रक्सौलबाट बिहान ८ बजे मिथिला एक्सप्रेसको लगभग १६ घण्टाको सुस्त गतिको रेल यात्रापछि सात सय किमीको दूरी पार गरी कलकत्ता हावडा जक्सन आइपुग्दा बिहानको ४ बजेको थियो ।

बिहानको मिर्मिरेमा विशालकाय दुई पिल्लरे ८० वर्ष पुरानो आश्चर्यजनक हावडाको पुल हाम्रो आँखा अगाडि लमतन्न सुतिरहेको थियो ।  तल बगिरहेको गङ्गा /हुगली नदी सुसाएको आवाज हाम्रो कानमा  गुन्जिरहेको थियो  ।

कलकत्ता सहर र हावडाको पुल मेरा लागि भने पानीपधेँरो जस्तै थियो । जीवनमा धेरैपल्ट कलकत्ताको यात्रा गर्ने अवसर मैले पाइरहेको थिएँ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योतिबसुका पालादेखि ममता बेनर्जीसम्मको यो यात्रा निरन्तर चलिरहेकोछ ।

कुनै समयको भारतीय कम्युनिस्ट पार्टीहरूको गढ भनेर चिनिने कलकत्ताबाट आज साम्यवाद  लगभग प्रायः समाप्त जस्तै भैसकेको छ ।

तर यहाँको गरिबी र भिकारीहरूको अवस्था उस्तै देखिन्छ ।  पुराना भवन र सागुरा गल्लीहरूले  कहिल्यै पनि काँचुली फेर्न सकेका छैनन् । निम्न वर्गीय मान्छेहरूको दयनीय अवस्था, मान्छेले नै तानेर दौडिने रिक्साहरूले प्रतिबिम्बित गरिएको देखिन्थ्यो ।

कलकत्ता पुरानो ऐतिहासिक सहर हो । बङ्गालीहरूकै बाहुल्य रहेको यहाँको आफ्नै मौलिकपना छ ।

हामीसँग कुनै समयको भारतको राजधानी कलकत्तामा घुम्नका  लगभग जम्मा १२ घण्टाको समय थियो । हामीले अर्को रेल रातीको ८ बजे डुरुन्दो एक्सप्रेस समात्नु पर्ने थियो ।  दिनभरिको कलकत्ता घुम्ने कार्यक्रम एउटा जिप रिजर्भ गरेर सहज रूपमा  बनायौँ र नजिकै रहेको दक्षिणेश्वर मातादेवीको दर्शनबाट हाम्रो बिहानको सुरुवात भयो । अनि नजिकै रहेको अर्को सर्वधर्म समन्वयको प्रतिनिधि रामाकृष्णमन्दिरको अवलोकनका साथै कलकत्ताको प्रसिद्ध भिक्टोरिया पार्क र खिर्तिपुरको बन्दरगाहमा तैरिरहेका विशालकाय जहाजहरूको मनोरम दृश्यावलोकनपछि हामी सियालद जक्सन आइपुग्दा दिउँसोको २ बजिसकेको थियो ।

बङ्गाल राज्यबाट उडिसा राज्यतर्फ दौडिन डुरुन्दो एक्सप्रेस हाम्रो स्वागतमा खडा थियो । हामी हाम्रो लगेजहरू बोकेर  वातानुकूलित डिब्बाभित्र पसिसकेका थियौँ । सफा र सुन्दर वातानुकूलित डिब्बाभित्र सुन्दर र शान्त वातावरण थियो । हाम्रा बाबुनानीहरूले डिब्बा भित्रको माहौललाई एक प्रकारको रौनकता र उल्लास  थपिदिएका थिए । रेलभित्र बङ्गाली र उडियाहरूको नै धेरै बाहुल्यता देखिन्थ्यो । रातीको ९ बजिसकेको थियो । हाम्रो रेलगाडी एकतमासले दौडिरहेको थियो । बाहिर अँध्यारो निस्पट्ट, केही देखिँदैन थियो ।

