
यो सृष्टिको
अनुपम धरोहर
करोडौँ आत्माहरूको साझा घर
प्रकृतिको न्यानो काख
म एक अखण्ड पिण्ड हुँ
जल-जंगल-जमिन
मेरा अभिन्न अवयवहरू हुन्
यो आकाश यो बादल, घाम, जून
मेरा शृङ्गारका अप्रतिम आभूषण हुन्
आजकल-
फिका-फिका हुँदै गएको छ मेरो सौन्दर्य
जीर्ण बन्दै गएका छन् मेरा अङ्गप्रत्यङ्ग
कसले लुट्यो मेरो यौवनको रङ ?
कसले च्यात्यो मैले ओढ्ने
ओजनको बाक्लो बर्को ?
कसले झोस्यो मेरो कोखामा
आणविक भट्टीको आगो ?
नदी-नदी जस्तो भएर बग्दैन
हावा-हावा जस्तो भएर बहँदैन
हिउँ-हिउँ जस्तै भएर किन जम्दैन ?
बिझाइरहन्छन्
यी आँखाका नानीहरू
मलाई पोल्छ हिउँको रापले
कसले उत्सर्जन गर्यो मेरो छातीमा
कार्बन मोनो अक्साइडको जहर ?
कसले छ्याप्यो मेरो सार्वभौम आकाशमा
क्लाउड सिडिङका विषाक्त रसायन ?
सदियौँदेखि मेरो वक्षस्थलमा टाँसिएर बसेका
हिउँका स्निग्ध पहाडहरू
किन पग्लिरहेछन्
आँसुका ग्लेसियर बनेर ?
हे मान्छे !
सल्काएर चेतनाको मस्तिष्कमा
विध्वंशको आगो
किन रोप्दैछौ मेरो छातीमा कलहको बिउ ?
सावधान !
एक दिन पहिरो बनेर खस्ने छन्
मेरा यी जब्बर पहाडहरू
तिम्रा सुन्दर सपनाहरूमा
सुनामी बोकेर उर्लिँदै आउने छन्
हिमनदीका क्रुद्ध अनुहारहरू
हावालाई आफ्नै गतिमा वहन देऊ
माटोलाई आफ्नै प्रकृतिमा रहन देऊ
पानीलाई आफ्नै लयमा बग्न देऊ
याद राख !
मेरो अस्तित्वसँगै
तिम्रो अस्तित्व जोडिएको छ
म नहुनु भनेकै
तिमी नहुनु हो ।
°°°°
(नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८२ मा सर्वोत्कृष्ट १० मा परेको पर्या- कविता ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

