हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।
हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ३ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. अनन्त इच्छाका गीतहरू – योगेन्द्र तिमिल्सिना
‘मन फुकाएर तिमीलाई
एक अँजुली सुगन्धित फूल दिएँ ।
मन खुम्चयाएर तिमीले त्यसलाई अस्वीकार गर्यौं,
मेरो मन चसक्क भयो तीखो काँढा बिझे झैं ।
हत्केलाको फूलमा कुनै काँढा पो थियो कि !
कतै मैले तिमीलाई केही भनी बिझाएको थिएँ कि !
के थाहा तिनै फूलहरु तिम्रो रङ्गीन संसार हुन्थ्यो कि !
अथवा के थाहा त्यो पनि क्षणिक नै हुन्थ्यो कि !
मेरो मन झन् सानो पो हुन्थ्यो कि !
मेरो अन्तर्मनको आशा अब हराउने पो हो कि !
(अन्तर्मनको आशा, पृ. ४)
साहित्यकार योगेन्द्र तिमिल्सिनाको नवीनतम कविताकृति हो ‘अनन्त इच्छाका गीतहरु’ । यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरुमा जीवनबोध, प्रेम र वियोग, समाजिक चित्रण तथा देशप्रेमका भावहरु प्रस्तुत भएका छन् ।
सङ्ग्रहमा ‘अक्षर र जीवन’, ‘अनन्त इच्छाका गीतहरु’, ‘अन्तर्मनको आशा’, ‘असारे गीत’, ‘आत्मविश्वास’, ‘आफ्नै पीरले रुनेहरु’, ‘आस्था’, ‘काकाको घर’, ‘के भएन’, ‘खुलेको छैन’, ‘गीतारको धून र वयस्क मानिस’ लगायत ४० वटा फरक स्वाद र बान्कीका कविताहरु सङ्ग्रहित छन् ।
‘जेथा छ र पो यो ज्यान
कल्कलाउँदो देखिएको छ ।
जेथा छ र पो यस हाकपारेलाई
कसैले हेरिदिएको छ ।
जुत्ता त म हुँ,
तिम्रा नरम पाउ राखी दिए पुग्छ ।
तिमी त शिरफूल हौ,
मैले नजर लाए मात्र पुग्छ ।’
(शिरफूल, पृ. ४७)
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । ५८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
…
२. जेई – विवेक शर्मा गौतम
साहित्यकार विवेश शर्मा गौतमको लघुकथासङ्ग्रह हो, ‘जेई’ । रुकुमेली अर्थमा जेई भनेको आमा हो । सङ्ग्रहमा रहेका लघुकथाहरुमा जजनीप्रतिको असीम श्रद्धा र शुभेच्छा झल्किएका छन् । सङ्ग्रहमा आमा र मातृत्व विषयका लघुकथाहरु पनि रहेका छन् ।
‘स्रष्टा विवेकजीले जेईमा दैनन्दिन जीवनका सामान्य घटना, विशेष अवसर र मानवीय संवेदनासित जोडिएका विविध अनुभूतिलाई विषय बनाएका छन् ।’, भूमिकामा ध्रुव मधिकर्मी लेख्छन्, ‘उनको एउटा विशेषता भनेको पर्यावरण, महिला हिंसा, विभेद, खेलकुद, औंशी आदि विभिन्न अवसरलाई विषय बनाएर लेख्नु हो । तीज, संविधान दिवस, चुनाव, प्रणय दिवस, फागु, नारी दिवस, नयाँ वर्ष आदि विभिन्न अवसरलाई लक्षित गरेर लेखिएका लघुकथाले उनी त्यस्ता दिनसित सम्बद्ध विषयमाथि कटाक्ष गर्न रुचाउँछन् भन्ने देखिन्छ ।’
त्यस्तै, प्रकाशकीयमा लेखिएको छ, ‘स्रष्टा विवेश शर्मा केही समयदेखि लघुकथामा सिर्जनारत् छन् । यी लघुकथाहरु के कस्ता छन् भन्ने बारे लघुकथा र त्यसका बारेमा लेखिएका विभिन्न स्रष्टाहरुको भूमिका मन्तव्य र शुभकामना पढेपछि अवगत हुने नै छ । अहिले लघुकथा लेख्नेहरु धेरै छन् । यो भीडमा स्रष्टा गौतमको आफ्नो फरक रुप छ भन्ने हामीलाई लाग्छ । त्यही विश्वासले गर्दा यो पुस्तक प्रकाशित गरिएको हो ।’
पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । ५१ थन लघुकथा सङग्रहित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
…
३. सपना कतिपय – कुमार काफ्ले
शिक्षण पेशामा आबद्ध साहित्यकार कुमार काफ्लेको लघुकथासङ्ग्रह हो, ‘सपना कतिपय’ । काफ्लेका लघुकथाहरुमा वर्तमान समय र समाजको चित्रण, मानवीय आचरण तथा मानसिक मनोदशा, जीवन संघर्ष र जीवनबोध पाइन्छ ।
‘सुन्दर अर्थध्वनिको आभाको प्रसारण, विज विचारको प्रयोग, आरम्भ, उत्कर्ष र निष्कर्षको प्रयोग, विकृति र विसङ्गतिको उभारका साथै चोटिलोपनको प्रवेशको उपयोगमा ध्यान दिएको पाइन्छ ।’, भूमिकामा डा. विदुर चालिसे लेख्छन्, ‘ब्राह्माणको ‘झिल्का’ लघुकथासङ्ग्रहको सम्मान र आदर भाव प्रकट गर्न यस प्रकारको कतिपय सपनामा गुम्फित समस्या विन्दु नेपाली समाजमा विशेष अर्थमा स्थापित पीडाको रुपमा रहेको कुरा यो लघुकथासङ्ग्रह आएको छ ।’
त्यस्तै, प्रकाशकीयमा लेखिएको छ, ‘यो पुस्तक नेपाली लघुकथाको क्षेत्रमा ब्राह्मणको लघुकथाकारिताको शैलीय परम्परामा लेखिएको भए पनि ‘लघुकथा माला’ स्वरुपको एक बृहत्तर ढाँचामा संरचित भएको ‘औपन्यासिक समरुप आयाम’को नेपाली साहित्यमै ‘विधागत नौलो प्रयोगको अर्थमा पहिलो र नवीन पुस्तक हो’ भन्ने हाम्रो प्रकाशनको ठम्याइ छ ।’
पुस्तकलाई नमस्ते आधुनिक लघुकथा मञ्चले प्रकाशनमा ल्याएको हो । ५४ थान लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ३३ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।