माण गरेको हुन्छ । उसको मानसले कहिल्यै पनि कर्मदेशका मूल्यविधानलाई पूर्णतामा स्वीकार गर्न सकेको हुँदैन भन्ने धारणाका साक्ष्य जगन्नाथका यी कविताहरू हुन् । रैथाने हुनु र आप्रवासी हुनुको बीचतिर विद्यमान एउटा तरल मानिसक भूगोलमा यी कविता उभिएका छन् ।”
शुभकामनामा होमनाथ सुवेदी लेख्छन्, “अमेरिकाली नेपाली डायस्पोराका कविहरू धेरै छन् तापनि जगन्नाथ पौडेल नवीनतम विचार र शैलीका कवि हुन् । पौडेल काव्यजगत्मा डायस्पोरा / स्थानान्तरण, विज्ञान / क्वान्टम / प्रविधिलाई पनि अँगालेर नयाँ विचार, शिल्प र दर्शनलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्न सफल भएका छन् । उनी सन् २०२३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित अनेसास कविता महोत्सवमा प्रथम पुरस्कार जित्न सफल कवि हुन् । उनको अमेरिकाली नेपाली डायस्पोरा साहित्य विजयको बिन्दुबाट प्रखर भएर आउँछ । त्यही सूक्ष्म बिन्दुको स्थूल द्रव हो, यो कविताकृति ।”
प्रा. डा. लक्ष्मणप्रसाद गौतम उल्लेख गर्छन्, “शक्तिशाली कविता वेदका मन्त्रजस्तै सूक्तिमय हुन्छन् । बिम्बात्मक हुन्छन्, साङ्केतिक हुन्छन् र तिनले प्रकटित होइन, अप्रकटित अर्थ द्योतन गर्छन् । ‘बग्दैबग्दै’ सङ्ग्रहका सबै कवितामा यी विशेषता पाइन्छन् । यो कृति अनुभूति र संवेदनाका काव्यिक बिम्बहरूको सघन सङ्ग्रहालयजस्तो लाग्छ । यसका प्रत्येक पदपदावली र वाक्यहरू जीवन्त भएर अर्थहरूमा नृत्य गर्छन्, पाठकसँग साक्षात्कार गर्न आउँछन् र तिनले अर्थका अनेक तरङ्ग छाडेर जान्छन् । सत्तरीओटै कवितामा त्यो सामर्थ्य छ । सम्बोध्य शैलीमा लेखिएका कविताले ग्रिसेली आदि नारीकवि सफ्फोका सम्बोध्य कवितालाई सम्झाउँछन् ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले बजारमा ल्याएको हो । ‘बग्दाबग्दै’को मूल्य ४ सय ९९ रुपियाँ र १५ युएस डलर रहेको छ ।
= = = =
३. हङ्कङको नेपाली साहित्य र अन्य समालोचना – दीपक सुवेदी
नेपालबाहिरको नेपाली साहित्यको अध्ययनमा होमिएका लेखक दीपक सुवेदीको नवौं कृति हो – ” हङ्कङको नेपाली साहित्य र अन्य समालोचना” ।
२ सय २८ पृष्ठमा बुनिएको प्रस्तुत खोज–अनुसन्धानमूलक कृतिमा ‘हङ्कङको पृष्ठभूमिमा नेपाली साहित्य र स्रष्टा’, ‘कथा तत्त्वको आधारमा ‘माछाको मोल’ कथाको विश्लेषण’, ‘सङ्कथन विश्लेषण र युरेसियाको स्पर्श’, ‘हङ्कङ, नेपाली डायस्पोरा र टाँकीका फूलहरू’, ‘डायस्पोरा र परदेशी साहित्यको सीमाङ्कनमा बहस’, ‘युग्मकको इतिहास, सैद्धान्तिक रूपरेखा र मनका