हाम्रो बी- १ बगीभित्र भने एकदम रमाइलो वातावरण थियो । रातीको डिनरमा तातो भेजिटेबल सुपर र स्न्याक्सले हाम्रो स्वागत हुँदै थियो । वेटरहरू यताउता दौडिरहेका थिए । लाग्दथ्यो हामी कुनै राम्रो वातानुकूलित होटेलमा बसिरहेका छौँ । सफा सेता तन्ना, तकिया र कम्बल बिछ्याइएको एकमाथि एक तीन लहर सिटहरू दुईतर्फ थिए । हाम्रो ११ वटा सिटअनुसार हाम्रो सुविधाका भेजडिनर सेट हाम्रा अगाडि आइसकेका थिए । रातको १० बजिरहेको थियो । लामो यात्राको थकान र निद्राले हाम्रो टोलीहरू सबै मस्त निदाइरहेका थिए  । बिहानको ४ बज्दा नबज्दै हाम्रो सुपरफास्टले उडिसा राज्यको पुरी जक्सन पुराइसकेको थियो ।

हाम्रो सुपरफास्ट दुरुन्दो एक्सप्रेसले पाँच सय ५० किमीको दूरी पार गर्न ८ घण्टा पनि लगाएन ।

दुईसाल पहिले यही उडिसा राज्यबाट सुरु भएको हुतुहुतुले हाम्रो नेपालमा ठुलो आँधीबेहरी लिएर आएको थियो र ठुलो जनधनको क्षति पुर्याएको सम्झना हामीलाई ताजै थियो ।

भगवान् श्री जगन्नाथको कृपादृष्टि रहेको यस ठाउँमा  धेरै किंवदन्तीहरू सुन्न पाइन्छ । भगवान् श्रीकृष्ण, बहिनी सुभद्रा र दाइ बलरामको विग्रह मूर्ति श्री जगथन्नाथ मन्दिरभित्रको मुख्य आकर्षण रहेको छ ।

यो मन्दिरको आश्चर्यजनक  किंवदन्तीहरू धेरै छन् ।

यहाँ पकाएको महाप्रसाद– जो एक प्रकारको खिचडी हुन्छ यसको महत्त्व धेरै रहेको छ । जेजस्तो भए पनि मनले चोखो मानेर खानुपर्ने र यहाँ छुवाछुत र भेदभावपूर्ण व्यवहार कसैले कसैलाई गर्न नहुने भनाइ रहेको छ। कलाकौशल र पुरातात्त्विक महत्त्वले भरिपूर्ण मन्दिरको दर्शन गर्ने दर्शनार्थीहरूको अत्यधिक भिडलाई छिचोल्दै भित्र दर्शन गरेर फर्कनु एउटा महाभारतको युद्ध जितेर आएकोजस्तो महसुस  हुने रहेछ ।

हामीले हाम्रो यात्राको दुई दिन मन्दिर र समुद्रमा उर्लेर आएका छालहरूसँग रमाएर बितायौँ । बङ्गालको खाडीमा विशाल समुद्रका छालहरू डरलाग्दोसँग उर्लिएर आउँदा एक प्रकारको रोमाञ्चक अनुभूति हुँदो रहेछ । उडिसामा घुम्नका लागि धेरै पर्यटकीय स्थलहरू भए तापनि हाम्रो गन्तव्यस्थल अलि टाढै रहेको र यो हाम्रो यात्राको ट्रान्जिट स्थल मात्र भएकाले हामी हाम्रो अर्को लामो रेल यात्राको तयारीमा लाग्नुपर्ने बाध्यता थियो ।  झन्डै एक हजार तीन सय किमीको यात्रा तय गर्न बाँकी नै थियो । २० तारिखको मध्य १२ बजे हामीले तिरुपति एक्सप्रेस जसरी पनि समात्नु नै थियो ।

हामी चिन्नजियर स्वामीजीको जियरमठको आत्मीय आतिथ्य–सत्कारमा रमाइरहेका थियौँ । भारतको धेरै ठाउँमा रहेकोको जियरमठले दर्शनार्थी र तीर्थयात्रीहरूका लागि निःशुल्क आवास र भोजनको व्यवस्थापन गर्दै आएको देखिन्छ । श्री चिन्नजियर स्वामीजीप्रति सबैको अगाध आस्था र विश्वास रहिआएको छ । हामीले पनि महन्त श्री १००८ इन्दिरारमन रामानुजदासप्रति आत्मीय आतिथ्यको आभार व्यक्त गर्दै आफ्नू गन्तव्यतिर रवाना भयौ  !

