
विकास
दशकौँपछि
तिलस्मी पोको बोकेर
बुल डोजर लिएर
गाउँ पस्यो
र,
ढालिदियो
हजुरबुबाले आस्थाले रोपेको
बाटो छेउको वरपिपलको चौतारी
पुरिदियो
बाजेहरूको पसिनाको बुँदले भरिएको
काकाकुल गाउँको साझा इनार
भत्काइदियो
एउटा बलियो विश्वासको
जगमा उभिएको
पुस्तैनी किलो
बाटो छेउको बाटुले घर
उखेलिदियो
कला, सभ्यता र सम्पदाका धरोहर
हराउँदै गए
हरियाली बाग बगैँचाहरू
हरिया खेत र पाटे बारीहरू
मेटिए सिमसार र बुट्यानहरू
विस्थापित भए पाटी, पौवा र सत्तल
विकास
दशकौँपछि गाउँ पस्यो
र
रोपिदियो
एउटा कलहको बिउ
थोपरिदियो मुआब्जाको लालच
र देखायो समृद्धिका सपनाहरू
आजकल
कङ्क्रिटका गन्तव्यहीन
बाटाहरूले जेलिएका छन् फाँटहरू
बढेको छ जग्गाको भाउ
खस्केको छ मान्छेको भाउ
फराकिला भएका छन् बाटाहरू
साँगुरिँदै गएका छन् मनहरू
फैलिएका छन् गोरेटाहरू
खुम्चिएका छन् सम्बन्धहरू
सम्पन्नताले उँचाइ छुँदै जाँदा
खस्किँदै गएका छन्
मानवीय संवेदनाहरू
मेटिएको छ पहिचान
हराएको छ मानवता
हो, वास्तवमै
विकास आएपछि
सुरु भएको छ
प्रकृतिको विनाश ।
°°
हेटौंडा-४ मकवानपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