पाहुना’, ‘कथाकार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको निरूपण’, ‘नाट्य तत्त्व र मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक’, ‘कृष्ण अविरलको ‘करिया’ उपन्यासमा ऐतिहासिकता’, ‘लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासमा पर्यावरण’, ‘’तरुण तपसी’ मा पूर्वीय दर्शनको प्रभाव’, ‘‘समयका रेखाहरू’ कथामा करुण रस’ १२ थान आलेख समाविष्ट छन् ।
“बसोवास बाक्लिन थालेपछि आफ्नो अस्तित्वको लागि भाषा, साहित्य तथा अन्य गतिविधिहरूमा नेपालीहरू यहाँ आफू कसरी स्थापित हुने भन्नेतर्फ केन्द्रित हुँदै गए। सन् १९९७/९८ मा नेपाली स्रष्टाहरूले साहित्यिक संस्थाको आवश्यकता महसुस गरी हङ्कङको मिनीचुङ्किङ अगाडि भएको एक भेलाले नेपाली साहित्य प्रतिष्ठान बनाउने निर्णय गरेपछि यहाँको नेपाली साहित्य संस्थागत रूपले अगाडि बढेको पाइन्छ ।” नेपाली साहित्यको प्रारम्भमा लेखिएको छ, ‘बेलायत र चीनको सम्झौता मुताबिक कयौँ वर्षदेखि बस्दै आएका ब्रिटिस सेनाहरू इ. सं. १९९७ जुलाई १ देखि पूर्णरूपले हङ्कङलाई छोडेर गएपछि नेपाली बेलायती लाहुरेद्वारा प्रकाशित ‘पर्वते’ पत्रिका पनि बेलायत नै गए पनि इ.सं. १९९४ जतिखेर नेपालीहरू हङ्कङ भित्रन थाले, त्यसै समयदेखि नेपाली साहित्य हङ्कङको पृष्ठभूमिमा प्रवेश गरेको पाइन्छ ।”
विश्वसाहित्यको अध्ययन गर्दा धेरै मुलुकका विकसित भाषामा सिर्जनाको भन्दा समालोचनाको विकास पछिमात्र भएको पाइन्छ तापनि यसको थालनीको इतिहास संस्कृत र ग्रिसेली परम्परामा दुई हजार वर्षभन्दा प्राचीन देखिन्छ । संसारका विकसित भाषाका समालोचनाका सापेक्षतामा नेपाली समालोचनाको इतिहास त्यति पुरानो नदेखिए पनि यसले सवासय वर्षभन्दा बढी व्यतीत गरिसकेको छ। यस अवधिमा यसका अनेक प्रकार, पद्धति र प्रवृत्ति विकसित भएका छन्।
“नेपाली समालोचनाको थालनी मोतीराम भट्टकृत कवि भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) देखि भएको मानिएको छ। सूर्यविक्रम ज्ञवालीको नैवेद्य समालोचना प्रकाशनपछि जीवनीपरक, ऐतिहासिक, मनोविश्लेषणात्मक, प्रगतिवादी, शैलीवैज्ञानिक इत्यादि प्रकारका पूर्वाधुनिक तथा आधुनिक समालोचनाका साथै उत्तर आधुनिकतावादी प्रवृत्तिका समालोचनासमेत लेखिएका छन् । यसरी नेपाली साहित्यमा समालोचनाको कमी छैन। यो आफ्नै गतिमा अगाडि बढ्दै गएको छ ।” दीपक सुवेदी उल्लेख गर्छन्, “समालोचना पाठक र कृतिबिचको सम्बन्ध सोपान हो। यसमा एउटै व्यक्तिले लेखेर सबै विषय समेटिन सक्दैन वा विधा र क्षेत्रको प्रतिनिधित्व हुन सक्दैन । मैले यससङ्ग्रहमा मनमा लागेका भावनाहरू टिप्पणीको रूपमा मात्र प्रस्तुत गरे जस्तो लाग्दैन । प्रस्तुत पुस्तकका लेखहरू फरक समयमा फरक प्रयोजनमा लेखिए तापनि प्राज्ञिक रूपले अध्ययन र विश्लेषण गर्न पनि सहयोग पुग्ने उद्देश्यले यहाँ प्र प्रयास गरेको छु ।”