वैशाख ७ का दिन तिरुपति एक्सप्रेस रेल नं. १७४७९ १२:३० बजे पुरी जक्सनमा खडा थियो । हामी हाम्रो समयभन्दा अगाडि नै पिल्लेट फार्म नं. ४ मा पुगिसकेका थियौँ । एक महिना अगाडि हेटौँडामा बुकिङ गरेको सिट हाम्रो बोगी नं. एस- ३ लहरै हाम्रै नाममा सुरक्षित थिए आजको यो इन्टरनेटको सुविधाले  यो सब सहजै भएको थियो ।

हामी सबैजना आ- आफ्नो सिटमा आरामसँग  बसिसकेका थियौँ । रेलले सिट्ठी फुक्दै आफ्नो रफ्तार तेज गर्न सुरु गरिसकेको थियो । रेलको छुकछुक आवाजसँगै परपर नरिवलका रुखहरू दौडिरहेका भान हुन्थ्यो । समथर फाँटहरू, खेतीयोग्य जमिनहरू प्रशस्त देखिन्थे । दिउँसोको समय थियो । वैशाख महिनाको मध्यान्न बाहिर घाम चर्को लागिरहेको थियो । गर्मी एकदम बढिरहेको महसुस हुन्थ्यो । हाम्रो रेलको शयन कक्षका डिब्बामा हाम्रा बाबुनानीहरू रमाएर खेलिरहेका थिए । उडियाहरू आफ्नै भाषामा गफमा मस्त देखिन्थे । हिन्दी भाषा बोलेको कत्ति पनि सुनिँदैन थियो । काला अग्ला जिउडाल भएका उनीहरूको बोलिचाली र व्यवहार हेर्दा धेरै नै सिधा र सरल देखिन्थे ।

एकतमास रफ्तारमा  दौडिरहेको हाम्रो रेल गाडी समुद्री झिल, स-साना पहाडका थुम्काहरू पार गर्दै आन्ध्र  प्रदेशको सिमाना नजिकै पुग्न थालिसकेको थियो । रेल्वे स्टेसनमा मान्छेहरूको चढ्ने र उत्रने क्रम चलिरहेको थियो । रेलका डिब्बाहरूमा आन्द्रप्रदेशका तेंलुगुहरूको बाक्लो उपस्थिति बढ्दै गएको थियो । उनीहरूको भाषा हामी नबुझ्ने, हाम्रो भाषा उनीहरू नबुझ्ने । यस्तोमा एउटा इसाराको भाषा पनि महत्त्वपूर्ण  हुँदो रहेछ । इसारा नै  विश्वभाषा पो रहेछ ।

भारतीयहरू भए तापनि उनीहरू राष्ट्रिय भाषाप्रति उदासीन देखिन्थे र आफ्नो प्रान्तीय मातृ भाषाप्रति नै बढी  उदार देखिन्थे ।

हाम्रो यात्राका सहयात्रीहरू धेरै आए अनि गए तर हाम्रो यात्रा  निरन्तर चलिरहेको थियो । गन्तव्य अझै धेरै टाढा थियो । घाम अस्ताएर रात परिसकेको थियो । बाहिरको दृश्य देखिँदैन थियो । चकमन्न अँध्यारोमा हाम्रो रेल एकोहोरो सिट्ठी फुकेर दौडिरहेको थियो । रेलभित्रको वातावरण पनि अब बिस्तारै शान्त हुँदै गएको थियो । हाम्रो डिब्बामा सबैलाई गहिरो निन्द्राले सुताएको थियो । म भने अलि चनाखो निन्द्रा सुतेर उठ्दा बिहान भइसकेको थियो ।

विशाखापटनम् हुँदै हामी विजयवाडातिर आइपुग्न लागेका रहेछौँ  । अझै पूरा बिहान र दिनभरि पट्यारलाग्दो यात्रा गर्न बाँकी नै थियो ।

हाम्रो रेल समुद्री झिल, नरिबल र केराघारीका मनमोहक बाटो   हुँदै एकतमासले दौडिरहेको थियो । निरन्तरको लामो यात्रा भए तापनि केटाकेटीहरूले माहौललाई घरकै वातावरण बनाइदिएकाले हाम्रो यो यात्रा एकदम रमाइलोसँग व्यतीत भइरहेको थियो । नेल्लुर हुँदै पुरीबाट एकहजार तीनसय कि.मी.को लामो रेलयात्रा पार गरेर एक रात, दुई दिनमा हामी हाम्रो गन्तव्य तिरुपति आइपुग्दा बेलुकीको ६ बजिसकेको  थियो ।