= = = =
४. ईश्वरको अनुहार – दिव्य गिरी
कवि तथा कथाकार दिव्य गिरीकृत कथासंग्रह हो – “ईश्वरको अनुहार” ।
२ सय पृष्ठमा मौलाएको “ईश्वरको अनुहार”मा ‘सनाखत’, ‘परिवर्तनपछि बिर्षबहादुर’, ‘मनमायाको बयान’, ‘भीरको उत्तिस’, ‘पहिचान’, ‘झरी, तीज र तीलहरी’, ‘प्रेमपत्र’, ‘छुटेको साथी’लगायत १९ वटा कथा संग्रहित छन् । कथाकारको सरल र मीठो भाषाशैलीमा प्रस्तुत यी कथाहरू क्लासिक जस्तै विशेष छन् ।
भूमिकामा प्रा. डा. गोविन्दराज भट्टराई लेख्छन्,”
– सत्यको प्रत्यायन वा सत्याभास गराउने कला नै सिर्जनाको सर्वाधिक ठूलो कला हो । धेरै समयपछि एक सफल यथार्थवादी कथाकार दिव्य गिरीका यस्ता कथा पढ्ने अवसर मिल्यो ।
– दिव्यका अधिकांश कथा ग्राम्य परिवेशका रहेछन् अथवा गाउँदेखि उखेलिएर भाग्दै शहर पसी शहरका मुस्किलहरू खेप्तै बस्ने पात्रका छन् । यहाँका तीनवटा मात्रै कथा गाउँलाई नछोई पलाएका छन्, एउटा पछिल्लो समयमा थपिएका दुईवटा कथामध्ये पहिलो गुलाम कथामा अफगानी युद्धको भयङ्कर त्रासदी थपिएको छ भने छुटेको साथी शीर्षकको दोस्रो कथा छ जसले युक्रेन-रसियाको वर्तमान युद्धको एक झल्का दिन्छ ।
– दिव्य भाइका कथामा जादु छ अर्थात् पसेपछि छोड्न नदिने आकर्षण । यसको अधिकांश भूगोल अर्थात् अधिकांश कथाक्षेत्र विकट पश्चिमी पहाडहरू भएकाले पहाडी जीवनसितको परिचय हुनेलाई यीबाट धेरै रस आउँछ ।”
पुस्तकको पछिल्लो पृष्ठमा ठाकुर शर्मा भण्डारी पुष्टि गर्छन्, “यस कथासङ्ग्रहका कथाहरूमध्ये सपनाकी फेवा शीर्षकको कथा पाठकलाई उत्सुकता जगाउने, कलात्मक सौन्दर्य भएको असफल प्रेम कथा । जीवनको अधैर्य र करुणामिश्रित कथा । जीवन्त कथा । सामाजिक विकृतिलाई सूक्ष्म ढङ्ग र शालीनतापूर्वक व्यक्त गरिएको कथा । कथाहरूमा उत्कृष्ट कथा । शीर्षकले कथानक पृष्ठभूमिलाई राम्रोसँग द्योतन गरेको कथा ।”
रत्न पुस्तक भण्डारबाट प्रकाशित यसको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
= = = =
५. अमरभूमि – जिग्मे लामा (नर बहादुर)
नेपालका विभिन्न क्षेत्रमा पच्चीस वर्षभन्दा बढी समय सामाजिक विकास कार्यहरूमा संलग्न रहँदै आएका बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) कृत पुस्तक हो – कृत पुस्तक हो – “अमरभूमि” ।
‘अरमभूमि – दिगो सुख, अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृत्तान्त’ लाई १२ अध्यायमा विभाजन गरिएको पाइन्छ – त्यो विशाल ताला, प्वाँख जस्तै सजिलै झर या सगरमाथा जस्तै अग्लो भएर बाँच, ब्रह्माण्डको केन्द्र, सांग्रिलाको पुनः निर्माण, एक नखोजेको युद्ध, विरोधाभासहरूको तोड, एक अमेरिकी सपना, सुखको राजा, तिलष्मी चावी, आकाश र पर्वतहरूबीच, अमरभूमि र मायावी जीवन हुन् ।
“यस पुस्तकका प्रारम्भिक अध्यायहरूमा उहाँ आफ्नो जिज्ञासाले डोऱ्याइँदै हिमाली हुम्ला, कैलाश क्षेत्र, समाजका भूगोल अनि त्यहाँका सामाजिक, आर्थिक अवस्था र समस्याहरू खोतल्दै त्यसको समाधान खोज्दै हिँड्नु भएको रहेछ । पछिल्ला अध्यायहरूमा तिनको श्रोत, कारण खोतल्ने काम भएको छ । त्यसपछि गहिराइमा डुबेर सिद्धहरूको वृत्तान्त र शिक्षा अनि आफ्नो अन्तरमनमा केलाएर हेर्नुभएको छ, लेखकले । तिनै अनुभूतिहरु सँगाल्दै निखारिएर गएको उहाँको दृष्टिमा, एक सुखी समाज, व्यक्ति अनि शुद्ध भूमि पहिल्याउने साहस गर्नु भएको छ ।” भूमिकामा मिलन शाक्य लेख्छन्, “बौद्ध परम्परामा सिद्धहरूका मोक्ष वृत्तान्त (नाम्थार) र उपदेशहरू, मनका अन्तरङ्गबारे थप लेखनको सायदै कुनै आवश्यकता होला । अनि यो जो कसैका लागि सहज विषय पनि हैन । तर परिवर्तनको संघारमा रहेको, भाषा, भूगोल आदिले विभाजित, विगतबाट विमुख हुँदै गएको समाजमा विगतका उपदेशहरूबाट जति सकिन्छ सकारात्मक सिकाइ र भोगाइहरूलाई सरल, सुबोध भाषामा नयाँ पुस्तामाझ ल्याउन सक्नु एक सराहनीय कार्य हो । यस पुस्तकले दिन खोजेको सन्देश आधुनिक जीवन र समाजलाई निकै उपयोगी हुने म देख्छु ।”
पुस्तकको बाहिरी पछिल्लो पृष्ठमा उल्लेख छ–
“यदि यस समयमा सांग्रिलाको कुनै अवशेष छ भने यो यही हो जिग्मे… नेपालमा तपाईहरूसँग बिताएका ती दिनहरुलाई हामी जीवनको उत्कृष्ट अनुभवका रूपमा हेछौं । ”
।”- माइकल डेभिड वुड
“एक सुन्दर अनि प्रभावशाली किताव …” –केट सिहान रोच
“हिमाली क्षेत्रको साहित्यमा एक कोशे ढुंगा सावित हुने देख्छु…” – रिन्जिन फुन्जोक लामा,
“रमाइलो, अद्वितीय शब्द लयमा कैद सुन्दर कथा…” – मेरीरोज फेनलि
बुक्स हिमालयबाट प्रकाशित २ सय ६५ पृष्ठमा आधारित यस पुस्तकको मूल्य ७ सय रुपियाँ रहेको छ ।
= = = =
७. ससुरालीदेखि सुस्तासम्म – विनोद नेपाल
कवि तथा नियात्राकार विनोद नेपालको चौथो कृति हो – “ससुरालीदेखि सुस्तासम्म” ।