हामी तिरुपति जक्सनमा ओर्लिएर पुनः एउटा जिप रिजर्भ गरी तिरुमल्लाको साँघुरो घुमौरो तर सुरक्षित बाटो हुँदै अघि बढ्यौँ । कडा चेकजाँचपछि हाम्रो जिप नेपालको जस्तै पहाडी बाटो हुँदै २५ किमी टाढा रहेको अति सुन्दर तिरुमल्ला पहाडमा पुग्दा रात झमक्क परिसकेको थियो । सफा र सुन्दर बाटोमा कतै कुनै गुड्खा र चुरोटको ठुटा भेटिँदैन थिए । होटेल र रेस्टुराँहरू मदिरा र मांसरहित थिए । ठाउँ-ठाउँमा निःशुल्क भोजन र आवासको व्यवस्था पनि थियो । चौतर्फी घुम्न बालाजी मन्दिरले आफ्नै निःशुल्क सुन्दर बसको व्यवस्था मिलाएको देखिन्थ्यो । एउटा स्वर्गजस्तै आनन्द र सुन्दर स्थानको अनुभूति भइरहेको थियो । टाढैबाट तिरुपति बालाजीको स्वर्ण मन्दिरको झिलिमिलीले धपक्क बलिरहेको देखिन्थ्यो । विश्वको नै सबैभन्दा धनी मन्दिर भनेर चिनिने र सबै हिन्दु धर्मावलम्बीहरूको अगाध आस्थाको केन्द्रबिन्दु रहेको बालाजी बैङ्केटेस विष्णु भगवानको अवतार मानिन्छ ।

आन्ध्र प्रदेशको विन्ध्याचल पर्वतमालामा सानो उपत्यकाजस्तै रहेको पहाड तिरुमल्लामा बालाजी मन्दिरले गरेको सेवा र विकासको उत्कृष्ट नमुना हेर्न सकिन्छ । चिल्ला सफा र सुन्दर सडकहरू, मान्छे हिँड्ने सुरक्षित पेटी, निःशुल्क घुमिरहने बसहरू थिए भने निःशुल्क भोजन र आवासको व्यवस्था पनि देखिन्थ्यो । धारामा बगिरहने अविरल पानी, चौबीसघन्टा विद्युत् आपूर्ति भइरहेको थियो । परपर पहाडमा एयर पावरको पङ्खाहरू घुमिरहेका देखिन्थे । यस्तो सुन्दर भूभागमा रहेको बालाजी श्रीनिवास भगवान्को दर्शन गर्न चौबीसै घण्टा लाखौँ भक्तजनहरूको घुइँचो देखिन्थ्यो ।

हामी बिहान १० बजे दर्शनका लागि प्रवेश गरेर बेलुका छ बजे दर्शन सकेर फर्किएका थियौँ । दर्शन गर्ने व्यवस्था सुव्यवस्थित थियो । भित्र नै बस्ने र खाने व्यवस्था सहितको आरामदायी हलहरू थिए र पुनः प्रवेशका लागि कम्प्युटराइज अत्याधुनिक व्यवस्था थियो । हामी हाम्रो स्थान सुरक्षित गर्न फेस रिडिङ् गरेर बायोमेट्रिक कार्ड बनाएर लाइनबाट बाहिर आयौँ । बाहिर घुमेर फेरि निश्चित समयभित्र पुनः प्रवेश गर्दा हाम्रो दर्शनको लाइन अगाडि सरिसकेको थियो । हामीले धेरै प्रतीक्षा गर्नु परेन । लगभग पाँच घण्टाको निरन्तर लाइन र कडा सुरक्षा जाँचपछि हामीहरू श्री बेङ्कटे्स बालाजीको सामु पुगिसकेका थियौँ ।

स्वर्ण निर्मित मन्दिरको ढोकाबाट पत्थरको मूर्तिमा विराजमान भगवानलाई एक पलकको दर्शन गरी फर्कंदा पनि मनमा आनन्दको अनुभूति हुँदो रहेछ ।

संसारमा सबैको आ- आफ्नो धर्म, आस्था र विश्वास रहिआएको छ । यस्तै अद्भुत आस्था र विश्वास यहाँ देख्न सकिने रहेछ । चौबीसै घण्टा चहलपहल भइरहने तिरुमल्ला हिल एउटा सुन्दर र सुरक्षित स्थान हो । तिरुमल्ला विन्ध्याचल पर्वतमा दुई दिन पूरा बस्दा पनि मन भरिएन तर हामी समयको दास थियौँ ।

हाम्रो चेन्नाइ गोरखपुर एक्सप्रेसले हामीलाई घर फर्कनको लागि मिति तोकेर टिकट हातमा थमाइसकेको थियो । हामी अझै तमिलनाडु राज्यको चेन्नाइ सहर पुग्न बाँकी नै थियो ।