१ सय ३५ पृष्ठमा बुनिएको यस नियात्रासंग्रहमा ‘चक्रपथको फन्को’, ‘ओझेलमा इचङ्गु’, ‘स्वयम्भूको थुम्कोमा’, ‘गुफाको देउता’, ‘दहचोकमा सेतो हात्ती’, ‘शहीद गोविन्दको गाउँ’, ‘खोया खाँदै बैतडी’, ‘ससुरालीदेखि सुस्तासम्म’, ‘ट्याक्सीमा दिङला’, ‘आहा ! अन्धाअन्धी दह’, ‘आँसु बगेको छ इन्द्रावतीमा’, ‘धरिनडाँडामा प्रफुल्लित मन’, ‘कुहिरोभित्र कुरी’, ‘देखेको जिरी’ र ‘बाँदरलाई सुर्ती’ १५ थान नियात्रा समेटिएका छन् ।
“यस सङ्ग्रहका पाँचवटा निबन्धहरू काठमाडौं उपत्यकाभित्रको अवलोकन भ्रमणसँग सम्बन्धित छन्। तिनमा काठमाडौंका सामाजिक तथा सांस्कृतिक महत्त्वको स्थानहरूको अवस्थालाई प्रकाशनमा ल्याउने काम लेखकले गर्नुभएको छ । आफ्नै सेरोफेरोका सामान्य विषयमा केन्द्रित भई विचारलाई प्रवाहित गर्न सकिन्छ भन्ने कुराको पुष्टि काठमाडौं केन्द्रित भ्रमणबाट निस्किएका सिर्जनाहरूबाट प्रस्ट हुन्छ । काठमाडौंभित्र रहेका पौराणिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका सम्पदा तथा तिनको संरक्षणप्रति राज्य र नागरिकले चासो र चिन्ता लिनुपर्ने विचार यी निबन्धहरूमा व्यक्त गरिएको छ ।” भूमिकामा डा. टंकप्रसाद पन्थ लेख्छन्, “लेखकभित्र सल्बलाएको सुधार र निर्माणको चेतका साथमा सचेत नागरिकको कर्तव्य पनि यहाँ प्रस्तुत भएको छ । दशवटा निबन्धहरू पूर्वी नेपाल, मध्य नेपाल र पश्चिम नेपालको भ्रमणसँग केन्द्रित रहेका छन् । प्रकृतिसँगको साक्षात्कारका साथमा देशदर्शन को आनन्दमय अनुभूति यी निबन्धहरूमा व्यक्त भएको छ । भारतीय सीमामा बस्ने नेपालीहरूले भोग्नुपरेका पीडा र अकालमा मर्नुपरेको अवस्थाको चित्रण मार्मिक रूपमा भएको छ । नेपालका विभिन्न स्थानमा घुम्दै गर्दा पाठकलाई सँगै हिँडाउनु र स्थानीय वस्तुस्थितिको अवलोकन गराउन सक्नु उहाँको विशेषता हो। लेखकले भोगेको समस्या र प्रतिकूलतामा पाठकमा पनि संवेदना उत्पन्न हुने स्थितिमा लेखन अगाडि बढेको छ ।”
मेरो भन्नुमा लेखक उल्लेख गर्छन्, “लेखन शैलीको हकमा कसैका नियात्रामा निबन्ध तत्त्वको आधिक्य पाइन्छ, निजात्मक अनुभूतिको प्रचुरता पाइन्छ, कसैका हकमा वार्ता र संवाद, प्रकृति र संस्कृति, समाज र जनजीवनको वर्णन पाइन्छ। नियात्राको क्षमताको परीक्षण पाठकलाई सँगसँगै घुमेको अनुभूति गराउन सफल वा असफल भएको कुराबाट हुन्छ । ज्ञान र जानकारीसँगै पाठकलाई सम्बन्धित यात्रामा सँगसँगै रहेको अनुभूति गराउन सकेमा त्यो नियात्रा वास्तविक र सफल नियात्रा ठहरिन्छ ।”
पुस्तकलाई भूगोल साहित्य समाजले बजारमा ल्याएको हो । १ सय ३५ पृष्ठमा फैलिएको ‘ससुरालीदेखि सुस्तासम्म’को मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।